» » तुलनारायण साह किन रोज्नुभयो राजनीति ?

बैशाख २० गते मधेशको राजनीतिकमा एउटा परिघटना भयो जसले मधेशलाई मात्र होइन सम्पूर्ण नेपाली बौद्धिक जगतलाई झस्काई दियो । त्यो हो उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा तुलानारायण साहको प्रवेश ।

मधेशी राजनीतिकका विश्लेषक एवं बौद्धिक व्यक्तित्वको रुपमा चिनिनु भएका तुलानारायण साहले कुनै पार्टीमै प्रवेश गरेर राजनीतिकमा लाग्नुहुन्छ भनि धेरैले अनुमान गरेका थिएनन् ।
उहाँलाई मधेश राजनीतिक मामलाका जानकार मानिन्छ ।


मधेश राजनीतिकको बारेमा उहाँ लगातार कलम चलाउँदै आउनु भएको छ । यति मात्र होइन, उहाँले मधेशको नाममा  नेपाल मधेश फाण्डेशन नामको एनजियो पनि चलाइ राख्नुभएको छ ।

 उहाँमा मधेश प्रतिको सदासयता, लगाव, लगानीमा कुनै कमी छैन तर मधेशका लागि प्रत्यक्ष राजनीतिक नै गर्नुहुन्छ भनि धेरैले सोचेका थिएन । उहाँले स्वतन्त्र रुपमा मधेशको बारेमा लेख्ने, बोल्ने कुराहरुमा कुनै राजनीतिक भन्दा कम थिएन । यद्यपी उहाँले राजनीतिक दल नै किन रोज्नु भयो यो सबैका लागि सोचनीय विषय बनेको छ । र, नेपाली बौद्धिक जगतका लागि परिघटना नै हो ।


कुनै बौद्धिक व्यक्ति राजनीतिमा जानु हुँदैन भन्ने होइन । नेपालका हरेक बौद्धिक व्यक्ति कुनै नकुनै पार्टी निकट हुनुहुन्छ । उहाँ पनि काँग्रेस निकट हुनुहुन्थ्यो । तर, जसरी उहाँले जसरी टिका लगाएर पार्टीमै प्रवेश गर्नुभयो । त्यो धेरै मान्छेका लागि पचेको छैन । काँग्रेस पृष्ठभूमिका तुलनारायण साहले फोरम नेपाललाई रोज्नु नै धेरैका लागि अनौठो विषय बनेको छ । किनभने उहाँ शुरुदेखि नै फोरम नेपालप्रति ‘क्रिटिकल’ हुनुहुन्थ्यो ।

उहाँले लेख्ने लेखहरुमा तत्कालिन सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी प्रति जति उदारता देखाउनु हुन्थ्यो त्यति फोरम नेपालप्रति देखाउनु हुन्थेन । उता, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि तुलानारायण साहप्रति सकारात्मक देखिनु भएको थिएन । यसको पुष्टि उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले तुलनारायण साहको बारेमा फेसबुकमार्फत गर्नुभएको टिप्पणीहरुले पनि पुष्टि हुन्छ ।

 फोरम नेपालले गर्ने कार्यक्रममा पनि तुलानारायण साहको त्यति उपस्थिति हुँदैन्थ्यो ।
फोरम नेपालले कहिले काही कुनै सल्लाह र सुझावका लागि भेला गर्ने बैद्धिक जमातमा तुलानारायण साहको अनुपस्थिति हुन्थ्यो । अर्को कुरा, तुलानारायण साह शुरुदेखि जेपी गुप्ताको निकट हुनुभएको भएर होला फोरम नेपालको निकट हुनुभएको थिएन, अथवा त्यो पार्टीले उहाँलाई रुचाइएको थिएन ।


यस हिसाबले पनि उहाँले फोरम नेपाल रोज्नुलाई धेरैले अनौठो रुपमा लिएको छ । यद्यपी उहाँले राजनीतिक किन रोज्नुभयो, त्यसमा फोरम नेपाल नै किन रोज्नु भयो यसको बारेमा उहाँले आफ्नो आधिकारिक धारणा कतै प्रस्तुत गर्नुभएको छैन ।


विभिन्न आशंका
तुलानारायण साह फोरम नेपालमा प्रवेश गरेपछि विभिन्न आशंकाहरु उत्पन्न भयो । उहाँको पार्टी प्रवेशलाई अनेक मान्छेले अनेक आशंका गरे ।

