» » मधेशलाई न्यानो बनाउ (सम्पादकीय)

पुस २४ गते संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी तराई मधेशमा देखिएको शितलहरका लागि राहत प्रदान गर्न माग गर्नुभयो ।

 यसअघि पनि उपेन्द्र यादव पुस १९ गते एउटा विज्ञप्ति जारी गरी तराई मधेशमा न्यानो लुगा, दाउरा, औषधीको व्यवस्थगा गर्न सरकारसँग माग गर्नुभएको थियो । प्रधानमन्त्री देउवासँग व्यक्तिगत भेटघाटमा पनि मधेशी नेताहरुले शितलहरको बारेमा ध्यानाकर्षण गराउँदै आइरहनु भएको छ ।

यसबाट के देखिन्छ कि मधेशवादी दल शितलहरको विषयलाई लिएर निकै गम्भीर देखिन्छ । यसलाई चासो पूर्वक लिएको छ तर के सरकारले यो शितलहरमा एक दुई करोडको राहत कार्यक्रमको घोषणा गर्दैमा त्यसले समस्या समाधान हुन्छ त ?

दुई हजार कम्बल, १० क्वीन्टल दाउरा, स्वीटर, ज्याकेट बाँडदैमा यो समस्या समाधान हुन्छ त ? सोच्ने कुरा यहाँ छ । राहत भनेको क्षणिक हो । आपत्तकालिन सहयोग मात्र हो । यसले तत्कालका लागि समस्या समाधान गर्छन्, दीर्घकालिन समस्या समाधान गर्दैनन् ।

बरु राहतले आत्मनिर्भर होइन, परनिर्भर बनाउँछ । जनता आत्म निर्भर कसरी हुने हो त्यसको बारेमा सोच्नुपर्ने बेला आएको छ । अब यी नेताहरु त्यसको दीर्घकालिन समाधानका लागि काम गर्नुपर्ने देखिन्छ । एउटा सानो उदाहरण, सर्लाहीको नवलपुरमा चिसोका कारण मान्छे मर्दैनन्, तर तल मलगंवामा मान्छे मर्छ किन ? चन्द्रनिगाहपुरमा मान्छे मर्दैन तर तल गौरमा मान्छे मर्छ किन ?

यो निकै गम्भीर कुरा हो र मधेशका सचेत समाजले यो कुरालाई गम्भीरताका साथ लिनुपर्छ । यसबाट के पुष्टि हुन्छ कि जहाँ विकास र समृद्धि छ । जहाँ शिक्षित र सचेत समाज छ, त्यहाँ शितलहरले कम असर गरेको देखिन्छ । सप्तरीमा मात्र १८ जना भन्दा बढीको मृत्यु भइसक्यो त्यो पनि राजमार्गभन्दा तल । हालै राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको एउटा प्रतिवेदन अनुसार सबभन्दा गरीबी दुई नम्बर प्रदेशमा देखिएको छ ।

दुई नम्बर प्रदेशमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा पर्छन् । जहाँका जनता अहिले शितलहरको चपेटामा परेका छन् । त्यसमा पनि सबभन्दा बढी गरीब र अशिक्षितको सँख्या सप्तरी र सिरहामा रहेको देखिन्छ ।

मधेशी महिलको हक हितमा बोल्नु हुने रिता साह लेख्नुहुन्छ, ‘शितलहरबाट मृतकहरु अधिकांश सप्तरीदेखि पर्सासम्मका दलित र विप्पन परिवारका छन् । पर्सादेखि सप्तरीसम्म सबैभन्दा बढी गरिबीको रेखामुनी रहेको जनसँख्या छन् । विशेष गरेर सप्तरी र सिरहामा सबै भन्दा बढी दलित क्रमशः २५ प्रतिशत र २३ प्रतिशत रहेका छन् । दलितहरु हरेक हिसाबले पींधमा परेका जाति हुन् । मधेशमा जाडोको कारणले मृत्यु हुनेहरु सबै गरिब नै हुन भन्ने पनि होइन । त्यहाँको बसोवासको अवस्था, घरको बनोट, लुगा लगाउने चलन र जीवनशैलीको कारणले धेरै प्रभावित हुने गर्दछ ।’

