» » मधेशमा राजपा र फोरमबीच एकीकरण हुनुपर्छ

–शरतसिंह भण्डारी
अध्यक्ष मण्डल सदस्य, राष्ट्रिय जनता पार्टी नेपाल
राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी पुरानो नेतामध्येका एक हुनुहुन्छ । काँग्रेस पार्टी छाडेर मधेश राजनीतिमा प्रवेश गर्नुभएका भण्डारी तराई मधेशको महोत्तरी जिल्लाबाट पटक पटक चुनाव जितेर मन्त्री भइसक्नु भएको छ । काँग्रेसमा लामो समयसम्म राजनीतिक गर्नुभएको भण्डारीले सो पार्टीबाट मधेशको कल्याण नहुने भएपछि मधेश राजनीतिकमा छिनुभयो । मधेशी जनअधिकार फोरम नेपाल हुँदै विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकमा जानु भयो । तर गच्छदारको पार्टी फोरम लोकतान्त्रिकले पनि मधेशको हकमा काम नगरिरहेको भन्दै त्यहाँबाट पनि उहाँ निस्किनु भयो । पछि उहाँले राष्ट्रिय मधेश समाजवादी पार्टी खोल्नुभयो । तीन चार वर्षसम्म सोही पार्टीबाट राजनीतिकमा सक्रिय भण्डारीले विभिन्न मधेशवादी दलसँग राजनीतिक एकीकरण गर्दै राजपा नेपाल गठन गर्नुभयो । हाल राजपा नेपालमा सक्रिय भएर कार्य गरिरहनु भएका शरतसिंह भण्डारीसँग सहारा टाइम्सले गरेको कुराकानीको सम्पादीत अंशः 

देशका दुई ठूला कम्युनिष्ट पार्टीबीच गठनबन्धन बनेको छ । सो दलबीचमा एकीकरण हुने पनि गृहकार्य भइरहेको छ यस विषयमा राजपा नेपालको के धारणा रहेको छ ?
–अलग अलग रहेको पार्टी एक हुनु निकै सकारात्मक कुरा हो । यसलाई कसैले त्यसलाई नाकारात्मक रुपमा लिनु हुँदैन जस्तो लाग्छ । एकीकरण पछिको कार्यनीति र व्यवहारले सबै कुराको निक्र्योल गर्छ । त्यसले वामगठबन्धन बनायो त्यो सकारात्मक कुरा हो तर आउन दिनमा यसको क्रियाकलाप हेरेर मात्र केही कमेन्ट गर्दा राम्रो । सविधान बनाउनका लागि १० वर्ष लाग्यो तर फास्टट्रयाकको नाममा तीन दिनमै टुग्यांयो । त्यो चुनौति अहिले पनि वर्तमान सरकार र सरकारलाई नेतृत्व गर्ने दलसँग छ । यद्यपी यो एकीकरणले एउटा कुराको पुष्टि गरेको छ कि देशलाई सैद्धान्तिक रुपमा अगाडी बढाउन जिम्मेवार दलहरु अगाडी आएका छन् तर ती सिद्धान्त कति कार्यान्वयनमा आउँछ त्यो हेर्न बाँकी नै छ । जसरी लोकतान्त्रिक र साम्यवादी शक्तिहरु एकीकृत भएका छन् त्यसले देशका लागि हितकर नै हुने विश्वास गर्न सकिन्छ । साम्यवादी दलहरुको संरचना हेर्ने हो भने त्यो बाहुलवादी चिन्तनको छैन । नश्लवादी चिन्तन त्यहाँ पाइन्छ । त्यो पनि चिन्ताका विषय छन् । यद्यपी यो एकीकरणले मधेशमा पनि एकीकरणका लागि दवाव बन्न सक्छ । मधेशमा राजपा नेपाल र फोरम नेपालबीच पनि एकीकरण हुनुपर्छ भनि झकझकाउँछ । 

