» » के के भयो सिम्रोनगढमा दुई दिन ? (फोटो फिचर)

काठमाडौ जेठ ७ गते । ऐतिहासिक तथा पुरातात्विक नगर सिम्रौनगढ़मा अंन्तराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

ज्येष्ठ ४ र ५ गते दुई दिनसम्म चलेको सो सम्मेलनमा वरिष्ठ पत्रकार चन्द्रकिशोर झाले सिम्रौनगढको विकासक लागि ग्रामीण पर्यटनको अवधारणाको विकास गर्नुपर्ने बताउनु भयो ।

पुरातत्व विभागकी उपमहानिर्देशिका श्रीमति मन्दाकिनि श्रेष्ठले माछा पालनको लागि सुपर जोनको बहानामा सिम्रौनगढ क्षेत्रमा पोखरी खन्न लगाएर कृषि मंत्रालयले पुरातात्विक सम्पदाको विनाशको नांगो नाच प्रस्तुत गरेको टिप्पणी गर्दै त्यसलाई तत्काल बन्द गर्न आग्रह गर्नुभयो ।

यसैगरि विजयकान्त कर्णले कार्यक्रममा विद्यार्थीहरू द्वारा प्रस्तुत लोकप्रीय हिन्दी र नेपाली गीतहरूमा प्रस्तुत नृत्यको विरोध गर्दै आयोजक तथा जनसमुदायलाई स्थानीय भाषा, खानपान, संगीत इत्यादिलाई बढावा दिएर मात्र पर्यटनलाई बढावा दिन सकिने धारणा राख्नुभएको तराई मधेश राष्ट्रिय परिषद्द्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 सिमरौनगढ़ अंतर्राष्ट्रीय सम्मेलन २०१८ नाम दिएको यस कार्यक्रमको सिम्रौनगढ़ नगरपालिका र तराई मधेश राष्ट्रीय परीषदद्वारा संयुक्त रुपमा आयोजना गरिएके थियो ।

जसमा देश विदेशबाट आएका पुरातत्वविद, समाजशास्त्री, पर्यटनविद, भाषाशास्त्री आदि व्यक्तित्वहरूले आ(आफ्ना शोध पत्र प्रस्तुत गर्नुभएको थियो । स्थानीय नेताहरूले सिम्रौनगढ़को विकासको सन्दर्भमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

पहिलो दिनको कार्यतालिका अनुसार अतिथिहरूलाई सिम्रौनगढ़ क्षेत्रमा रहेका विभिन्न पुरातात्विक स्थलहरु तथा छरिएर रहेका पुरातात्विक महत्व बोकेका मूर्तिहरूको अवलोकन गराएको थियो । यसै अवलोकन हेतु पछिल्लो १५ वर्ष देखि पुरातत्व विभाग द्वारा बन्द गरेर राखिएको कंकाली मन्दिर स्थित रहेको एक  संग्रहालयलाई पनि खोल्न लगाइएको थियो, जसमा दर्जन जति मूर्तिहरू तथा पुरातात्विक वस्तुहरू सुरक्षित राखिएका छन् ।

अवलोकनको क्रममा कोइलाकृत ८०० वर्ष पुरानो चामल पनि देखाइयो । जसलाई गाँउलेहरूले “डडेको चामल” भनेर भन्ने गर्छन् । अन्य लोकप्रीय स्थलहरू जस्तै रानीबास मन्दिर, कंकाली मन्दिर, इसरा पोखरा, झरोखर पोखरा, पलकिया माई, कोतवाली इत्यादिका साथ साथै पुलिस चौकी, खजानी गाँउ र हरिहरपुर गाँउमा छरिएर रहेका अति सुन्दर शिल्पकला युक्त मूर्तिहरूको पनि अवलोकन गराइयो ।

सिम्रौनगढ़ राज्य १०९७ इ.स. मा नान्यदेव राजा द्वारा स्थापित भएको थियो तथा १३२६ इ.स. मा दिल्ली सल्तनतका गयासुद्दिन तुग़्लक़ द्वारा ध्वस्त पारिएको थियो । आफ्नो अढ़ाई सय वर्ष भन्दा पनि कम राज्य संचालनको युगमै सिम्रौनगढ़ले उच्चकोटिको प्रगति हासिल गरेको थियो ।

