» » झरी, प्रेम र चुम्बन

–अभिषेक श्रीवास्तव (दिल्लीका पत्रकार)
झरी र प्रेमको शताब्दीयौँ पुरानो सम्बन्ध छ । शताब्दी भन्नुको अर्थ अनन्तकाल पनि हुनसक्छ । थाहा छैन, झरी पहिले आयो कि प्रेम ! के थाहा, पहिले को रुझ्यो... ।

कालीदासले प्रेम–सन्देश पठाउनका लागि कुनै समय मेघलाई दूत बनाएका थिए । बलिउडका सबैभन्दा सुन्दर प्रेम गीतहरू झरी परेको बेलामै छायाङ्कन गरिएका छन् । नरगिस र राजकपुरको त्यो गीत जसमा उनीहरू एउटै छातामुनि आधा भिजेको देखिन्छन्, हेर्नेहरूलाई पनि आनन्दको अर्कै रोमाञ्च पैदा हुन्छ । अमिताभ र स्मिता पाटिल पनि त्यसैगरी झरीमा रुझेको र नायकको अँगालोमा लठ्ठिँदै बेरिएझैँ लाग्छ ।

यस्ता हजारौँ तस्विरहरू हाम्रो मष्तिष्कमा त्यसरी अङ्कित छन् । मानौँ, आकाशमा चन्द्रमा । तर आज भने यी स्मृतिहरू खतरामा छन् । आज कस्ता दिन आए भने, कसैले सक्थ्यो भने, प्रेम सन्देश लग्यो भन्ने आधारमा मेघलाई नै गोली हानिदिन्थ्यो होला । झरीमा प्रेमी जोडीको छायाङ्कन गर्ने कैमराम्यानकै जागिर खोसी दिन्थ्यो होला । निर्देशक कुटिन के बेर ।

बङ्गलादेशको त्यो तस्विर

बङ्गलादेशमा अहिले एउटा तस्बिर समाजिक सञ्जालमा भाइरल भइरहेको छ । आहा... कति सुन्दर तस्बिर ! यो तस्बिरका लागि त ज्यान पनि दिन सकिन्छ । एउटा युगल प्रेमी जोडी झरीमा सिँढीको खुड्किलोमा बसेको छन् । उनीहरूको शरीर असमान्य ढङ्गले सहज छ । युवतीको एउटा हात युवकको घुँडा टक्क अडिएको छ । दुवैको देहमुद्रा ठ्याक्कै अघिल्तिर छ, ओठलाई अपवाद ठान्ने हो भने । जसका लागि उनीहरूलाई आफ्नो गर्दन एकअर्कातिर फर्काउन प¥यो ।

नाकका पोरा र ओठ एकअर्कामा टाँसिएका छन् । त्यसो त टाँसिएका पनि के छन्, र टाँसिन खोज्दै छन् । न कुनै असहजता, न कुनै आत्तुरी... न कुनै डर, न सङ्कोच । न ‘कसैले हेरेको त छैन ?’ भन्ने चिन्ता ।
साँच्चै... कसैले देख्न भ्याएनन् ।

पछाडि देब्रेतिर एकजना मान्छे छाताको तल खैनी माडे जस्तै केही काममा व्यस्त देखिन्छ । छेउमा दुई युवक उभिएका छन् । एउटाको ढाड र अर्कोको अनुहार तस्बिरमा देखिन्छ । दुइटा केत्ली चुह्लामाथि छन् । तीनवटा ग्यालिन पनि देखिन्छन् । त्यहाँ केही कुराको अभाव छ भने मात्र, चुह्लोमा राखिएको केत्लीबाट निस्कने बाफको । बाफ त्यो बाफ हुन्थ्यो जुन प्रेमिल युगल जोडी बाँचिरहेको समयको बीचबाट उड्थ्यो ।

यो पल एउटा फोटोग्राफरले महसुस गर्छ । उसले त्यो एक क्षणलाई आफ्नो क्यामेराको लेन्समा कैद गर्छ । अनि त्यो फोटो बोकेर ऊ आफ्नो सम्पादकसम्म पुग्छ । उसले त्यो तस्बिर छाप्न भन्छ । सम्पादक नाइँनास्ती गर्छ । फोटोग्राफरले तस्बिर आफ्नो फेसबुकमा अपलोड गर्छ । त्यसपछि जे हुन्छ, त्यो इतिहास होइन । किनभने यस्तो हाम्रो समाजमा दिनदिनै भइरहन्छन् ।

त्यस घटनाको भोलिपल्ट ढाकाका फोटोपत्रकार जिबोन अहमदलाई उनका केही पत्रकार साथीहरू पत्रकारिताको नैतिकताको दुहाई दिँदै पिट्छन् । उनलाई जागिरबाट निकालिन्छ । जिबोन भन्छन्, ‘जब बूढा–बुढी राजी तब के गर्न सक्छ काजी’, भन्नुको अर्थ प्रेमरत जोडीले तस्बिर खिचेकोमा कुनै आपत्ति जनाएनन् भने जसले नैतिकताको विकृत परिभाषा दिइरहेका छन्, उनीहरूका अघिल्तिर झुक्नुको के अर्थ ।

३० वर्षका जिबोन घृणा र उन्मादले भरिएको संसारमा प्रेमको एउटा स्वच्छन्द छवि फैलाउन चाहन्थे । आफ्नो सम्पादकले तस्विर अस्विकृत गरेपछि उनले भनेका थिए– ‘तपाईं यो तस्बिरलाई नकारात्मक रुपमा देखाउन सक्नुहुन्न । म त यसलाई अब्बल प्रेमको प्रतीक ठान्छु ।’ सम्पादकले प्रेम–स्रेम केही बुझ्दैनन् ।

