» » नयाँ सिमास्तम्भ गाड्दा नेपाली भूमि मिचियो

पर्सा माघ २ गते । नेपाल – भारत सिमानामा सिमास्तम्भ निर्माण र मर्मतका क्रममा नेपाली सीमा मिचिएको स्थानीयले बताएका छन् ।

 नेपाल र भारतले संयुक्त रुपमा गरिरहेको हराएका र क्षतिग्रस्त पिलरको निर्माण र मर्मतको क्रममा वीरगञ्जको छपकैया क्षेत्रमा मात्रै १२ जना भन्दा बढी स्थानीयको ३० बिगाह भन्दा बढी जमिन मिचिएको बताइएको छ ।

सीमा स्तम्भ राख्ने क्रममा स्थानीयहरुसँग पनि कुनै राय सुझाव समेत नलिएर जिपिएस प्रणालीद्वारा लिईएको नक्शाको आधारमा मात्रै सीमा स्तम्भ राख्न लागिएकोपीडितको अरोप छ ।

संयुक्त सर्वेक्षण टोलीले सन् १८४० को नक्शालाई आधार मानेर नक्शांकन गर्ने सहमति अनुसार हराएको सीमा स्तम्भहरु राख्ने, जीर्ण सीमा स्तम्भहरुको मर्मत सम्भार गर्न दुवैदेशले संयुक्त सर्वेक्षण टोली नै बनाएर अहिले सीमाको व्यावस्थापन गरिरहेको छ ।

छपकैया क्षेत्रमा ३९२ नम्बर मुख्य सिमास्तम्भको सहायक सिमास्तम्भ निर्माणको क्रममा नेपाली नम्बरी, ऐलानी र पर्ती जग्गा भारततर्फ परेको देखिन्छ ।  सिमास्तम्भ नम्बर ३९२ को ६, ७, ८ र २६ देखि २९ नम्बरको सहायक पिलर निर्माणको क्रममा नेपालको भूभाग मिचिएको स्थानीयले बताएका हुन् ।

स्थानीय रवीन्द्र महतो कोइरीले आफ्नो कित्ता नम्बर १४ को नम्बरी जग्गामा सिमास्तम्भ गाड्नलाई खाल्डो खनेपछि त्यसको विरोध गरेको तर नेपाली सर्वे टिमका नेपाली प्रतिनिधिहरुले पुस २२ गते सिमास्तम्भ गाडेको बताउनु भयो ।

नयाँ सिमास्तम्भ निमार्णकार्यले स्थानीयहरुले बर्षौदेखि भोगचलन गर्दै आएको ३० विगाह भन्दा बढी जमिन गुमाउनुपर्ने भएको हो । अर्का स्थानीय नेमी साह कानु र असर्फी साह कानुको नाममा रहेको जग्गाको केही भाग पनि भारततर्फ पर्ने भएको छ । जग्गामा सिमास्तम्भ गाड्न खाल्डो खनेको जानकारी पाएपछि विरोध जनाएको नेमीका छोरा बद्रीले बताउनु भयो ।

केही सहायक सिमास्तम्भहरु पनि पहिलेको भन्दा फरक स्थानमा गाडिएको ८५ बर्षीय स्थानीय महाविर दासले बताउनु हुन्छ । जतिपनि नेपाली जमिन छन् सबैमा अहिले स्तम्भ राख्न लागेका छन् । अहिले सम्म त नेपाली थियौं, अब हामी भारतीय कि नेपाली नागरिक ? दासले प्रश्न गर्नुभयो ।

सिमास्तम्भ निर्माण रोक्न जिल्ला प्रशासन कार्यालयबाट पत्र लिएर जाँदा नेपाल – भारत सीमा नापी टोलीको कार्यालयले पत्र समेत बुझ्न नमानेको आरोप स्थानीयको छ ।

पुस ३० गते वडा कार्यालयले दिएको पत्र र आफूले दिएको निवेदन प्रशासनमा दर्ता गराएको र सोही दिन प्रशासनले नापी टोलीको कार्यालयलाई पत्र पठाए पनि उक्त कार्यालयले बुझ्न नमानेको जग्गाधनी कोइरीले बताउनु भयो ।

तर नेपाल भारत सीमा सर्वेक्षण टोलीका टिम लिडर एवं प्रमुख नापी अधिकृत रमेश ज्ञवालीले स्थानीयले कुरा नबुझेका कारण समस्या भएको दाबी गर्दै स्थानीयले प्राविधिक कुराहरु नबुझेका कारण पिलर निर्माणको क्रममा समस्या देखिएको दाबी गर्नु हुन्छ ।

 उहाँ भन्नु हुन्छ ‘हामीसँग प्रविधि छ, त्यही प्रविधिको प्रयोग गरेर नाप्छौं ।

त्यसमा एक इन्च पनि जमिन तलमाथि हुँदैन’ ‘नेपाल भारतबीच १८४० मा भएको सुगौली सन्धिकै आधारमा अहिले सिमास्तम्भ गाड्ने काम भइरहेको छ । त्यतिखेर सिर्सिया नदी जहाँ थियो, अहिले त्यहाँ छैन ।

 नदीले धार परिवर्तन गरेर बनेका पर्ती जग्गाहरु पनि नापेर व्यक्तिहरुलाई दिइएको छ । त्यसैले गर्दा समस्या भएको हो ।’

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..