» » पार्टीमा गुट गर्ने आफै समाप्त हुन्छ

–महेन्द्र राय यादव
अध्यक्षमण्डलका सदस्य, राष्ट्रिय जनता पार्टी नेपाल

राष्ट्रिय जनता पार्टी नेपाल देशको तेस्रो ठूलो दल भएपनि सरकार बाहिर छ । फोरम चौथो शक्ति भएर पनि सरकारमा छ । यहाँसम्म फोरम नेपालले प्रदेश २ मा राजपा नेपाललाई साथमा लिएर सरकार पनि निर्माण गरेका छ । बडो चलाकीका साथ फोरम नेपाल प्रदेशदेखि केन्द्रसम्म सरकारमा सहभागी भयो । तर, राजपा नेपाल अन्योलनमा छन् । पार्टीभित्र पनि निकै विवाद देखिएको छ । संसदीय दलको नेतादेखि लिएर महाधिवेशनको मिति तोक्ने विषयमा पार्टीभित्र विवाद देखिएको छ । यिनै र यस्तै विषयमा सहारा टाइम्सले राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवसँग गरिएको कुराकानीः

राजपा नेपालको लामो समयसम्म बैठक बस्यो के के निर्णय गर्नुभयो त ?
–हो, यसपटक राजपा नेपालको लामो बैठक बस्यो । विभिन्न विषयमा छलफल भयो । र त्यसमा केही निर्णय पनि भयो । पार्टी गठन भएको एक वर्षभन्दा बढी भइसकेको छ । अब पार्टीलाई कसरी ठिक तरिकाले चलाउने त्यसका विषयमा गम्भीर छलफल भयो । लोकतान्त्रिक प्रकृयाबाट पार्टीलाई कसरी आगाडी बढाउन सकिन्छ त्यस विषयमा छलफल गम्भिर छलफल भयो । त्यसका लािग गाउँस्तरदेखि केन्द्रसम्म कसरी पार्टीलाई सक्रिय गर्न सकिन्छ । त्यस विषयमा पनि छलफल भएको छ ।

संगठन बनाउनका लागि के के निर्णय गर्नुभयो ?
–पहिलो कुरा । कुनै पनि जिवित पार्टीका लागि महाधिवेशन महत्वपूर्ण कुरा हो । समयमा महाधिवेशन गराउनु एउटा संगठनको महत्वपूर्ण कर्तव्य हुन जान्छ त्यसमा हामीले गम्भीर भएर छलफल गर्यौ । त्यसका लािग दलका नेताहरुसँग छलफल गरि महाधिवेशनको मिति तोक्ने कार्य भयो । २०७६ वैशाखमा महाधिवेशन गर्ने समय तोकेको छ । त्यसको तयारीका लागि पार्टी पंक्तिलाई परिचालित गर्ने निर्णय पनि भएको छ । त्यसअघि पार्टीका र त्यसभित्रका सबै कार्य समयमा सल्टाउनु पर्छ । गाउँस्तरदेखि केन्द्रसम्म सबै कुरा लोकतान्त्रिक प्रकृया अपनाउनुपर्छ । महाधिवेशन प्रतिनिधि चुन्नका लािग लोकतान्त्रिक प्रकृया अपनाउनेछौं । त्यसका लागि नियमावली, विधानहरु तयार भइरहेको छ ।

तपाई हरेक कुरामा लोकतान्त्रिक प्रकृया भनिरहनु भएको छ खासमा यो लोकतान्त्रिक प्रकृया हो के यो कसरी अपनाइन्छ ?
–लोकतान्त्रिक प्रकृया भनेको एकप्रकारको विधि विधान हो । पार्टीलाई ठिक ढंगबाट सञ्चालन गर्नका लागि तयार पारेको दस्तावेज र विधान बमोजिम सञ्चालन गर्नु नै लोकतान्त्रिक प्रकृया हो । लोकतान्त्रिक प्रकृयाबाट गयो भने कसैमाथि कुनै प्रकारको भेदभाव हुनेछैन । कसैमाथि असमान व्यवहार हुनेछैन । कसैलाई काखा र कसैलाई पाखा हुनेछैन । कतिपय कुरा सहमतिमो नाममा टिका लगाएर नेता तथा कार्यकर्ता भित्र्याउने खेल पार्टीमा चलिरहेका हुन्छन् । आआफ्ना कार्यकर्ता नेता तथा पार्टीमा भित्र्याएका हुन्छन् । त्यो कुरा रोकिनुपर्ने मेरो धारणा हो । स्थानीय तहदेखि प्रदेश तहसम्म, प्रदेश तहदेखि केन्द्रसम्म समिति बनाउँदा पहिला सहमतिको प्रयास गर्नुपर्छ । यदि सर्वसम्मतिबाट हुन सकेन भने चुपचाप चुनावी प्रकृयामा जानुपर्छ । चुनावी प्रकृयामा गयो भने कसैलाई कुनै प्रकारको झन्झट हुनेछैन । यो नै लोकतान्त्रिक प्रकृया हो ।

