» » कम्युनिष्ट एकता र देशमा समृद्धिको यात्रा


–जिवछ यादव 
तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताले विश्वको राजनीतिकवृतमा चर्चाको विषय भएको छ । यो एकता दह्रो र बलियो हुनुपर्ने नेकपाका समर्थकहरुको चिन्ता देखिन्छ । अर्कोतर्फ यो एकता बालुवाको बाँध जस्तै हो, कतिबेला भत्किने हो ठेगान छैन । यस्ता मत राख्नेहरुको सँख्या निकै ठूलो रहेको छ ।

 नेकपा पार्टी यतिबेला दक्षिण एशियाकै शक्तिशाली कम्युनिष्ट पार्टी बन्नुले पुँजीपतिको निन्दहराम हुनु पनि स्वभाविकै हो । यो एकता बलियो टिकाउ र दीर्घकालसम्म रहि रहयो भने नेकपाले समृद्ध नेपाल सुखी नेपालीको नारालाई व्यवहारतः सिद्ध गर्न सकियो भने यो नेकपाका लागि अवसर र सुरक्षित भविष्यको आधार पनि हो । यो एकतालाई बलियो बनाउन एकताका पक्षधर तथा सुत्रपात गर्नेहरु एकता भएपछि हौसिएकै हो । तर अझै पनि धेरै गृहकार्यहरु गर्नुपर्छ भने हेक्का राख्नैपर्छ ।

नेपालमा कम्युनिष्टहरुको लागि यत्रो ठूलो अवसर कहिले प्राप्त पनि भएको थिएन ।

अवसरको साथमा अनेकौ चुनौतीहरु पनि रहेको छ । ती चुनौतीहरुको व्यवस्थापन कसरी होला ? यसको लागि कुन विधि र सुत्रहरु प्रयोग गरिएला ? विश्व सम्राज्यवादको हुरी बतासबाट जोगाएर अघि बढ्न कति संयमित भएर फडको मार्नु सकिएला आदी प्रश्नका समस्याको समाधान खोज्न पार्टीभित्र मजबुत एकताको जग निर्माण गर्नुपर्छ । दुई तिहाई वरिपरिको सरकारले कसरी शहिदका बलिदानी र जनताका चाहनाहरुलाई सम्बोधन गरेर जनहितको यात्रा र समाजवाद उन्मुख अर्थतन्त्रलाई आधार बनाएर काम गर्नेछ त्यो हेर्न बाँकी नै छ ।


तीन तहको सरकारमा नेकपाको दुई तिहाईको उपस्थिति हुनुले देशमा केही होला भनेर आशामा नेपाली जनता बसेका छन् । तर अहिलेसम्म त्यस्तो संकेत देखाइको छैन । यद्यपी अहिले यो सरकारको अवधि थुप्रै बाँकी छ । आशा गर्छौ कि यो बीचमा जनताको मन जित्नका लािग केही कदम चाल्ने छ ।

चुनावमा वितरण गरेको घोषणापत्र, नेताहरुले गरेको भाषण जनताले सुरक्षित साथ राखेका छन् । अहिले पनि नेकपाका शीर्ष नेता, मन्त्री, मुख्यमन्त्री र गाँउपालिका नगरपालिकाको जनप्रतिनिधिहरुले सपना नै बाँडिरहेका छन् । सरकारले सपना बाँड्ने होईन, अब सपना साकार गर्ने बेला आएको छ । कुराले च्युरा भिज्दैन, त्यस्तै सपना, अश्वासन भरोसाले काम चल्दैन ।


अब योजना र काम लिएर आउनुपर्यो जनचर्चा सर्वत्र हुन थालेको छ । भदौ २ गते प्रदेश नम्वर २ को धनुषाको बरमझियामा महान शहिद रामवृक्ष यादव, शेखर यादव लगायतका शहिदको सम्झनामा आयोजना हुने २४ औ स्मृतिसभामा नेकपाका अध्यक्षद्वय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीले साझा बोलीमा भन्नुभयो, अब विकासको टेलर होईन, पुरै फिल्म नै देख्ने गरि जनताले समृद्धि र विकासको प्रत्याभूति गर्नेगरि सरकारले योजना बनाएर काम गर्न तयारी अवस्थामा रहेको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकता नेताहरुको स्वार्थसिद्धको लागि नभएर जनसमृद्धि र सुन्दर नेपाल निर्माणका लागि लागि भएको हो ।

