» » केपी शर्मा ओलीलाई विश्वासको मत दिनु हाम्रो बाध्यता हो

–शरतसिंह भण्डारी
अध्यक्षमण्डल सदस्य एवं सांसद, राष्ट्रिय जनता पार्टी नेपाल 

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी नेपाली राजनीतिक एक पुरानो नेतामध्येका एक हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीदेखि नेपाल काँग्रेसमा लामो समयसम्म काम गर्नुभएका उहाँ पछिल्लो समय मधेश राजनीतिकमा सशक्त रुपमा प्रस्तुत हुनुभयो । मधेशमा पहिलेदेखि राजनीतिक गर्दै आएका नेताहर पनि उहाँजतिको स्पष्ट हुन सकेको छैन । उहाँ पहाडी समुदायका हुनुहुन्छ तैपनि मधेशको बारेमा उहाँले सशक्त आवाज उठाउँदै आउनु भएको छ । पहिलो मधेश आन्दोलनपछि मधेशी राजनीतिकमा प्रवेश गर्नु भएका उहाँ त्यसपछि निरन्तर मधेशमै रहनुभयो । प्रस्तुत छ सहारा टाइम्सले गरेको कुराकानीको मुख्य अंशः

पहिलो मधेश आन्दोलनपछि पहाडी समुदाय असुरक्षित भइरहेको मधेशमा तपाईले आफ्नो राजनीतिक कसरी टिकाई रहनु भएको छ ?
–उत्पीडित, पिछडा वर्ग, विभेदमा परेको जनताको पक्षमा आवाज उठाउन कुनै मधेशी वा पहाडी हुनुपर्दैन । मानवीय रुपमा जसले पनि विभेदको विरुद्धमा कुरा उठाउन सक्छ । म पहाडी समुदायको भएपनि मेरो जीवन मधेशमै व्यतित भएको छ । मधेशको हकहितमा काम गर्नैमा वितेको छ । मलाई कहिल्यै पनि मधेशमा म पहाडी हुँ, अरु कोही मधेशी छन् भने कहिल्यै फिल भएन । अथवा मधेशका जनताले कहिल्यै म पहाडी हुँ भनि फिल हुन दिएन । यही नै मेरो सबभन्दा बढी उपलब्धी हो । म पहाडी समुदायका भएपनि मधेशको विभेदको विरुद्धमा आवाज उठाएको छु । त्यही भएर मलाई मधेशका जनताले सधै माया गरेका छन् ।

पहिलो मधेश आन्दोलनमा मधेशबाट थुप्रै पहाडीहरु पलायन भए त्यस्तो किन भयो त ?
–पहिलो मधेश आन्दोलन एउटा जनस्तरबाट भएको विद्रोह थियो । त्यो कुनै योजनावद्ध तरिकाबाट भएको आन्दोलन थिएन । धेरै दिनदेखि गुम्सिएर रहेको कुरा विद्रोहबाट विस्फोट भएर आयो । यसखाले विद्रोहमा धेरै यस्ता घटना हुन्छन् । जो कसैले चाहेको हुँदैन । पहाडी शासकले मधेशीमाथि गरेको विभेदका शिकार मधेशमा बसेका केही पहाडी समुदाय पनि भए त्यो अन्जानमा भएको हो जस्तो लाग्छ मलाई । पहाडी शासकले मधेशीमाथि गरेको विभेदको दोषी तराई मधेशमा वा कहीको पहाडी हुनुहुँदैन तर त्यो विद्रोह (आन्दोलन) मा त्यसको शिकार भए । तर दोस्रो चरण र तेस्रो चरणको आन्दोलनमा त्यस्तो भएन । पछि मधेशका जनताले पनि थाह पाएका कि यिनीहरु दोषी छैनन् । अर्को कुरा, आन्दोलनमा के हुन्छ भने त्यसमा विभिन्न मान्छेहरु मिसिएका हुन्छन् । त्यसमा लागेका धेरै मान्छेका धेरै उद्देश्य हुन्छन् । कसैकसैले त व्यक्तिगत रिसिवी पनि साधेका हुन्छन् । बदलाका भाव पनि कतिपयमा हुन्छन् । जो आन्दोलन गर्ने आयोजकको नियन्त्रणभन्दा बाहिर हुन्छ । र, यस्ता घटनाहरु भइदिन्छन् ।