यहाँ बाट चंडेश्वर, वचसपति, ज्योतिरिश्वर, देवादित्य, कर्मादित्य, रामदत्त, विद्यापति इत्यादि जस्ता विद्वानहरूले समाजका विभिन्न पहलुहरूमाथि कलम चलाए जसका पाण्डुलिपिहरू भारतका एशियाटिक सोसाइटिको विभिन्न कार्यालयहरू तथा लन्दन र काठमाण्डौका संग्रहालहरूमा सुरक्षित छन् ।

अवलोकन पश्चात कंकाली उच्च माध्यमिक स्कूलको प्रांगनमा आयोजित सम्मेलन सभामा वरिष्ठ पुरातत्वविद तथा पुरातत्व विभागका पूर्व उपमहानिदेशक तारानन्द मिश्रको अध्यक्षता तथा सिम्रौनगढ़ नगरपालिकाका प्रमुख विजय शंकर यादवको सभापतित्वमा मंतव्य कार्यक्रम प्रारम्भ भयो ।

दुई हज़ार भन्दा अधिक संख्यामा उपस्थित विज्ञ तथा जनमानसलाई सम्बोधित गर्दै उप(प्रमुख श्रीमति रीमा देवी कुश्वाहा, पुरातत्व विभागकी उपमहानिदेशिका श्रीमति मन्दाकिनि श्रेष्ठ, रापजा का महामन्त्री जितेन्द्र सिंह, पूर्व सभासद गोपाल ठाकुर, वरिष्ठ पत्रकार श्री चन्द्रकिशोर झा, पूर्व राजदूत श्री विजयकान्त कर्ण, कंकाली स्कूलका प्रधानाध्यापक ध्रुव कुश्वाहा, तराई मधेश राष्ट्रीय परिषदका वक्ता श्री सि।एन।थारु, एवं आनन्द गुप्ता इत्यादि व्यक्तित्वहरूले सिम्रौनगढको विकासका विभिन्न पक्ष बारे आआफ्ना मत राख्नु भयो ।


मंतव्य राख्ने सिलसिलामा सिम्रौनगढको पुनर्उत्थान मूल नाराका साथ आयोजित सम्मेलनको उदेश्य बारे आफ्नो मनतब्य राख्दैका सदस्य आनन्द गुप्ताले भन्नु भयो, सम्मेलन पश्चात सिम्रौनगढका अब्यवस्थित कलाकृति तथा पुरातात्विक महत्वका बस्तुहरुलाई संरक्षण गर्न र विश्व सामु ल्याउन सिम्रौनगढमा एउटा राष्ट्रिय स्तरको संग्रहालयको निर्माण गर्न पहल गर्ने तथा सिम्रौनगढलाई विश्व स‌ंपदा सूचिमा राख्न सकारसँग आग्रह गर्दर्छौं ।


सम्मेलनको दोस्रो दिन सभालाई सम्बोधित गर्दै भारतीय उप(महावाणिज्य दूत रमेश प्रसाद चतुर्वेदीले भारतीय सहयोगले बनि रहेको हुलाकी राजमार्गले पूर्णता पाइसके पछाड़ी सिम्रौनगढ़मा आवागमन सहज हुनेछ तथा विकासले यस क्षेत्रमा कांचुली फेर्ने दावी गर्नुभयो ।

 कंकाली स्कूलमा भारतका पूर्वराजदूतहरूको सहयोगले निर्मित भवनको अवलोकन गर्दै उहाँले सिम्रौनगढ़को पुरातात्विक सम्पदा संरक्षणका लागि सहयोगको प्रतिबद्धता जाहेर गर्नुभयो । नगरपालिकाबाट यस सम्बन्धमा प्रतिवेदनको माग राख्नु भयो ।