पूर्व पश्चिम उत्तर दक्षिण रेल मार्गको संजालमा देश जोडिने छ । कोशीमा पानी जहाज सञ्चालन गरेर प्रति किलो ४ रुपियाँ भन्दा बढीमा आउने बंगलादेशका निर्यातका समानहरु एक रुपियाँ ७० पैसामा ल्याउने सरकारको तयारी छ ।


प्रदेश नम्वर २ लाई समृद्ध बनाएर यही मोडेललाई अन्य प्रदेशमा लागु गरिनेछ । मधेशको लाईफलाईन रहेको हुलाकी मार्ग निर्माणको काम द्रुतगतिमा अगाडि बढाइनुको साथै कोशी कमला डाईभर्सन सञ्चालन गरेर मधेशमा उद्योगधन्दाहरु सञ्चालन गरि प्रदेश नम्वर २ लाई सम्पन्न बनाएर मधेशी जनताको चाहना अनुकूल, गणतन्त्रको लागि र कम्युनिष्टहरुको एकताको लागि रामवृक्ष यादव ‘मास्टर’ साहवको सपना सकार गर्नेगरि काम हुने प्रतिवद्धताले प्रदेश नम्वर २ कै जनताले अब केहि होला भने सन्देश लिएर फर्केका थिए ।


पार्टी एकताको घोषणासँग हरेक जनवर्गिय संगठन, प्रदेश कमिटी, जिल्ला कमिटी, गाँउपालिका र नगरपालिका कमिटीमा समायोजनको प्रक्रियाहरु आगाडि बढिरहँदा पनि जो कोही भएपनि नेकपाको नेता नै हुन् भने भावना देखिदैन ।

फलानो जिल्लामा एमालेको अध्यक्ष, फलानो जिल्लामा माओवादी केन्द्रको नेतृत्वको मनोविज्ञानमा काम भइरहेको छ । त्यति मात्र होइन, एमालेभित्र माधव नेपाल गुट, झलनाथ गुट, वामदेव गुटको पनि चर्चा हुन्छ । माओवादी केन्द्रभित्र प्रचण्ड गुट, नारायणकाजी कुटको पनि चर्चा हुन्छ । अहिले पनि त्यस्तो देखिनुले कतै गुटको संरक्षण त भईरहेको छैन भनि भान भइरहेको छ ।

 गुटको संरक्षण र खेमाको नेता सबैको नेता र नेतृत्व गर्न सक्ला कि नसक्ला भने चिन्ता सर्वत्र हुन थालेको छ । सिद्धान्त र विचारको एकता अब भावनात्मक एकतामा परिवर्तन भएर काम गर्न सक्ने, योग्यता र क्षमतावान नेताहरुलाई नेतृत्व दिनुपर्ने परिपाटी हुनुपर्नेमा पोखरीको माछा जस्तै बाँडफाँडमा लागिनुले एकतामा चिरा र दरार त लाउने हो कि भने जन चिन्तालाई नेतृत्वहरुले नजर अन्दाज गर्नु हुँदैन ।


निर्वाचित सांसद, प्रदेशसभा सदस्य, गाँउपालिका प्रमुख, नगरपालिका प्रमुखलाई जिल्ला तहको नेतृत्व नदिए एक व्यक्ति एक जिम्मेवारीको नीति स्वागतयोग्य छ । 


नेकपाले दलीय दह्रो एकता गर्दै सरकारले समृद्धिको पक्षमा काम गर्न केन्द्र, प्रदेश र स्थानीयतहले कामको रफ्तार बढाउनुपर्यो । अब सरकारको काम सपना बाँड्ने होइन, काम गरेर देखाउने हो । नयाँ  इतिहास रच्नका लागि तीनै तहको सरकारको गति मतिमा समता र समानता देािखनुपर्यो ।