सुनिन्छ, अब पार्टीमा अध्यक्षमण्डलको प्रावधान नै रहँदैन कति सही हो ?
–तपाईले ठिक सुन्नुभयो । अब पार्टी बनाउनका लागि अध्यक्षमण्डलकै प्रावधान हटाउनुपर्छ । मण्डली प्रथाको अन्त्य नभएसम्म पार्टी बन्न सक्दैन । समूहिक नेतृत्व रहनुपर्छ तर यो अध्यक्षमण्डलको प्रावधान हटाउनुपर्छ । छवटा दल मिलेर बनेको राजपा नेपालमा छवटा अध्यक्ष राख्नु त्यतिबेलाको बाध्यता थियो तर अब महाधिवेशनपछि त्यस्तै बाध्यता रहनेछैन । एक अध्यक्ष प्रणालीबाट राजपा नपाल सञ्चालन हुनेछ । अध्यक्षमण्डल बनाएपछि डम्पिङ्ग जस्तो हुन्छ । अब पार्टीलाई डम्पिङ्ग हुनबाट बचाउनुपर्छ ।

छवटा दल मिलेर राजपा नेपाल बनेको छ । महाधिवेशनपछि पनि सबै नेतालाई व्यवस्थापन गर्नुपर्ने हुन्छ कसरी गर्नुहुन्छ ?
–मैले अघि नै भने कि लोकतान्त्रिक विधि अपनाएपछि सबै समस्या आफै समाधान हुन्छ । चुनावमा गएपछि अध्यक्षका लागि जजसलाई चुनाव लड्ने मन हुन्छ चुनाव लड्छ । चुनाव नलड्नेहरु पार्टीमा साधारण सदस्य भएर काम गर्छन् । पार्टीमा काम गर्नका लागि पदमै हुनुपर्छ भने होइन । साधारण सदस्य भएर पनि पार्टीका लागि काम गर्न सकिन्छ । ठूला ठूला पार्टीमा यस्तो हुन्छ । साधारण सदस्य भएर काम गर्न सकिन्छ वा एउटा सल्लाहकार समिति वा त्यस्तै कुनै समिति पनि बनाउन सकिन्छ । पार्टी एकीकरण भएको छ त्यसको असर सधैका लागि राख्नु हुँदैन । एकीकरण भएको छ भने त्यसलाई एउटै पार्र्टी बनाउनुपर्छ, नकि सधैका लागि भागबण्डा र समूहमा पार्टी चलाउने यो सोच्ने बेला आएको छ ।

आसारमा महाधिवेशन गर्नुपर्ने थियो वैशाखमा किन लाग्नुभयो । महाधिवेशन चाँडै गरेपनि हुन्थ्यो नि ?
–अरु पार्टीभन्दा राजपा नेपाल अलि फरक प्रकृतिको पार्टी हो । दुईटा दल मिलेको भएपनि हुन्थ्यो । दुईटा दल मिल्दा त्यसको व्यवस्था गर्न त्यति समस्या हुँदैन । तर, यहाँ छवटा दल मिलेको छ यो चानचुने कुरा होइन । यसको व्यवस्थापन गर्न अवश्य टाइम लाग्छ । छवटा विचारलाई एउटा विचार बनाउनुपर्छ । छवटा व्यक्तिलाई चित्त बुझाएर एउटा व्यक्ति तयार गर्नुपर्छ । कम झन्झटिलो कार्य यो होइन । एउटा सिगंल पार्टी भएको भए यतिबेलासम्म महाधिवेशन भइसकेको हुन्थ्यो तर छवटा पार्टीको संगम भएका हुनाले सोचे अनुसार नहुँदो रहेछ । त्यही भएर अलि लामो समय लिएको हो ।

तोकिएको समयमा महाधिवेशन हुन्छ त ?
–हुन्छ, अवश्यक हुन्छ । तोकिएको समयमा नै महाधिवेशन सम्पन्न गराउनका लागि यति लामो समय लिएका हौं । पार्टीमा पनि यतिा लामो छलफल भयो । त्यसको तयारीमा हामी जुटेसकेका छौं । जिल्ला जिल्लामा सर्कुलर पठाउने काम पनि गर्छौ । जिल्ला तथा स्थानीय तहको अधिवेशन गराउँदै विभिन्न भातृसंगठनहरुको पनि गठन गर्ने काम हुनेछ । तोकिएको समयमा महाधिवशेन गर्ने राजपा नेपालक बाध्यता हो । निर्वाचन आयोगले पनि तोकिएको समयमा महाधिवेशन गराउन तागेता गरेको गरैछ । त्यसैले अब महाधिवेशन गराउनुपर्ने बाध्यता हामीसँग छ ।