वामगठबन्धनलाई सकारात्मक रुपमा लिएको भन्नुभयो तर चुनावको समयमा त्यसको निकै विरोध गर्नुभयो त किन ? 
–जुन कुरा हामीले चुनावको समयमा भनेका थियौं । त्यसमा कुनै हेरफेर भएको छैन । हामी त्यसमै अडिग छौं । मैले शुरुमै प्रकृयाको कुरा गरेको हुँ । गठबन्धन वा एकीकरण गर्नु खराब काम होइन तर त्यसको कार्यावयन र कार्यनीति, कार्ययोजना कस्तो हुन्छ त्यसमा भर पर्छ । त्यो कुरा म अहिले पनि भनिरहेको छ । मैले पार्टीको चरित्र, पार्टीको क्रियाकलापको बारेमा अहिले कुरा गरेको छैन । विभिन्न विचार बोकेका पार्टी एकीकृत भएपछि राजनीतिक प्रतिस्पर्धा बढेर जान्छ । त्यसले गर्दा नेतृत्वमा रहेका दलहरुले चुस्तदुरुस्त रुपमा राज्य सञ्चालन गर्न सक्छ । पहिलो र दोस्रो सविधानसभा चुनावमा एक सीटे दुई सिटे दलहरुले हालमुहाली जमाएका थिए तर जनताले त्यसलाई रुचाएका थिएन । तर यो अवस्था हुँदैन । पाँचवटा राष्ट्रिय दल चारदलमा झर्यो । अरु दलहरुमा एकीकरण भयो भने तीन दलमा झर्छ । बाँकी रहेका दलमा कडा प्रतिस्पर्धा हुन्छ । र, यसले देश निर्माणमा सजिलो गर्छ । यो सुखद पक्ष हो । देशमा जति कम हुन्छ । राज्यलाई काम गर्न त्यति नै सजिलो हुन्छ । जति धेरै दल हुन्छ त्यति अस्थिरता हुन्छ । थोरै दल भए राज्यलाई डिल गर्न पनि सजिलो हुन्छ ।

चुनावमा के के कुराको विरोध गर्नुभयो त ?
–कम्युनिष्ट पार्टीहरुमाथि जुन कुराको आशंका थियो त्यो कुरामा अझै विश्वास दिलाउन सकेको छैन । ति दलका नेताहरुले मुखले प्रष्टीकरण दिनुहुन्छ । तर व्यववहारमा देखाउन सक्नु भएको छैन । बहुदलीय प्रतिस्पर्धी व्यवस्था र बहुलवाद समाजलाई स्वीकार गरेर समावेशी समानुपातिकको आधारमा शक्तिपृथकीकरणलाई कसरी लागु गर्छन् त्यो कुरामा जनतालाई विश्वास दिलाउन सकेको छैन । जस्तो, जबजको कुरा एकातिर छ भने माओवादको कुरा अर्कोतिर छ । यी दुईटा कुरालाई पछि मिलाउँदै जाने भनेको छ जब कि सिद्धान्त भने कुरा सबभन्दा पहिले स्पष्ट हुनुपर्छ । यसले धेरैमा आशंका उब्जाएको छ । राजनीतिक दिशाबोध, राजनीतिक सिद्धान्त स्पष्ट भएन भने यो पार्टी कहाँ जान्छ भनि कुरा किलियर हुँदैन । यो गठबन्धन हो, कि पार्टी हो कि या कुनै अरु उद्देश्यले एकीकरण गरेको हो कि जस्ता आशंकाहरु उब्जाउनेछ । यो वामगठबन्धनलाई हामीले मात्र होइन । धेरैले आशंकाको घेरामा राखेको छ । कसैले साम्यवादी आउँछ कि भन्छन् भने कसैले राष्ट्रपति शासन लागु हुन्छ कि भन्छन् । कसैले त राजा र राणाभन्दा निरकुँश शासन देशमा लागु हुन्छ भन्छन् । त्यसैले यी कुराहरुको एकमुष्ट जवाव वामगठबन्धनले दिनुपर्छ । जुनकुरामा ढिलाई भइरहेको छ ।