दोस्रो र तेस्रो चरणको मधेश आन्दोलनमा त्यस्तो किन भएन त ?
–मैले अघि नै भनेका थिए कि पहिलो मधेश आन्दोलन अचानक भएको हो । त्यसको कुनै तयारी थिएन । जनताले विद्रोह गरेका थिए, जो धेरै पहिलादेखि गुम्सिएर रहेको थियो । आन्दोलन शुरु भएपछि त्यसको नेतृत्व र अगुवाई मधेशी जनअधिकार फोरम नेपालले गरेको थियो । पछि दोस्रो चरणको आन्दोलन शुरु हुँदा तयारीका साथ र निर्णय गरेको भएको थियो । तेस्रो आन्दोलन पनि त्यसैगरि भएको थियो । त्यही भएर त्यस्तो घटनाहरु दाहोरिएन । 

तपाईहरुले गर्नुभएको तेस्रो चरणको मधेश आन्दोलनको क्रममा पनि कतिपय व्यपारी, उद्योगी, स्कुल सञ्चालकहरु विस्थापित भएका छन् त्यसलाई व्यवस्थापन गर्ने कार्य राजपा नेपालबाट भइरहेको छ कि छैन ?
–हेर्नुस् आन्दोलन भनेको स्ट्रगल हो । कुनै पार्टीले आन्दोलन गर्छ भने त्यसमा रहेका नेता र कार्यकर्ताले मात्र दुख पाउने होइन । सम्पूर्ण जनताले त्यसको जस अपजस, दुखसुख र पीडाका भागिदार हुन्छ । आन्दोलनले सफलता प्राप्त गर्यो भने त्यसको भागीदार हुने, आन्दोलनबाट हुने दुख पिडाको भागिदार नहुने भनि हुँदैन । आन्दोलनमा जे पनि हुनसक्छ भने कुरा बुझि राख्नुपर्छ । हामी शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका थियौं तर त्यसमा थुर्पै मान्छे मरे । थुप्रै जनधनको क्षति भयो । शान्तिपूर्ण आन्दोेलन सशस्त्र आन्दोलन जस्तो देखियो । कसैको घर जल्यो, कसैको गाडी चल्यो । कसैको छोरा मर्यो, कसैको बुवा मर्यो । थुप्रै आपाङ्ग भए । आन्दोलनमा यस्तो हुन्छ, यसमा धेर्य गर्नुपर्छ । तपाईले जे प्रश्न गर्नुभयो । त्यो एकदम जायज हो । तेस्रो मधेश आन्दोलन छ महिना लामो आन्दोलन चल्यो । नेपाल भारत सीमामा धर्ना बसेको कारण नाकाबन्दी जस्तै भयो । त्यसले पनि धेरैलाई असर गर्यो । पसलबाट चल्ने घरपरिवालाई निकै नै गाह्रो भयो । त्यो कुरा हामीले पनि अनुभव गर्यौ । ऋण गरेर उद्योग धन्दा चलाएका हुन्छन् । तर बन्दका कारण उद्योग चलेन, व्यवसायी चलेन भने ऋणको व्याज वा रकम तिर्न गाह्रो हुन्छ । त्यसले गर्दा पनि धेरैलाई गाह्रो भएका होला अनि तराई मधेशबाट विस्थापित भएर पहाडतिर गएको होला । आन्दोलनको समयमा तिर्नुपर्ने करको मिनाहा गर्न हामीले माग गरेका छौं । उद्योगी व्यपारीलाई भएका क्षतिपूर्तिको माग गरेका छौं । आपाङ्गहरुको भरणपोषण गर्नुपर्ने माग गरेका छौं । त्यही मागका लागि हाम्रो अहिले संघर्ष चलिरहेको छ । 

