» » रामसुफल सदायका तीन घुम्तीः व्यपार, राजनीति र अध्ययन

एमएड र एमएसम्म अध्ययन गरिसक्नु भएका ३५ वर्षीया रामसुफल सदाय पीएचडी अध्ययनका लागि प्रयास नगरेको होइन तर आर्थिक अवस्थाका कारण उहाँलाई पछाडी हट्नु पर्यो । त्यसो त एमएड र एमए अध्ययनका लागि पनि उहाँले आर्थिक रुपले कम्ती समस्या झेल्नु परेन । घरको अवस्था आर्थिक रुपमा कमजोर भएपनि उहाँका बुवाले छोराहरुलाई पढाउन कुनै कसर बाँकी राख्नु भएको थिएन । 


रामसुफलका बुवा मुनाई सदायले आफ्नो जेठो छोरा रामसेवक सदायलाई पनि पढाउनु भएको थियो । रामसेवक २०४३ सालमा एसएलसी पास गर्नुभएको थियो । उहाँका बुवा मुनाई सदाय अर्काको घरमा मजदुरीको काम गरि चारजना छोराछोरीलाई हुर्काउनु मात्र भएन शिक्षा दीक्षामा पनि कुनै कमी राख्नु भएन,त्यसको उदाहरण रामसुफललाई लिन सकिन्छ । अति सिमान्तकृत समुदायको रूपमा मुसहर नेपाल र भारतीय भूमिमा बसोबास गरिरहेका छन् ।


पछिल्लो तथ्यांकानुसार न्युन साक्षरता भएको यो समूदायका ६२ जना विद्यार्थीहरू उच्च शिक्षा हासिल गरिरहेको शैक्षिक आँकडा २०७३ ले उल्लेख गरेको देखिन्छ । शैक्षिक दृष्टिकोणले अन्य दलित जातिको तुलनामा शुन्य रहेको यो जातिको कुल जनसँख्या १ लाख ७२ हजार ४३४ रहेको छ । जसमध्ये ६.९ प्रतिशत मात्र साक्षर छन । जुन तराईको दलितहरु मध्ये सब भन्दा कम साक्षर प्रतिशत हो ।


यसमा रामसुफल सदाय उच्च शिक्षा हासिल गर्नु सन्तोषजनक मान्न सकिन्छ । रामसुफल मात्र होइन, उहाँका दाजु रामसेवक सदाय एसएलसी पास गर्नुभयो । उहाँले त्यतिबेला एसएलसी पास गर्दा वरिपरी गाउँमा चर्चाको विषय बनेको थियो ।


 रामसेवकलाई हेर्न उहाँको घरमा मान्छेको भिड लागेको थियो । मुसहरको छोरा एसएलसी पास गरे भने धेरैलाई पत्याउन त्यतिबेला मुस्किल लागिरहेको थियो तर उहाँका बुवाले त्यो सावित गरेर देखाई दिनुभयो । त्यो कसरी सम्भव भयो त, रामसुफल भन्नुहुन्छ, त्यतिबेला मेरो बुवा जमिन्दारहरुको घरखेतमा काम गर्न जानुहुन्थ्यो । र, जमिन्दारका छोराछोरीहरु पढेको देख्दा बुवाले पनि आफ्ना छोराछोरीलाई पढाउनु पर्छ भनेर दुखसुख गरेर हामीलाई पनि पढाउनुभयो ।’


मेरो दाजु रामसेवक आफ्नो क्लाशमा फस्र्ट विद्यार्थी हुनुहुन्थ्यो । म सानो छँदा सुनेको कुरा उहाँको नाम वरिपरी गाउँमा चर्चा हुन्थ्यो, तर एसएलसी पास गरेपनि उहाँले धेरै दिनसम्म जागिर नपाएपछि आर्थिक अवस्थाका कारण पञ्जाव कमाउनु जानुभएको थियो, रामसुफलले सहारा टाइम्ससँग कुरा गर्दै भन्नुभयो, परिवारको सँख्या ठूलो भएपछि बुवाको मात्र कमाईले घर खर्च धान्न गाह्रो भइरहेको थियो त्यही भएर दाजु पनि कमाउन बाहिर जानु भएको थियो । दाजुले कमाएपछि हाम्रो घर चल्थ्यो ।’

