» » कोही मधेशी हुँदैमा भारतीय हुन्छ त


–सुरेशचन्द्र दास यादव (सांसद)

राणाकालदेखि हाम्रो परिवार नेपाली राजनीतिकमा लागेको छ । नेपाल निर्माणमा हाम्रो परिवारको पनि योगदान छ ।



अर्थात नेपाल स्थापनादेखि नै हाम्रो परिवार नेपालमा बस्दै आएको थुप्रै प्रमाण अझै पनि छ तर ती यी प्रमाण पेस गर्ने आवश्यकता यहाँ छैन । नेपाली काँग्रेस संस्थापकमध्येका एकजना मेरा बुवा पनि हुनुहुन्छ । नेपाली काँग्रेस पार्टी बनाउनमा मेरो बुवाको मात्र होइन, मेरो पुरै परिवारको ठूलो योगदान रहेको छ जुन कुरा कसैबाट लुकेको छैन । तर पार्टीले ममाथि अन्याय गर्यो । मलाई चुनावमा टिकट दिएन ।


एउटा गुट हावी भयो । तर, जनताले मलाई मन पराएको कारण मैले जहाँबाट पनि चुनाव लड्नै पर्ने थियो । कुनै दलबाट टिकट नपाएको भए म स्वतन्त्र रुपमा पनि चुनाव लड्थे र म जित्थे पनि । माओवादी केन्द्रले मलाई विश्वास गरेर टिकट दियो मैले चुनाव जिते । यही कुरा केही मान्छेलाई पच्न सकेन ।

 यो मान्छे त जहाँबाट पनि जसरी चुनाव जित्न सक्छ भनि उनीहरुलाई लाग्यो । र, मलाई फँसाउन प्रपञ्चमा लाग्यो । दोहोर नागरिकता छ भन्दै जथाभावी कुरा उठाएर मलाई बदनाम र फँसाउने कामसम्म गरे । मेरो वंशजको नागरिकता हो । यदि म भारतीय नागरिक भएको भए वंशजको नागरिकता मसँग हुने थिएन । खुल्ला बोर्डर भएका कारणले थुप्रै नेपालीहरु भारतमा घर बनाएर बसेका छन् । त्यसमध्ये नेपालका धेरै नेताहरु पनि पर्दछन् ।

भारतीयहरुको पनि नेपालमा घर छ । जग्गा छ । घर जग्गा हुँदैमा भारतीय वा नेपाली हुन्छ भने होइन । सन् १९५० को नेपाल भारत सन्धिमा नेपालको नागरिकले भारतीय नागरिक सरह सुविधा लिन सकिने व्यवस्था गरिएको छ । यस्तो भएको कारणले भारत र नेपालका जनता एक अर्काको देशमा घर, जग्गा किनेका छन्, खुल्ला रुपमा व्यवसाय गरेका छन्, पढ्न लेख्न पाएका छन् यो सबै कुरा समान्य भइसकेको छ । घर बनाएपछि त्यहाँको नगरपालिकालाई कर तिर्नुपर्ने हुन्छ ।

घर नम्बर लिनु पर्ने हुन्छ । गाउँ टोलमा बसेपछि त्यहाँको हरेका आधारभूत कानुन प्रकृया पुरा गर्नुपर्छ । भारतको दरभंगामा मेरो घर छ भने कुरा सबैलाई थाह छ । बीपी कोइराला, गिरीजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह लगायतका सबै नेतालाई थाह थियो । त्यसपछिका नेताहरुलाई पनि मेरो घरका बारेमा थाह छ किनभने नेपाली काँग्रेसको सेल्टर थियो मेरो घर । उहाँहरु दरभंगास्थित मेरा घरमा पटक पटक जानु भएको छ । पार्टीको बैठक कतियौं पटक त्यहाँ बसेको छ ।


नेपाली काँग्रेसको पार्टी कार्यालय भएको थियो मेरो घर । २०१७ सालमा राजा महेन्द्रले कु गर्दा नेपाली काँग्रेसका नेताहरु भारत प्रवासमा गएर बस्नु भएको थियो । त्यसमा मेरो बुवा पनि हुनु हुन्थ्यो । पछि, भारत प्रवासमा रहेका नेताहरुलाई नेपाल फर्किन भन्यो । केही नेताहरु फर्किनु पनि भयो । फर्केका थुप्रै नेताहरु पक्राउ पर्नुभयो । तर, मेरो बुवा भारतबाट फर्किनु भएका थिएनन् ।