त्यसपछि उनले फोटो फेसबुक, इन्स्टाग्राममा पोस्ट गरिदिए । त्यहाँ तस्बिर पाँच हजारभन्दा धेरै सेयर भइसकेको छ । त्यसपछि के थियो र, उनका साथीहरूले उनलाई पिटे । हाकिमले जागिर खोस्दै उनको ल्यापटप र आईडी फिर्ता माग्यो । कारण देखाउन उचित सम्झेनन्, जस्तो कि अधिकांश पत्रिकाहरूमा हुनेगर्छ ।

अँगालोभित्रको विवाद

ढाका ट्रिब्युनमा तनिम अहमद लेख्छन्– ‘आजको समय यति डरलाग्दो छ कि एउटा चुम्बनले हाम्रो भित्र बसेको राक्षस बाहिर ल्याइदिन्छ । यो बङ्गलादेशको अवस्था हो ।’ हाम्रोमा त अँगालो हाले मात्र राजनीतिक विवादको सिकार भइदिन्छ । भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री मोदीलाई अँगालो हाले । मोदीले आफ्नो कुर्सी खोसिने हो कि भनेर सोच्न थाले । अँगालो हाल्नु, चुम्बन गर्नुले वर्तमान समाजमा उल्टो प्रतिक्रिया निम्त्याइरहेको छ । मानिसहरू सोझो दैहिकमुद्राको भावलाई विर्सन थालिसके ।

स्मरण गर्नुस् । केही वर्षअघि भ्यानकुभरमा जारी दङ्गाकै क्रममा बीच सडकमा एउटा जोडीले चुम्बन गर्दै गरेको तस्बिर भाइरल भएको थियो । एउटा जोडीलाई पुलिसले कुटेर भुइँमा लडाइदिएको थियो । युवक आफ्नो प्रेमिकालाई शान्त पार्ने प्रयास गरिरहेको थियो । दुई बीच भएको चुम्बन त्यसैको एउटा अंश थियो ।

दङ्गा गर्दै गरेको भीड र पुलिसलाई पृष्ठभूमि बनाएर सडकमा चुम्बन गरिरहेको प्रेमील जोडीको यो तस्बिर संसारभरी प्रेम गर्नेहरूका लागि आदर्श बन्यो । यो एउटा तस्बिर मार्फत क्यानडाका फोटोग्राफर रिच लैम संसारभरि परिचित भए । त्यो क्यानडा थियो । यो बङ्गलादेश हो । उता रिच लैम प्रसिद्ध भए । यता जिबोनले पिटाइ खाए । हाम्रोमा अँगालो हाल्नेहरूलाई नै ठट्टाको विम्ब बनाइयो ।

ढाका ट्रिब्युनले जिबोनले खिचेको तस्बिरबाट प्रेमी जोडीलाई अलग्याएर खिचेको एउटा तस्बिर छाप्यो । विल्कुलै त्यही फ्रेममा, त्यस्तै लोकेशनमा । यो तस्बिर सायदपछि खिचिएको हुनुपर्छ । किनभने यसमा छातामुनि खैनी खाँदै गरेको मानिस छैन र फ्रेम अलिक दाहिनेतिर ढल्किएको छ । तपाईंले यसलाई हेर्नुस् र आफै गम्नुस्, यसमा के हुनुपथ्र्यो, जसले तस्बिरलाई अर्थपूर्ण र जीवन्त बनाइदेओस् ।

यो तस्बिरमा एकखाले उजाडपना छ, एकखाले दैनन्दिन जीवनको भाव छ । हुनसक्छ झरीले मानिसहरू पसल थन्क्याउनतर्फ लागेका छन् । तर यहाँको झरीले मानिसलाई लोभ्याउने होइन कि झन पर धकेल्छ ।
अब फेरि जिबोनको तस्बिरलाई हेर्नुस् । तपाईंलाई एकै खाले फ्रेममा ठ्याक्कै दुई भिन्न अनुभूतिको प्रतीत हुनेछ । यही भिन्न अनुभूतिलाई माया, प्रेम र उत्कट भाव भनिन्छ । यसै उत्कट भावमा झरी वैंशालु भएर जाग्छ । कवि अलोक धन्वाले त्यसै लेखेका होइनन्–

‘बारिस एक राह है
स्त्री तक जाने की...!’ 

थाहा छैन झरीले स्त्रीसम्म लैजान्छ कि स्त्रीले झरीसम्म... आ–आफ्नो अनुभव भिन्न हुन सक्छ । अँ, एउटा कुरा भने पक्कै हो– जस्तो यो कविताको अन्तिम पङ्क्तिले भन्छ–

‘बारिस की आवाज में
सामिल है मेरी भी आवाज !’

यहाँ ‘आवाज’ को आशय जिबोनको आवाज, रिचको आवाज, ती हज्जारौँ प्रेमीहरूको आवाज, जसले ढाकाको यो तस्बिरलाई अघि बढाए । पत्रकार एनी गोवेनको आवाज, जसले यो तस्बिर र यसको पछाडिको कथालाई र यो खिच्नेलाई वासिङ्टन पोस्टमा स्थान दिए । यसैमा एउटा आवाज मेरो पनि ।
समाचार सधैँ नराम्रो मात्र हुँदैन । समाचार राम्रो पनि हुनसक्छ । जस्तै झरीमा प्रेम गरिरहेका दुई युगलको समाचार । यसका लागि ढाका जानु पर्दैन । आफ्नो वरपर हेर्नुस, झरी परिरहेको छ । आँखा डुलाई हेर्नुस, झरीमा रुझ्दै गरेको अर्को युगल जोडीको चुम्बन देख्न सकिन्छ !

(मिडिया भिजिलबाट साभार र यसको अनुभाव श्रवण उप्रेतीले गर्नुभएको छ)

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..