» » महाधिवेशन नहुँदा यी सब कुरा रोकिएका हुन् (अन्तरवार्ता भिडियोसहित)

–केशव झा
महासचिव, राष्ट्रिय जनता पार्टी नेपाल
राष्ट्रिय जनता पाटी (राजपा) नेपालले बैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ । हालै संसदीय दलको नेता पनि चयन गरेका छ । प्रदेश सरकारका राज्यमन्त्रीको चयन पनि गरेको छ । अर्थात पार्टीले केही गरेको जस्तो देखाए पनि भित्रभित्रै आन्तरिक किचलोमा पार्टी फँसेको जस्तो देखिन्छ । भागबण्डा र गुटगत रुपमा पार्टी अल्झेको देखिन्छ । यद्यपी त्यसलाई सुधार गर्ने विषयमा नेताहरु गम्भीर देखिनुहुन्छ । यी र यस्तै विषयमा राजपा नेपालका महासचिव एवं प्रवक्ता केशव झासँग सहारा टाइम्सले गरेको कुराकानीको मुख्य अंशः 

राजपा नेपाल गठन भएको झण्डै दुई वर्ष हुन लागेको छ तर अझै पार्टीको रुपमा धारण गरेको छैन किन यस्तो भइरहेको छ ?
–एक त पार्टी एकता हतारमा भयो । र, आजको दिनसम्म हामी कुनै नकुनै रुपमा आन्दोलन र संघर्षमा रहेको हुनाले सोचे जस्तो स्वरुप दिन सकिरहेका छैनौ । पार्टी एकता वा गठन भएको डेढवर्ष भएको छ तर पार्टीको सांगठनिक गतिविधि आगाडी बढेको छैन, महाधिवेशन पनि हुन सकेको छैन । समयमा महाधिवेशन नभएको कारण एउटा रुपमा नदेखिएको मात्र हो । यदि समयमा महाधिवेशन भएको भए पार्टीले एउटा रुप धारण गरिसकेको हुन्थ्यो । तर महाधिवेशन नहुँदा सबै कुरा रोकिएको जस्तो देखिएको छ ।

मुख्यकारण महाधिवेशन पक्कै छैन होला ?
–मुख्यकारण महाधिवेशन नै हो । छवटा पार्टीको बीचमा एकीकरण भएको छ । एकीकरण भएपनि ती छवटै पार्टीका विभिन्न समितिहरु छन् तीमध्ये कसैको बीचमा एकता भएको छैन । केन्द्रमा मुलपार्टीबीच एकीकरण भएपनि अहिलेसम्म विभिन्न समिति तथा संगठनहरुको बीचमा एकीकरण भएको छैन । जिल्लाहरुमा पार्टी जिल्ला समितिबीच नामका लागि मात्र एकीकरण भएको जस्तो देखिन्छ तर खासमा त्यस्तो भएको छैन । वास्तवमा छवटै पार्टीका समितिहरुको बीचमा औपचारिक रुपमा एकता नभएसम्म पार्टी एकता भएका जस्तो देखिदैन । र, त्यो त्यतिबेला मात्र सम्भव हुन्छ जतिबेला महाधिवेशन हुन्छ । एउटा कुनै पार्टीका लागि महाधिवेशन धेरै ठूलो कुरा हो । पार्टीका लागि महाउत्सव नै हो । महाधिवेशन भएपछि सबै संगठनहरु क्रियाशिल हुन्छ र व्यवस्थित हुन्छ । त्यसैले महाधिवेशन हुनु आवश्यक छ ।

समयमा महाधिवेशन हुन नसक्नुको कारण के हो त ? 
–पार्टी एकीकरण भएपछि हामी छ महिनासम्म आन्दोलनमा थियौं । आन्दोलन सकिएपछि हामी चुनावमा गयौं । चुनाव सकिएको छ महिना बितियो । यो बीचमा संगठनका कामहरु भएको छ तर जुन रुपमा हुनुपर्ने हो त्यो रुपमा भएको छैन त्यसमा हाम्रो पनि केही कमीकमजोरी होला । संसदीय दलको नेता चयन गर्ने विषय पनि ढिला भयो । नेता चयन गर्ने काम ढिला भएको कारणले पनि अरु काम ढिला हुँदै गएको हो जस्तो लागेको छ । अब नेता चयन हुनुभएको छ सायद महाधिवेशनको तयारीमा पार्टी जान्छ होला । महाधिवेशनको तयारीका लागि जिल्ला जिल्लामा सर्कुलर पठाउने तयारी भइरहेको छ । त्यो पनि ढिलो नै भइरहेको छ । अरु कारण भन्दा पनि प्राविधिक कारणले गर्दा हामी महाधिवेशनका लागि ढिलो भइरहेका छौं ।