त्यसो भए वामगठबन्धनसँग तपाईहरुको सहकार्य हुन्छ कि हुँदैन ?
–सहकार्य मुद्दा र एजेण्डामा हुन्छ । सहकार्य लेनदेनको आधारमा हुन्छ । जुन कुरा अहिले देखिएको छैन । वामगठबन्धन अहिले आफैमा अल्झेको देखिन्छ । अहिले उसको आफ्नो एजेण्डा तय भएको छैन । के गर्ने भनि स्पष्ट भएको छैन । २० वर्षदेखि देश द्धन्दमा छ । यसको समाधान भएन भने कही नकही असन्तुष्टि तथा द्धन्द रही रहन्छ । त्यसले गर्दा देशलाई अगाडी बढाउन सजिलो हुनेछैन । यो देशमा दुईटा कुरामा धेरै ठूलो द्धन्द भयो । एउटा सशस्त्र द्धन्द जो १० वर्षसम्म चल्यो । अर्को मधेश विद्रोह जो लामो समयसम्म नै चल्यो । तर विडम्बना यी दुवैको व्यवस्थापन अझै हुन सकेको छैन । माओवादीले द्धन्द छाडेर आएपछि पहिलो काम थियो, हतियार व्यवस्थापन गरि शान्ति प्रकृयालाई टुगोंमा पुर्याउनु । जो अहिलेसम्म भएको छैन । देशमा शन्ति प्रकृया अझै टुगों लागेको छैन । अर्कोतिर मधेशी, आदिवासी जनजाति, मुस्लिम, दलित, महिललगायत पिछडिएका समुदायल जेजति आन्दोलन गरेका छन् ती सबैको एउटा माग थियो सविधानको पूर्णता । तर सविधानले अझै पूर्णता पाएको छैन । सविधान अपुरो छ भन्दै त्यसको संशोधनका लागि हामीले आन्दोलन नै गरियौं । त्यसको पूर्णताका चुनावमा पनि गयौं तर अझै त्यसको टुगों लागेको छैन ।

सविधान संशोधन नहुँदै त्यही अन्तरर्गत चुनावमा भाग लिनुभयो, अन्य प्रकृयामा पनि समावेश हुनुभयो किन त्यस्तो ?
–पहिलो कुरा त हामीले सविधानलाई स्वीकार गर्दैनौ भनेका छैनौ । सविधानलाई हामीले स्वीकार गरेका छौं । सविधानको मुलभूत अवधारणामा हामीलाई कुनै आपत्ति छैन । तर त्यसमा केही त्रुटी छन् त्यसलाई सच्याउनुपर्छ भनि भनिरहेका छौ । नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपाल भएको हो । तर समावेशी समानुपातिकलाई अझै कार्यान्वयनमा ल्याएको छैन सविधानमा । हामीले पहिचान र अधिकारको कुरामा पनि गरेका थियौं । जो नागरिकता र भाषालगायतका विषयसँग जोडिएको हो । त्यसैले हामीले भनेको जस्तो शान्ति प्रकृया र सविधान संशोधनको विषयमा टुगों लगाउँनै पर्छ । यसका लागि हामीले दवाव दिइरहेका छौ । सविधान संशोधन लगायतका विषयमा हामी स्पष्टता खोजेका छौ ।

त्यसो भए सविधान संशोधनमा स्पष्टता नभएसम्म वामगठबन्धनसँग तपाईहरुको कुनै सहकार्य हुनेछैन ?
–सविधान संशोधनलगायत मधेश आन्दोलनको समयमा लगाईका मुद्दा फिर्ता, थुनामा रहेकालाई रिहाय जस्ता विषय हाम्रो बटमलाइन बनेको छ । यसका लागि हामी वामगठबन्धन सरकारसँग छलफलहरु गरिरहेका छौ । देशलाई समृद्धि र स्थिर बनाउनका लागि सविधान संशोधन गर्नैपर्ने हुन्छ । एउटा कुरा वामगठबन्धनमा रहेका माओवादी केन्द्रसँग सम्बन्धित हो । माओवादी द्धन्द हुँदा काँग्रेस र एमाले एक ठाउँमा थियो तर अहिले माओवादी केन्द्र र एमाले एक ठाउँमा आएको छ । के अब एमालेले माओवादीको द्धन्दलाई स्वीकार्छ या शान्ति प्रकृया टुगों लगाउन माओवादीको पक्षमा वकालत गर्छ त्यो मुख्य प्रश्न खडा भएको छ । अहिले पनि यी दुईटा दलको सात बुँदे सम्झौता हेर्नुभयो भने त्यसमा शान्ति प्रकृयाको विषयमा कुनै कुरा उठेको छैन । द्धन्द पीडितको व्यवस्थापन कसरी गर्ने, सत्य निरुपन आयोगको विषयमा के गर्ने लगायतका विषयमा यी दुई दलले केही बोलेका छैन ।