 कसैले उहाँ राजनीतिक नियुक्तिका लागि फोरम नेपालमा प्रवेश गर्नुभएको भनि आशंका गरे भने कसैले राजनीतिक संरक्षणका लागि फोरम नेपाललाई रोज्नुभयो भनि आशंका गरे । कसैले अब उहाँले एनजियो कर्म छाडेर राजनीतिक नै गर्नुहुन्छ भनि पनि आशंका गरे । त्यसमध्ये सबभन्दा बढी उहाँले राजनीतिक संरक्षणका लागि पार्टी प्रवेश गरेको कुरामा जोड दिएको पाइन्छ ।

पछिल्लो समयमा उहाँमाथि सुनियोजित रुपमा प्रहार शुरु भएको थियो । कसैले सामाजिक सञ्जालमार्फत उहाँको विरोध गरिरहेका थिए भने कसैले लेख लेखेर त कसैले समाचार बनाएर विरोध गरिरहेका थिए ।

जुन विषयवस्तुमा उहाँको विरोध गरिन्थ्यो त्यो विषय कति सही कति गलत त्यो अनुसन्धानको विषयमा बन्न सक्छ ।

त्यो खोजीको विषय हुुनसक्छ । तर, उहाँमाथि जुन प्रहारको शृङ्खला शुरु भयो त्यसबाट बच्नका लागि उहाँले राजनीतिक रोजेको धेरैको बुझाई रहेको छ । नेपालमा धेरै ठूला ठूला एनजियोहरु राजनीतिक संरक्षणमा सञ्चालित रहेका छन् । कसैलाई काँग्रेसले संरक्षण दिइरहेको छ भने कसैलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ।

त्यसमध्ये सबभन्दा बढी एनजियो तत्कालिन एमाले निकट रहेका छन् । काँग्रेस र नेकपाका ठूला ठूला नेताका श्रीमती तथा छोराहरुले नै एनजियो सञ्चालन गरिरहेको कुरा सञ्चारमाध्यममा पनि आइसकेको छ । त्यस्तै संरक्षण तुलनारायण साहको नेमाफलाई पनि चाहिएको हो कि धेरैको बुझाई रहेको छ ।

अर्कोतिर, उहाँमाथि राजनीतिक नियुक्तिको आशंका पनि भइरह्यो । मधेशका सबभन्दा ठूलो र शक्तिशाली पार्टी फोरम नेपाल हो । त्यस पार्टीमा लागेपछि तत्कालै केही नियुक्ति पाइन्छ कि सोचेर नै तुलानारायण सो पार्टीमा प्रवेश गरेको भनि धेरैको बुझाई रहेको छ । विजयकान्त कर्ण, दिपेन्द्र झा र तुलानारायण साह मधेशी बौद्धिक क्षेत्रमा परिचित अनुहार हुनुहुन्छ । विजयकान्त कर्ण पहिला नै तत्कालिन माओवादीको कोटामा डेनमार्कका राजदूतमा नियुक्त भइसक्नु भएको छ ।


अहिले उहाँ मधेशको अधिकार प्राप्ति संघर्षको अभियानमा लागिरहनु भएको छ । त्यस्तै, दिपेन्द्र झा पनि प्रदेश २ मा मुख्य न्यायधिवक्तामा नियुक्त हुनुभएको छ । राजपा नेपाल निकट रहेर पनि दिपेन्द्र झा फोरम नेपालको तर्फबाट राजनीतिक नियुक्ति हात पारेपछि अबको पालो तुलानारायण साहको रहेको छ ।

विजयकान्त कर्ण र दिपेन्द्र झा यसरी नियुक्ति खाएर आफ्नो प्रोफाइल बनाइ सकेपछि बाँकी रहनु भएका तुलानारायण साह पनि फोरम नेपालमा आवद्ध भएर राजनीतिक नियुक्ति खाने हो भनि धेरैको टिप्पणी रहेको छ ।


किनभने फोरम नेपाल केन्द्रीय सरकारमा सहभागी हुनुको साथै प्रदेश २ को सरकारको नेतृत्व पनि गरेको छ । त्यही भएर फोरम नेपालमा अहिले थुप्रै अवसरहरु पनि छन् । ती अवसरहरु प्राप्त गर्नका लागि फोरम नेपाल रोजेको धेरैले आशंका गरेका छन् । अहिले पनि ती आशंकाहरुको निवारण भएको छैन ।

कुरा के हो त ?
यी र यस्तै विभिन्न आशंकाहरु भइरहेको बेला सहारा टाइम्सले यसलाई खोतल्ने प्रयास गरेको छ । विभिन्न माध्यमबाट यसको वास्तविकता खोज्ने प्रयास गरेको छ ।


