» » राजविराजमा आज प्लेन उतारिने

राजविराज, जेठ ९ गते । विगत ५९ वर्षदेखिको लामो प्रतिक्षा पश्चात राजविराज विमानस्थलको औपचारिक उद्घाटन आज हुँदैछ ।

सप्तरीवासीको आशाभरोसाको रुपमा रहेको उक्त विमानस्थलको औपचारिक उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पूर्व उप–प्रधान तथा परराष्ट्र मन्त्री समेत रहिसकेका सप्तरी क्षेत्र नम्वर २ का सांसद उपेन्द्र यादव, पूर्व मन्त्री एवम् राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देव सहित विशिष्ठ व्यक्तित्वहरुको टोलीद्वारा औपचारिक रुपमा उद्घाटन हुन लागेको हो ।

राजविराज विमानस्थलमा श्री एयरलाइन्सको ७२ यात्रु क्षमता भएको जहाजको टेस्टिङ्ग फ्लाइट आज विहान १०ः३० बजेको समयमा हुन लागेको नेपाल नागरिक उडड्यन प्राधिकरणका परियोजना प्रमुख रामएकवाल महतोले जानकारी दिनुभएको थियो ।

त्यसपछि १ः३० वजे आउने भन्नुभयो । फेरि अहिले २ः४५ मा आउने कुरा गर्नुभएको तर अझै जहाज आइपुगेको छैन ।

टेस्टिङ्ग उडानका लागि एयरपोर्टमा सबै तयारी पूरा भएको छ । पत्रकार तथा नागरिक समाजका व्यक्तित्वहरु त्यहाँ विहानैदेखि बसेका छन् तर अझै आइपुगेको छैन ।

प्रमुख एकवालका अनुसार उद्घाटन पश्चात विमान कम्पनीको कार्यालय समेत स्थापना भई नियमित विमानसेवा सुचारु हुनेछ ।

हाल राजविराजबाट बिराटनगर हुँदै उडान हुने तथा पर्याप्त यात्रु हुन थालेपछि राजविराजबाट सिधा काठमाण्डौ उडान हुने महतोले जानकारी दिनुभयो ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विमान सेवा सञ्चालनकालागि मन्त्रालय तथा प्राधिकरणलाई दवाव दिँदैआएको बताउनुभयो ।

राजविराजबाट नियमित उडान हुने जानकारी दिँदै उहाँले जिल्लावासीलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष यादवले भन्नुभयो, ‘देशकै पुरानो विमानस्थलबाट विमान सेवा सुरु हुन लागेको समुचित वातावरण बनाउनु जिल्लावासीको दायित्व हो, अब जिल्लाको विकासमा एकतावद्ध भएर अगाडि बढ्नुपर्छ ।’

वैशाखभित्रै टेस्टिङ्ग फ्लाइट (परीक्षण उडान) गर्ने योजना रहेकोमा धावनमार्गमा मार्किङ्ग गर्न ढिलाई भएकोले केही समय सार्नुपरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार राजविराजमा उडान भर्न बुद्ध एयर लगायतका निजी कम्पनीहरुले प्रस्ताव गरे पनि अन्ततः श्री एयरलाइन्सले अनुमती पाएको छ ।

वि.सं.२०१६ सालमा तत्कालिन यातायात मन्त्री स्व.गणेशमान सिंहद्वारा शिलान्यास गरिएको राजविराज विमानस्थलको सम्पूर्ण निर्माण कार्य भई टेस्टिङ्ग फ्लाइट हुन लागेको छ ।

यो विमानस्थलमा एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडाई पक्की धावन मार्ग, ६० मिटर चौडाई र ९० मिटर लामो एप्रोन तथा एक सय दश मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण कार्य सम्पन्न भईसकेको छ ।

विमानस्थलको पश्चिमतर्फ केही रुखहरु काट्नुपर्ने भएकोले धनीले काट्न नमानेपछि प्रहरीको सहयोगमा कटान गर्न लागिएको छ ।

चार मिटर भन्दा माथि हाइटमा कुनै पुर्वाधार नहुनुपर्ने भएकोले समान्य अवरोधहरु हटाउने कार्य भईरहेको परियोजना प्रमुख महतोले बताउनुभयो ।

यता विमानस्थलबाट विमान सेवा सञ्चालन हुन लागेकोमा सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधानले खुशी व्यक्त गर्नुभएको छ । 

लामो समयको प्रतिक्षा पश्चात सप्तरीवासीको सपना पुरा हुन लागेकोले विमान सेवा सञ्चालनमा आएपछि सप्तरी जिल्लाको आर्थिक समृद्धि र पर्यटन प्रवद्र्धनमा मद्दत मिल्ने उहाँको विश्वास छ ।
-newstoday

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..