» » सम्पूर्ण मधेशका लागी फेरि आन्दोलन हुन्छ (भिडियोसहित)

-डा.रामकेवल साह, मधेशी बुद्धिजिवी

डा.रामकेवल साह हाड जोर्नीका विशेषज्ञ हुनुहुन्छ । देश विदेशमा आफ्नो डाक्टरी पेसबाट ख्याती कमाउनु भएका डाक्टर साह मधेशको बुद्धिजिवीको रुपमा पनि परिचित हुनुहुन्छ । आफ्नो पेशाबाट बचाएका केही समय उहाँ समाजसेवामा लगाउनु हुन्छ । मधेशी विचार समूहबाट मधेशमा राजनीतिक चेतना फैलाउने काममा पनि लाग्नु भएका डाक्टर साह केही समय नयाँ शक्ति पार्टीमा पनि आवद्ध हुनुहुन्थ्यो । देशको समसामयीक राजनीतिक अवस्थाको बारेमा सहारा टाइम्सले उहाँसँग गरेको कुराकानीको मुख्य अंशः  

एक समय मधेशी बुद्धिजिवीको रुपमा निकै सक्रिय तपाई अहिले केही निस्कृय देखिनु भएको छ किन ?
–म निस्कृय भएको छैन । म आफ्नो तरिकाले काम गरि नै रहेको छु । तर एउटा कुरा सत्य हो कि विचार र मूल्यमान्यतामा ह्रास आएको कारण पहिला भन्दा अहिले केही गतिविधिहरु कम भएको छ । एक हिसाबले भन्ने हो भने बुद्धिजिवीहरु पनि ‘वेट एण्ड सी’ को अवस्थामा छन् । पार्टीहरुको गतिविधि हेर्दा उनीहरु बीचमा सम्पूर्ण विचार अन्त्य भएको हो कि जस्तो लाग्न थालेको छ । त्यस्तो पार्टीको बारेमा के विश्लेषण गर्ने के विचार दिने । कुनै विचार गोष्ठीमा पनि खासै केही  उपलब्धी मुलक बहस भइरहेको हुँदैन । त्यही पुरानै कुराहरु भइरहेका हुन्छन् । सोच्ने एउटा र गर्ने एउटा जस्तो भइरहेको हुनाले हामी अलि निस्कृय भएकै जस्तो हो । अहिले भर्खर तीनै चरणको चुनाव सम्पन्न भएको छ । चुनाव हेर्नु भो भने त्यहाँ न कुनै विचार देखिन्छ न कुनै प्रतिस्पर्धा, न कुनै योगदानको कदर देखिन्छ । सबै व्यक्तिगत स्वार्थमा रुमलिएका छन्, जसको परिणाम स्वच्छ हुनेछैन आउने दिनमा । जोड घटाउको राजनीतिक भयो । जति पनि गठबन्धन बन्यो ती सबै व्यक्तिगत स्वार्थका लागी बन्यो । गठबन्धनको पनि दुरुपयोग भएको देखियो । त्यसैले हामी अलिकति ओझेलमा पर्न चाहेकै हौं ।

तपाई मधेशी बुद्धिजिवी तथा नागरिक अगुवाहरुलाई मिलाएर एउटा संस्था गठन गर्नुभएको थियो त्यो आवश्यकताले भएको थियो कि बाध्यताले ?
–त्यो आवश्यकता देखेर नै बनाएका थियौं, हामीलाई कुनै बाध्यता थिएन । कुनै पार्टीको भातृ संगठन बनाएका थिएनौ । मधेशमा आवश्यकता देखेर नै हामीले त्यो वैचारिक समूह बनाएका थियौं । अहिले पनि त्यो वैचारिक समूहमा छँदैछ । समय र आवश्यकताको आधारमा पुनः त्यसलाई एक्टीभ गर्नेछौ ।

