» » रघुवीर महासेठले भन्नुभयो, राजपा र फोरम नेपाल विना शर्त सरकारमा सहभागि हुनुपर्छ



सहारा टाइम्स
काठमाडौं, फागुन १२ गते । एमालेका नेता रघुवीर महासेठले फोरम र राजपा बिना शर्त सरकारमा सहभागी हुनुपर्ने बताउनु भएको छ । 

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्नु हुँदै नेता महासेठले एमाले–माओवादी संविधान संशोधन गर्न तयार रहेकाले फोरम र राजपालाई बिना शर्त तत्काल सरकारमा सहभागी हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँहरुले अब सरकारमा आउन ढिलाई गर्नुहुँदैन्, उहाँहरु बिना शर्त सरकारमा पहिले आउनुपर्यो, यदि उहाँहरुको समस्या समाधान भएन भने उहाँहरु पछि फर्किन पनि सक्नुहुन्छ ।’

आफूहरु फोरम र राजपालाई सरकारमा आउनका लागि आग्रहर रहेको पनि विश्वास उहाँले दिलाउनुभयो । यद्धपी उहाँले आफूहरुले फोरम र राजपालाई सरकारमा सहभागि गराउने सन्दर्भमा ‘खाए खा नखाए घिच’ को व्यवहार भने नगरेको स्पष्ट पार्नुभयो ।

नेता महासेठले भन्नुभयो, ‘हामी त उहाँहरुलाई स–सम्मान सरकारमा ल्याउन चाहन्छौं, यसैको लागि अहिले हामी प्रयासरत छौं, सरकारलाई सहयोग गर्नुहोस्, आउनुहोस् मिलेर देश बनाऔं भन्ने हाम्रो आग्रह छ ।’

पूर्वमन्त्री समेत रहनु भएका नेता महासेठले आफूहरु देश र जनताको हितमा संविधान संशोधन गर्न तयार रहेको विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘यदि साँच्चिकै संघीय समाजवादी फोरम र राजपाले भने जस्तो संविधानमा समस्या छ भने उहाँहरु त्यसको लागि पहिले सरकारमा त आउनुपर्यो, हामी पनि संशोधन गर्नुपर्छ भन्ने पक्षमा छौं ।’

उहाँले आफूहरुले २ नम्बर प्रदेश सरकारलाई विना शर्त सहयोग र समर्थन गरेको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो, ‘हामीले २ नम्बर प्रदेशमा उहाँहरुको नेतृत्वमा रहेको वर्तमान सरकारलाई विना शर्त समर्थन गर्यौं, मधेशमा विकास होस्, शान्ति, सुरक्षा, अमनचयन कायम होस्, आर्थिक सम्पन्नता हासिल होस् भनेर नै एमाले–माओवादीका सांसदहरुले उहाँहरुलाई मत दिएका हुन् ।’

उहाँले उपेन्द्र यादव नेतृत्वको संघीय फोरम सरकारमा आउने विषयमा आफूहरु सकारात्मक रहेको पनि सुनाउनुभयो । ‘नयाँ नेपाल बनाउन एमाले र माओवादी केन्द्रका नेतृत्वमा करिब दुई तिहाईको सरकार छ, तर यसमा उहाँहरुको पनि योगदान होस् भन्ने हाम्रो चाहना छ’ उहाँले भन्नुभयो ।

नेता महासेठले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार मुलुकको राष्ट्रिय ढुकुटी करिब करिब रित्तिएको अवस्थामा गठन भएको सुनाउँदै भन्नुभयो, ‘हो, राष्ट्रिय ढुकुटी समाप्त भएको बेला बोज उठाउन हाम्रो अध्यक्ष ओलीजीको नेतृत्वमा सरकार गठन भएको छ, हामीले सानो आकारमा मन्त्रीमण्डल बनाउने तयारी गरिसकेका छौं, आउने साताभित्रै प्रधानमन्त्रीले मन्त्रीमण्डललाई पूर्णता दिनुहुन्छ ।’

उहाँले मन्त्रीमण्डल विस्तारमा ढिलाई हुनुमा खास कारण केही नभएको जिकिर गर्नुभयो । महासेठले भन्नुभयो, ‘एमाले र माओवादीबीच एकता भइरहेको छ, केही प्राविधिक कामहरु द्रुत गतिमा भइरहेका छन्, नवगठित कार्यदलहरु आफ्नो काममा व्यस्त छन् ।’

वर्तमान सरकारको मूल उद्देश्य नै यसअघिको सरकारबाट सिर्जित विसंगति र चाहिने÷नचाहिने कामलाई व्यवस्थित् गर्नु रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘अघिल्लो सरकारले गरेका कामहरुलाई हामी कानूनसम्मत् रुपमा व्यवस्थित गर्छौ ।’

 निर्वाचनको बेला जारी एमाले–माओवादीको संयुक्त घोषणापत्रलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने पनि आफूहरुको अर्को प्राथमिकता रहेको महासेठले जानकारी दिनुभयो ।

वाम गठबन्धन नेतृत्वको वर्तमान सरकारले एक वर्षभित्रै मुलुक र जनतालाई केही अनुभुति दिलाउने गरि काम गर्ने उहाँको दाबी थियो । उहाँले भन्नुभयो, ‘वाम गठबन्धनको सरकारले देश विकासमा केन्द्रित भएर काम गर्छ, सम्भवत् यही आउने चैत्रभित्रै हामी दुवै पार्टीवीच एकता घोषणा हुन्छ, त्यसपछि सरकारको कामको गति द्रुत हुन्छ ।’

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..