वामगठबन्धनसँग पछिल्लो समयमा भएको छलफलमा के के विषयमा कुराकानी भएको छ त ?
–अहिले वामगठबन्धन पूर्णत पाउने अवस्थामा छ । प्रत्यक्ष रुपमा कुनै पनि औपचारिक कुराकानी भएको छैन । कहिले काँही अनौपचारिक वार्ता र छलफल मात्र हुने गरेको छ । छलफल हुँदा कहिले नाकारात्मक कुरा आएको छैन । जहिले नै सकारात्मक कुराहरु आउने गरेको छ । तर कार्यान्वयन हुँदैन । छलफलमा बसुन्जेल सबै विषयमा सकारात्मक कुरा भइरहेका हुन्छन् । कुनै माग पूरा गरिदैन भनि भनेको हुँदैन तर भएका छलफललाई आगाडी बढाउनका लागि कन्जुसाई भइरहेको हुन्छ ।

छलफलमा उहाँहरुको धारणा कस्तो पाउनु भएको छ ?
–म अघि नै भने कि कुरा सुन्ने हो भने सबै कुरा आजै हुने जस्तो देखिन्छ तर वास्तविक त्यस्ते हुँदैन । अर्को कुरा उहाँहरु आफै अलमलमा हुनुहुन्छ । दुई नम्बर प्रदेश बाहेक अरु प्रदेशमा सरकार बनाएको छ । केन्द्रमा पनि सरकार बनायो । हिजो पार्टी एकीकरण नै गर्यो । अर्थात उनीहरु पनि आफैमा अलमलमा रहेका कारणले ठोस कुरा अगाडी बढी रहेको थिएन अब एकीकृत भइसकेपछि उनीहरुको तर्फबाट केही ठोस कुरा आउँछ कि भन्ने हाम्रो विश्वास छ ।

फोरम र राजपा नेपालबीच दुई नम्बर प्रदेशमा गठबन्धन बनेर संयुक्त सरकार बनेको छ तर फोरम सक्रिय देखिन्छ र राजपा निस्कृय देखिन्छ किन त्यस्तो ?
–हाम्रो चुनावी गठबन्धन हो । हामीले मधेशी जनताबाट पाएको म्याण्डेट अनुसार मधेशमा हामीले सरकार बनायौं । हामी त्यसमा कुनै अप्ठ्यारो भएन । अब बाँकी रह्यो सविधान संशोधन । सविधान संशोधनको बारेमा पनि हामीले कुरा उठाइरहेका छौ । उपेन्द्रजीले सविधान संशोधनको विषयमा उठाइरहनु भएको कुराप्रति हाम्रो कुनै विमत्ति छैन । हामीले उठाइरहेको कुराप्रति उपेन्द्र यादवको पनि विमत्ति छैन जस्तो लाग्छ । सविधान संशोधनको विषय राष्ट्रियसभाको चुनावलाई पनि प्रभावमा पारेको थियो । हामीले वाम गठबन्धनसँग त्यो चुनावमा सहकार्य गर्ने कुरा गर्यौं त्योसँगै हामीले सविधान संशोधनका कुरा पनि राख्यौं तर एमालेले त्यसलाई मानेन । अनि हामीले काँग्रेसतिर लाग्यौं । वाम गठबन्धनले राष्ट्रियसभाको चुनावमा दुई नम्बर प्रदेशमा छवटा सीट दिइरहेको थियो तर सविधान संशोधनमा कुरा नमिलेपछि हामीले वाम गठबन्धनलाई छाड्यौ । सविधान संशोधनमा सकारात्मक रहेका काँग्रेससँग हामी राजपा र फोरमले सहकार्य गर्यौ । यसले स्पष्ट हुन्छ कि फोरम र राजपा नेपालको गठबन्धन कायम छ । मधेशी जनताले एक अर्को म्याण्डेट पनि दिएको छ  त्यो हो फोरम र राजपा नेपालबीचका एकीकरण । यी दुई नेपालबीच एकीकरण होस् भनि हामी चाहन्छौ ।