तपाई आफूलाई डाक्टरको रुपमा परिचय गराउन चाहनु हुन्छ कि एउटा मधेशी बुद्धिजिवीको रुपमा परिचय गराउन चाहनु हुन्छ ?
–सबभन्दा पहिले म पेशाले डाक्टर हुँ, त्यसैले मेरो पहिलो परिचय डाक्टर नै हो । ट्रमा मेरो विशेषता हो । चोटपटक मेरो विशेषता हो । देश विदेशमा मैले सेवा दिइरहेको छु । मेरो मुख्य पेशा नै यही हो तर समाजिक दायित्वको हिसाबले बचेका केही समयलाई मैले सदुपयोग गरिरहेको छु । हामी जस्ता व्यक्तिले देश र जनताका लागी केही गर्यो भने त्यसले समाजमा प्रभाव पर्दो रहेछ । राजनीतिकलाई प्रभाव पार्दो रहेछ तर ती प्रभावबाट हामीले केही लिनु हुँदैन । त्यसबाट व्यक्तिगत फाइदा लिनुहुँदैन । राजनीतिक विचार र राजनीतिक व्यक्तिबाट जनता ठगिएका छन् । ती ठगहरु बाट बचाउन, त्यसको प्रभावबाट बचाउन, र दवाव दिनका लागी हामी दवाव समूह वा बैचारिक समूह बनाएका छौं । बेलाबेलामा हामीले दवाव दिइरहेका हुन्छौं, विचार दिइरहेका हुन्छौ ।


भिडियो


तपाई पेशाले डाक्टर फेरि समाजलाई चिन्तन दिने तपाई नै किन अगुवाई गर्नुपर्यो किन चिन्तन दिनुपर्यो ?
–धेरैजसो मान्छे यस्ता गतिविधिहरु गर्दा त्यसमा उनीहरुको व्यक्तिगत स्वार्थ लुकेको हुन्छ । केही पाउने आश गरेर बसेका हुन्छन् । कुनै पद पाइएला कि बढुवा गर्देला कि सरुवा गर्देला कि जस्ता आँकक्षा लिएर कुनै समूह बनाएर राजनीतिक दलको वरिपरी घुमिरहेका हुन्छन् । यदि कसैले कुनै स्वार्थले राजनीतिकमा लागेका हुन्छन्, कुनै समूह बनाएका हुन्छन् भने त्यो पक्कै पनि समाजका लागी केही गर्न सक्दैन । त्यो हरहमेशा आफ्नो लागी मात्र सोचिरहेका हुन्छन् । तर मलाई समाज सेवाबाट केही लिनु छैन । मलाई आफ्नो पेशाबाट पुगिरहेको छ । समाज सेवा गरेवापत न मलाई कुनै पद चाहिन्छ न पैसा । म निस्वार्थ भावले देशका लागी सेवा गर्न चाहन्छु । अरुअरुले पनि विभिन्न पेशा जस्तो डाक्टर, इन्जिनियर, शिक्षक, प्रध्यापक, वकिलहरुले आआफ्नो तर्फबाट समाजलाई निःस्वार्थ भावले सेवा गर्नुपर्छ । आफ्नो पेशाबाट बचेको समयलाई समाजसेवामा लगायो भने प्रभाकारी हुन्छ । यस्ता व्यक्तिहरु समाजसेवामा लाग्यो भने त्यसमा कुनै स्वार्थ हुँदैन किनभने उहाँहरुलाई आफै खाने, लाउने सबै थोक हुन्छ । उहाँहरुबाट भ्रष्टाचार हुँदैन । भरपोषण र परिवार पाल्न जोहो हुने व्यक्ति राजनीतिक गर्नुपर्छ । यदि भरपोषण गर्ने अवस्था छैन त्यो व्यक्ति त्यसमा लाग्यो भने उ भ्रष्ट हुन्छ र राजनीतिक वतावरण विगार्छ । अर्थात मैले भन्न खोजेको हुँ कि आर्थिक रुपमा आत्मनिर्भर भएका व्यक्ति समाजसेवा र राजनीतिकमा लाग्नुपर्छ ।