हामीले यसका लािग तुलानारायण साह निकटका व्यक्ति, उहाँले लेख्नुभएका लेख र उहाँले दिनुभएका मन्तव्यहरुलाई अध्ययन गर्यौं । इन्जिनियरिङ पढ्नु भएका तुलानारायण साह शुरुदेखि समाजिक संस्थामा आवद्ध भएर अध्ययन अनुसन्धान गर्दै आउनु भएको छ । इन्जिनियर बन्नु उहाँको आफ्नो लक्ष्य थिएन र आमाबुवाको मन राखि दिनका लागि उहाँले त्यो अध्ययन गर्नुभएको छ । शुरुदेखि नै उहाँ अध्ययन अनुसन्धानमा रुची राख्नुहुन्थ्यो ।

त्यही भएर उहाँ इन्जिनियरिङ्ग अध्ययन गरे पनि लामो समयसम्म पत्रकारिता गर्नुभयो । स्पेश टाइम्सदेखि तरुण साप्ताहिकसम्म पत्रकारिताको अनुभव लिनुभएका तुलनारायण साहले तराई इन्जिनियरिङ्ग समाज पनि खोल्नुभएको थियो ।

त्यसका साथै उहाँले विभिन्न एनजीयो तथा आइएनजीयोमा काम गर्नुभयो । उहाँले जहाँ काम गरेपनि अनुसन्धानलाई विशेष प्राथमिकतामा राख्नुभयो । २०६३ को पहिलो मधेश आन्दोलन सकिएपछि उहाँले नेपाल मधेश फाउण्डेशन नामको सामाजिक संस्था खोल्नुभयो । त्यो संस्था खोल्नुको उद्देश्य पैसा मात्र कमाउनु थिएन ।

तुलानारायण साह भन्नुहुन्छ, म पैसा मात्र कमाउनका लागि नेमाफ खोलेको होइन, यदि पैसा नै कमाउनु थियो भने अरु अरु संस्थामा जागिर गर्थे वा कुनै विकासे एनजियो खोलेर बस्थे । यो नेमाफको मुख्य उद्देश्य मधेसी समाज, मधेसी राजनीतिबारे ज्ञान उत्पाद गर्नुकासाथै मधेशमा चेतनाको स्तर बढाउन तथा बौद्धिक जनशक्ति तयार गर्नु रहेको छ ।’

तीन कारण 
सो संस्थामार्फत उहाँले १० वर्षको अवधिमा तीन फेजमा काम गर्नुभयो । पहिलो फेजमा काठमाडौमा बुद्धिजिवी र नीतिनिर्माताहरुसँग अन्तरक्रिया गर्ने काम गर्नुभयो भने दोस्रो फेजमा मधेशका विभिन्न जिल्ला तथा शहरहरुमा त्यहाँका ओपेनियन मेकर र बुद्धिजिविहरुसँग छलफल गर्नुभयो । यी दुई फेजमा काम गरिसकेपछि उहाँले कामको पुर्नमूल्यांकन गर्नुभयो ।

 र, दुईटै कामले मधेशी समाजलाई खासै फाइदा नपुगेको निष्कर्षमा उहाँ पुग्नुभयो । ती कार्यक्रममा सम्पन्न हुन्थ्यो । एनजीओको यस्ता गविविधिहरु फेसन जस्तो भएको छ । सहभागीहरु आउने, गोष्ठी सम्पन्न हुने तर साँच्चिकै समाजको रुपान्तरणमा खासै योगदान पुगेको जस्तो लागेन ।

त्यसपछि उहाँले मधेशको ग्रामिण क्षेत्रमा गएर काम गर्ने सोच बनाउनुभयो । र, दातृ निकायहरुसँग कुरा गरेर उहाँले आफ्नो कार्यक्रम मधेशका ग्रामिण क्षेत्रमा लग्नुभयो । गाउँको स्वास्थ्य चौकी तथा विद्यालयलाई सुधार गर्नका लागि काम गर्न थाल्यो । मधेशका ग्रामिण क्षेत्रका जनता स्वास्थ्य चौकी तथा विद्यालयसम्म कसरी पुग्न सक्छ त्यसको बारेमा त्यहाँका जनतालाई चेतना दिने काम गर्न थाल्नुभयो । स्वास्थ्य चौकीमा डाक्टर र विद्यालयहरुमा शिक्षकको उपस्थितिको बारेमा पनि ध्यान दिन थाल्नुभयो ।

