» » चुरे संरक्षणका लागि मधेशवादी दलहरु गम्भिर देखिएन ( अन्तरवार्ता)

–रामकुमार शर्मा
–केन्द्रीय सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

आधुनिक जनकपुर तथा जलेश्वर–जनकपुर सडकका लागि छुट्टा छुट्टै आमरण अनसन बसिसक्नु भएका रामकुमार शर्मा चुरे संरक्षणका लागि पुनः आमरण अनसन बस्ने तयारी गरिरहनु भएको छ । चुरे विनाशका कारण मधेशमा निकै समस्या भइरहेको तर राजनीतिक रुपमा त्यसमाथी कसैले ध्यान नदिएको दावी गर्दै शर्माले शुरुमा चुरे बचाउनका लागि सरकारलाई दवाव दिने त्यसपछि पनि नटेरे काठमाडौमै आमरण अनसन बस्ने तयारीमा लाग्नुभएको छ । प्रस्तुत छ यिनै विषयमा नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका शर्मासँग सहारा टाइम्सले गरेको कुराकानीः

तपाई पुनः आमरण अनसन बस्न लाग्नु भएको हो भनि सुनिएको छ किन फेरि त्यस्तोे ?
–ठिक सुन्नुभएको छ । चुरे विनासका कारण मधेश मरुभूमीमा परिणत हुन गइरहेको छ । त्यसलाई कसैले रोक्ने प्रयत्न गरेको छैन । कसैले नकसैले यसलाई ठोस रुपमा कुरा उठाएन भने मधेश बाँकी रहदैन । त्यसलै मैले चुरे बचाउ अभियान शुरु गरेको छु । चुरे बचाउनका लागि अनसन लगायत अरु जे जे गर्नुपर्छ म गर्छु तर चुरेलाई बचाउँछु ।

अनसन नै बस्ने अवस्था किन आयो त ?
–अहिले तत्कालै अनसन नै त बस्दिन तर त्यसको तयारी चाहि भइरहेको छ । राज्यप्रति विश्वास छैन मलाई । सानो तिनो संघर्षले यहाँ सुन्दैन । कुनै जायज माग पूरा गराउनका लागि ठूलै दवाव दिनुपर्ने अवस्था नेपालमा देखिएको छ । त्यसलै जुन कामका लागि मैले कदम चालेको छु । त्यो धेरै नै जोखिमयुक्त कार्य हो तैपनि म यसका लागि संघर्ष गर्छु ।

सिधै अनसनमा नजाने भन्नुभएको छ, त्यसअघि के के गरिरहनु भएको छ त ?
–मैले अभियान शुरु गरिसकेको छु  । हालै केही विज्ञ तथा सरोकारबालालाई राखेर चुरे सरोकार समाज गठन गरेको छु । चुरेको विषयमा मैले आफै विभिन्न विज्ञहरुसँग सल्लाह र छलफल गरिरहेको छु । चुरेलाई कसरी बचाउन सकिन्छ । त्यसका लागि के के गर्न सकिन्छ , त्यसको बारेमा गम्भीर रुपमा छलफल गरिरहेको छु । त्यसबाहेक मैले वन मन्त्री शक्ति बस्नेत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भेटेको छु । त्यस्तै, मैले नेपाली काँग्रेसका डा.शेखर कोइरालालगायत अन्य विभिन्न व्यक्तिलाई भेटेर चुरे बचाउका लागि आग्रह गरिरहेको छु ।

उहाँहरुको प्रतिकृया कस्तो पाउनु भएको छ  त ?
–सबै सकारात्मक हुनुहुन्छ । यसमा सबैले सहयोग गर्छु भन्नुभएको छ । अध्यक्ष प्रचण्डले राम्रो मुद्दा उठाउनु भएको छ । यसमा व्यक्तिगत मेरो र पार्टीको पनि सहयोग हुन्छ भन्नुभएको छ । वनमन्त्री शक्ति बस्नेतले पनि चुरे बचाउका लागि सरकार पनि लागि परेको छ । त्यसमा तपाईको अभियानले पनि सहयोग गर्नेछ । हामी गम्भीर छौं भन्नुभएको छ । अब हेरौं । सकारात्मक कुरा सबैतिरबाट आएको छ । उहाँहरुको भनाई र गराई आउने दिनमा नै बताउँनेछ ।

