» » मातृभाषा संरक्षण गरौं (सम्पादकीय)

सविधान निर्माण भएर अहिले कार्यान्वयनमा पनि आइसकेको छ । तर, त्यसभित्र रहेका कतिपय धारा, उपधारालाई संशोधनको माग गर्दै राजपा र फोरम नेपाललगायत विभिन्न दलहरुले आन्दोलन गरिरहेका छन् । ती मागहरु मध्ये एक भाषाका विवाद पनि हो । हिन्दी भाषालाई राष्ट्रिय भाषाको मान्यता दिन माग गरेको छ ।

त्यस्तै दुई नम्बर प्रदेशको सम्पर्क भाषा हिन्दी हुनुपर्ने कतिपय मधेशी नेताहरुको माग रहेको छ । नेपालको संविधान धारा ७ (२) मा नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानून बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने व्यवस्था छ ।

धारा ७ (२) मा उल्लेख भए अनुसार प्रदेशभित्र बहुसँख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउन सकिन्छ । यस हिसाबले अहिले माग गर्दै आएको हिन्दी भाषालाई कामकाजको भाषा बनाउन सकिदैन । प्रदेश दुईमा बहुसँख्यक जनताले प्रयोग गर्ने भाषा मैथिली हो त्यसपछि भोजपुरी ।

दुई नम्बर प्रदेशमा २४ लाख ४७ हजार ९७८ जनाले मैथिली भाषा प्रयोग गरिरहेका छन् भने दशलाख तीनहजार ८७३ जनाले भोजपुरी भाषालाई मातृभाषाको रुपमा प्रयोग गरिरहेका छन् । हिन्दी त सबभन्दा पछाडी रहेको छ । देशभरि ७७ हजार ५६९ जना हिन्दी मातृभाषीहरु छन् । जसमध्ये दुई नम्बर प्रदेशमा आठहजार ६२५ जनाको मातृभाषा हिन्दी रहेको जो निकै कम हो । संविधानको धारा ६ मा नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषाको सम्ममान दिएको छ ।

संविधानले नेपालमा बोलिने ‘मातृभाषा’ लाई ‘राष्ट्रभाषा’ मानेको र प्रदेशमा नेपालीबाहेक अरु पनि ‘राष्ट्रभाषा’ लाई सरकारी कामकाजको भाषा मान्न सकिने भनेको स्थिति छ । अब प्रश्न उठ्छ कि संविधान अनुसार ‘हिन्दी’ नेपालको राष्ट्रभाषाको परिभाषा भित्र पर्छ कि पर्दैन ? नेपालको संविधान ०७२ को धारा ६ मा प्रष्टसँग ‘नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्र भाषा हुन्छ’ भनिएको छ ।

 नेपालमा बोलिने सबै मातृभाषालाई ‘राष्ट्रभाषा’ मान्ने हो भने नेपालका मातृभाषा सम्बन्धी सरकारी तथ्यांकमा हिन्दी मातृभाषीहरुको जनसंख्या पनि देखाइएको छ । राष्ट्रिय जनगणनामा मातृभाषा अनुसार देखाइएको जनसंख्या विवरणमा हिन्दी भाषीहरुलाई १६ औं नम्बरमा समावेश गरिएको छ । सो तथ्यांकमा हिन्दीभाषी जनसँख्या ७७ हजार ५ सय ६९ देखाइएको छ । त्यसमध्ये ४६ हजार ९३३ तराईमा र बाँकी अन्य भूभागमा रहेको उल्लेख छ ।

संविधानमा राखिएको यो प्रावधानलाई भाषाविदहरुले के कसरी लिएका छन् ? भोलिका दिनमा स्पष्ट होला ।