आर्थिक अवस्थाका कारण आमालाई समयमा उपचार गराउन नसक्दा मृत्यु भएको पीडा पनि रामसुफल सदायसँग छ । पैसा नभएको कारण गाउँघरमै उपचार गराउनु हुन्थ्यो तर पछि बढ्दै गएपछि भारतको दरभंगामा गएर उपचार गराउँदा रामसुफल आमाको निधन भएको थियो ।

शिक्षा
२०४८ सालमा शिक्षक सेवा आयोग दिएपछि त्यसको रिजल्ट २०५१ सालमा आयो । र, त्यसमा रामसेवक पास हुनुभयो । त्यतिबेला पनि रामसेवकको चर्चा चारैतिर भएको थियो । त्यतिबेला त्यो परिवारका लागि सबभन्दा खुशीको दिन थियो । रामसेवक प्रावि शिक्षक हुनुभएको थियो । त्यसपछि रामसुफललाई पनि अध्ययन गर्न सजिलो भयो । तर, एकजना शिक्षकको कमाईले मात्र घर व्यवहार चलाउनु र विद्यार्थी पढाउन निकै मुस्किल भइरहेको थियो ।

२०५६ सालमा नरहाबाट फस्ट डिभिजनमा एसएलसी पास गरि उच्च शिक्षाका लागि रामसुफल सिरहा पुग्नुभएको थियो । एसएलसीसम्म सधै कक्षामा पहिलो हुने रामसुफल साइन्स वा इन्जिनियरीङ्ग पढाई गर्न चाहनु भएको थियो तर घरको आर्थिक अवस्थाका कारण सिरहा क्याम्पसमा आइएडमा नाम लेखाउन बाध्य हुनुभयो ।

 घरको आर्थिक सहयोगबाट जसोतसो इन्टर पास गर्नुभएका रामसुफललाई ब्याचलर पढ्न त्यही आर्थिक अवस्थाले गाँज्यो । तर उहाँले हिम्मत हार्नुभएन ।
उहाँले सिरहामा ट्युशन पढाउनु शुरु गर्नुभएको थियो । ट्युशनबाट अलि अलि आम्दानी हुनुको साथै पछि सेभ द चिल्ड्रेनले छात्रवृति पनि दिएको थियो । त्यसले गर्दा उहाँले जसोतसो ब्याचलर सकाउनु भयो । ब्याचर सकाएपछि उहाँको जीवनमा अर्को ट्रनिङ प्वाइन्ट आयो त्यो हो विवाह ।

विवाह
केही नगरिकन, आफ्नो खुट्टा (जागिर) मा नउभिएसम्म विहे नगर्ने सोचमा हुनुहुन्थ्यो रामसुफल । तर उहाँलाई घरपरिवारले धोकाले विहे गरायो । एकदिन उहाँ पढ्दै गरेको क्याम्पसमा गएर कसैले उहाँलाई हेरेको थियो । जुन कुराको चाल रामसुफलले पनि पाइ सक्नुभएको थियो । तर उहाँले त्यसप्रति वास्ता गर्नुभएन । पछि केटी पक्षले रामसुफलको आमा बुवालाई पनि सम्पर्क गरेर केटो मन पर्यो अब विहेका लागि कुरा आगाडी बढाउनु पर्यो भनि भनिएको थियो । रामसुफलका आमा बुवा पनि छोरालाई विहे गर्नका लागि राजि हुनुभयो । जुन कुरा रामसुफललाई थाह थिएन ।

एकदिन केटी हेर्नका लागि रामसुफललाई सिरहाको मिर्चैयामा बोलाएको थियो । केटी हेर्दैमा विहे गर्नुपर्छ भन्ने छैन । आमा बुवाको मन राख्नका लागि केटी हर्ने उहाँ तयार हुनुभयो । एउटा साथीलाई लिएर मिर्चैया जानुभयो । त्यहाँ जाँदा एउटा होटेलमा ठूलो तामझामका साथ तयारी गरेको थियो, जुन रामसुफलले सोचेको भन्दा धेरै फरक थियो । केटीलाई रामसुफलले हेर्नुभयो । राम्रो र नराम्रोको बारेमा उहाँले केही डिसिजन लिनुभएन किनभने उहाँलाई विहे नै गर्नु थिएन । यदि उहँका आमाबुवाले विहेको बारेमा सोधेको भए केटी मन परेन भनि ढाँट्ने सोचमा हुनुहुन्थ्यो ।