तपाईले भन्नुभयो म पुरै निस्वार्थ भावले समाजसेवामा लागेको छु तर तपाई केही पहिले नयाँ शक्ति पार्टीमा संलग्न हुनुहुन्थ्यो नि ?
–हो म नयाँ शक्तिमा गएको थिए । मलाई शुरुमा नयाँ शक्तिको विचार र व्यवहार राम्रो लाग्यो म त्यसमा समाज सेवा भावले नै गएको थिए तर जब मलाई विचारमा विचलन भएको लाग्यो अनि म त्यो पार्टी छाडेर हिडे । कथनी र करणनीमा फरक लाग्यो । मलाई लाग्यो यो पार्टी पनि अरु पार्टी जस्तै हो अनि मलाई वितृष्णा जाग्यो र पार्टी छाडेर हिडे । सबै पार्टी एकैनाशको हो । सबैले अवसरको राजनीतिक गर्छन् । अब म कुनै पार्टीमा जान्न । म पार्टीगत राजनीतिक गर्दिन् । विशुद्ध रुपमा स्वतन्त्र भएर आफूसँग भएको क्षमता ज्ञान र समयमा साथ समाजलाई सेवा गर्छु ।

नयाँ शक्तिमा विचलन आयो भन्नुभयो कस्तो विचलन हो त्यो ?
–नयाँ शक्ति पार्टीमा मैले एउटा कुरा पाए त्यो हो भनाई र गराई । भनाई र गराईमा मैले फरक पाए त्यसैले मैले त्यसलाई विचलन भनेको हुँ । नयाँ शक्तिका बाबुराम भट्टराईले समाजवाद ल्याउँछु भन्नुभएको थियो तर समाजवाद ल्याउने कुनै कार्यक्रम थिएन । साम्यवादी ल्याउँछु भन्नुभएको थियो तर त्यो अनुसारको कुनै तयारी थिएन । अर्थात भनेको कुरा कुनै पनि व्यवहार उतारेको मैले पाइनन् । यसलाई विचलन नभन्ने हो भने के भन्ने ? विचार नमिल्ने, कार्यक्रम नमिल्नेसँग साँठगाँठ गर्नुको अर्थ के हो त ? विचार गर्ने एउटा र काम गर्ने अर्को प्रवृति मैले पार्टीहरुमा पाएको छु । सिद्धान्त र विचारमा अड्नु पर्यो नि । समाजवाद विचार लेख्ने तर क्रियाकलाप पुरै समान्ती गर्ने, हैकमवादी गर्ने, एक तन्त्रिय गर्ने त्यसले पार्टी चल्दैन । तर यो विचलन नयाँ शक्तिमा मात्र होइन हरेक पार्टीमा देखिएको छ । र, यो विचलन हटाउने काम बुद्धिजिवीको हो । र, त्यसको खाँचो छ ।

त्यसो भए दलहरुले जति पनि विचार र सिद्धान्त कागज वा विधानमा लेखेका छन् ती सबै भ्रम हुन् त ?
–पार्टीहरुले कागज र विधानमा लेखिएका सबै कुराहरुलाई मत माग्नका लागी मात्र प्रयोग गरेका छन् । त्यसलाई चुनावको टुल्स बनाए । चुनाव जिति सकेपछि ती दलहरुले भनेका अनुसार के गरे तपाई नै भन्नुस् त । चुनाव प्रचारमा बाँडिएका पर्चा, पम्पलेट, अपिल, घोषणापत्र हेर्नुस् । जनतालाई कसरी आकर्षण गरेको छ । के त्यसमा लेखेका र भनेका कुरा पाँच प्रतिशत पुरा गरेका छन् त छैन नि । हो मैले भनेको कुरा यही हो । कथनी र करनीमा फरक देखिएको छ । हाम्रो समाजवादी पार्टी हो, हाम्रो पछि पछि आउँ भन्छन् तर चुनाव जिति सकेपछि छोरा, श्रीमती, साली, साला, सम्धी, सम्धिनीलाई सांसद बनाएका छन् । यसलाई हामीले के भन्ने ? कहाँ गयो त्यो समाजवाद, कहाँ गयो त्यो साम्यवाद ? समाजमा पाखा परेका समाजलाई कसैले हेरेको छैन । न्यायमा समाजवाद भनिएको छ तर कसैले त्यसमा कसैले अमल गरेको छैन । राष्ट्रिय सभामा राष्ट्रिय छवी भएका व्यक्तिलाई पठाउनुपर्ने सवैधानिक व्यवस्था छ तर दलहरुले पार्टीका नेता तथा नाता–गोतालाई पठाई रहेका छन् । यी सबै विचलन नै हो ।

