» » सिम्रौनगढलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने

कलैया, चैत १० गते । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले सिम्रौनगढलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने बताउनुभएको छ ।

बाराको ऐतिहासिक नगरी सिम्रौनगढमा मत्स्य महोत्सव तथा परिकार प्रतियोगिता, २०७४ को उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहनुभएकी मन्त्री चौधरीले सिम्रौनगढ क्षेत्र कृषिका लागि उपयुक्त भएकाले त्यस क्षेत्रका किसानका समस्यालाई उच्च प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

माछाको सुपरजोन मात्र नभई यहाँ गहुँ, आलु, धान, केराको पनि सुपरजोन घोषणा हुन लायक भएको भनी राज्यमन्त्री चौधरीले निकट भविष्यमा यस क्षेत्रलाई पकेट क्षेत्रका रुपमा काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अहिले खासगरी प्रदेश नं २ का जिल्ला विशेषतः बारा, पर्सा, रौतहटमा हजाराँै हजार हेक्टरमा किसानले लगाएको मकै बालीमा दाना नलागेपछि किसानले भोग्नुपरेको पीडा र समस्यालाई मध्येनजर गर्दै सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्ने उद्घोष गर्नुभयो ।

त्यसका लागि मातहतका निकायलाई वास्तविक किसानको क्षतिलाई अनुगमन तथा निरीक्षण गरी यथाशक्य चाँडो मन्त्रालयमा प्रतिवेदन पठाउन निर्देशनसमेत दिनुभयो ।

एक अर्को प्रसंगमा राज्यमन्त्री चौधरीले बाराका अधिकांश किसानको जग्गा जमिन रहेको तर लालपूर्जा नरहेकोले लालपूर्जाका लागि सरकारसँग पहल गर्नेमा जोड दिनुभयो ।

संघीय समाजवादी फोरम नेपाल र राजपालाई सरकारमा आउन आग्रह गर्दै तराई मधेशका सबै समस्यालाई संविधान संशोधनमार्फत हल गरिने बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ कार्यालय सिम्रौनगढका सञ्चालक समितिका अध्यक्ष जलन्धर सिंहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश नं २ का कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री जोगिन्द्रराय यादव, अर्थराज्यमन्त्री उषादेवी यादव, प्रदेशसभा सदस्य ज्वालाकुमारी साह, प्रदेश सदस्य महम्मद समीर, सिम्रौनगढ नगरपालिकाका प्रमुख विजयशंकर यादव, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निर्देशक डा नरहरिप्रसाद घिमिरे, मत्स्य निर्देशनालयका निर्देशक वैकुण्ठ अधिकारी, सुपरजोनका प्रमुख गणेश मिश्र, मत्स्य विज्ञ रामानन्द मिश्रा, मत्स्य विकास अधिकृतलगायतले महोत्सवको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

दुई दिनसम्म चल्ने सो महोत्सवमा २५ वटा कक्ष रहेका छन् भने लाखौँको कारोबार हुने महोत्सव समितिका सदस्य धर्मेन्द्र यादवले बताउनुभयो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..