» » » सार्क स्तरीय विवाहपञ्चमी मनाउने तयारी

धनुषा असोज १४ गते । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले विवाहपञ्मीको अवसरमा जनकपुरमा सार्कस्तरीय रामलीलाको आयोजना गर्ने जानकारी दिनुभएको छ ।

आगामी मङ्सिर २६ गते यहाँ हुने भगवान् सीताराम विवाहपञ्चमी महोत्सवको बारेमा आयोजना गरिएको छलफलमा मन्त्री साहले विगतको भन्दा यसपटक विवाहपञ्चमी विशेष रुपमा मनाइनेछ ।

प्रदेश २ को अस्थायी राजधानी भएका हुनाले यसलाई विगतको भन्दा विशेष बनाउने भन्दै उहाँले यसका लागि सबै क्षेत्रबाट सहयोग हुने पर्ने धारणा राख्नुभयो ।

जानकी मन्दिरद्वारा  आइतवार आयोजना गरेको एक कार्यक्रमा मन्त्री साहले महोत्सव सम्पूर्ण मिथिलावासीको प्रतिष्ठा भएको बताउँदै त्यसलाई भव्यताका साथ सफल पार्न आग्रह गर्नुभयो ।

उहाँले प्रदेश सरकारले महोत्सव भव्यरुपमा मनाउन ३० लाख रुपियाँ उपलब्ध गराउने निर्णय समेत गरेको बताउनुभयो ।

गोस्वामी तुलसीदासले ‘रामायणमा वर्णन गर्नु भएअनुसार जनकनन्दिनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्लपञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

सीतालाई छोरी र बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको शरीर नभए पनि अदृश्य रूपमा नै उपस्थितिको विश्वासले हर्ष र उल्लाससाथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुुने गरेका छन् ।

मिथिलामा दुलहा पक्षलाई अयोध्यावासी र दुलही पक्षलाई मिथिलावासी मान्ने चलन भएकाले सीताराम विवाह महोत्सवमा प्रतीकात्मक विवाह मैथिल संस्कृतिअनुसार गर्ने परम्परा छ । जानकी मन्दिरका सहमहन्त रामरोशन दासका अनुसार महोत्सवमा जनकपुर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर, शुभविवाह र रामकलेवा मनाइन्छ ।

छलफल कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साह र सुरिता साह, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायतले महोत्सवलाई मिथिलाको पहिचानअनुरूप मनाउनुपर्ने धारणा राख्नुभएको थियो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..