यसका लागी नागरिक समाजका अगुवा तपाई जस्ता बुद्धिजिवीहरुले ठोस रुपमा कुरा उठाउनुपर्ने होइन ?
–कुरा उठिरहेका छन् तर कुरा उठाएर हुँदैन । दवाव दिएर मात्र हुँदैन त्यसलाई कार्यान्वयन गर्ने निकाय पनि हुनुपर्यो । अब एउटै उपाय छ जनताको स्तरबाट यो कुरा उठ्नुपर्छ । जनताले दवाव नदिएसम्म यो कुरा लागु हुँदैन । चुनावको समयमा जनताले नै त्यस्ता व्यक्ति रोजेर पठाउनुपर्छ जसले समाजवका लागी केही गरोस् । पछिल्लो समय यसमा केही सुधार भएको छ । केही नभएको पनि होइन । चुनावबाट थुप्रै होनहार युवाहरु आएका छन् जसबाट हामीले भरोसा गर्न सक्छौ ।

२०६२÷०६३ को जनआन्दोलनको समय नागरिक समाजका अगुवाले जुन दवाव र प्रभाव राज्यमाथी पारेको थियो त्यस्तो दवाव अहिले देखिएको छैन किन ?
–हो त्यो बेला नागरिक समाज भन्ने वित्तिकै एउटा सम्मान थियो । राज्यले कुरा सुन्थ्यो पनि । तर, अहिले त्यही नागरिक समाजका अगुवाहरु पार्टीगत, समुदायगत, जातीगतमा बाँडिएका छन् । त्यसले गर्दा उहाँहरु पार्टीकै औजार बन्नुभयो । त्यसैले उहाँहरुको कुरा कसैले सुन्दैन । देशमा यस्तो भ्रष्टचार भइरहेको छ तर राष्ट्रिय–अन्तराष्ट्रिय रुपमा कसैले उठाई रहेका छैन । किन उठाई रहेका छैन ? किनभने उहाँहरु विभिन्न ग्रुपमा विभाजित भएका छन् । फलानोको विरुद्धमा कुरा उठाउँदा चिलानो रिसाउँछन् कि चिलानोको विषयमा कुरा उठाउँदा फलानो रिसाउँछन् कि भनि भय उहाँहरुमा देखिएको छ । सबै नागरिक समाज राजनीतिक समूहमा बाँडिएको छ । न्यायधिश नियुक्ति हुँदा राजनीतिक भागबण्डा हुन्छ, वकिल नियुक्त हुँदा राजनीतिक भागबण्डा हुन्छ, डिन नियुक्त हुँदा राजनीतिक भागबण्डा हुन्छ अर्थात राजनीतिक नियुक्तिदेखि लिएर सबै राष्ट्रिय नियुक्तिमा राजनीतिक भागबण्डा हुन्छ अनि बुद्धिजिवी भनाउँदाहरु, प्रध्यापक भनाउँदाहरु, न्यायधिश भनाउँदाहरु, वकिल भनाउँदाहरु सबै राजनीतिक समूहमा बाँडिएका हुन्छन् र उहाँहरु आआफ्नो समूहको बचाउँ गरि बोलिरहनु भएका हुन्छन् किनभने उहाँहरुको स्वार्थ नियुक्तिमा हुन्छ । आज विरोधमा बोल्यो भने भोली नियुक्तिमा कटौती गर्दिन्छ कि भनि भय हुन्छ उहाँहरुमा ।

त्यसो भए कस्तो खालको ट्रमा सेन्टर बनाउँदा उनीहरुको अप्रेशन हुन्छ त ?
–यिनीहरुको अप्रेशन जनताले गर्छन् । जनताले ट्रमा सेन्टर तयार गरिसकेको छ । धेरैलाई अप्रेशन गरिसकेको छ । २००७ सालमा हामी रैती थियौं तर ७० साल नपुग्दै हामी सर्वभौमसत्ता सम्पन्न भइसकेका छौ । अरु देशमा त परिवर्तन हुन सैयों वर्ष लाग्छ । नेपालमा प्रत्येक १० वर्षमा परिवर्तन भएको छ । देश परिवर्तनको तर्फ अगाडी बढी सकेको छ । अब विधिको शासन लागु गर्न चुनौती छ । जनताले हेरिरहेका छन् । मौका आउने वित्तिकै अप्रेशन गर्छ, हेर्दै जानु होला । जनता जागरुक छ, जनताले हिसाब लिन्छ, अब छलकपटले काम चल्दैन ।

