» » ‘मरेको मर्स्याले जिउँदो पहाडी ठग्छ ।’

–सिके लाल
हामी कहाँ राष्ट्रियताबारे गहन बहस कहिले पनि भएन । भयो के भने, राष्ट्रवादलाई एकातिर राजाहरुले भजाएर खाए । अर्कोतिर, तथाकथित वामपन्थीहरुले पनि त्यत्तिकै भजाए ।

पहिलो पटक राष्ट्रियतालाई ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ को नारामा नेपाली काँग्रेसले बहसमा ल्याउन खोजेको हो ।

त्योभन्दा अगाडि जहिले पनि राष्ट्रवाद नै रहेको हो । त्यसैले ‘राष्ट्रवाद’ लाई पनि ‘राष्ट्रियता’ नै बुझ्ने चलन छ । तर, यी दुई शब्द समानार्थी चाहिँ होइनन् ।

सोझो भाषामा भन्ने हो भने राष्ट्रियता त्यो भावना हो, जुन आफू बसेको भूमि, माटो, पानी, हावा, आफू हुर्केको समाज, आफ्नो परिवेशसँगको प्रेमलाई जनाउँछ । जब त्यसमा ‘वाद’ जोडिन्छ र राष्ट्रवाद हुन्छ, त्यो चाहिँ विचारधारा बन्न जान्छ । त्यो विचारधाराले आफू को हो र अरु को हो भन्ने सीमारेखा कोर्छ । राष्ट्रवाद आफूप्रतिको मायाभन्दा पनि अरुबाट हुने डर, अरु प्रतिको घृणामा लक्षित हुन्छ ।

दुर्भाग्यवश के भइदियो भने नेपाल राज्यको परिकल्पनाकारदेखि नै ‘दुई ढुंगाबीचको तरुल हो’ भनेर भयको भावनामा राष्ट्रको विचारधारा जन्माइयो । त्यसैले यहाँ राष्ट्रियताले जरो गाड्न सकेन । राष्ट्रवादको उन्मादचाहिँ ठूलो भयो । एकातर्फ, तीन तिरबाट घेरिएको भारतको भय भजाउन पाइयो । अर्कोतर्फ, हिमालले हामीलाई रक्षा गरेर राखेको छ भन्न पाइयो ।

एक तिरबाट सुरक्षित र तीन तिरबाट असुरक्षित रहेको हुनाले राष्ट्रवाद मूलतः भारतविरोधी भावनामा आधारित भयो । र, त्यो नै यहाँ धेरै बिक्ने भयो । त्यसको मारमा भारतीयसँग अनुहार एवं बानीव्यहोरा मिल्ने मधेसीहरु पनि परे । राष्ट्रियता भइदिएको भए मधेसी, जनजाति आदि सबैलाई जोड्थ्यो ।

राष्ट्रवादले चाहिँ मधेसीलाई अन्यतिर लगिदिएको हुनाले नेपालमा राष्ट्रियताको भावना हुर्किनै पाएन । राष्ट्रवादले सबैलाई जितिदियो ।
राष्ट्रियताको भावना विकास गर्न सामाजिक रुपान्तरणका लागि काम गर्ने नेतृत्व चाहिन्छ । हामीकहाको अर्को दुर्भाग्य के हो भने, राजनीतिको एउटामात्रै उद्देश्य जहिल्यै कसरी सत्तामा पुग्ने र शासन गर्ने भन्नेमा केन्द्रित भयो । त्यसको लागि मान्छेलाई उत्तेजित पार्ने कुरामा ध्यान दिनुपर्छ । स्वभाविक हो, प्रेमभन्दा घृणाले उत्तेजित पार्न सघाउँछ । त्यसैले घृणाको खेती धेरै भयो ।

यहाँको राष्ट्रवादमा भारत मिसिन थालेको इतिहास निकै पुरानो छ । मुगलकालका सम्राट औरंगजेबलाई गाली गर्ने चलन छ । हिन्दुवादीहरुले हिन्दुविरोधी भनेर गाली गर्छन् । त्यसको एउटा कारण के थियो भने हिन्दुहरुले ‘जजिया कर’ तिर्नुपथ्र्यो । तर औरंगजेबको के थियो भने जो हिन्दूले त्यो कर तिथ्र्यो, उनी तिनका सुरक्षाका लागि प्रतिबद्ध थिए । उनी असल मुसलमान थिए । प्रयागमा, काशीमा तिर्थालुहरुलाई पण्डाहरुले एकदम ठग्थे । त्यो ठगेको थाहा भएमा त्यस्ता पण्डाहरुलाई चारपाटा मुडेर उत्तर जंगलतिर धपाउने निर्देशन थियो । त्यहाँबाट धपाइएका पण्डाका सन्तानहरु नेपालको पहाडमा छ्यापछ्याप्ती भए ।