तर, यतिखेर नेपालमा बोलिने भाषाहरुमध्ये कुन कुन राष्ट्रभाषा हुन् र कुन कुन होइनन् अनि तिनीहरु संविधानको अनुसूचीमा राख्ने र नराख्ने भन्ने सन्दर्भ संविधान संशोधनको मुद्दा बनेको छ । भाषाशास्त्रका पुस्तकहरुमा उल्लेख भएअनुसार( जुन भाषा मान्छेले सब भन्दा पहिले सिक्छ र जुन भाषा बोल्न सबभन्दा बढ्ता जान्दछ, उसको मातृभाषा त्यही हो ।

प्रदेशको शपथग्रहण कार्यक्रममा पनि प्रदेश सांसदहरुले शपथ लिँदा सबैले आआफ्नो मातृभाषामा शपथ लिँदा हिन्दीलाई धेरै कमले प्रयोग गरेका छन् । जसले गर्दा यो भाषा अल्पमतमा परेको छ ।

माघ ७ गते सम्पन्न शपथग्रहण समारोहमा कुल १०७ प्रदेशसभा सदस्यमध्ये ४७ जनाले मैथिलीमा, २५ जना भोजपुरीमा,२४ जना नेपालीमा तथा राजपाका २५ जना प्रदेश सांसदमध्ये ११ जनाले हिन्दी भाषामा शपथ लिएका थिए । जे भए पनि प्रदेशसभाका अधिकाँश सदस्य अ–आफ्ना मातृभाषा मैथिली र भोजपुरीमा शपथ लिएपछि प्रदेशको कामकाजको भाषा हिन्दी हुनुपर्ने कुरा त्यतिकै अल्पमतमा परेको छ ।

यद्यपी केही नेताहरुले दुई नम्बर प्रदेशको कामकाजको भाषा हिन्दी हुनुपर्ने अभियानमा लागेका छन् ।

त्यसमा अधिकाँश नेताहरु राजपा नेपालका रहेका छन् । तराई मधेशका सबभन्दा समृद्ध र सुसम्पन्न भाषा मैथिली र भोजपुरी हो त्यसपछि बज्जिका र अवधि भाषालाई पनि त्यही रुपमा लिइन्छ तर खुल्ला बोर्डर र फिल्म तथा हिन्दी सिरियलका कारण हिन्दी भाषाको प्रयोग बढेको हो तर मातृभाषाकै रुपमा धेरै कम बोल्छन् । हिन्दी भाषालाई सम्पर्क भाषा वा कामकाज भाषाको रुपमा राख्यो भने मैथिली र भोजपुरी समाप्त नै हुन्छ ।

भनिन्छ, कुनै समुदायको पहिचानलाई मार्नुछ छ भने सबभन्दा पहिले उसको भाषा र सँस्कृतिलाई समाप्त गर्नुपर्छ । र, यहाँ त्यही भइरहेको छ । तराई मधेशमा बोलिने भाषामा पटक पटक हमला भएको छ । भाषाको नाममा मधेशी मधेशीको बीचमा विभाजन ल्याउने प्रयास भएकै हो । मैथिली भाषीमाथी जनकपुरमा भएको आक्रमणमा पाँचजनाको ज्यान गएको थियो ।

भाषा भाषी आन्दोलनको इतिहासमा यो जनकपुरको जतिको भयकंर दुर्घटना सायदै कतै भएको होला । मैथिला राज्य माग गर्दै रमानन्द चौकमा धर्नामा बसेका बम प्रहार भएको थियो । अहिले पनि मधेशमा भाषाका नाममा विभिन्न चलखेलहरु भइरहेको छ । भाषाको नाममा मधेशलाई भड्काउने प्रयास भइरहेको छ । जसलाई रोक्न आवश्यक छ । आफ्नो भाषा, आफ्नो भेष सबैलाई प्यारो हुन्छ जसलाई जोगाउनु सबैको कर्तव्य हो । हिन्दी भाषा तराई मधेशको भाषा हुनै सक्दैन । यसलाई जानी जानी लाद्ने प्रयास भइरहेको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..