तपाईहरुको भाषामा विरामीको विभिन्न स्टेज हुन्छ, कसैलाई चाँडो अप्रेशन गर्नुपर्छ, कसैको खुट्टा वा कुनै अंग नै काट्नुपर्छ, कसैलाई औषधी खुवाएर ठिक पारिन्छ, यो देश पनि रोगी भएको छ तर कस्तो अवस्थामा छ, अप्रेशनै गर्नुपर्छ कि औषधीले नै ठिक हुन्छ ?
–जनताले अप्रेशन गरिरहेका छन् । तपाईले चुनावको परिणामबाट अनुभव गर्न सक्नुहुन्छ । हामीले भन्छौ खुट्टा ठिक भएन भने त्यसलाई काटेर फ्याल्नु पर्छ, खुट्टाको कारण ज्यानमा खतरा छ भने काटेर फ्याल दिनुपर्छ । खुट्टाको कारण ज्यान दिनु भएन । अहिले हेर्नुस् न कति दिग्गज नेताहरु चुनावबाट फ्यालिनु भयो । किनभने देश जोगाउनु थियो । यदि ती सडे गलेका नेता भएको भए देश विग्रिन्थ्यो मात्र होइन समाप्त नै हुन्थ्यो त्यसैले जनताले अप्रेशन गरेको हो । अप्रेशन जारी छ । यो चलिरहन्छ ।

तपाईले भन्नुभयो, जनताले अप्रेशन गरिरहेको छ, अप्रेशनै गर्नुपर्छ, के औषधी खुवाएर ठिक पार्न सकिदैन ? 
–औषधी दिएर पनि संक्रमणलाई ठिक पार्न सकिन्छ । सबै अवस्थामा अंग काटेर मात्र हुँदैन कतिपय अवस्थामा औषधीबाट पनि निको हुन्छ । जनताले त्यो पनि गरिरहेका छन् । विभिन्न किसिमका विचार समूह बनाउनु, विचार गोष्ठी गर्नु, कोणसभा र जुलुस प्रदर्शन गर्नु, आन्दोलन गर्नु भनेको औषधी जस्तै हो ।

तपाई दुई नम्बर प्रदेशका हुनुहुन्छ, दुई नम्बर प्रदेश जहिले पनि राजनीतिको केन्द्र विन्दुमा रहेको छ, पछिल्लो समय त्यहाँका पोल्टिक्सलाई तपाईले कसरी लिनुभएको छ ?
–दुई नम्बर प्रदेश भनेको आठ जिल्लासँग जोडिएको प्रदेश हो । आठ जिल्ला मात्र मधेश होइन, मेचीदेखि महाकालीसम्मको भाग मधेश हो । नेताहरुको बदनियतका कारण, स्वार्थी नियतका कारण, सम्झौताप्रस्त भएको कारणले मधेशका अन्य भूभाग गुमिएको हो । तर, जनता अझै २० वटा जिल्लाका लागी लड्न तयार छ । ढिलो चाँडो त्यसका लागी पुनः आन्दोलन हुन्छ र प्राप्त गरेर ने छाड्छ ।

अब कसरी सम्भव हुन्छ, प्रदेश बनिसकेको अवस्थामा ?
–देशबाट पंचायती शासन, राजतन्त्र जान्छ भनेर कसैले सोचेका थिएन, समय काल परस्थिति अनुसार सबै समाप्त भयो नि हेर्दै जानु होला, एक मधेश एक प्रदेशका लागी आन्दोलन हुन्छ र त्यो प्राप्त हुन्छ । कानुन र सविधानले केही गर्दैन, केही हुँदैन आन्दोलनले सबै कुरा प्राप्त भएको कुरा हामी सबैलाई थाह छ नि ।

राजनीतिक स्टेकहोल्डरले सबै कुरा स्वीकार गरिसके पछि कसरी हुन्छ अबको आन्दोलन ?
–राजनीतिक स्टेक होल्डरले त पाँच विकास क्षेत्रलाई पनि स्वीकार गरेका थिए नि । त्यो त हटिसक्यो । सबै थोक जनता हुन् । जनताका अगाडी कुनै स्टेकहोल्डरको केही चल्दैन । जनताले चाहे भने देशमा जे पनि हुनसक्छ ।