पछि त विहे गर्ने फाइनल नै भयो । रामसुफलको सासुरा रेन्जर हुनुहुन्थ्यो । रामसुफलको बुवा र दाजुलाई निकै प्रलोभन दिनुभएको रहेछ । रामसुफलको पढाइ खर्चदेखि लिएर अन्य धेरै कुराको प्रलोभन दिनुभएको रहेछ जुनकुरा उहाँले पछि थाह पाउनुभयो । लेनदेन विहेवारीको सबै कुरा त्यही दिन फाइनल भएपछि मात्र उहाँका दाजु रामसेवकले रामसुफललाई जानकारी दिनुभयो । त्यतिबेला यस्तो भइसकेको थियो कि नाई भन्ने अवस्था थिएन । तैपनि रामसुफलले आफ्नो दाईलाई भन्नुभयो, विहेको फाइनल गर्नुभन्दा पहिले मसँग त सोध्नु पथ्र्यो ।

मैले विहे गर्न चाहन्छु कि चाहदिन । मेरो के इच्छा छ, त्यो एकपटक सोध्नुपथ्र्यो ।’ त्यसपछि उहाँका दाइले अब जे हुनु थियो भने हामीले कुरा गरिसकियौं अब पछाडी हट्यौं भने हाम्रो बेइज्जत हुन्छ विहे गर्नुपर्छ भनेपछि रामसुफल बाध्य भएर विहे गर्न तयार हुनुभयो ।

बुवा र दाइको कुरा काट्न हिम्मत उहाँले गर्नुभएन किनभने यहाँसम्म र यो अवस्थासम्म पुर्याउन उहाँहरुको निकै ठूलो योगदान रहेको छ । त्यही भएर रामसुफल कुनै कुराको प्रतिकार गर्नुभएन । विहे गर्न तयार हुनुभयो र २०६३ सालमा उहाँले विहे गर्नुभयो ।

उच्च शिक्षा
विहे भइसकेपछि उहाँ उच्च शिक्षाका लागि काठमाडौ त्रिविमा पढ्नका लागि आउनुभयो । शुरुमा उहाँका ससुराले सहयोग गर्नुभयो । ठिकै चलिरहेको थियो तर पछि खर्च दिन छाडेपछि रामसुफलको हालत खराब भइरहेको थियो । साथीको भाइसँग सापटी लिएर उहाँ पढाईलाई निरन्तरता दिनुभयो तर यसरी सापटीले धेरै दिनसम्म नचलेपछि उहाँ काठमाडौबाट फर्केर गाउँ जानुभयो । उहाँको घरको अवस्था पनि त्यति राम्रो थिएन । एकजनाको कमाईले घर चलाउने कि भाइलाई उच्च शिक्षा पढाउने त्यो घरका लागि ठूलो चुनौति थियो । तर, उहाँका दाइ र बुवा हिम्मत हार्नुभएन ।

छोरालाई पढ्नका लागि पुनः काठमाडौ पठाउनुभयो । विहेको समयमा अलिकति ससुरालीबाट भएको सहयोग र अन्य सहयोगहरुबाट उहाँले काठमाडौ आएर पुनः अध्ययनलाई निरन्तरता दिनुभयो । तैपनि उहाँलाई समस्याले साथ छाडेन । अवस्था यस्तो भयो कि उहाँले आर्थिक अवस्थाका कारण थेसिस लेख्न पनि सक्नुभएन । थेसिस लेख्नका लागि पैसा चाहिन्छ त्यो बेला त्यसको सम्भव थिएन । अनि उहाँले थेसिसका सट्टा परीक्षा नै दिनुभयो ।

एमएड पढीरहेकै अवस्थामा उहाँले एमएमा भाषा विज्ञान लिएर पनि अध्ययन गर्न थाल्नुभयो । आर्थिक अवस्थाबाट थलिएका रामसुफल दुख सुख गेरेर अझै पढ्ने आँट गर्नुभयो । तर उहाँलाई गाह्रो भइरहेको थियो ।

साथीको सहयोग
त्यति नै बेला किर्तिपुरमै काशिन्द्र यादवसँग उहाँको सम्पर्क भयो । काशिन्द्र यादव त्यतिबेला किर्तिपुरमा बसेर अध्ययन गरिरहनु भएको थियो । अहिले उहाँ समाजिक अभियन्ता बन्नुभएको छ । रामसुफल र काशिन्द्र यादवबीच राम्रै हिमचिम भयो । काशिन्द्र यादवबाट उहाँलाई सहयोग हुन थाल्यो । उहाँले भन्नुभयो, काशिन्द्र यादवबाट आर्थिक सहयोग भन्दा पनि व्यवहारिक सहयोग राम्रो भयो । उहाँले हौसला दिनुहुन्थ्यो । कहिल्यै निराश हुन दिनुभएन ।’

