» » एसिड प्रहारबाट मृत्यु भएका सम्झानाका बुवालाई आर्थिक अभाव

काठमाडौ असोज १४ गते । तेजाब प्रहारबाट मृत्यु भएका सम्झना दासका आमाबुवालाई छोरीको सम्झनाले पिरोलीनै रहेको थियो तर अहिले आर्थिक समस्याले झन पिरोलेको छ ।

 रौतहटको चन्द्रपुर नगरपालिका–६ की १८ वर्षीया सम्झना दास र उनकी बहिनी १५ वर्षीया सुस्मिता दासमाथि गत भदौ २६ गते राती सुतिरहेको बेला छिमेकीले तेजाब प्रहार गरेको थियो ।

काठमाडौमा उपचारको क्रममा असोज ७ गते राती सम्झना दासको मृत्यु भएको थियो । अर्की छोरी सुस्मिता दासको उपचार कीर्तिपुरमा भइरहेको छ ।  शुरुदेखि आर्थिक अवस्था कमजोर रहेको सम्झनाका बुवा जादोलाल दास अहिले छोरीको डिस्चार्जका लागि रकमका लागि भौतारिरहेका छन् । कीर्तिपुर बर्न अस्पतालले छोरीलाई लैजान ताकेता गरिरहेको छ तर, रकमको अभावमा उनले निकाल्न सकिरहेका छैनन् ।

छोरी सम्झना दासको दाहसंस्कारका लागि रौतहट गएका जादोलाल पैसाका लागि जनकपुर पुग्नुभएको छ ।

सम्झानाको दाहसंस्कार असोज ९ गते गरेको थियो । यता, अस्पतालमा छोरीको अवस्था सुधार भइरहेको हुनाले डिस्चार्ज गर्न अस्पताल प्रशासनले बेड खाली गर्न भनेपछि छोरीको कुरुवामा बस्नु भएको सम्झनाकी आमाले घरमा जादोलाललाई फोन गरेपछि उहाँ पैसाको जोहोमा लाग्नु भएको छ ।

जोदोलालले भन्नुभयो, ‘पैसाको खोजीमा लागेको छु । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अस्ती  ३ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको थियो, सोही पैसा ल्याउनका लागि जनकपुर आएको छु । मुख्यमन्त्रीले रकम दिएपछि आजै नाइटबाट काठमाडौ गएर छोरीलाई डिस्चार्ज गराउँछु ।’

‘डिस्चार्ज गराउनका लागि पैसा चाहियो, पैसा नभएपछि  काठमाडौं किन जानु  ?’ उहाँले दुखेसो पोख्नुभयो।  उहाँले केन्द्र सरकारले हालसम्म कुनै चासो नलिएका कारण दुःख लागेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मेरा दुईटा छोरीमाथि एसिड प्रहार भयो, एउटाको निधन समेत भइसक्यो तर अहिलेसम्म केन्द्र सरकारले संवेदना समेत व्यक्त गरेको छैन, सहयोगको कुरा त धेरै टाढा छ ।’  ‘एक दिन माधवकुमार नेपाल आउनुभएको थियो, उहाँले आफूले सरकारबाट सहयोग गराउने प्रतिबद्धता जनाएर जानुभयो तर अहिले भने उहाँको पनि अत्तोपत्तो छैन’ उनले भने, ‘यदि आज मुख्यमन्त्रीले मलाई रकम दिनुभएन भने मेरो बिलिबाँठ हुन्छ ।’

यो घटना भएदेखि खर्च मात्र भइरहेको छ । शुरुमा प्रदेश २ को सरकारले एकलाख रुपैयाँ दिएको थियो । अरु अलिअलि सहयोग आएको थियो । ती सबै छोरीको दाहसँस्कार गर्दानै सकिएको बताउँदै जादोलालले भन्नुभयो, ‘सम्झनाको उपचारको रकम ४२ हजार त्यहाँ बाँकी छ, अर्की छोरीको पनि लामो समय उपचार भयो, अहिलेसम्म औषधीको मात्र ६३ हजार रुपैयाँ भएको छ । अरु हिसाब भएको छैन । अस्पतालले बेड फ्रि गरि दिने भनेको छ, त्यसको के गर्छ, त्यहाँ गएपछि मात्र थाह हुन्छ ।’

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करिब ५० वर्षीय स्थानीय रामबाबु पासवानले उनीमाथि तेजाब आक्रमण गरेको पुष्टि भएको छ । प्रहरीले उनलाई पक्राउ गरेको छ । एसिड प्रहार भएपछि उपचारका लागि काठमाडौ ल्याउँदा रामबाबु छिमेकीको नाताले कुरुवाको रुपमा अस्पतालमै बस्थे ।

पछि खोजविनमा उनीमाथि शंका लागेपछि कीर्तिपुरको अस्पतालबाट उहाँ पक्राउ पर्नुभएको थियो । उहाँ अहिले थुनामा छन् ।  तर, सम्झनाका बुवा जादोलाल भन्नुहुन्छ ‘जे हुनु थियो भयो, मेरो एकजना छोरीको ज्यान पनि गयो, अर्को अपाङ्ग भइन् । उनँको भरपोषणको व्यवस्था मैले खोजेको हुँ । अब मेरी छोरीलाई विहे गर्न पनि समस्या हुन्छ । हतपत कसैले उनीसँग विहे गर्न पनि मान्दैन । उसलाई मैले नै पालनपोषण गर्नुपर्छ त्यसैले मलाई क्षतिपूर्ति चाहियो ।’

‘क्षतिपूर्ति एक लाखदेखि १० लाखसम्म दिने प्रावधान छ, प्रमुख जिल्ला अधिकारीले पनि त्यही भन्नुहुन्छ,’ जादोलाल भन्नुहुन्छ, ‘सिडियो साहवले पनि त्यही भन्नुहुन्छ, अपराध पुष्टि भयो भने उनलाई कानुनअनुसार सजाय हुन्छ । के गर्ने हो तिमी एकचोटी विचार गर ।’

जादोलाल भन्नुभयो, ‘सजाय भन्दा मलाई क्षतिपूर्ति चाहियो ।’

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..