अरु ठाउँमा राजनीतिक संक्रमण समाप्त हुँदैछ तर दुई नम्बर प्रदेशमा झनै बढ्दै गइरहेको छ, यदि यस्तै रहि रह्यो भने आर्थिक समृद्धि कसरी होला त ? 
–मधेशमा मात्रै होइन, देशैभरि अझै संक्रमण छ । आदिवासी जनजाति, दलित, थारु, मुस्लिम, उत्पीडित जनताको अधिकार अझै सुनिश्चित भएको छैन । यदि अगामी दिनमा समस्या समाधान भएन फेरि अर्को आन्दोलन हुन्छ । जबसम्म मानसिक रुपमा अधिकार प्राप्त गरेको अनुभव जनताले गर्दैनन् तबसम्म विकासको सम्भावना छैन । जबसम्म जनता समस्याबाट मुक्त हुँदैन, जनताले मुलप्रवाहमा समाहित भएको अनुभाव गर्दैनन्, विधिको शासनको अनुभव गर्दैन तबसम्म आर्थिक समृद्धिको कुरा गर्नु बेकार हो । आर्थिक समृद्धिका लागी जनता मानसिक रुपमा तयार हुनुपर्छ । अहिले पनि पुल बनिरहेको छ, सडक बनिरहेको छ, हाइड्रो पावर तयार भइरहेको छ तर त्यसको अवस्थाको अध्ययन गर्नुस् अनियमितता र भ्रष्टाचार मात्र भइरहेका छन् । ती नेता, ठेकेदार, कार्यकर्तालाई पाल्नका लागी मात्र भइरहेको छ जस्तो लाग्छ । एउटा पुल बनाउँछन् तर त्यसमा लाखौ कमिशनको खेल हुन्छ । एउटा सडक निर्माण हुन्छ त्यसको कमिशन मन्त्रीसम्म पुग्छ । यो सबै संक्रमणकालको उपज हो । जनता विकासका लागी मानसिक रुपमा तयार भएको छैन । जब मानसिक रुपले तयार हुन्छ । विकास आपसे आप हुन्छ ।

अधिकारका लागी मधेशी जनता जसरी आन्दोलन गरिरहेका छन् त्यति चासो पहाडका आदिवासी जनजाति र दलितको यहाँसम्म थारुमा पनि देखिएको छैन किन ?
–हिमाल, पहाडका आदिवासी जनजाति पनि आन्दोलनका लागी सल्बलाई रहेका छन् तर उनीहरुमा एउटा समस्या देखियो । जसरी मधेशमा आन्दोलनकारी संगठित छन् त्यति संगठित उनीहरु छैन । मधेश आन्दोलन एकीकृत भएर लागेका हुन्छन् । मधेशको सबालमा एक भएर आउँछन् । मधेशको आन्दोलन हेर्नुभयो भने कुनै पार्टीको झण्डा हुँदैन । तर हिमाल र पहाडमा आदिवासी जनजातिमा त्यस्तो देखिदैन । उनीहरु यसरी नै एकीकृत भयो भने आन्दोलन सफल हुन्छ ।

प्रत्येक १० वर्षमा देशमा राजनीतिक परिवर्तन भएको देखिएको छ, अब यो देशमा कस्तो परिवर्तन आउँछ ?
–अब कुनै नयाँ परिवर्तन होइन, यही परिवर्तनलाई व्यवहारमा लागु गराउन बाध्य पार्छ । सविधानमा देखिएका त्रुटीहरुलाई सच्याउन बाध्य पार्छ । विधिको शासन लागु गराउन बाध्य पार्छ । प्राप्त उपलब्धीलाई उनीहरुले व्यवहारमा लागु गराउन चाहेका छैन । प्राप्त उपलब्धीलाई सविधानमा उल्लेख गरेका छैनन् । उल्लेख गरेका कुरा व्यवहारमा लागु गराएका छैन । एक समूह, एकल राज्यको जुन बर्चस्व छ देशमा, त्यसलाई तोड्नका लागी आन्दोलन गर्नेछ । 
     

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..