हाल त्यो कार्यक्रम मधेशका केही जिल्लामा जारी छ । तर, तुलानारायण साह यो कार्यक्रमबाट पनि सन्तुष्ट हुनुभएन । उहाँ भन्नुभयो, मधेशी जनताले एनजियोलाई हेर्ने दृष्टिकोण फरक रहेको छ । एनजियो भनेकै भत्ता दिनका लागि हो, खाजा खुवाउनका लागि भनि मात्र बुझेका छन् ।’

राजनीतिक र धर्म
एनजियोको मार्फत समाजलाई परिवर्तन गर्न त्यति सजिलो लागेन । । ग्रामीण समाजमा दुई खालका व्यक्ति छन् । एउटाले राजनीतिकलाई मान्छन् भने अर्कोले धर्मलाई मान्छन् । एनजियोले करौडो रकम खर्च गरेर छोरीलाई स्कूल पठाउनु पर्छ । छोरा र छोरीलाई भेदभाव गर्नुहुँदैन जति भनेपनि एक कानबाट सुन्छन् र अर्को कानबाट बाहिर निकाल्छन् । तर, एउटा धार्मिक गुरुले त्यही कुरालाई भन्दियो भने तुरुन्तका तुरुन्त लागु हुन्छन् । छोरीलाई स्कूल नपठाउनु पाप हो ।

यसले धर्म नष्ट हुन्छ । भविष्यामा यसले अनिष्ट गर्छ भनि कुनै धार्मिक गुरुले भनि दिनुभयो भने भोलीदेखि नै सबैले आआफ्ना छोरीलाई स्कूल पठाउन शुरु गर्छन् । त्यस्तै, कुरा दहेजलगायत अन्य कुरितीमा समेत लागु हुन्छ ।


कुनै एउटा एनजियोले भत्ता दिएर, खाजा खुवाएर कुरा सुन्न भन्यो भने भाग्छ । अथवा एकछिन बस्छ, यताउती हेर्छ र भाग्छ । तर, त्यही कुनै राजनीतिक आमसभा हुन्छ भने आफ्नो घरबाट खर्च गरेर त्यहाँ जान्छ ।

नारा लगाउँछन् ढुगां मुढा गर्छन र साँझ खुशी खुशी घर फर्कन्छन् । एउटा नेताले भनेको कुरालाई मनन गरेका हुन्छन् र त्यसको पछि लागेका हुन्छन् । र त्यसका लागि मर्न र मार्न तयार हुन्छन् । र, ठिक त्यही कुरा कुनै एनजियोले सुनाउँदा, भन्दा कुनै वास्ता गरेको हुँदैन । समाजिक रुपमान्तरणमा एनजियोको एउटा लिमिटेशन हुन्छ भने कुरा यो १० वर्षको अवधिमा तुलानारायण साहले सिक्नुभयो ।

उहाँले भन्नुभयो, यदि समाजलाई अलिक प्रभावकारी तरिकाबाट रुपान्तरण गर्नुछ भने धार्मिक संगठन मार्फत जानुपर्छ या कि राजनीतिक संगठन मार्फत । र मैले समाज रुपान्तरणमा केही सक्रिय योगदान गर्न सकिन्छ कि भनेर राजनीतिक रोजेको हुँ ।’ मधेसी राजनीतिमा हालसम्म नेपाली राज्यको रुपान्तरणबारे निकै बहस भयो, त्यसबाट थोरै उपलब्धी पनि भयो र अझै धेरै गर्न बाँकी रहेको उहाँले सहारा टाइमसलाई बताउनुभयो ।


हरेक राजनीतिक दलमा समाजको रुपान्तरणको एउटा कल्पना हुनुपर्ने जुन एनजिओले गरेर नहुने बताउँदै उहाँले भन्नुभयो, ‘एनजियोको आफ्नो लिमिटेशन हुन्छ । समाजलाई परिवर्तन गर्नका लागि त्यही लिमिटेशनमा हिड्नु पर्छ । पार्टीभित्र सामाजिक रुपान्तरण एजेण्डा सेटिङ्गमा काम गर्न सकिन्छ कि भनेर मैले राजनीतिक रोजेको हुँ ।’

 राजनीतिक संरक्षण र राजनीतिक नियुक्तिलागि फोरम नेपालमा प्रवेश गरेको कुरा सबै मनोगत रहेको दावी गर्दै उहाँले आफूलाई कुनै कुराको ‘थ्रेट’ नरहेको दावी गर्नुभयो । संरक्षणकोलागी भएको भए नेकपा एमाले वा माओवादी पसिन्थ्यो नि, उहाँले भन्नुभयो ।

