» » प्रधानमन्त्री ओलीको सम्बोधनमा राजपा र फोरम तैंचुप मैंचुप

प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २ गते प्रदेश २ को प्रदशसभामा सम्बोधन गरेको दुई हप्ता बित्न लाग्दा पनि त्यसको चर्चा सेलाएको छैन । त्यसको चौतर्फी आलोचना र विरोध भइरहँदा पनि प्रदेश २ का सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले हालसम्म कुनै आधिकारीक प्रतिकृया दिएको छैन ।

 पार्टीले अधिकारीक धारणा नदिएपनि सो पार्टीका नेता तथा कार्यकर्ताहरु आफ्नो प्रतिकृया दिइरहेका छन् । उहाँहरुले दिनुभएको प्रतिकृया पार्टीको आधिकारिक धारणा हो कि होइन भनि आलोचना शुरु भएको छ । पार्टीका उपाध्यक्ष, महासचिव, सचिव तथा केन्द्रीय सदस्यहरुले प्रतिकृया दिइरहेका छन् तर त्यो पार्टीको आधिकारीक धारणा हो कि होइन अन्योल देखिएको छ ।

प्रधानमन्त्री ओलीले सम्बोधन गरिसकेपछि राजपा नेपालको अध्यक्ष मण्डलको बैठक बसेको थियो तर प्रधानमन्त्री अ‍ोलीको सम्बोधनको बारेमा कुनै धारणा बाहिर ल्याएन । जब सो दलका प्रदेश २ का सांसद र मन्त्रीले सम्बोधनको विरोध गरी कार्यक्रमको वहिष्कार नै गर्नुभएको थियो ।

 तर त्यो सही हो गलत त्यसको बारेमा कुनै धारणा बाहिर ल्याएको छैन । प्रधानमन्त्री ओलीको प्रदेशसभाको सम्बोधन सही या गलत त्यसको बारेमा राजपा नेपाल र फोरम नेपालले आआफ्नो धारणा बाहिर ल्याउनु पर्ने बताउँदै पूर्व राजदूत एवं मधेश राजनीतिकका विश्लेषक विजयकान्त कार्णले राजपा र फोरमले डबलस्ट्याण्ड देखाएका छन् जुन गलत रहेको प्रतिकृया दिनुभयो ।’

यता, राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले प्रधानमन्त्री ओलीको प्रदेशसभामा सम्बोधनको विषयमा बोलिरहनु पर्ने अवस्था नरहेको प्रतिकृया दिनुभयो । उहाँले भन्नुभयो, प्रदेशबाट सम्बोधनको बारेमा प्रतिकृयाहरु आइसकेका छन्, यसको बारेमा थप बोल्नु पर्ने अवश्यकता छैन ।’ प्रधानमन्त्री अ‍ोलीको सम्बोधनको बारेमा फोरम नेपालको पनि आधिकारीक धारणा नआएपनि सो दलबाट प्रदेश २ मा रहनु भएका मन्त्री तथा सांसदले त्यसलाई सकारात्मक रुपमा लिनुभएको  ।

मुख्यमन्त्री लालबाबु राउतले नै प्रधानमन्त्री अ‍ोलीको सम्बोधन सकारात्मक रहेको धारणा राख्नुभएको छ भने कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले समयको माग अनुसार प्रधानमन्त्रीको सम्बोधन भएको र त्यो सकारात्मक रहेको प्रतिकृया दिनुभएको छ । यसरी पप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि त्यहाँको सत्तारुढ दलमै विभाजन देखिएको छ ।

एक पक्षले राम्रो भनेको छ अर्को पक्षले नराम्रो भनेको छ । यसले गर्दा सत्तारुढ दल नै विभाजित भएको भनि प्रतिकृयाहरु आइरहेको छ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को सहयोगमा संघीय समाजवादी फोरम नेपालले प्रदेश २ को सरकारलाई नेतृत्व गरिरहेको छ । प्रधानमन्त्री ओलीले भदौ २ गते प्रदेशसभामा सम्बोधन गर्दा सत्तारुढ दल राजपा नेपालले विरोध गरेपछि फोरम नेपाल असन्तुष्ट देखिएको छ ।