त्यतिबेला काशिन्द्र यादवले नेदरल्याण्डको एउटा रिसर्चको काम पाउनु भएको थियो । जसमा रामसुफललाई सहायक रिसर्चरको रुपमा राख्नुभयो । त्यो कामले रामसुफलका लागि धेरै राहत भयो । पढाई खर्चमा त्यसले निकै ठूलो सहयोग भयो । पछि उहाँले पनि सोही संस्थाबाट एउटा अर्को रिसर्चको काम पाउनुभयो । जसले गर्दा उहाँको झन हिम्मत बढ्यो । त्यो रिसर्चबाट उहाँले पढाईलाई झन सशक्त बनाएर आगाडी बढाउनुभयो ।

राजनीतिक
त्यतिबेला उहाँ तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका विद्यार्थी संगठन त्रिवि इकाई समितिका सचिव हुनुहुन्थ्यो । विद्यार्थी फाँटमा उहाँ निकै सक्रिय कार्यकर्ताको रुपमा काम गर्दै हुनुहुन्थ्यो । पार्टी, रिसर्च र पढाईलाई उहाँले साथ साथ आगाडी बढाउनु भएको थियो । त्यो दुईटा रिसर्चपछि अरु कुनै रिसर्च पाउनु भएन । त्यसपछि उहाँको अवस्था जस्ताको त्यस्तै भयो ।

जयप्रकाश गुप्ताले फोरम नेपाल विभाजित गर्नुभएको थियो । त्यतिबेला कहाँ जाने के गर्ने निर्णय उहाँले गर्नुभएको थिएन तर मनमनै उहाँले पोल्टिक्स नै गर्ने, त्यसैमा आफ्नो क्यारियर बनाउने सोच बनाइसक्नु भएको थियो । पछि जेपी गुप्ता जेल परेपछि राजकिशोर यादव मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) को अध्यक्ष बन्नुभएको थियो । राजकिशोर यादवले आफ्नो पार्टीमा रामसुफललाई केन्द्रीय सदस्य बनाउनु भएको थियो । यस्तो ठूलो पार्टीको केन्द्रीय सदस्य भएपछि रामसुफल निकै खुशी थिए र पढाईका साथ साथै राजनीतिकमा सक्रिय हुनुभयो । पार्टीले दिएको जिम्मेवारी पुरा गर्दै जानुभएको थियो ।

तर सोचे जस्तै .हुँदो रहेनछ जीवन । राजनीतिकमै पनि उहाँले धोका पाउनुभयो । राजनीतिकमै क्यारियर बनाउने सोच बनाएर लाग्नुभएका रामसुफल अन्ततः राजनीतिक नै त्याग्नुभयो । २०७० को दोस्रो सविधानसभा चुनावमा उहाँलाई जिल्लाबाट समानुपातिक उम्मेदवार बनाएर पठाएको थियो । तर, निर्वाचन आयोग जाँदा जाँदै रामसुफलको नाम काटिएको थियो ।

त्यसले उहाँलाई निकै चित्त दुख्यो । उहाँको मान अभिमानमा ठूलो ठेस लाग्यो । उहाँ भन्नुहुन्छ, मलाई समानुपातिक सदस्य राख्नु नराख्नु ठूलो कुरा होइन, म समानुपातिक सदस्य बन्थे कि बन्दैन्थे त्यो ठूलो कुरा होइन तर नाम राखेर पछि नाम काट्नुले मलाई निकै मर्मात बनायो । उम्मेदवार समेत बन्न दिएन । कम से कम उम्मेदवार त बन्न दिनु पथ्र्यो । त्यो पनि हुन नदिएपछि म त्यो पार्टीमा निस्कृय भए ।’


दलितहरुलाई पार्टीमा शो पीसका लागि राख्ने गरेको कुरा रामसुफलले बल्ल थाह पाउनु भएको थियो । पार्टीमा दलित पनि छ भनि देखाउनका लागि मात्र राख्ने गरेको छ तर अवसर आउँदा नाममा टिपेक्स लगाउने गरेको कुराबाट रामसुफललाई निकै चोट पुर्यायो । राजनीतिकबाट नै केही गर्ने सोच बनाएका रामसुफलको सोचमा ब्रेक लाग्यो ।