तपाईले कतिको विश्वास गर्नुभएको छ त ?
–कार्यान्वयन नभएसम्मका लागि विश्वास गर्नैपर्ने हुन्छ । तर, पूर्ण विश्वस्त छैन । त्यही भएर अनसनको तयारी पनि गरिरहेको छु । यसपटक काठमाडौमा अनसन बस्ने सोच बनाएको छु । पहिला पनि मैले दुईपटक अनसन बसिसकेको छु । जुन विषयलाई लिएर अनसन बसेको थिए त्यो अहिले कार्यान्वयनमा आएको छ । त्यसले म खुशी छु । अब मेरो लागि चुरे जोगाउन प्रतिष्ठाको विषय बनेको छ । मैले पहल गरेको आधारमा यदि सरकारले सुनुवाई गरि चुरे संरक्षण गर्यो भने राम्रो नभए म अनसन बसेर दवाव दिन्छु ।

कहिले बस्ने सोच बनाउनु भएको छ ?
–ठ्याकै मिति र महिना नतोके पनि मंसिरमा बस्ने सोच बनाएको छु । हेरौं के हुन्छ ।

यसअघि पनि दुईपटक अनसन बस्नु भएको छ के केमा बस्नुभएको थियो त्यो काम अहिले कहाँ पुगेको छ ?
–मैले शुरुमा २०७३ भदौ २७ गतेदेखि महोत्तरीको भिठामोड सडक निर्माणको माग गर्दै अमरण अनसन बसेका थिए । त्यसपछि आधुनिक जनकपुर निर्माणको माग गर्दैै छुट्टै अमरण अनसन बसेका थिए । दुवै सक्सेस भएको छ । अहिले दुवै ठाउँमा काम भइरहेको छ । भिठामोड सकडका लागि महोत्तरीको पिपरामा आमरण अनसन बसेका थिए । नौ दिन नपुग्दै सरकारले असोज ५ गते राती ११ः३० वजे वार्ता गर्यो, सम्झौता भयो । र त्यसको भोलीपल्टदेखि सम्झौता अनुसार सडक निर्माणको कार्य शुरु भयो । त्यो सडक वर्षौदेखि जीर्ण अवस्थामा थियो । हुलाकी सडक अन्तर्गत त्यो सडक भएको हुनाले भारत सरकारले त्यसलाई बनाउने सहमति गरेको थियो । जब म अनसन बसे अनि त्यो सडक भारत सरकारबाट लिएर नेपाल सरकारले १०० करोडको बजेट छुट्याएर सडक निर्माण गर्ने कार्य शुरु गरेको थियो । अहिले त्यो सडक द्रुत गतिमा निर्माण भइरहेको छ । म त्यतिबेला जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्ष थिए । तर राज्यले जनकपुरको विकासका लागि काम भइरहेको थिएन । अध्यक्ष भएकै बेला म अनसन बसेको थिए ।  जनकपुरको जानकी चौकमा अनसन बसेको थियो । त्यो अनसन लगातार १६ दिनसम्म बसेको थिए । त्यसपछि मात्र सरकारले सात बुँदे सम्झौता गरेको थियो । तत्कालिन भौतिक मन्त्री विमलेन्द्र निधि वार्ता गर्न आउनु भएको थियो । उहाँले अनसन तोडाउनु भएको थियो ।

चुरे बचाउ अभियान सञ्चालन गर्नुभएको छ त्यसको मुख्य माग के के हुन् ?
–चुरे क्षेत्र मधेशका लाइफलाइन हुन् । यसलाई बचाउनु सम्पूर्ण नेपालीको कर्तव्य हो । शुरुको सविधानसभाको बेला वन समस्या अध्ययन समितिको संयोजक थिए । त्यसबेला अध्ययन गरेर एउटा प्रतिवेदन सरकारलाई बुझाएको थिए । सो प्रतिवेदन कार्यान्वयन हुनुपर्ने मेरो पहिलो माग हो । सो प्रतिवेदनको प्रतिलिपि अहिलेका वन मन्त्रीलाई पनि बुझाएको छु । त्यसपछि चुरै वन संरक्षित क्षेत्र घोषणा हुनुपर्ने, वन क्षेत्रमा गैरकानुनी बसोबासलाई हटाउनुपर्ने, वन क्षेत्रलाई छुटाउनुपर्ने र सम्पूर्ण चुरे क्षेत्रका संरक्षण र विकासका लागि एउटा छुट्टै प्राधिकारण बनाउनुपर्ने लगायतको माग रहेको छ । यी मागहरु चार महिनाको अवधिमा पुरा भए अनसन बस्नु पर्दैन नभए मंसिरमा बस्ने तयारी भइरहेको छ । म आशा गर्छु कि सरकारले अनसन बस्न दिने अवस्था आउन दिँदैन ।