तपाईहरु तेस्रो मधेश आन्दोलन शुरु गर्दा आन्दोलनमा ज्यान गुमाउने परिवारलाई ५० हजार रुपियाँ दिने घोषणा गर्नुभएको थियो । त्यो कुरा निकै विवादमा आयो । त्यो ५० हजार दिने कि नदिने के भइरहेको छ ?
–यो घोषणा मधेश आन्दोलनमा मात्र भएको होइन । यस्तो पहिला पनि भएको हो । तर, यहाँ त मधेशमा एउटा केही भयो कि सञ्चारमाध्यममले ठूलो इशु बनाएर उडाउन थाल्छन् । पहिलाको जनआन्दोलनमा आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा भएको थियो । त्यो बेला यहाँका सञ्चारमाध्यममले चुइँ बोलेनन् । बरु प्रशंसा नै गरेको थियो । तर, त्यही कुरा मधेश आन्दोलनमा घोषणा गर्दा के के नै भयो भनेर यहाँ सञ्चारमाध्यमले गलत प्रचार गर्यो । हामीले दिने भनेका छौं । आफ्नो प्रदेश सरकार गठन भएपछि दिने भनेका थियौं । सरकार पनि गठन भएको छ । त्यसका लागि आर्थिक स्रोत जुटाएर मधेश आन्दोलनमा सहादत दिएका परिवारलाई केही नकेही राहत मधेश सरकारले दिन्छ नै । यसमा ढुक्क भए हुन्छ । प्रत्येक सहिद परिवारका एकजनालाई रोजगार दिने कुरा भएको छ । सायद त्यसको शुरुवात पनि भएको छ । त्यस्तै, सहिदको नाममा एउटा कोष बनाउने पनि कुरा भएको छ । यस्तै यस्तै काम गरेर मधेशका लागि योगदान दिने परिवारलाई हामी राहत दिन्छौ ।

अब केही राष्ट्रिय राजनीतिकको कुरा गरौं । मधेश आन्दोलनको क्रममा मधेशमा व्यापक आलोचित पात्र केपी शर्मा ओलीलाई तपाईहरुले विश्वासको मत दिनुभयो किन त्यस्तो ?
–हेर्नुस् राजनीतिक सधै एक नाशले चल्दैन । र चल्नु पनि हुँदैन । मधेशको माग पूरा नहुनुमा एमाले दोषी हो भनि कुरा सही हो । सविधान संशोधन एमालेकै कारण भएन त्यो पनि सबैलाई थाह भएको कुरा हो । अहिले परस्थिति बदलिएको छ । उतिबेला हामी काँग्रेससँग सहकार्य गरेका थियौं साथमा माओवादी पनि थियो । एउटा शक्ति थियो । त्यतिबेला काँग्रेस र माअ‍ोवादी केन्द्रले सविधान संशोधनका लागि प्रयास गरेका थिए तर बहुमत नपुगेका कारण असफल भयो । अहिले काँग्रेस कमजोर भएको छ । एमाले र माअ‍ोवादी वामगठबन्धन बनाएर एउटा शक्ति बनेको छ । बहुमत उसैसँग छ । सविधान संशोधन वामगठबन्धनले चाहे मात्र हुन्छ । काँग्रेस चाहेर नचाहेर केही फरक पर्दैन । अहिले वामगठबन्धनले चाह्यो भने सविधान संशोधन तुरुन्तै हुन्छ । त्यही लोभमा हामीले केपी शर्मा ओलीलाई विश्वासका मत दिएका हौं । ल एकछिनलाई सोच्नुस् कि हामीले केपी शर्मा ओलीलाई विश्वासका मत दिएनौं । त्यसपछि के हुन्छ ? सविधान संशोधनको मुद्दा कहाँ जान्छ ? मधेशका मागहरुको अवस्था के हुन्छ ? अहिले आन्दोलन गर्ने अवस्था पनि छैन । काँग्रेससँग मिलेर गयो भने संसदमा तागत पनि पुग्दैन । त्यही भएर हामी रणनीतिक ढंगबाट वामगठबन्धलाई सघाएका हौं । अर्को कुरा, हामीले विश्वासको मत दिनुभन्दा पहिले एमाले र माओवादी केन्द्रले प्रदेश २ सरकारलाई समर्थन गरेको छ । काँग्रेस विपक्षमा बस्यो । वामगठबन्धन साथ दियो । त्यसको नैतिक हिसाबले पनि हामी वामगठबन्धनलाई केन्द्रमा सघाउनुपर्ने दायित्व बनेको छ । वामगठबन्धनका नेताहरुले पटक पटक सविधान संशोधन गर्ने आश्वासन दिइरहनु भएको छ । केपी ओलीले स्वयं पनि सविधान संशोधन हुने भनिरहनु भएको छ । जो यसअघि नामै सुन्न चाहनु भएको थिएन । 

