» » वामगठबन्धनको सरकार र सविधान संशोधनको मुद्दा

–रामसहाय यादव
वामपन्थी सरकारमा संघीय समाजवादी फोरम नेपाल सहभागी हुने कुरा अहिले निकै चर्चामा छ । कसैले आजै शपथ लिन्छ कसैले भोली नै शपथ लिन्छ भन्नेसम्मको चर्चा शुरु गरेको छ । यहासँम्म कि सञ्चारमाध्यमको आधारमा फोरम नेपालले शपथ लिएको भए उहिले नै सरकारमा सहभागी भइसकेको हुन्थ्यो । सञ्चारमाध्यमका साथीहरुले फोरम नेपाललाई लेखेर सहभागी गराई सकेको छ । यो बीचमा हुने गरेको यस्ता टिप्पणीमा कुने सत्यता छैन । अनौपचारिक र औपचारिक वार्ताहरु भएपनि कुनै प्रकारको निर्णय हालसम्म भएको छैन ।

पार्टीबाट म सहित तीनजना अशोक राई, राजेन्द्र श्रेष्ठले एमालेका सुवास नेम्वाङ्, प्रदीप ज्ञवाली र अग्नी खेरलसहितको कार्यदलसँग वार्ता गरिरहेका छौ तर निष्कर्ष केही निष्केको छैन । अग्नी खरेल महान्यायधिवक्तामा नियुक्त भएपछि उहाँ वार्ता आउनु भएन । दुईजना मात्र हुनुहुन्थ्यो । उहाँहरुसँग हामीले भन्यौं कि शुरुदेखि नै माग गर्दै आएका सविधान संशोधनको विषयमा स्पष्ट हुनुपर्छ, त्यसप्रति कस्तो दृष्टिकोण रहेको छ त्यो पनि स्पष्ट हुनुपर्यो ।


सविधान संशोधनलगायत मधेशका समस्यालाई समाधान गर्ने गरि वाम गठबन्धनको सरकारले ठोस प्रतिवद्धता जनायो भने हामीले सरकारलाई सहयोग गर्न सक्छौ भनेका छौं । उहाँहरुले पनि हामी सविधान संशोधनका विरोधी होइनौं । कहाँ कहाँ के के विषयमा संशोधन गर्नुपर्छ सल्लाह गरौं भन्नुभएको छ । आआफ्नो पार्टीमा सल्लाह गरेर पुनः बस्ने कुरा भएको छ । त्यसबाहेका अहिलेसम्म केही भएको छैन तर बजारमा अनेक किसिमका कुराहरु उठिरहेका छन् ।


फोरम नेपालको बटमलाइन भनेको सविधान संशोधन नै हो । यो त्रुटीपूर्ण सविधान हो यसलाई सैद्धान्तिक रुपमा सच्याउनु नै पर्छ । सविधान अनुसार निर्माण भएको सातवटा प्रदेशमध्ये छवटा वामगठबन्धनको सरकार बनाएको छ भने एउटामा फोरम नेपालको सरकार बनेको छ । यी प्रदेशलाई राम्रो ढंगबाट चलाउनका लागि सविधानलाई संशोधन गर्नैपर्छ । प्रदेशका सांसदहरुले भन्दै आइरहनु भएको छ कि यो सविधानले प्रदेश चलाउन सकिदैन । सविधान संशोधन गर्नैपर्छ । यो दुई नम्बर प्रदेशको मात्र कुरा होइन । सबै प्रदेशमा एउटै समस्या रहेको छ ।


सविधान संशोधन गर्ने विषयमा सबभन्दा पहिला सैद्धान्तिक रुपमा तयार हुनुपर्छ । त्यसका लागि लिखित प्रतिवद्धता आउनुपर्छ । त्यसपछि (कन्टेन्ट) विषयवस्तुमा जानुपर्छ । सबभन्दा पहिले सविधानको धारा २७४ लाई नै संशोधन गर्नुपर्छ । कुनै पनि प्रदेशको सिमांकन हेरफेर गर्न दुई तिहाई वा बहुमत प्रदेशको सहमति चाहिन्छ । जुन राम्रो होइन । यसले प्रदेश चलाउन सकिदैन । त्यसैले सबभन्दा पहिले यसलाई संशोधन गर्नुपर्छ । एमाले, माओवादी र मधेशवादी दल मिलेपछि सविधानलाई संशोधन गर्न सकिन्छ । यो अवसरमा हामीले उपयोग गर्नुपर्छ । सविधान संशोधनको जस एमाले र माओवादी केन्द्रले लिनुपर्छ । यसको अवसर उनीहरुलाई अहिले आएको छ ।