क्याम्पसमा अध्यापन
सन् २०१० मा काठमाडौ छाड्नु भएका रामसुफल लहानको जेएस मुरारकामा जागिर गर्न थाल्नु भएको थियो । त्यहाँ एक शैक्षिकसत्र मात्र काम गर्न पाउनु भयो । त्यहाँबाट उहाँलाई हटाइएको थियो । कारण थियो राजनीतिक । मधेशी राजनीतिकमा सक्रिय रहेको र फोरम गणतान्त्रिकको केन्द्रीय सदस्य भएका कारण उहाँलाई त्यहाँबाट हटाइएको थियो । त्यो क्याम्पसमा काँग्रेसको हाली मुहाली थियो । राजनीतिक कारणले आफूलाई हटाएको कुरा उहाँ पछि थाह पाउनु भएको थियो ।


पछि उहाँले त्यहाँबाट जागिर छाडेपछि लहानकै एभरेष्ट कलेजमा पढाउन शुरु गर्नुभएको थियो । त्यहाँ कलेजमा पढाउनुको साथै राजनीतिक गतिविधिमा पनि सक्रिय हुनुहुन्थ्यो । फोरम गणतान्त्रिकले गर्ने कार्यक्रमहरुमा सहभागी हुने गर्नुहुन्थ्यो । डा.बाबुराम भट्टराई भएको बेला उहाँले जातीय छुवाछुत भेदभाव विरुद्धको संयन्त्रण गठन गर्नुभएको थियो । त्यसमा रामसुफल सदायलाई सल्लाहकार राख्नुभएको थियो । तीन चार वर्षसम्म मात्र चलेको थियो । त्यसबाट खासै उपलब्धी भएको थिएन । सुशिल कोइराला कोइराला प्रधानमन्त्री भएपछि त्यो संयन्त्रण नै खारेज भयो । 


यता पार्टीले समानुपातिक लिस्टबाट नाम हटाएको थियो भने उता संयन्त्र पनि विघटन भएको थियो । समानुपातिकबाट नाम हटाएपछि उहाँ निराश भएर राजनीतिकमा निस्कृय हुनुभएको थियो । पार्टीको बैठकहरुमा जान समेत छाड्नु भएको थियो ।

व्यवसाय
राजनीतिबाट विरक्त भएपछि रामसुफलले कुखुरा पालन गर्नुभयो । सोनामती माझौरामा एक विघा जग्गा भाडामा लिएर त्यसमा कुखुरा फर्म सञ्चालन गर्नुभएको थियो । साथी भाइबाट साप्टी र ऋण लिएर सञ्चालन गर्नुभएको कुखुर फर्म एक डेढ वर्षमै बन्द हुने अवस्था आयो । उहाँ भन्नुहुन्छ, अनुभव र पुँजीको अभावमा कुखुरा फर्म चलाउन सकिएन र बन्द गर्नुपर्ने अवस्था आयो ।’

 कुखुरा फर्म चलाइरहेको बेला उहाँले साथी भाइको लहैलहमा सुखायु आयुर्वेदिक अस्पताल खोल्नुभयो । पाँचजनाको त्यसमा शेयर थियो । रामसुफलले २० प्रतिशत शेयर हाल्नुभएको थियो । पछि अस्पतालमा सक्रिय भएपछि फर्म छाड्नु भएको थियो ।
अस्पतालमा साथीहरुको अपारदर्शिताका कारण घाटामा गइरहेको थियो । व्यवस्थापन राम्रो भइरहेको थिएन । र, त्यही बीचमा मधेश आन्दोलन भयो र त्यसले झन घाटामा गयो र बाध्य भएर उहाँले आफ्नो शेयर बेच्नुभयो ।

 यी दुई व्यवसायीमा उहाँलाई निकै घाटा लाग्यो चार पाँच लाखको ऋण लाग्यो ।
राजनीतिक, त्यसपछि अध्यापन र अनि व्यवसायी । तीन घुम्तीमा उहाँको जीवन घुमी रहँदा उहाँका बुवा र दाइले त्यो मन पराउनु भएको थिएन । कतिपटक उहाँलाई बोलाएर उहाँहरुले भन्नुभएको थियो, यी कामहरु छाडेर कतै सरकारी जागिर गर र सेटल होउ ।

