» » राजपाका अनिल झाले भन्नुभयो, दुई नम्बर प्रदेशमा हामीले एमालेसँग मत मागेका होइनौ

काठमाडौ फागुन १२ गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले संविधान संशोधन नभएसम्म राजपा सरकारमा सहभागी नहुने स्पष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘संविधान संशोधन भयो भने मात्रै हामी सरकारमा जानेबारे सोच्न सक्छौं, अहिले हामीले सरकारमा सहभागी हुनेबारे केही पनि सोचेको छैन ।’

हिजोको दिनमा संविधान संशोधन भैरहँदा संशोधन गर्नै हुँदैन भनेर क्रान्तिकारी भाषण गर्ने र दुई तिहाई पुर्याउन नदिने दल नेकपा एमालेले अहिले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्नुहुँदै झाले भन्नुभयो, ‘हामी त संशोधनको पक्षधर हौं, तर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली संशोधनको लागि ईच्छुक हुनुहुन्छ कि हुनुहुँदैन् ? उहाँहरुसँग अहिले प्रचण्ड बहुमत छ, हामी पनि भयौं भने दुई तिहाई भन्दा बढी बहुमत हुन्छ ।’

अध्यक्ष झाले एमाले–माओवादीसहित राजपा र फोरम पनि मिल्यो भने संशोधनको लागि प्रचण्डभन्दा प्रचण्ड बहुमत पुग्ने र संविधान संशोधन रातारात हुने अर्थात तुरुन्त हुने विश्वास दिलाउनुभयाो । उहाँले संशोधन नगरी आफूहरु सरकारमा नजाने अडान दोहोर्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई सरकारमा जान कुनै हतारो छैन, अहिले हामीले सरकारमा जानेबारे सोचेको पनि छैन, सरकारमा त्यतिकै सहभागी भयौं भने जनताले के भन्छन् ? तपाई पत्रकारहरुले के भन्नुहुन्छ ? हामी संशोधन पक्षधर भएकोले राजपा र फोरमले दायाँबायाँ गर्ने अवस्था छैन ।’

विगतको एमालेको संशोधनप्रतिको प्रस्तुति निर्दयी रहेको उहाँको गुनासो थियो । ‘हिजो संविधान सशोधन प्रस्ताव टेबुल हुँदा एमाले कडा र क्रान्तिकारी रुपमा प्रस्तुत भएको थियो, हामी दुई तिहाई कुनै हालतमा पुर्याउन दिन्नौं भनेर लागेकै हो नि, त्यही भएर संशोधन पास भएन्, त्यसैले यथास्थितिमा हामीले उहाँहरुसँग सरकारमा सहकार्य गर्ने कुनै संभावना छैन ।’

दुई नम्बर प्रदेशमा त एमाले–माओवादीले तपाईहरुको सरकारलाई समर्थन गर्यो नि त भनेर सोधेको एक प्रश्नमा उहाँले भन्नुभयोे, ‘हामीले मत माँगेका होईनौं, जहाँसम्म मुख्यमन्त्रीले मत माग्नुभयो भन्ने कुरा छ, मत त साधु र चोरको पनि उही हो नि ।’

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..