तपाईले आफ्नो पार्टी र प्रतिपक्षि दललाई भेटेर चुरेको बारेमा ध्यानाकर्षण गराउनुभयो तर मधेशवादी दलसँग तपाईको कस्तो कुरा भइरहेको छ ?
–मैले प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतसँग भेटेको थिए । अन्य नेताहरुलाई भेट्ने तयारी गरिरहेको छु । मधेशवादी दलका नेताहरुसँग औपचारिक रुपमा भेटघाट र छलफल नगरेपनि औनपचारिक छलफल भइरहेको हुन्छ । चुरे क्षेत्रको बारेमा विस्तृत अध्ययन गरिरहेको छु । अध्ययनपछि एउटा दस्तावेज तयार गरि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझउने छु । त्यसका साथै अन्य मधेशवादी दलका नेताहरुलाई पनि ध्यानाकर्षण गराउने छु ।

मुख्यमन्त्री लालबाबु राउत चुरे बचाउने कुरामा कति गम्भीर हुनुहुन्छ ?
–कुरा गर्दा त राम्रै कुरा गर्नुभयो । चुरे बचाउनु पर्छ त्यसमा प्रतिवद्धता जनाउनुभयो । तर, जब उहाँको प्रतिवद्धता कार्यान्वयनमा आउँछ अनि मात्र विश्वास गर्न सकिन्छ । मेरो अभियान अहिले विस्तारै आगाडी बढी रहेको छ । अहिले म भेटघाट र छलफल मात्र गरिरहेको छु । जब यसले गति लिन्छ अनि मात्र थाह हुन्छ कि कसले कस्तो सहयोग गरिरहेको छ ।

तपाई पनि मधेशको नेता, मधेशवादी दलमा काम पनि गरिसक्नु भएको छ, यो चुरे संरक्षणको विषयमा मधेशवादी दलका नेताहरु कति गम्भीर हुनुहुन्छ ?
–मलाई साँच्चै सोध्नु हुन्छ भने मैले उहाँहरुमा त्यति गम्भीर्यता पाएको छैन । कुरा ठूला ठूला गर्ने तर काम चाहिँ नगर्ने मनोविज्ञान उहाँहरुमा देखिएको छ । अहिले फोरम नेपाल केन्द्रीय सरकारमा सहभागी भएको छ भने प्रदेश २ मा राजपा र फोरम नेपालले मिलेर सरकार बनाएको छ । मधेशी दलका लागि यो भन्दा ठूलो अवसर आउनेछैन । चुरे संरक्षणका लागि उहाँहरुले विशेष रुपमा काम गर्नुपर्ने थियो तर नीतिगत रुपमा त्यस्तो कही देखिएको छैन । नेताहरुले भाषण गर्दा वन क्षेत्रको बारेमा ठूला ठूला कुरा गरेका हुन्छन् तर नीतिको विषयमा केही जानकारी हुँदैन । मधेशवादी दलका नेताहरुले सिमांकनको विषयमा जति कुरा उठाए त्यति कुरा प्रादेशिक साधन स्रोतको बाँडफाँडका विषयमा कुरा उठाएनन् । मैले एउटा सविधानसभामा उहाँहरुसँग काम गरेको छु । मैले उहाँहरुलाई राम्रोसँग बुझेको छु । 

प्रदेश २ अर्थात मधेशमा राजपा र फोरम बलियो छ तर ती दल नै चुरे संरक्षणका लागि गम्भीर छैन भने तपाई एक्लैले अभियान चलाएर कसरी सफल हुनुहुन्छ त ?
–मलाई विश्वास छ । मैले अभियान शुरु गरेपछि त्यसमा सबैले साथ दिनुहुन्छ । र, साथ नदिए पनि म एक्लै यसका लागि आगाडी बढ्छु र यसलाई सफल पार्छु भनि मलाई पूर्ण विश्वास छ । 


About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..