सम्मेलनको दोस्रो दिन शोध(पत्र प्रस्तुत गर्ने सत्र आयोजित गरियो जसमा बुद्धदेशका साथ(साथै भारत र अमेरिकाबाट आएका विद्वानहरूले आआफ्ना कार्यपत्र प्रस्तुत गर्नुभयो । यसै क्रममा इटलीका विश्वविख्यात पुरातत्वविद मैसिमो विडाले जसले २५ वर्ष पहिला सिम्रौनगढ़मा उत्खनन गरेका थिये । उनको भिडियो संदेश समेत प्रसारित गरियो । साथसाथै मैसिमो विडालेको सहयोगी रहेकी फ्रैनचेस्का लुग्लीको शुभकामना संदेश पनि पढिएको थियो।


शोधपत्रहरूमा भाषाविद गोपाल ठाकुर द्वारा विद्यापतिलाई उहाँका रचनाहरूको भाषा विश्लेषण गरेर विद्यापति भोजपुरी कवि रहेको दावा पेश गरियो । पूर्व शिक्षा सचिव बालदेव साह द्वारा सम्पदा संरक्षण प्रवर्धनका लागि नगरपालिकाका काम कर्तव्यहरूका बारे शोध प्रस्तुत गरियो ।

पुरातत्वविद प्रकाश दर्नालले बुद्धदेशका विभिन्न भागहरूमा भैरहेका उत्खन्नहरूको जानकारी दिनुभयो । भारतको ओडिसाबाट आएकी प्रोफ़ेसर रस्मिता सतपथिले कर्णाट युगको मैथिल दर्शन बारे प्रस्तुती दिनुभयो ।

भारतको कोच विहार बंगाल बाट आएका प्रोफेसर तनमय भौमिकले सिम्रौनगढमा पर्यटन विकासलाई लिएर कोच विहारको राजबारी दरबारमा भएका काम(कार्यवाहीको उदाहरण पेश गर्नुभयो ।

जसले त्यहाँ पर्यटन क्षेत्रले बितेका दशकहरूमा ठूलो फड़को मारेको हो । भारतकै कोलकाताबाट आएका प्रोफ़ेसर उज्जवल मल्लिकले सिमरौनगढ़ले पर्यटन विकास के(कसरी गर्न सक्छ तथा उसलाई के(कस्ता चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ बारे विस्तार गर्नुभयो ।


 यस्तै काठमाण्डुबाट आएका अधिवक्ता विजय जयसवालले राष्ट्रीय अंतरराष्ट्रीय क़ानूनहरूको हवाला दिँदै कसरी ती अधिकाररकानूनको सहायताले सिमरौनगढ़ले आफ्नो सम्पदालाई बचाएर त्यसबाट लाभ लिन सक्ने बताउनुभयो ।

महोत्तरीका स्वतंत्र शोधकर्ता राकेश प्रसाद चौधरीले सिमरौनगढ़का संस्थापक राजा नान्यदेवको मूल खोतल्दै कुन(कस्ता कारणले वहाँ सिमरौनगढ़ आइपुग्नु भयो बारे आफ्नो प्रस्तुति दिनुभयो। अमेरिका स्थित न्युयोर्कमा जागिरे इंजिनियर राम मनोहर साह द्वारा रचियेको संग्रहालय निर्माणको मास्टर प्लान उतैबाट आएका उनका सहयोगी विजय चन्द्रले प्रस्तुत गर्नुभयो ।

 अंतिममा दिवेश सिंहले सम्मेलन भन्दा ३ दिन पूर्व मात्रै अर्थात ज्येष्ठ १ गते उत्खननबाट प्राप्त एक शिलालेखको पटनाका पंडित भवनाथ झा द्वारा अनुवादित तथा व्याख्यित लेखलाई पेश गर्नुभयो।

कार्यक्रमको समापनमा सिमरौनगढ नगरपालिका प्रमुख श्री विजय शँकर यादवले सम्मेलनका सबै सहभागीहरूलाई धन्यवाद दिदै सिमरौनगढ़ क्षेत्रको पुरातात्विक सम्पदा संरक्षणको प्रतिबद्धता जाहेर गर्नुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..