 कतिपय स्थानीय तहमा पुरानै शैली र भ्रष्टाचारको गन्ध आईरहेको छ । एक वर्षमै जनताले घृणा गर्न थालिएको छ, जक कि यत्रो यात्रा तय गर्नुछ । यस्ता स्थानीय तहलाई कसरी सही बाटोमा ल्याउने त्यसका लागि नेकपाका विभिन्न कमिटीहरु सक्रिए भएर बेलैमा उपचार गरि लोकलाजबाट पार्टीलाई जोगाउने गरि भूमिका देखिनुपर्यो ।

घरझगडामा अल्झिएर विकास रसमृद्धिको यात्रामा बाधा नपुग्नेगरि पार्टीले अनुशासनको दायरा र आचार संहिता बनाएर दलका नेता कार्यकर्ताहरुले हप्ताको एक शनिवार भएपनि विकास निर्माण, सरसफाई, सामाजिक विकृति हटाउने लगायतका जनहितमा लाग्न ढिलाई गर्नु हुँदैन ।

तत्कालिन एमाले र माओवादी केन्द्रका फरक दल हुँदाको बखत गरेका प्रशंसनीय जनहितका कामहरु गरि भ्रष्टाचारमुक्त समाज निर्माणमा नेकपाको भूमिका झल्किनुपर्छ । नेकपाको सरकारले दक्षिण भन्दा उत्तरको कम्युनिष्ट शैलीलाई व्यवहारमा उतार्नुपर्यो ।

 शान र शौकतको संस्कृृति होईन, त्याग गर्दै शहिदको बलिदानीलाई सम्झिदै देश निर्माणको लागि बोलीलाई व्यवहारमा उतार्न माथि देखि तल्लो कमिटीका नेता कार्यकर्ता र जनप्रतिनिधि एकै रथमा सवार भई एउटै पथमा आगाडि बढ्नुपरयो । 

६ वटा प्रदेशमा नेकपाको बहुमतको सरकार रहेको छ । प्रदेश नम्वर २ मा मधेशवादी दलको सरकार रहेपनि एमाले माओवादी एकतापछि ठूलो पार्टी बनेको छ ।

संघिय समाजवादी केन्द्रिय सरकारमा सहभागी भइसकेको छ भने राजपाले समेत सरकारलाई समर्थन दिएको अवस्था रहेको छ । प्रदेश २ मा यहि सरकारलाई केन्द्र सरकारले भरपूर सहयोग गर्नुपर्छ । सहयोग गर्ने प्रतिवद्धता प्रधानमन्त्री केपी ओलीले प्रदेशसभाको सम्बोधनमा समेत गरिसकेकाले प्रदेश २ को सरकार पनि केन्द्र सरकारसँगैको सहकार्यमा चल्ने मुख्यमन्त्री लालबाबु राउतको भनाईहरु सार्वजानिक भईरहेका छन् ।  यसरी अंक गणितीय हिसाब गर्दा सातै प्रदेशको सरकार नेकपाको पक्षमा रहेको मान्नुपर्छ । केन्द्र सरकारले पनि गरीबी र सामाजिक विकृति हटाएर समृद्ध नेपाल बनाउने भनिरहेको छ ।

प्रदेश २ का सरकारले पनि मधेश प्रदेशको गरीबी हटाउने बेटी बचाउ बेटी पढाउ लगायतका कामहरुको घोषणाले केन्द्र र प्रदेशको शुर र ताल मिलेको छ । अब समृद्ध देश र प्रदेश बनाउन नेकपाको दह्रो एकता र सरकारको समृद्धिको यात्रा भनाईमा सिमित नहोस, कार्यान्वयनको लागि लागोस देश र प्रदेशका जनताले यहि चाहेका छन् ।   
(जिवछ यादव गोरखापत्रका पत्रकार हुनुहुन्छ । उहाँ सिरहामा बस्नुहुन्छ)

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..