प्रधानमन्त्री ओलीले प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रमलाई फोरम नेपालले सफल बनाउन सरकार तथा पार्टी पंक्तिलाई निर्देशन नै दिएको थियो । सोही अनुसार प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री ओलीको सम्बोधनलाई सफल बनाउन र सो कार्यक्रममा मन्त्री तथा प्रदेश सांसदलाई अनिवार्य उपस्थित हुनुपर्ने निर्देशन दिनु भएको थियो ।

तर, कार्यक्रममा फोरम नेपालका मन्त्री तथा प्रदेशसभा सांसदहरुको उपस्थित भएपनि राजपा नेपालका अधिकाँश नेता तथा मन्त्रीहरु अनुपस्थिति देखाएर विरोध गनुभएको थियो । फोरम नेपालको नेतृत्वमा सरकार भएको कारणले प्रधानमन्त्री ओलीको सम्बोधनमा कुनै प्रकारको व्यवधान तथा विरोध हुनु नपर्ने फोरम नेपालको चाहना थियो ।

तर, राजपा नेपालका केही मन्त्री र सांसद अनुपस्थित भए भने तीनजना सांसद उपेन्द्र महतो, विक्की यादव र गौरीनारायण साह प्रदेशसभामा प्रधानमन्त्री अ‍ोली सम्बोधन गर्न लाग्दा बहिष्कार गरेर बाहिरिनु भएको थियो । प्रधानमन्त्री अ‍ोलीको सम्बोधनलाई विरोध गर्ने वा सफल पार्ने कुनै प्रकारको निर्देशन केन्द्रबाट गएको थिएन ।

प्रधानमन्त्री ओलीलाई राजपा नेपालको मन्त्रीमध्ये भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल मात्र एयरपोर्ट पुग्नुभएको थियो । र, उहाँ पनि प्रधानमन्त्री ओलीको सम्बोधनप्रति सन्तुष्ट हुनुहुन्न । उहाँले भन्नुभयो, प्रधानमन्त्री प्रदेशसभामा गएर सम्बोधन गर्नु नै गलत हो, लोकतान्त्रिक पद्धति अनुसार हो कि होइन, त्यसको जस्टीफाइ गर्नुपर्ने देखिन्छ ।’

प्रदेश २ का जनताले गरेको अपेक्षा अनुसार प्रधानमन्त्री ओलीले सम्बोधन नगरेको मन्त्री सोनलको टिप्पणी थियो ।

सविधान संशोधनको समस्या छ , आन्दोलनकारीहरु थुनामा छन्, कतिपयमाथि मुद्दा लागेको छ यी विषयहरुमा बोल्नु पथ्र्यो तर उहाँले त्यसको बारेमा केही नबोल्नु भएको उहाँको गुनासो थियो । मुख्यमन्त्री राउतले पनि प्रधानमन्त्री ओलीलाई प्रदेशसभामा सम्बोधन गर्न दिनुभन्दा पहिले त्यसमा बहस गर्नुपथ्र्यो, संसदमा छलफल गराउनु पथ्र्यो तर उहाँले त्यस्तो नगरि विना औचित्य प्रधानमन्त्री अ‍ोलीबाट सम्बोधन गर्न लगाउनु भएको भन्दै मधेशमा टिप्पणी शुरु भएको छ ।

 प्रदेश २ को प्रदेशसभामा सम्बोधन गर्नका लागि प्रधानमन्त्री केपी शर्माले ओलीले मुख्यमन्त्री राउतसँग समय माग गर्नुभएको थियो । आफूले प्रदेश २ को प्रदेशसभामा सम्बोधन गर्न इच्छुक रहेको र त्यसको व्यवस्था गर्न मुख्यमन्त्री राउतलाई उहाँले आग्रह गर्नुभएको थियो ।

भदौ २ गते बरमझियामा सहिद रामवृक्ष यादवको स्मृति सभामा सम्बोधन गर्नका लागि ओलीलाई जानु थियो । र, सोही समयलाई सदुपयोग गरी उहाँले प्रदेश २ को प्रदेशसभामा सम्बोधनका लागि समय मिलाउनु भएको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..