मेरो बुवा नफर्केपछि नेपालमा रहेका सबै जग्गा जमिन तत्कालिन महेन्द्र नेतृत्वको सरकारले जफत गर्यो । घरमा रहेका अन्य  सदस्यमामाथि ज्यादति पनि गर्यो । यहाँसम्म कि मेरो घरमा स्कूल पनि खोल्यो । सरकारको यस्तो जोरजवर्जस्ती र ज्यादती भएपछि मेरो बुवा बालबच्चा लिएर भारतमै बस्नुभयो । धेरै दिनसम्म त त्यतिकै भौतारिनु भएको थियो उहाँ । पछिसम्म पनि नेपाल फर्किने अवस्था नभएपछि बुवाले दरभंगामा जग्गा लिएर उतै घर बनाउनुभयो, त्यो बाध्यता थियो त्यो रहर थिएन । कुनै रहरले हामी घर बनाएका होइनौ त्यहाँ । नकुनै व्यपार व्यवसायी गर्न बनाएका थियौं । नेपालको राजनीतिक अवस्थाले गर्दा
त्यस्तो गर्न बाध्य पार्यो जुन हाम्रो इच्छा थिएन । बुवाले घर बनाएपछि काँग्रेसका थुप्रै नेताहरु त्यहाँ आउ जाउँ गर्न थाल्नुभयो । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरुका लागि त्यो सेल्टर नै भयो । पार्टी कार्यालय नै त्यही भयो । नेपालमा हुने आन्दोलनका सबै गतिविधिहरु त्यहीबाट हुन्थ्यो । गिरीजा प्रसाद कोइराला पनि कतिपटक त्यहाँ गएर बस्नुभएको त्यो म आफैले देखेको छु ।


जनयुद्धकालमा माओवादीले पनि भारतका विभिन्न ठाउँमा सेल्टर लिएर बसेको थियो । त्यहाँ लुकेर बस्दा धेरैले धेरै प्रकारका सुविधाहरु लिएर बसेका थिए । कतिपयले त राशन कार्ड पनि बनाएका थिए । खोज्यो भने भोटर लिस्टमा पनि कतिपयको नाम होला । त्यो राजनीतिक परस्थितिले त्यस्तो गरायो । र, मेरो बुवाले पनि राजनीतिक परस्थितिका कारण त्यहाँ घर बनाउनुभयो ।


घर बनाइ सकेपछि सायद त्यहाँका राजनीतिक दलका नेताहरुले हाम्रो परिवारको नाम भोटर लिस्टमा राखि दिएको होला । त्यो कुरा हामीलाई जानकारीमा पनि छैन । त्यति बेला म आफै नेपाली काँग्रेसका क्रियाशिल नेता, त्यहाँ जाबो एउटा भोट हाल्न म किन जान्थे र ? मेरो बुवा २०१५ सालमा सांसद भइसकेका मान्छे, मन्त्री भसकेका मान्छे, उहाँ पनि एउटा भोट खसाल्नका लागि भारत किन जानु पथ्र्यो । भोट हाल्ने आवश्यकता नै हामीलाई परेन । भोटर लिस्टमा नाम हालेपछि म कुनै पदमा गएको छु कि मेयरमा लडेको छु, कि कुनै सवैधानिक पदमा गएको छु वा त्यसबाट कुनै फाइदा लिएको छु । हो, मैले त्यसबाट कुनै फाइदा लिएको छैन ।


हामी नेपालमै राजनीतिकमा व्यस्त रहने मान्छे । दरभंगामा गएर एउटा भोट खसाल्ने खालको परिवारका मान्छे हामी होइनौ । मतदाता नामावालीमा त्यहाँ कसरी नामा लेखिन्छ भने मतदाता नामावली संकलन गर्ने व्यक्तिहरु आउँछन् र यो कसको घर हो, यो घरमा को को बस्छन् सोधेपछि अरु कसैले भनि दिएपनि उनिहरु नाम लिएर जान्छन् ।

भोट बढाउनका लागि त्यहाँका नेताहरुले पनि खोजी खोजी नाम हालेका हुन्छन् । कसैले हाम्रो नाम पनि लेखाई दिएका होलान् । भोटर लिस्टमा मेरो नाम छ भने कुरा मलाई थाह पनि थिएन र आजसम्म भोट पनि खसालेको छैन । भोटर लिस्टमा नाम हुनु भनेको भारतीय नागरिकता होइन । भोटर लिस्टमा नाम भोट खसाल्नसम्मका लागि मात्र सिमिति हुन्छ । यहाँ मधेशीलाई हेर्ने वित्तिकै भारतीय हो भनि ठान्छन् । यो मानसिकतामा परिवर्तन नभएसम्म देशको समस्या समाधान हुँदैन । समस्या समाधान गर्नका लागि मानसिकतामा परिवर्तन गर्नुपर्छ । मधेशी हुने वित्तिकै कोही भारतीय हुँदैन ।

यो हाम्रो पुस्ताले मात्र होइन, हाम्रा हजुरवुवा र बुवाका पुस्ताले पनि भारतीयको नामबाट हेपिएका थिए । मधेशीमाथि कुनै आरोप लाग्न सकिएन भने भारतीय भनेर आरोप लगाई दिन्छन् । यो सोचमा परिवर्तन हुनु आवश्यक छ । नेपालको तुलनामा भारतको वजार धेरै ठूलो छ । त्यहाँ नेपालभन्दा अवसरहरु पनि धेरै छन् । अवसरको खोजीमा नेपालका मान्छेहरु पनि त्यहाँ धेरै गएका छन् । मधेशको भन्दा पनि पहाडका मान्छेहरु पनि भारतमा धेरै छन् । थुप्रै्रको विहेवारी पनि उतै भएको छ । घरजम गरेर बसेका छन् त्यहाँ तर उनीहरुलाई भारतीय भनिदैन, उनीहरु खाँटी नेपाली भए । हामी बोर्डरमा बस्ने नेपालीको अनुहार भारतीयसँग मिल्दैमा सजिलो तरिकाले भारतीयको आरोप लगाई दिन्छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..