सविधान संशोधन हुने कुरा त तीन दलका नेताहरुमध्ये पहिलादेखि नै अस्वीकार गरेको होइन, एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिला पनि आवश्यकता अनुसार सविधान संशोधन हुन्छ तर के के संशोधन गर्ने त्यसमा बहस र छलफल गरौं भनिरहनु भएको थियो अहिले पनि त्यही भनिरहनु भएको छ अनि कसरी विश्वास गर्नुहुन्छ त ?
–विश्वास गर्ने बाहेक हामीसँग विकल्प पनि छैन । अब एउटै उपाय छ कि आन्दोलन गर्ने कि वामगठबन्धनसँग मिलेर सविधान संशोधन गराउने । आन्दोलनको बारेमा तपाईलाई थाहै छ । अहिलेको अवस्थामा मधेश तत्कालै आन्दोलन गर्ने मुडमा छैन । आन्दोलन हुन्छ केही समय लाग्छ तर अहिलेको समय वामगठबन्धनलाई फकाएर सविधान संशोधन गराउनु हो । पहिला केपी शर्मा ओलीले भनेको कुरा र अहिले भनेको कुरामा फरक हुन्छ । पहिला भनेर ढाँटन पाइन्थ्यो । तर, अहिले ढाँटन पाइदैन । अहिले जवाफदेही पदमा हुनुहुन्छ । अहिले उहाँले बोल्ने कुरा महत्वपूर्ण हुन्छ । सबैले ख्याल गरिरहेका हुन्छन् । त्यसैले अहिले चिढाउनु भन्दा बढी कसरी सविधान संशोधन गराउन सकिन्छ । त्यतातिर बढी ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई ।

सविधान संशोधन गर्ने शर्तसँगै सरकारमा जाने कुरा पनि भइरहेको छ हो ?
–राजनीतिक र सत्ता एउटै सिक्काका दुई पाटा हुन् । एका अर्का विना अपुरो हुन्छ । राजनीतिक गर्छन् किन राज्य सञ्चालनका लागि सत्तामा जानका लागि, मन्त्री बन्नका लागि प्रधानमन्त्री बन्नका लागि । जोगी बन्नका लागि होइन । तर, त्यसको पनि एउटा समय, अवस्था र परस्थिति हुन्छ । त्यसको पनि एउटा शर्त हुन्छ । हामी पनि सरकारमा जान्छौं तर त्यसअघि हाम्रो मागहरु पूरा होस् । सविधान संशोधन होस् । थुनामा रहेका रेशम चौधरीलगायत अन्य आन्दोलनकारीलाई रिहाय गरोस् । अनि मात्र हामी सरकारमा जाने नजाने निर्णय लिन्छौं ।   
     

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..