मधेशको दुश्मन मधेशी
मधेसी समुदायमाथी जारी रहेको संविधानसँग सम्बन्धित संरचनागत बिभेदको बिरुद्धमा बोल्यो भने स्थायीसत्ता पक्षधरहरु अनेक लान्छाना लगाउँने गरेको अनुभव सुनाउँदै उहाँले मधेसीमाथी आक्रमण गर्नको लागी मधेसी पात्र नै प्रयोग हुने गरेको बताउनुभयो । उहाँले आफ्नो भोगाई सुनाउँदै भन्नुभयो, मधेसी अनुहारले मधेसी नेता, बुद्धिजीवीको बिरोध गर्यो भने काठमाण्डौमा तिनले अवसर पाउँछ ।

तर राजनैतिक, संवैधानिक बिभेदहरुको बारेमा मौन बसेर मधेसको समस्या भनेको मधेसी राजनीति, संस्कृति, कुरीति, मधेसी हुन् भनेर बोल्ने मधेसीले यहाँ पुरस्कार पाउँछन् ।’

उहाँको नजरमा मधेसको पक्षमा बोल्नु जोखिम लिनु हो । उहाँले भन्नुभयो, हाम्रो बिरोध गर्नेहरु त्यस्तै पुरस्कार पाउने अभिलासीहरु हुन् ।

मधेशीको क्षेत्रमा काम गर्ने जो सुकैमाथि प्रहार गर्छन चाहे मधेशवादी राजनीतिक दल होस् वा पत्रकार होस् वा बैद्धिक जगत किन नहोस् सबैमा प्रहार हुने गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, मधेशमा तीन थरिका मान्छे विरोध गरिरहेका हुन्छन्, पहिलो, एनिजियोबाट केही शुभलाभको अपेक्षा गरेका हुन्छन् जो उनीहरुले प्राप्त नगरेपछि त्यसको विरोधमा लागेका हुन्छन् । दोस्रो, कसैको उक्साहटमा जानी नजानी विरोध गरिरहेका हुन्छन् । र, तेस्रो, विषयवस्तुको ज्ञानको अभाव । यी तीन कारणले मधेशीले मधेशीको विरोध गरिरहेका हुन्छन् ।’

फोरम नेपाल नै किन ?
काँग्रेस र नेकपामा गएको भए व्यक्तिगत लाभ हुनसक्थ्यो तर नीति निर्माण तहमा केही गर्न सक्ने अवस्था थिएन्, त्यही भएर ती दई ठूला पार्टीमा नगएको उहाँको दावी छ । उहाँ भन्नुहुन्छ, राजपा नेपाल पनि मेरो लागि सम्मानित पार्टी हो, त्यसमा रहनु भएका सबै नेतालाई म सम्मान गर्छु तर फोरम नेपाल जतिको संगठित र व्यवस्थित पार्टी राजपा नेपाल नरहेको कारण मैले फोरम नेपाल रोजेको हुँ ।’ नयाँ संविधान जारी भइसकेपछि पहिचानको राजनीतिमा नयाँ चुनौती थपिएको छ । बितेको दसबर्षमा हामीले के देख्यौँ भने मधेस धेरै आन्दोलित भयो तर पहाडका जनजातीहरु त्यति आन्दोलित हुनसकेनन् ।

आन्दोलन त उठाउनै सकेनन्, पछिल्लो निर्वाचनमा उहाँहरुको भोट फेरिपनि नेकपा एमालेले पायो । मधेसी, जनजातीको पक्षमा नेपाली राज्यलाई पुनर्सरचना गराउनु छ भने मधेसी एक्लैले लडेर संभव देखिएन् । पहिचानको राजनीतिलाई नयाँ उचाई दिनकोलागी पहाडको जनजातीसँग मधेसी÷थारु आन्दोलनले भरपर्दो सहकार्य गर्नैपर्छ ।

फोरम नेपालले त्यो लाईन लिएकोले फोरम नेपाल ज्वाइन गरेको साहको दाबी छ ।  फोरम नेपालमा सहभागी हुनका लागि विगत एक डेढ वर्षदेखि त्यसका नेताहरुसँग तुलानारायण साहको कुराकानी भइरहेको थियो । जुन कुरालाई निकै गोप्य रुपमा राखिएको थियो । पार्टीमा अहिले उहाँलाई कुनै भूमिका दिएको छैन । महाधिवेशनपछि पाएको जिम्मेवारी अनुसार पार्टीमा उहाँ क्रियाशिल हुने स्रोतको दावी छ ।

(सहारा टाइम्स पत्रिकाको भदौ १६ को अंकबाट)

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..