सविधान संशोधनको विषयमा छलफल गरि यो यो विषयलाई संशोधन गर्छौ भनि तयार भएर त्यसका लागि कार्यदल बनायो भने मात्र फोरम नेपाल सरकारमा जान सक्छ तर त्यसका लागि ठोस प्रतिवद्धता आउनुपर्छ । सविधान संशोधन हुन्छ भन्ने कुराको विश्वासिलो आधार हामीलाई दिनुपर्छ अनि मात्र सरकारको बारेमा फोरम नेपालले सोच्न सक्छ भनि पटक पटक भन्दै आएको छ । तर त्यो कुरा सत्तारुढ दलले बुझिरहेको छैन । ती दलहरुले एकपटक फट्याई गरेर झुक्याउँदा देशले यस्तो लामो द्धन्द झेल्यो । अब फेरि उनीहरुले त्यस्तै फट्याँई गर्ला, झुक्याउँला, ठग्ला जस्तो लाग्दैन । सहमति गरेर हामीलाई सरकारमा सहभागि गरायो र त्यसलाई कार्यान्वयन गरेन भने त्यसबेला फोरम नेपालले जुनसुकै निर्णय लिनसक्छ भनि चेतावनी दिइरहेको छ । यो संघीय लोकतान्त्रिक गणतान्त्रिक सविधानलाई बलियो र समृद्ध बनाउने जिम्मेवारी फोरम नेपालको पनि रहेको छ ।


वामगठबन्धनले अबको दिनमा हुने सहमति गरेर त्यसलाई तोड्ने काम गर्ला जस्ता लाग्दैन ।
वामगठबन्धनसँग सविधान संशोधन सरकारमा सहभागी लगायतको विषयमा वार्ता चलिरहेको छ । पहिला पनि यी दलहरुसँग वार्ता हुन्थ्यो तर यसपटक मधेशप्रतिको सोचाईमा फरक परेको छ । मधेशको बारेमा पहिला जे बुझाई उहाँहरुको थियो । त्यो अब छैन । मधेशलाई निकै सकारात्मक सोचका साथ लिनुभएको छ उहाँहरुले ।

यहाँसम्म कि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्दा पनि मधेश प्रतिको सोचाईमा फरक पाएका छौं । प्रधानमन्त्री ओली पनि मधेशप्रति सकारात्मक हुनुभएको छ । यो सकारात्मकक कुुरा हो । मधेशसँग द्धन्द गरेर समस्याको समाधान हुँदैन भने कुरा एमालेले समेत बुझेको छ । मधेशसँग दोस्तीको हात बढाउन चाहेको छ एमालेले ।

सविधान निर्माणको समयमा मधेशवादी दलले जुन आन्दोलन गरेको थियो त्यसको बुझाई र दृष्टिकोणमा एमाले कही नकही त्रुटी गरेको हो अब त्यसलाई सुधार्न चाहन्छ । मधेश र पहाडको दुरी बढेको छ । सम्बन्धमा केही तिक्तता आएको छ । अब त्यसको दुरी कम गर्नुपर्छ । राष्ट्रियतालाई बलियो गर्नुपर्छ । यही मौका हो मिलेर जाने भन्ने कुरा एमाले पनि बुझेको छ । वामठबन्धनका नेताहरुले तल प्रदेशमा हामीले सहयोग गर्छौ माथी केन्द्रमा तपाईहरुले सहयोग गर्नुस् भन्नुभएको छ ।

राजपा नेपालसँग सहकार्य
राजपा नेपाल र फोरम नेपालबीच प्रतिनिधि र प्रदेशसभामा लिखित सहमति भएको थियो । सहमति अनुसार दुई नम्बर प्रदेशका लागि सहकार्य गर्ने कुरा थियो । दुई नम्बर प्रदेशबाहेक आआफ्नो तरिकाले अगाडी जाने कुरा थियो । केन्द्रदेखि प्रदेशसम्म हरेक कुरामा मिलेर जाने कुनै सहमति भएको थिएन । केन्द्रमा राजपा र फोरम आआफ्नो तरिकाले अगाडी बढीरहेका छन् । तर, सँगै जानुपर्छ भनि दुई दलको बीचमा गृहकार्य पनि भइरहेको छ ।

सकभर सरकारमा जाँदा सँगै जाँदा राम्रो हुन्छ भनि धारणा धेरैको रहेको छ । तर, फोरम नेपालको संगठनको प्रकृति र राजपा नेपालको प्रकृति फरक फरक भएका हुनाले दुवै दल सँगै जानेमा समस्या होला जस्तो देखिएको छ । तैपनि प्रयास भइरहेको छ । राजपा नेपालमा छजना अध्यक्ष रहेका छन् । कुनै पनि निर्णय गर्दा सर्वसम्मति बनिरहेको हुँदैन । निर्णय गर्दा समय लगाइरहेको हुन्छ । एउटा कुनै विषयमा एकजना अध्यक्षसँग कुरा गर्यो भने अर्को अध्यक्षले त्यही विषयमा अर्को धारणा बनाइरहेका हुन्छन् । अर्कोसँग कुरा गर्यो भने फेरि अर्कोले छुट्टै धारणा बनाई रहेका हुन्छन् । त्यसैले पार्टीगत हिसाबले कुरा गर्न गाह्रो भइरहेको छ । तैपनि हाम्रो धारणा भनेको मिलेर नै जाउ हो । सहकार्य गरेर गयो भने मात्र केही उपलब्धी प्राप्त हुन्छ जस्तो लाग्छ । यो कुरा दुवै दलले बुझेको छ ।