हो, उहाँले भने जस्तै मधेशमा गरिबी र अशिक्षित भएको कारणले शितलहरको चपेटामा पर्ने गरेको छ । लुगा कसरी लगाउने, खानपान कसरी गर्ने, चिसोबाट कसरी बच्ने जस्ता ज्ञानको अभाव देखिन्छ । अझै पनि मधेश परम्पराशैलीमा बस्दै आएका छन् । जब कि अब यो परिवर्तनशिल विश्वको परिपेक्ष्यमा परम्परागत ढंगबाट बस्ने समय रहेन । त्यसले गर्दा पनि शितलहरले बढी असर त्यतातिर गरेको छ । गरिवी मनाङ् र मुस्ताङतिर पनि छ तर त्यहाँका जनता अलि सचेत छन् । त्यसको तुलनामा मधेशका जनता सचेत देखिएको छैन ।

अर्को कुरा गरिबी पनि हो । मर्नेहरुको सँख्या र त्यसको पारिवारीक पृष्ठभूमि हेर्ने हो भने उनीहरुको अवस्था निकै दैनिय रहेको छ । एक जोर लुगा लगाउने अवस्था पनि छैन । सुत्ने घरको (टाट) पर्खाल जो खरपातले बनेको छ । टुटेका छन् चारैतिरबाट त्यसमा हावा छिर्छन् । छाना छ तर त्यसमा छानो (खर) वा जस्तापाता छैन ।

माथिबाट पनि हावा र शीत कोठैमा जान्छ । दिनभरि कमाएपछि राती खाने मात्र अवस्थाका पनि कतिपय परिवार छन् । राती ओछ्याउने र ओढ्ने एउटै हुन्छ । यी सब कारणले शितलहरले बढी असर गरेको देखिन्छ । त्यसैले सरकारले तत्काल राहत दिनु राम्रो कुरा हो तर त्यसको दीर्घकालिन उपाय पनि सोच्नुपर्छ ।

यस वर्ष शितलहर भयो अर्को वर्ष हुँदैन भन्ने होइन । यो प्रत्येक वर्ष हुने कुरा हो । प्रत्येक वर्ष केही नकेही व्यक्ति मरेका छन् । जो सरकारलाई थाह नभएको कुरा पनि होइन । तर त्यसको दीर्घकालिन समाधानका लागि नसरकारले ध्यान दिएको छ न त मधेशवादी दलका नेताहरुले दिनुभएको छ ।

उहाँहरुले पनि शितलहर शुरु भएपछि तातिने गर्नुहुन्छ । विज्ञप्ति जारी गर्नुहुृन्छ । सरकारलाई ध्यानाकर्षण गराउनु हुन्छ तर दीर्घकालिन उपायबारे कहिल्यै सोच्नु भएको देखिएको छैन । नागरिकता पाइएन, समावेशी भएन, फलानो ठाउँमा सीट मिलेन जस्ता आन्दोलन गरेर मात्र उहाँहरुले वाहवाही लिइरहनु भएको छ । 

अब राहतमा जोड दिनुभन्दा तराई मधेशलाई कसरी समृद्ध बनाउने, कसरी शिक्षित बनाउने तिर ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ । अधिकारका कुरा गरेर मात्र हुँदैन, विकास र समृद्धि पनि चाहिन्छ ।

अब अधिकारका लागि लड्नु भन्दा राम्रो विकासका लागि लडाई गर्नुपर्छ । हुलाकी सडक राजनीतिक मुद्दा मात्र बनाएका मधेशवादी दलले अब त्यसलाई एजेण्डा बनाएर त्यसका लागि दवाव मुलक कार्यक्रम गर्नुपर्छ । सदरमुकामलाई समृद्ध बनाउने कुरा चुनावी घोषणापत्रमा राख्नु भन्दा अब आन्दोलनको एजेण्डामा राखेर शान्तिपूर्ण संघर्ष गर्नुपर्छ । मधेशलाई न्यानो बनाउन राहत होइन, विकसित र समृद्ध बनाउन आवश्यक छ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..