» » नागिंएर बिरोध गरिदैमा बलात्कार रोकिदैन (फरकमत)

–रमिता यादव
निर्मला पन्तको बलात्कारपछि हत्या गरेको झण्डै दुई महिना हुन लागेको छ । तर हालसम्म त्यसको दोषी फेला परेको छैन । सरकारले तीन–तीनवटा जाँच बुझ समिति गठन गर्यो तर मुख्य दोषी फेला परेको छैन । यसरी दोषी फेला नपर्नुको कारणमा कतै नकतै यसमा राज्यका कुनै वरिष्ठ व्यक्तिको संलग्नता रहेको आशंका हुन थालेको छ ।

घटनाक्रम जसरी आगाडी बढेको छ । जे तथ्यहरु बाहिर आएको छ त्यसले त घटनालाई कही कही ढाकाछोप गर्ने पर्यत्न भइरहेको छ । यसका लागि खबरदारी आवश्यक छ । देशमा थुप्रै निर्मलापन्तहरु बलत्कृत भएका छन् । कतिको कुरा बाहिर आएको छ भने कतिपयको आएको छैन । कतिपयको दोषी फेला परेको छ भने कतिपयको दोषी अझै फेला परेको छैन । कतिपय बलत्कृत महिलाहरुले जाहेरी किटानी दिँदा पनि राज्यको तर्फबाट कुनै सुनुवाई भएको छैन । त्यस्ता बलात्कारीहरुलाई समाति सजाय दिन विभिन्न किसिमको दवाव पनि परिरहेको छ ।

तर २०७५ साल भदौँ २ गते शनिवारको दिन काठमाण्डौँको माइतिघर मण्डलामा भेला भएर महिला दिदी वहिनीहरुले दिनुभएको दवावले विभिन्न प्रश्न उब्जाएको छ । बलात्कारीलाई फाँसी दे जस्ता कैयौँ प्लेकार्ड सहित महिलाहरु अर्धनग्न प्रदर्शनमा उत्रिएका थिए । त्यसको ठिक एकदिन अघि एकजना लोग्ने मान्छे बिकिन काङबाङले नग्न प्रदर्शन गर्नुभएको थियो ।

लगतै यी दुईटा घटना हुँदा आमजनताले त्यसलाई प्रोत्साहित भन्दा पनि आलोचना बढी गरे । एउटा केटा मान्छे सिंहदवार आगाडी यसरी प्रदर्शन गरेको र त्यसले पाएको चर्चाले गर्दा महिलाहरु पनि नग्न भएर प्रदर्शन गरेको पनि टिप्पणीहरु सुने ।

आखिर भएको क्रियाको आएका प्रतिकृयाप्रति मेरो कुनै टिप्पणी छैन तर भदौ २ गते महिला दिदी वहिनीहरुले गर्नु भएको प्रदर्शनले समाजको शीर निहुर्याएको पक्कै हो । त्यसलाई यो पुरुषप्रधान समाजले एउटा आन्दोलन र संघर्षको रुपमा नलिएर मनोरञ्जनको रुपमा लिएको, त्यसबाट तृप्तानुभुति लिएको अनुभव मैले गरेको छु । हाम्रो नेपाली समाजले महिलालाई अझै पनि हेर्ने दृष्टिकोणमा परिवर्तन गरेको छैन । अझै पनि महिलालाई पर्दाभित्रै राख्न चाहेको देखिन्छ ।

अहिले देशमा महिलामाथि भइरहेको हिंसा र बलात्कारको घटना ह्रदय विदारक मात्रै होइन, खेदजनक छ । त्यसको जति भत्र्सना गरे कमै होला । तर पुरुषले महिलालाई आफ्नो हवसको शिकार जसरी बनाएको छ, के महिलाले पनि त्यसरी नै प्रस्तुत हुने हो त ।

महिलाको सबभन्दा ठूला उसको इज्जत, प्रतिष्ठा र लोकलाज हो । त्यसको स्मिता हो । त्यही लोकजाल र स्मितालाई खुल्ला रुपमा प्रदर्शन गर्यो भने त्यो कस्तो अधिकारको लडाई हो ? एउटा अस्लिल हर्कतको जवाफ अस्लिलता नै हो त ? के हाम्रो नैतिकताले हामीलाई यही पाठ सिकाएको छ ? पक्कै पनि होइन र एउटा बलात्कारीलाई सजाय दिलाउनु उचित कार्य हो । तर, माग राख्ने प्रकृति अरु अरु पनि हुनसक्छ । संघर्षका प्रकृति अरु अरु पनि हुनसक्छ । जस्तै, बलात्कार घटनाको विरोध गर्दै भदौं १२ गते त्यही महिला दिदी बहिनीहरुले केशमुण्डन गराउनु भयो । हो, यो पनि आन्दोलनको एउटा प्रकृति हो । यसलाई सभ्य सांकेतिक आन्दोलनको रुपमा लिन सकिन्छ ।