तपाई त्यस्तो भन्नुहुन्छ, तर बुझ्दा त पार्टीभित्रको आन्तरिक विवादका कारण महाधिवेशन समयमा हुन नसकेको हो, तपाईलाई कस्तो लाग्छ ?
–तपाईले भनेको कुरालाई पूर्णरुपमा असत्य भन्न मिल्दैन । संसदीय दलको नेता चयन गर्ने प्रकृयामा एकदुईजना अध्यक्षहरुले नेता बन्ने आकाँक्षा राख्नुभएको थियो । तर, पछि सहमतिमा कुरा टुग्यो । सहमति भएपछि सबै नेताहरुले चित्त बुझाउनुभयो । समयमा संसदीय दलको नेता चयन गर्न नसकेको कारण दुईटा गुटा छ कि भने सन्देश गएको छ । पार्टीमा विवाद छ कि भनि सन्देश गएको छ । तर जुन सुझबुझ तरिकाले त्यसको अवतरण गर्नुभयो । त्यो स्वागतयोग्य छ । अब अगाडीको बाटो सहज हुनेछ भनि अपेक्षा गरेका छौं । सहमतिको वतावरण अझै पार्टीभित्र छ भने कुराको सन्देश गएको छ ।

पार्टीको कार्यालय कर्मचारीदेखि लिएर मन्त्रीचयनसम्म बाँडफाँडमा राजपा नेपाल अल्झेको देखिन्छ अनि सहज रुपमा कसरी अगाडी बढ्छ जस्तो लाग्छ तपाईलाई ?
–जुन भागबण्डा देखिएको छ त्यो स्वभाविक पनि हो । छवटा पार्टी एकीकरण भएपछि कुनै पनि सांगठनिक गतिविधि भइरहेको छैन । संगठनको गतिविधिभन्दा पनि भागबण्डामा जसरी अल्झेको छ त्यसमा अल्झिनु हुँदैन जस्तो लाग्छ मलाई । छवटा पार्टी मिलेको छ । त्यसमा एकजनाको कुरालाई नमान्नु भनेको एकपक्षको पुरै कुरा नमान्नु जस्तै हो । त्यसैले यसरी पार्टी व्यवस्थित गर्नु राजपा नेपालका लागि चुनौति पनि हो । छवटा दल मिलेको छ भने पक्कै पनि त्यहाँ केही नकेही भागबण्डा जस्तो देखिन्छ जुन अस्वाभिक होइन । तर, त्यो पनि वैज्ञानिक जस्तो देखिएको छैन । फेरि पनि म भन्छु, जबसम्म महाधिवेशन हुँदैन तबसम्म यी भागबण्डा जस्ता कुरा आइरहन्छन् । यो अन्त्य हुँदैन । त्यसैले महाधिवेशन हुनु जरुरी छ । त्यसपछि मात्र पार्टी एकढिका भएर अगाडी बढ्छ भनि हाम्रो बुझाई छ । राजनीतिकमा भागबण्डाको विषय समान्य भइसकेको छ । काँग्रेस यति पुरानो पार्टी हो त्यहाँ अझै भागबण्डाको राजनीतिक भइरहेको छ । एमाले माओवादी (अहिलेको नेकपा) मा पनि त्यही अवस्था छ । त्यसैले यसलाई अन्यथा लिएको छैन । यद्यपी भागबण्डा पनि पारदर्शी र वैज्ञानिक हुनुपर्छ ।

तपाईको पार्टीमा के को आधारमा भागबण्डा भइरहेको छ, मापदण्ड के हो ?
–त्यस्तो कुनै मापदण्ड हुँदैन तर पार्टी एकीकरण हुँदा बखतको अवस्थालाई आधार मानेर गरिरहेको हुन्छ जस्तो लाग्छ मलाई । पार्टी एकीकरण गर्नुभन्दा पहिला पार्टीको जुन संगठन र संरचना थियो । त्यसलाई आधारमा मानेर नै भागबण्डा हुने गरेको जस्तो लाग्छ । तर त्यो पनि पूर्णरुपमा लागु भएको जस्तो देखिदैन । अब भागबण्डाबाट पार्टीलाई मुक्त गरांै भनि सोच सबैमा आएको देखिन्छ । पार्टीका बैठकहरुमा पनि यस्ता कुराहरु उठिरहेको देखिन्छ । क्षमता र सामथ्र्यको आधारमा जिम्मेवारी दिऔं भने विषयमा पनि छलफल भएको छ ।

