» » निर्देशक धर्मात्माको स्मृतिमा ‘मिथिला सिने रत्न’ सम्मान घोषणा


काठमाडौं, भदौ २ गते । मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव धर्मात्माको स्मृतिमा “मिथिला सिने रत्न” नामक सम्मान पुरस्कार घोषणा गरिएको छ ।

शनिबार मधेश मिडिया हाउसमा मैथिली सिने संसार पत्रिकाले आयोजना गरेको श्रद्धाञ्जली सभा कार्यक्रममा सो सम्मान पुरस्कार घोषणा गरिएको हो ।

सिने संसारका प्रकाशक तथा सम्पादक कमल मण्डलले सो सम्मान पुरस्कार पाँच हजार एक सय ११ रुपैयाँको रहेको श्रद्धाञ्जली सभा कार्यक्रममा जानकारी दिनुभयो । सो सम्मान पुरस्कारको राशी सिने संसारले आफ्नो तर्फबाट प्रत्येक वर्ष पत्रिकाको स्थापना दिवसको अवसरमा मधेशका एकजना उत्कृष्ट कलाकर्मीलाई दिइने प्रकाशक तथा सम्पादक मण्डलले घोषणा गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ शास्त्रीय संगीतका गुरु तथा गायक गुरुदेव कामतले निर्देशक धर्मात्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मैथिली कला क्षेत्रले एउटा होनहार युवा निर्देशक गुमाएकोप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले मैथिली चलचित्र जगतमा धर्मात्माले दिएको योगदानको चर्चा समेत गर्नुभयो ।

यसैगरी, श्रद्धाञ्जली सभा कार्यक्रममा साहित्यकार विनीत ठाकुरले धर्मात्माको अल्पायुमै भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभयो । उहाँले धर्मात्माको निधनबाट मैथिली सिने जगतलाई ठूलो क्षति पुगेको भन्दै उहाँले गरेका कार्यहरु सदैव स्मरणीय रहने धारणा राख्नुभयो ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव धर्मात्माको मंगलबार काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

श्रद्धाञ्जली सभा कार्यक्रममा तराई–मधेशका कलाकर्मीहरु हरिशंकर चौधरी, तनुजा चौरसिया, अञ्जली पटेल, कल्पना कुमारी चौधरी, इन्द्रदेव मण्डल, रामवली मण्डल, पुजा कुमारी सिंह, विनय यादव, नन्दी लाल यादव, अजय शर्मा, रामअवतार राय, लवकुमार चौधरी, बसन्ती सरदार, योगेन्द्र देव, रिजवान खान र इन्दु कुमारी चौधरीलगायतले श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

साथै कार्यक्रममा उपस्थित कलाकारहरुले सिने संसारले निर्देशक धर्मात्माको नाममा सम्मान पुरस्कार घोषणा गरेको प्रति सराहना गर्नुभएको थियो । उहाँहरुले मधेशी कलाकर्मीहरुको यसप्रकारको सम्मान पुरस्कारबाट प्रोत्साहन मिल्ने धारणा राख्नुभएको थियो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..