बलात्कार घटनालाई विरोध गर्दा आफै बलत्कृत हुने गरि संघर्ष गर्नुको के अर्थ हुन्छ । माइतीघर मण्डलमा महिलाले अर्धनग्न प्रदर्शन गर्दा पुरुष प्रहरीबाट ती अर्धनग्न महिलाहरु कति हिंसामा परे त्यो कसैले याद गरेको छ । कसैले याद नगरेपनि ती दिदीहरुले पक्कै पनि गरेको होला । सायद त्यसरी प्रदर्शन नगरेको भए ती पुरुष प्रहरीले मौकाको फाइदा लिदैन्थ्यो होला ।

बाटोमा हिड्नेले मनोरञ्जनको साधनको रुपमा लिदैन्थ्यो होला । माइतीघरमा भएको त्यो अर्धनग्न प्रदर्शनको भिडियोलाई युटुयुवमा राखेका छन् । तर, त्यसको प्रस्तुती एकदमै तल्लो स्तर र नीच किसिमको छ । त्यो प्रदर्शनमा अर्को एकजना महिलाको पिठ्योमा कागजमा लेखिएको थियो । त्यसमा बुवालाई नै बलात्कारी भनेका छन् । यो त उत्शृङ्खलाको पराकाष्ठा हो । जु

न बुवाले छोरीलाई जन्म दिएर आज यो हैसियतमा पुर्याएको छ । त्यही बुवालाई बलात्कारी भन्नु त्यो कस्तो महिला होला । हुनसक्छ उहाँको बुवा बलात्कारी होला, अरु कोही एक दुई बुवाहरु त्यस्तो होला तर सबै बुवा त्यस्तो हुँदैन । सबै बुवालाई बलात्कारी भन्न मिल्दैन । ती महिलाले प्रकृतिको नियम विपरित नारा झुण्डाउनु भएको थियो ।


बुबा बलात्कारी भनि शब्दले देशैभरीका बुबाको शीर निहुरिएको छ । उहाँलाई लाग्दो होला कि बेकारै आफ्नो छोरीलाई जन्म दिएको छु । ती बुवाहरुको अब आफ्नो छोरी र बुहारीको आगाडी अब गर्वले शीर ठाडो हुनेछैन किनभने छोरी बुहारीले नै सबै बुवालाई बलात्कारीको संज्ञा दिएका छन् ।


देशमा भइरहेको बलात्कारका घटनाहरु सुन्दापनि जिउँ सिरिङ हुन्छ । एक मनले यो भन्छ कि त्यो बलात्कारीको आँखा नै फुटाइ दिउँ । टुँडिखेलमा गएर झुण्डियाई दिउ । तर हामीले माइतीघरमा भएको विरोधको तरिकालाई बदल्नु पर्छ नत्र बलात्कारीको मनोबल गिर्नुभन्दा झन बढ्छ ।


मूल्य, मान्यता र सभ्यताबाट टाढिदैँ 
जति जति हाम्रो देश समृद्धिको दिशामा अगाडि बढीरहेको छ, त्यति त्यति नै हामी आफनो संस्स्कार, संस्स्कृति, परम्परा र सभ्यतालाई बिर्सिदैँ गइरहेका छौँ । अन्य विकशित देश जस्तो बन्ने निहुँमा विभिन्न अपराधमा सामेल भइरहेका छौँ । पश्चिमी सभ्यताका कारण हामी अहिले एकल परिवारमा बस्न रुचाउँन थालेका छौँ । पहिला पहिला त संयुक्त परिवारमा बस्थ्यौँ र हामीसँग भएका सुख, दुख, विभिन्न कुराहरु एक आपसमा साझा गर्ने र बढी भन्दा बढी समय आफना आफन्तहरुसँग बिताउने गर्दथियौै ।