भागबण्डा हुँदा एउटै नेताले धेरै लिएको अरु नेता पछाडी परेको कुरा पनि बाहिर आएको छ तपाईले कस्तो महसुस गर्नुभएको छ ?
–छवटा पार्टी मिलेर राजपा नेपाल बनेको छ । कुनै कुराको भागबण्डा हुँदा सबैलाई बराबरको भाग मिल्छ भने पनि होइन । सबैलाई बराबर भाग नमिल्न पनि सक्छ । त्यसैले कसैले काम पायो कसैले बढी पायो भन्ने भन्दा पनि अब यो भागबण्डाको राजनीतिक नै अन्त्य गर्नुपर्छ । अब राजपा नेपाल भनेर अगाडी बढ्नुपर्छ ।

पछिल्लो समय तीनजना राज्यमन्त्री बन्दा त्यसमा भागबण्डा भएको छ कि छैन ?
–त्यसमा भागबण्डा देखिएको छैन । यदि भागबण्डा भएको भए सबैको भागमा पथ्र्यो । त्यसमा त्यति भागबण्डा देखिएन ।

शरतसिंह भण्डारीले भागबण्डामा हिस्सा पाउनु भएन भनेर उहाँ असन्तुष्ट हुनुहुन्छ भनि चर्चा छ नि ?
–होइन, उहाँ असन्तुष्ट हुनुहुन्न । पार्टीका संयोजक महन्थ ठाकुरलाई निर्णय गर्ने अधिकार दिइएको थियो । र, त्यसैको आधारमा उहाँले मन्त्री तथा राज्यमन्त्रीको चयन गर्नुभएको हो जस्तो लाग्छ । आफैले अधिकार पनि दिने फेरि असन्तुष्ट पनि हुने कुरा हुँदैन । संयोजकज्यूलाई सबैले आआफ्नो तर्फबाट नाम दिनुभएको होला । त्यसमध्ये उहाँले आफ्नो सुझबुझले नाम चयन गर्नुभएको होला । यसमा कसैले चित्त दुखाउने अवस्था रहदैन र रहनुपनि हुँदैन ।

राजपा नेपाल राजनीतिक रुपमा कहाँ अल्झेको छ । सरकारलाई दिएको विश्वास मत फिर्ता लिने चेतावनी दिन्छ, फेरि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर वार्ता पनि गर्छ तर केही उपलब्धी भइरहेको छैन किन त्यस्तो भइरहेको छ ?
–राजपा नेपालको मुख्य माग सविधान संशोधन नै हो । सविधान संशोधन दुईतिहाई बहुमतको आधारमा हुन्छ । र, वर्तमान सरकारसँग दुईतिहाई बहुमत छ । त्यही भएर हामीले पनि सविधान संशोधनको लोभमा विश्वासको मत दिएका थियौं । तर, हालसम्म सविधान संशोधन गरेको छैन । पाँच छ महिना बित्दा पनि सरकारले केही नगर्दा जनताको दवाव हामीमाथि परेको छ । यतिको दिन वित्दा पनि सरकारले केही गरिरहेको छैन भने विश्वासको मत किन दिइराख्ने भनि दवाव परेको छ । अब त्यसको बारेमा सोच्ने बेला आएको छ । त्यही भएर पार्टीका नेताहरु प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउनु भएको छ । फेरि पनि प्रधानमन्त्रीले सकारात्मक कुरा गर्नुभएको छ । विमस्टेक सम्मेलन सकेपछि राजपा नेपालको माग बारे केही गर्ने सरकारको सोचाइरहेको छ ।

यो पाँच महिनाको अवधिमा राजपा नेपालका नेताहरुले प्रधानमन्त्रीलाई दुईपटक ज्ञापनपत्र बुझाएको र दर्जनौपटक भेट्नु भएको छ तर समस्या जस्ताको त्यस्तै छ अब कहिलेसम्म जनतलाई भ्रममा राख्नुहुन्छ ?
–अब धेरैदिनसम्म कुर्ने अवस्था रहनु हुँदैन । हामीले गठबन्धन गरेका फोरम नेपाल सरकारमा सहभागी भएपछि हाम्रो शक्ति अलि कमजोर भएको छ । तैपनि हामी सरकारसँग वार्ता र संवादबाट अगाडी बढ्ने कोशिस गरिरहेका छौं । यदि केही गरि यसमा सफल भएनौ भने आन्दोलन बाहेक कुनै विकल्प रहदैन । प्रधानमन्त्री अर्थात सरकारसँग धेरै वार्ता गर्यौं, धेरै सहमति पनि गर्यौं तर हालसम्म नतिजा सकारात्मक देखिएको छैन । त्यसलै अब हामी धेरैदिनसम्म कुर्दैनौ ।