पार्टीभित्र अहिले दुईटा गुट देखिन्छ, महाधिवेशनसम्म पनि त्यस्तै गुटले प्रभाव पार्ने हो कि ?
–छैन । पार्टीमा कुनै प्रकारको गुट छैन । यो सुनियोजित रुपमा प्रचार गराइएको हो । सर्वसम्मतिले निर्णयहरु भइरहेको छ । कसैलाई कुनै कुरामा चित्त बुझ्दैन भने पार्टीमा राख्ने गर्नुभएको छ । त्यसमा छलफल हुन्छ र छिनोफानो हुन्छ । गुटको कुरा पत्रकारहरुले चलाएको हल्ला मात्र हो । र, पनि यदि पार्टीमा कसैले गुट बनाएको छ वा गुट चलाई रहेको छ भने त्यो नेता आफै समाप्त हुन्छ ।

त्यसो भए, यत्रो समय वित्तिसक्दा पनि संसदीय दलको नेता किन चयन गर्न सक्नुभएको छैन त ?
–मैले अघि पनि भनेको थिए कि अरु पार्टी भन्दा राजपा नेपाल अलि फरकखालको पार्टी हो । ठूलो पार्टी भएका हुनाले यसको निर्णय प्रकृया अलि लम्बिएको मात्र हो । संसदीय दलको नेता बनाउने विषयमा छलफल चलिरहेको छ । त्यसका लागि संसदीय दलको विधान बनाउने काम भइरहेको छ । विधान तयार भइसकेपछि संसदीय दलको नेता पनि चयन गर्ने काम हुन्छ ।

संसदीय दलको नेताका लागि राजेन्द्र महतो र महन्थ ठाकुर प्रतिस्पर्धी रहेको कुरा बाहिर आएको छ कुरा के हो ?
–राजेन्द्रजी र महन्थजी मात्र होइन, पार्टीमा रहेका १७ जना सांसद पनि संसदीय दलको नेता बन्ने लायकका हुनुहुन्छ । १७ जनामध्ये कोही पनि बन्न सक्नुहुन्छ । दावी त जसले पनि गर्न सक्नुहुन्छ ।

तपाई त महन्थ ठाकुर संसदीय दलाके नेता बन्नुपर्छ भनि पक्षमा हुनुहुन्छ नि ?
–म कसैको पक्षमा छैन । म पद्धति र प्रकृयाको पक्षमा छु । अहिलेसम्मको मान्यता अनुसार पार्टीका जो अध्यक्ष हुन्छ त्यो संसदीय दलको नेता हुने देखिन्छ । र, अर्को कुरा, महन्थ ठाकुर पार्टीका संयोजक पनि हुुनुहुन्छ, उमेरले सबैभन्दा सिनियर हुनुुहुन्छ त्यस कारणले उहाँ नै संसदीय दलको नेता हुनुपर्ने मेरो चाहना हो । यद्यपी दावी जसले पनि गर्न सक्छन् । महन्थ ठाकुर सर्वसम्मतिले संसदीय दलको नेता चयन हुनसकेन भने लोकतान्त्रिक प्रकृयाबाट त्यसको छिनोफानो हुन्छ ।

अन्त्यमा, तपाईहरुले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने चर्चा सुनिन्छ कहिले फिर्ता लिनुहुन्छ ?
–पार्टीभित्र छलफल शुरु भएको छ । पार्टीले जे निर्णय गर्छ त्यही अनुसार आगाडी बढ्ने कुरा हुन्छ । यद्यपी सरकारले राजपा नेपालसँग जस्तो व्यवहार गरेको छ त्यो राम्रो होइन । त्यो व्यवहारका कारण हामी समर्थन फिर्ता लिनसक्छौं । हामीले दुई तिहाई बहुमत पुर्याउनका लागि सरकारलाई विश्वासको मत दिएका थियौं । दुई तिहाई बहुमत भयो भने सविधान संशोधन चाँडै हुन्छ भनेर नै हामी समर्थन गरेका थियौं । समर्थन गर्ने बेला पनि सरकारलाई नेतृत्व गरेका दलले सविधान संशोधन गर्ने प्रतिवद्धता जनाएको थियो तर हालसम्म त्यसको बारेमा बोलेको छैन । हाम्रो दलको प्रतिनिधिसभा सदस्य रेशम चौधरी थुनामा छन् । सरकारले त्यसलाई रिहाय गर्ने पटक पटक प्रतिवद्धता जनाएका थिए तर हालसम्म छाडेको छैन । आन्दोलनका क्रममा थुनामा रहेका, मुद्दा परेका र फरार रहेका बारेमा पनि सरकारले स्पष्ट गर्नुपर्छ भनेका थियौं तर हालसम्म केही गर्न सकेको छैन । त्यसैले समर्थन दिएको औचित्य पुष्टि भएन भने समर्थन दिइरहने आवश्यकता रहदैन । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..