यसले गर्दा हामीले एकअर्कालाई बुझ्थ्यौं । कुनै समस्या हुँदा त्यसलाई समाधान गर्नेतिर हामी लाग्थ्यौं । तर, अहिले हामी आफैमा आफैमा एक्लिएका छौं । संयुक्त परिवारमा बस्दा माया, प्रेम स्नेह पनि बढी नै हुन्थ्यो सबैसँग जसले गर्दा अपराधबाट जोगिन्थ्यो ।

 तर अहिले हरेकको सेडियुल प्याक हुन्छ । कसैलाई कसैसँग कुरा गर्ने फुर्सद समेत हुदैँन । जसले गर्दा दिनदिनै प्रेम र सद्भावको अभाव हामीमा हुदैँ गएको छ । जसले गर्दा धेरै डिप्रेसनको शिकार भएको छ । अहिलेका माइतीघरका घटना र बलात्कारका घटना पनि त्यसैका दोतक हुन् ।


अहिले नेपालमा मात्रै ९९ प्रतिशत मानिसहरु डिप्रेशनका शिकार भएका छन् । जसले एक्लो हुदैँ जान्छ र मनमा अनेक नकारात्मक सोचले बास बस्दैँजान्छ । यो पनि बलात्कार जस्ता जघन्य अपराधमा शामिल हुने मुख्य कारण जस्तो लाग्छ । अहिले ८ महिने बालिकादेखि ६० वर्षीया वृद्धको पनि बलात्कार हुन थालेको छ । तर बलात्कारीलाई फाँसी आ आजीवन कारावासको माग गर्नुभन्दा त त्यसको समाधान खोज्ने तिर लाग्नुपर्छ । बलात्कारका घटना किन हुन्छ त्यसको पहिचान गरी त्यसलाई कम गर्नेतिर लाग्नुपर्छ ।


सरकार लगायत महिला, बालबालिका तथा समाज कल्याणका लागि काम गर्ने, हक अधिकारको लागि लडने संघ संस्थाहरुले यसको बारेमा सोच्नु पर्ने बेला आइसकेको छ । तर सावित्री सुवेदी जस्तो होइन । कहिले सोचेको छ, कि बलात्कार हुनुको मुख्य कारण के हो ।


यसलाई जडैबाट हटाउन अन्य के कस्ता उपायहरु अपनाउँन सकिन्छ त्यसको बारोम कसैले सोचेको देखिदैन सबैले सजायको माग मात्र गरिरहेका छन् । सजाय पनि दिनुपर्छ म त भन्छु कानुनमा फाँसीको नै व्यवस्था गर्नुपर्छ तर के फाँसीको व्यवस्था गर्दैमा समस्याको समाधान हुन्छ त ।

दुव्र्यसन र प्रविधिको नकारात्मक प्रयोग
चलन चलती र देखासिखिका कारण अत्याधिक मात्रामा लागूऔषधको दुव्र्यसन पनि बढेको छ । यो पनि यसको मुख्य कारण अन्तर्गत पर्दछ । त्यस्तै, हामी आधुनिकसँगै प्रविधि युगमा प्रवेश गरिसकेका छौँ । जतिखेर पनि हामी प्रविधिसँग खेलिरहेका हुन्छौ । जसको कारणले हामी कतै एक ठाउँमा बसे पनि हामीलाई एकअर्कासँग कुरा गर्ने फुर्सद हुदैँन किन किनभने अहिले हाम्रो साथी मानिस होइन इन्टरनेट बनेको छ । अहिले भन्न थालेको छ कि मान्छेले अहिले वाइफ होइन, वाइफाइ खोज्न थालेका छन् ।


इन्टरनेटको आफनै फाइदा र बेफाइदाहरु छन् । तर आजकाल इन्टरनेटमा पाइने विभिन्न किसिमका पोर्न फिल्म, भिडियोका कारण पनि मानिसको  सोचाई नकारात्मक बन्दै गएको छ ।

र त्यो सोच बलात्कारमा परिवर्तन भएको छ । यी चीजहरुमा रोक लगाउँदैमा प्रेस स्वतन्त्रताको, वाक स्वतन्त्रताको हक अथवा मौलिक हकको हनन हुँदैन । चीनमा यी कुराहरुमा रोक लगाएको छ, के त्यहाँ मौलिक हकको हनन भएको छ त । अरु अरु देशमा पनि अश्लिल फिल्ममा रोक लगाएको छ । नचाहिँदो भिडियोहरु चलाउने अनुमति हुँदैन । समाजलाई सकभर यस्ता छाडा कुराबाट नियन्त्रणमा राख्नुपर्छ । केही हदसम्म रोक लगाउन सक्ने जस्ता नीति नियम आ उपायहरुको अपनाउने तर्फ कसैको ध्यान जादैन ।