राजपा नेपालले केपी शर्मा ओलीलाई अझै पहिचान गर्न बाँकी छ र ?
–पहिचान गर्न गाह्रो छैन । राम्रोसँग पहिचान गरिसकेका छौं । तर हाम्रो बाध्यता छ । अस्ती आन्दोलन गर्दा एउटा परस्थिति थियो भने आज परस्थिति अर्कै छ । यद्यपी अधिकार भने कुरा लडेर नै लिनुपर्छ । यसमा दुईमत छैन तर केही दिन हामी कुर्छौ र हेर्छौ कि वर्तमान सरकारले के गरिरहेको छ । भोलीको दिनमा हामी आन्दोलनमा गइसकेपछि कुनै प्रकारको आरोप नलागोस् । वर्ताको माध्यमबाट समस्या समाधान गर्न चाहेको कुरा जनताले बुझोस् । हामीले संवाद र वार्ताबाट भागेको सन्देश नजाओस् भनि हाम्रो चाहना हो । हामीले आन्दोलन गर्न सक्छौ भने कुरा प्रमाणित गरेका छौं । त्यसैले केही दिन कुर्छौ ।

कुर्ने तपाईहरुको व्यक्तिगत बाध्यता हो कि जनताको बाध्यता हो ?
–हामी पनि जनताकै प्रतिनिधि हौं । जनताले म्याण्डेट दिएर पठाएको छ । मत दिएर पाँचवर्षका लागि पठाएको छ । जनताको मनोभावना बुझेका छौं । जनताले के चाहन्छन् त्यो कुरा पनि हामीले बुझेका छौ । जनताको म्याण्डेट अनुसार नै हामी अगाडी बढेका छौ । र, जनताको म्याण्डेट अनुसार आन्दोलनको शुरुवात गर्छौ । विना संघर्ष केही प्राप्त हुन्छ भनि कुरा सोच्न छाडिसकेका छौं तैपनि हामी सरकारको प्रतिवद्धतालाई केहीदिन कुर्छौं ।

प्रधानमन्त्रीलाई भेट्न जाँदा नेताहरु सार्वजनिक कुरा गर्नुभन्दा बढी आआफ्नो व्यक्तिगत कुरा गर्नुहुन्छ त्यही भएर माग पूरा नभएको गुनासो सुन्न पाइन्छ, यसमा के भन्नुहुन्छ ?
–केपी शर्मा ओली प्रधानमन्त्री भएपछि दुई तीन पटक मात्र सामूहिक रुपमा भेटिएको छ । हाम्रा नेताहरु पनि गम्भीर हुनुहुन्छ कि प्रधानमन्त्रीसँग लुज टक गरियो भने काम बन्दैनन् । केही व्यक्तिगत कुरा गर्दा हामी कमजोरी बन्छौ भने कुरामा उहाँहरु सचेत हुनुहुन्छ । यहाँसम्म कि सरकारमा गयौं वा मन्त्री बन्यौं भने हाम्रो मुद्दा कमजोर हुन्छ भने कुरा उहाँहरुले बुझ्नु भएको छ भने सानातिना विषयमा आआफ्नो व्यक्तिगत कुरा गर्नुहुन्छ जस्तो लाग्दैन । यदि केही व्यक्तिगत कुरा गरेको भए पनि त्यो जनताकै हितमा होला जस्तो लाग्छ ।
सविधान संशोधन, मुद्दा फिर्ता, रेशम चौधरीको रिहायको कुरा लिएर प्रधानमन्त्रीसँग कुरा गर्न जाने र त्यहाँ एउटा कुनामा लगेर प्रधानमन्त्रीको कानमा मेरो क्षेत्रमा सडकमा पैसा हाल्दिनु पर्यो, प्रहरीको सरुवा, बढुवा 
गर्दिनु पर्यो भन्नुभयो भने ती मुद्दाहरु आफै कमजोर हुँदैन र ?
–हरेक कुराको औपचारिक र अनौपचारिक महत्व हुन्छ । प्रधानमन्त्रीसँग औपचारिक कुरा गरेको हुन्छ मुद्दा र एजेण्डाको विषयमा । तर, वार्तापछि कुनै नेताले अनौपचारिक कुरा गर्यो भने त्यो समान्य कुरा हो । जनताको हितमा केही कुरा गरेको छ भने त्यो अन्यथा होइन । जनताले पनि त्यही चाहेको छ । नेताले जनताको हितमा कति काम गरेको छ त्यो पनि हेरको हुन्छ । सरुवा, बढुवा पनि जनताको सरोकारको विषयमा हो । तर हामीले जे जति कुरा गरेपनि हामी आफ्नो मुद्दामा प्रतिवद्ध छौ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..