राजपा नेपालभित्र कुनै विषयमा सर्वसम्मति बनिरहेको छैन, जे पनि विवाद हुन्छ त्यसले गर्दा तत्कालै गर्नुपर्ने निर्णयहरु पनि भइरहेको छैन किन त्यस्तो ?
–मधेशका छवटा प्रमुख पार्टी मिलाएर राजपा नेपाल बनाएका छौ । पार्टी एकीकरण भएका एक वर्ष पनि भएको छैन । विभिन्न दलबाट आएका हुनाले पक्कै पनि त्यहाँ छलफलमा केही नकेही हुन्छ । आआफ्नो निर्णय लाद्न खोज्छन् । आआफ्नो स्वार्थ अनुसार काम गर्न खोज्छन् । तर, यी सबका बावजुद पनि निर्णय प्रकृयामा कुनै आपत्ति छैन । कुनै निर्णय हुँदा सबैलाई स्वीकार हुन्छ । हामीले सामूहिक नेतृत्वको अभ्यास गरिरहेका छौ । त्यसले गर्दा त्यस्तो देखिएको छ । विभिन्न विषयमा हामीले व्यापक छलफल गरेका छौ । छलफल भएपछि केही फरक कुराहरु पक्कै पनि आउँछ त्यसले गर्दा तपाईहरुलाई त्यस्तो लागेको होला । सबै दलमा केही नकेही फरक कुराहरु आइरहेका हुन्छन् ।

तपाईहरुको पार्टीमा आन्तरिक विवाद जस्तो दखिएको छ उता फोरम नेपाल सरकारमा सहभागी हुने भनि गृहकार्य गरिरहेको छ । यदि फोरम नेपाल सरकारमा सहभागी भयो भने त्यतिबेला के गर्नुहुन्छ ?
–फोरम नेपाल सरकारमा सहभागी हुन्छ जस्तो मलाई लाग्दैन । मेरो मान्यता त के हो भने फोरम नेपाल सरकारमा एक्लै होइन राजपा नेपाललाई पनि साथमा लिएर जानुपर्छ । राजपा र फोरमबीच एकीकरण गरेर सरकारमा सहभागी हुनुपर्छ भन्ने मेरो मान्यता हो । दुईटा कम्युनिष्ट मिल्न सक्छ भने दुईटा मधेशवादी दल किन मिल्न सक्दैन । एउटै पार्टी बनाएर सरकारमा जानुपर्छ मेरा चाहना हो । एकीकरणको प्रकृया हामीले शुरु गरिसक्नुपर्छ । यो मधेशको माग हो । दुई धु्रुवमा उभेका एमाले र माओवादी पार्टी एक हुनसक्छ भने हामी एउटा मुद्दामा लड्ने हामी बीच पनि किन एकीकरण हुँदैन । एकीकरण हुनुपर्ने विषयमा गृहकार्य हुनुपर्छ ।       

फोरम र राजपा नेपालबीच एकीकरण हुने गरि कुनै छलफल वा गृहकार्य भइरहेको छ कि छैन ?
–औपचारिक रुपमा त्यस्तो कुनै छलफल छैन । नेतहरुको बीचमा कहिले काँही अनौपचारिक छलपलहरु भइरहेका छन् । त्यसलाई तत्कालै औपचारिकता दिनुपर्छ । यसमा दुवै दल सकारात्मक रहेको छ । राजपा नेपालसँग एकीकरण हुने कुरा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवजी पनि सर्वजनिक रुपमै भनिरहनु भएको छ भने राजपा नेपाल पनि सकारात्मक रहेको छ ।     

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..