पुँजी अर्थात आर्थिक अवस्था ठिक नभएका परिवारले यी सब काम गर्न सुहाउँदैन । पढे लेखेका छौं कही राम्रा जागिर खोजेर काम गर ।’ तर रामसुफललाई जागिर गर्ने इच्छा थिएन । उहाँलाई केही नयाँ गरौं भनि सोच थियो । पहिलो त उहाँले राजनीतिक नै रोज्नुभएको थियो त्यसमा फेल हुनुभयो पछि उहाँले व्यवसायी गर्ने सोच बनाउनु भयो त्यसमा पनि फेल हुनुभयो ।

त्यसपछि उहाँले सरकारी जागिर गर्ने सोच बनाउनुभयो । र, लोकसेवा पढ्नका लागि उहाँ काठमाडौ आउनुभयो । उहाँ नासु र खरदारमा फर्म भर्नुभयो । पहिलो चरणको परीक्षा पास गर्नुभयो तर दोस्रो चरणमा फेल हुन्थ्यो । त्यसका लागि आर्थिक अवस्थाका कारण पढाई पुगिरहेको थिएन । विहे भइसकेको थियो । दुईटा छोरी पनि थियो । घरको जिम्मेवारी पनि उहाँमाथि थियो ।

बुवा पनि उहाँबाट अपेक्षा गर्नुभएको थियो । काठमाडौंमा लोकसेवा आयोगको अध्ययन गर्न थालेपछि आर्थिक अवस्था झन खराब भयो । त्यसपछि उहाँका श्रीमती रुवी सदायले आफ्ना छोरीहरुलाई लिएर जनकपुर बस्न थाल्नुभयो । उहाँका ससुराले एउटा एनजियोमा उहाँको श्रीमतीलाई जागिर लगाई दिनुभएको थियो । त्यो जागिरले छोरीलाई लालनपालन गर्नुको साथै घरपरिवारमा सहयोग गर्न थाल्नुभयो ।

नौ वर्षीया छोरी राखी सदाय चार र आठ वर्षीया प्रिती सदाय तीन कक्षामा पढीरहेकी छिन् । जनकपुरको न्यु भिजनमा छात्रवृति पाएर छोरीहरु त्यहाँ पढी रहेकी छिन् । काठमाडौमा लोकसेवा आयोग पढ्न नसकेर रामसुफल पुनः लहान फर्किनुभयो । फेरि उहाँले एभरेष्ट कलेजमा पढाउन शुरु गर्नुभयो । र, त्यसका साथै बोर्डिगं स्कूलमा पनि पढाउन शुरु गर्नुभयो । विहान कलेज पढाउनु हुन्छ भने दिउँसो बोर्डिगं स्कूल ।

मास्टर्स पढ्नु भएका रामसुफल आगाडी पढ्ने इच्छा नगरेको पनि होइन । उहाँ २०७२ सालमा एमफिल गर्नका लागि काठमाडौ आउनु भएको थियो । त्यसका लागि उहाँले प्रवेश परीक्षा पनि दिनुभयो तर आर्थिक अभावका कारण नाम लेखाउनु भएन र घर फर्किनु भएको थियो ।


३५ वर्षीया रामसुफल भन्नुहुन्छ, अहिले आएर दलित भएको कारण पछाडी परेको महसुस हुन्छ ।’ पहिला पहिला यस्ता साना साना कुरामा आफूले कहिल्यै पनि विचार नगरेको बताउँदै उहाँले दलित नभएको भए अहिले कुनै ठूलो पोष्टमा हुन्थे तर दलितका करण आफू पछाडी परेको सुनाए । विशेन्द्र पासवानका पार्टीबाट सिरहा क्षेत्र नम्बर एक को ख बाट प्रदेशसभा चुनाव पनि लड्नु भएका रामसुफल ५३८ भोट मात्र पाउनु भएको थियो । दलितले पनि मत नदिएको अनुभव उहाँसँग छ ।

यदि दलित नभएको भए र आफूसँग पैसा भएको भए चुनाव जित्थे, यहाँ सोझा सिधा व्यक्तिको कुनै गुन्जाइस छैन । दलित भएको कारण कोठा नपाएको पीडा पनि उहाँसँग छ । उहाँ भन्नुहुन्छ, तर म अझै हिम्मत हारेको छैन । मसँग क्षमता छ । सर्टिफिकेट छ एकदिन पक्कै पनि ममाथि न्याय हुन्छ भनि विश्वास लिएर संघर्षमा लागेको छ ।     

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..