वामगठबन्धमाथि आशंका

सविधान निर्माणको समयमा उहाँहरु (वामगठबन्धन) को जुन भूमिका थियो त्यसको विरोध गरेको हुनसक्छ तर वामगठबन्धनको विरोध कही भएको छैन् । यदि देश र जनताको हितमा सकारात्मका काम गर्नका लागि वामगठबन्धन बनाएको हो भने त्यो स्वागतयोग्य हो । पार्टीहरु एकीकृत हुनु राम्रो कुरा हो । त्यसको विरोध कही कतैबाट हुनुहुँदैन । वामगठबन्धनमा रहेका दुई दलबीचमा भविष्यमा एकीकरण पनि हुँदैछ र यो राम्रो कुरा यसको सबैले स्वागत गर्नुपर्छ । तर सबैको चाहना भनेको त्यो गठबन्धन वा पार्टीले देश र जनताको हकमा काम गर्नुपर्छ । देशमा सविधान निर्माण भएपनि उत्पीडित समुदादयहरुले अझैपनि परिवर्तनको अनुभूति गर्न पाएको छैन । त्यो अनुभूति गराउने काम वामगठबन्धन सरकारको हुनुपर्छ । यो सरकार मामुली सरकार होइन ।

बहुमत प्राप्त शक्तिशाली स्थायी सरकार हो । यसले अब कुनै बहान गर्न पाउँदैन । यो भएन । त्यो भएन अब त्यो भन्न पाइदैन । यो वामगठबन्धन सरकारको एउटै काम हो, आर्थिक समृद्धि र त्रुटीपूर्ण सविधानको संशोधन । यी दुईटा काम बाहेक अब यो सरकारसँग केही छैन । न सविधान निर्माणको चिन्ता छ न पाँच वर्षसम्म चुनाव गराउने कुनै चिन्ता छ । सारा काम सम्पन्न भइसकेको अवस्थामा अब जनताका लागि मात्र काम गर्ने हो । र, जनताले पनि यही अपेक्षा गरेको छ । 

काँग्रेससँग ब्रेकअप
काँग्रेससँगको सहकार्यमा ब्रेक लागेकै हो । पछिल्लो समयमा आएर काँग्रेसले जुन व्यवहार देखायो त्यसले फोरम नेपाल र राजपा नेपालको पनि चित्त दुखाएकै हो । दुखको समयमा दुवै दलले काँग्रेसलाई सहयोग गरेकै थियो । तीनटै दलको बीचमा सहकार्य भएकै थियो । तर दुई नम्बर प्रदेशमा विश्वासको मत माग्दा काँग्रेसले विपक्षमा उभिदियो । त्यसले राजपा र फोरमलार्य दुखि बनाएको छ । फोरम र राजपा नेपालले सहयकार्य तोडेका होइन । काँग्रेसबाट नै सहकार्य तोड्ने काम भएको छ । काँग्रेसलाई आग्रह गर्दा पनि सहयोग गरेन । बरु एमालेले सहयोग गर्यो । जसको विरोध मधेशमा भइरहेको थियो । त्यसले नै आज मधेशीलाई सहयोग गरेको छ । त्यसैले यो अवस्था सृजना भएको हो ।

अहिलेको अवस्थामा राजपा र फोरम नेपाललाई सविधान संशोधन चाहिन्छ । सविधान संशोधन गर्ने क्षमता माओवादी र एमालेसँग मात्र छ । जुनबेला काँग्रेससँग थियो त्यो बेला गराउन सकेन । त्यतिबेला राजपा र फोरम पनि सोही दलको साथमा थियो । अहिले एमाले र माओवादीले त्यो जनादेश पाएको छ । जनादेशको कदर गर्दै सविधान संशोधनका लागि हामीले सहयकार्यका लागि कुराकानी भइरहेको छ । तर यो होइन कि काँग्रेससँग सहकार्य जानी जानी तोडिएको हो । काँग्रेसले आफै तोडेर गयो । 

केन्द्र र प्रदेश
केन्द्रको गतिविधिले प्रदेशको समिकरणलाई फरक पार्दैन होला । त्यहाँको मुद्दा र समस्या तथा केन्द्रको मुद्दा र समस्या फरक फरक विषय हुन् । त्यसले फरक नपर्नुपर्ने हो जस्तो लाग्छ ।
यद्यपी एउटा कुरा स्वभाविक हो कि जसले प्रदेशमा सहयोग गरेको छ । उसले केन्द्रमा अवश्य सहयोग खोज्छन् तर उसले भन्दैमा फोरम नेपालले सहयोग गरिहाल्छ भने होइन । यसका लागि पहिला छलफल हुनुपर्छ । छलफल नगरिकन त्यतिकै सहयोग गर्न भन्यो भने सायद फोरम नेपालले मान्दैन ।
(फोरम नेपालका महासचिव रामसहाय यादवसँग गरिएको कुराकानीमा आधारित)

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..