दोस्रो, चारकोशे झाडीका कारण पहाडमा आइपुग्न गाह्रो थियो । त्यसैले अनाचार, दूराचार गरेका भारतीय मूल भूमिका भगौड़ाहरू, मन्दिरको मूर्तिको गहना चोरेर भाग्नेहरु र लुटपाट गरेर भाग्नेहरुको पनि आश्रयस्थल महाभारत शृंखला नै हुन्थ्यो । अपराध गरेर भागेको हुनाले तिनमा एक किसिमको असुरक्षा भाव थियो। त्यही असुरक्षा भावबाट बच्नको लागि तिनले जहिले पनि भारतको भयको खेती गर्न थाले । भारतबाट, मुसलमानबाट र अंग्रेजबाट भयको खेती गर्न थाले । त्यही भयबाट नै गोरखाका लडाका पृथ्वीनारायण शाहमा लोभ जन्मिएको हो । र, सम्पत्तिको लोभमा उनले विजय अभियान चलाए । त्यसैले भारत घृणा नेपालको परिकल्पनासँगै मिसिएर आएको हो ।

मधेससँग त्यो घृणा झन् बढी भयो । मधेसीहरु हाम्रो सीमाभित्र रहेका ‘अन्य’ हुन् । हाम्रो हैकम मानेनन् भने शासन गर्न गाह्रो हुन्छ भन्ने अभिप्रायले मधेसविरोधी भावना झनै बलियो पारियो । काठमाडौं आउँदा राहदानी लिनुपर्नेसम्मको व्यवस्था समेत गरियो । यसबीच केही उल्टापल्टा भनाइहरु समेत आयो । गोर्खालीहरुको धुत्याईँ दुनियाँमै नामी छ ।

जंगको भनाइ नै छ, ‘गोर्खाली बलियो छलले !’ तर, तिनलाई उल्टो के सिकाइयो भने, ‘मरेको मर्स्याले जिउँदो पहाडी ठग्छ ।’ यो धुर्त्याइँको पनि हद नाघेको भनाइ हो । आफ्नो धुर्त्याइँलाई लुकाउन त्यस्तो किसिमको भनाइहरु प्रचलनमा ल्याइयो । एकै घानमा भारतीय र मधेसीलाई ‘अन्यीकरण’ गरिदिएपछि हाम्रो शासन सजिलो र जनजाति तथा पहाडी दलितको गोर्खालीकरण पनि सजिलो हुन्छ भन्ने सोच विकसित भयो ।

जनजाति र खसआर्यको ऐक्यबद्धता कायम रह्यो भने मधेसमा हैकम चलाउन पाउँछौं भन्ने धुर्त्याइँ पृथ्वीनारायण शाहको पालादेखि नै चलेको हो । महेन्द्र शाहले त्यसलाई संस्थाकरण गरिदिए । जंगबहादुर, चन्द्र शमशेर हुँदै निरन्तरता पाएर महेन्द्रको पालासम्म यो उपक्रम जारी रह्यो। यस किसिमको धुर्त्याइँलाई निरन्तरता दिने सबैभन्दा नयाँ कडीको रुपमा खड्गप्रसाद शर्मा ओली देखिएका छन् ।

यसबाट शासकले त्यहाँको सम्पत्तिमाथि हाम्रो एकाधिकार छ, यो हाम्रो ठाउँ हो, तिमी मधेसीहरुलाई त बस्न दिइएको मात्रै हो भनेर फाइदा लिन थाले । तिमीहरुको जतिसुकै लामो पुर्ख्यौली विरासत भए पनि हामीले जितेको हो, यो ‘हाम्रा ठूला दुःखले आर्ज्याको मुलुक’ हो भनियो । यो मुलुकमा तिमी चाहिँ आगन्तुक हौ भनेपछि भूमिको स्रोतमाथि एकाधिकार राख्न पाइयो । त्यसैले मधेसमा जति पनि ठूला जमिनदार थिए, ती खस आर्यहरु हुने गर्थे । त्यसमा दरबारका सेवक दुई चार जनजातिहरु र केही कृपापात्र मधेसी पनि परेका होलान्, नत्र दरबारका नजिककाहरु नै हुने गर्थे ।

त्यस्तै, जङ्गलमा पनि एकाधिकार भयो । कुनैबेला त ‘हरियो वन, नेपालको धन’ नै भनिन्थ्यो । यसरी जल, जंगल, जमिन र जन (दास) मा खस आर्यको एकाधिकार कायम राख्नलाई राष्ट्रवादले त सघाएको छ । यहाँको सत्ताधारी वर्ग र सत्तासँग जोडिएको अन्य सानासाना समूहलाई पनि यसबाट ठूलो फाइदा भएको छ । हो, कर्णालीको गरिबलाई फाइदा नभएको होला । तर, तिनलाई पनि भ्रम देखाइएको छ कि राष्ट्रवादले तिम्रो पनि रक्षा गरेको छ । खस आर्य भएता पनि सुदूरपश्चिममा बस्नेलाई, जनजातिलाई त के नै फाइदा होला र ? तर, तिनलाई पनि भ्रम बेचिएको छ ।

नेपालको स्थायी सत्ता भनेको केही कुमाई बाहुन परिवार, केही पूर्वीय बाहुन परिवार, केही ठकुरी परिवार, केही क्षेत्री परिवार भए । त्यो सीमित परिवारको निरन्तरता हो । राज्य–साज्य भन्ने थाहा छैन, उनीहरुको लागि यो ‘ठूलो दुःखले आज्र्याको मुलुक’ (ठूलो सम्पत्ति) हो । यही सम्पत्तिको अधिकतम उपयोग र रक्षा गर्न ‘राष्ट्रवाद’ उनीहरुका लागि बलियो साथ बन्न गएको हो ।
(प्रकाश दाहालले गरेको कुराकानीमा आधारित)

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..