अहिले साना साना केटाकाटीहरु स्मार्ट, एनरोएड मोवाइल सेटहरु बोकिरहेका हुन्छन् । जतिखेर पनि त्यही मोबाइलमा घोतिलिरहेका हुन्छन् । तर ती केटाकेटीहरु त्यो मोबाइलमा के हेरिरहेका हुन्छन् अभिभावकले मतलब राखेका हुँदैन । बलात्कार गर्ने मान्छे एउटा मनोरोगी हुन् । उ मानसिक रुपले बिरामी हुन्छ ।

 बलात्कारीलाई फाँसी दियो या आजिवन कारावास दिएर यसको समाधान हुन्छ त ? केही हदसम्म यस्ता घटनामा कमी आउँला । तर उ त मानसिक रुपले पिडीत व्यक्ति हो उसलाई त झन प्रोत्सान मिल्छ र उ अपराध गर्छ अनि जेल जान्छ या फाँसी चढ्छ । म यो भन्दिन की बलात्कारीलाई कानुनको दायरामा ल्याउनु हुन्न तर यसको निराकरणका लागि अन्य के के उपायहरु अपनाउँन सकिन्छ, त्यतातिर पनि ध्यान जानु आवश्यक छ ।

समाधान  
कुनै पनि व्यक्ति यदि मानसिक रुपमा पिडीत छ भने त्यसमा के को अभाव भयो त्यबारे पत्ता लगाउनु आवश्यक देखिन्छ । फाँसी वा जेल यसको तत्कालीन समाधान मात्रै हो दीर्घकालीन होइन । प्रेम, सदभाव, सभ्यता, कुशल लतको अभावमा पो भएको हो कि । यदि हामी बीच प्रेम र सदभाव छ भने हामी यस्ता घटनाबाट जोगिन सक्छौँ कसैको चरित्र हत्या गरेर त्यस्ता बलात्कारीहरुलाई कानुनको कठघरामा खडा गर्नु हाम्रो नैतिकताले सिकाउँदैन ।

बलात्कार जस्ता जघन्य अपराध र अपराधीको बिषयमा सरकार मौन रहेको छ । यसो भए बलात्कारी निर्दोष छ र हामी नै दोषी छौँ । सरकार कहाँ चुकी रहेको छ । जनता सुरक्षाको अनुभुति गर्न सकेको छैन । कहिलेसम्म छोरी चेलीको पहिरन, हिडाई, बोलाईमाथि दोष लगाउने र अपराधीलाई ढाक छोप गर्ने ।

 यदि कहि कतै बलात्कारका घटना हुन्छ अनि मान्छेहरु कुरा काटन शुरु गर्छन् । केटीले त छोटो कपडा लगाएको थियो । १० बजे राती किन घरबाट निस्किनु पर्यो छोरी चेली मान्छे । साँझ परेपछि घरमा बस्नु पर्छ, बाहिर निस्किनु हुदैँन । केटा मान्छेसँग किन बोल्नु पर्यो, किन घुम्नु पर्यो । यस्ता कुराहरु छोरी मान्छेको बारेमा बोलेर दोषीलाई ढाकछोप गरिरहेका हुन्छन् ।

दोषीलाई मनोवल बढाइरहेको हुन्छ । छोरी चेलीबेटीको लवाई, खवाई ,बोलाई, बसाईमा होइन कि छोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्यो जुन सोच हाम्रो समाजमा अझै पनि विद्यमान छ ।

समृद्धि देश 
जहिले देशलाई समृद्ध बनाउने कसम खाने देशभक्तहरुलाई कस्तो समृद्धि चाहिएको हो । जुन देशमा छोरीमान्छे खुलेआम बोल्न, हिड्न सक्दैन तब सम्म देशमा समृद्धि हुदैँन । देशले समृद्धि पाउँदैँ किनभने भौतिक रुपमा समृद्ध हुनलाई मात्रै समृद्धि मानिदैँन । एउटा देशलाई समृद्ध बनाउँन हरेक पक्ष बलियो हुनुपर्छ । अनि मात्रै हाम्रो समाजमा रहेका बलात्कार जस्ता अपराधहरमा कमी आउँन सक्छ ।

(रमिता यादव रेडियो नेपालमा कार्यरत पत्रकार हुनुहुन्छ)

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..