» » पश्चिम मधेशका नेतामाथि अन्याय भएको छ (अन्तरवार्ता भिडियोसहित)

–नरसिंह चौधरी
उपाध्यक्ष, राष्ट्रिय जनता पार्टी नेपाल

नेपाल सद्भावना पार्टीको स्थापनाकालदेखि उपाध्यक्ष रहनु भएका नरसिंह चौधरी हालसम्म उपाध्यक्षकै हुनुहुन्छ । उहाँ भन्दा पछि पार्टीमा आउनुभएका नेताहरु अध्यक्ष मात्र होइन पटक पटक मन्त्री पनि भइसक्नु भयो । तर उहाँ जहाँको त्यही हुनुहुन्छ । ०४८ र २०५२ सालमा पनि चुनाव लड्नु भएका उहाँ पराजित हुनुभएको थियो । पेसाले वकिल रहनु भएका ६५ वर्षीया चौधरी एकपटक राष्ट्रिय समावेशी आयोगको अध्यक्ष पनि बन्नुभयो । नेपाल सद्भावना पार्टी पटक पटक विभाजित हुँद पनि उहाँ कहिल्यै मुल पार्टी छाड्नुभएन । हाल राजपा नेपालका उपाध्यक्ष समेत रहनु भएका चौधरी यसपटकको चुनावमा पनि कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा पराजित हुनुभयो । उहाँले पश्चिम मधेशमा पार्टीले हार बेहोर्नुको दोष पार्टी नेतृत्वले लिनुपर्ने बताउँनु हुन्छ । प्रस्तुत छ, सहारा टाइम्सले उहाँसँग गरेको कुराकानीको मुख्य अंशः 

प्रतिनिधि तथा प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिकको पनि परिणाम आइसकेको छ । राजपा नेपालले ल्याएको परिणामको बारेमा तपाईले के भन्नुहुन्छ ?
–मधेशी जनताले जसरी तपाईहरु एक भएर आउनुस् भन्यो त्यसरी नै राजपा नेपालका नेताहरु एक भएर चुनाव लड्नु भयो । र, दुई नम्बर प्रदेशमा त्यसको सन्तोषजनक परिणाम पनि आयो । त्यसबाहेक पूर्वको एक नम्बर प्रदेश र पश्चिमको पाँच नम्बर प्रदेशमा राजपा नेपाल कमजोर भएको छ । यी प्रदेशमा हामीले स्थानीय चुनावमा भाग नलिएको कारणले कमजोर बनेकै थियो ।

 अर्कोतिर ती प्रदेशमा पार्टीले पनि त्यति ध्यान नदिएको पनि महसुश गरियौं । हामीले न फोरम नेपालसँग तालमेल गर्न सकेका थियौं न काँग्रेससँग गर्न सक्यौं । यी कारणले पनि हामी त्यहाँ कमजोर भएका हौं । पार्टी नेतृत्वको पनि यसमा कमजोरी भएको छ । जसरी दुई नम्बरमा राजपा नेपाल र फोरम नेपालबीच तालमेल भएको थियो । त्यसरी नै पाँच नम्बर प्रदेशमा पनि गर्नुपथ्र्यो । यो बीचमा वामगठबन्धन बनाएर एउटा जुन खालको राजनीतिक संस्कारको शुरुवात भएको छ । त्यस्तो राजपा नेपाल र फोरम नेपालले पनि गर्नुपथ्र्यो । त्यसले राजपा नेपाललाई मात्र होइन, लोकतान्त्रिक शक्तिलाई नै घाटा लागेको छ ।

तपाईको कुराबाट यो बुझ्न सकिन्छ कि राजपा नेपाल कतै नकतै चुकेकै हो त ?
–हो, राजपा नेपाल चुकेकै हो भन्नुपर्छ । तर यसमा राजपा नेपाललाई मात्र दोषी देखाएर हुँदैन । राजपा नेपालका शीर्ष नेताहरुले काँग्रेस र फोरम नेपालसँग गठबन्धन बनाउनका लागि पहल गरेकै हो तर काँग्रेसको अहमता र फोरम नेपालको जडताको कारण गठबन्धन बन्न सकेन । यसरी हेर्ने हो भने गठबन्धनको बाधक फोरम र नेपाली काँग्रेसलाई मान्न सकिन्छ ।

जसरी राजपा नेपालका नेताहरु दुई नम्बरमा केन्द्रीत भएर जुन परिणाम ल्याउनु भयो त्यसको बारेमा उता (पश्चिम मधेश) का आम कार्यकर्ताको धारणा के रहेको छ ?
–यो स्पष्ट छ । चाहे त्यो फोरमका शीर्ष नेता होस् वा राजपा नेपालका शीर्ष नेता होस् । सबै दुई नम्बर प्रदेशका मुलवासी हुनुहुन्छ । त्यहाँको धारातल, त्यहाँको इतिहास, त्यहाँको वस्तुस्थितिको बारेमा उहाँहरुलाई मात्र थाह छ । तर, शीर्ष नेता भएको कारणले त्यस प्रकारको ध्यान पाँच नम्बर प्रदेशतिर पनि दिनुपथ्र्यो । त्यहाँ पनि दुई नम्बर प्रदेशकै जस्तो गठबन्धन बनाएको भए कस्तो हुन्थ्यो, त्यसको महत्वको बारेमा ख्याल गर्नुपथ्र्यो । म २७ वर्षदेखि मधेशको राजनीतिकमा संलग्न छु ।

२०४७ सालदेखि गजेन्द्रनारायण सिंहसँग जुडेर त्यहाँ काम गरेको छु । म जस्ता थुप्र्रै नेताहरु त्यहाँ हुनुहुन्छ । उहाँहरु प्रति अन्याय भएको छ । उहाँहरुले पनि क्षति बेहोर्नुभएको छ । नेतृत्वको ध्यान त्यहाँसम्म नपुगेको महसुस हामी गर्छौ । फोरम र राजपाका नेताहरुले दुई नम्बरको पीडा जस्तै पाँच नम्बरको पीडालाई सम्झेको भए त्यहाँ पनि राम्रो परिणाम आउन सक्थ्यो । २०४७ सालदेखि मधेशको राजनीतिमा कपिलवस्तु, रुपन्देही, नवलपरासीलगायतका जिल्लाले अहम भूमिका खेलेको थियो । सीट पनि दिन्थ्यौ र भोट पनि दिन्थ्यौं । यसपटक तालमेल नगरेको कारण हामी पाँच नम्बर प्रदेशमा कमजोर भएका छौ । राजपा नेपालका शीर्ष नेताहरु आफ्नो कर्तव्यबाट चुक्नु भएको छ ।

तपाई पनि शीर्ष तहकै नेतामा पर्नुहुन्छ, राजपा नेपालका शीर्ष नेतृत्वका नेताहरु कहाँ चुकेका छन् जस्तो लाग्छ तपाईलाई ?
–तपाईले भनेको कुरा ठिक हो । तर, राजपा नेपालमा शीर्ष तहमा देखिएका अधिकाँश नेताहरु दुई नम्बर प्रदेशका नै हुनुहुन्छ । म २०४७ सालदेखि लगातार मधेशको राजनीतिकमा काम गर्दै आएको छु । म भन्दा पनि माथि नेतृत्व रहेको छ । म उपाध्यक्ष हुँ । हुनसक्छ, माथिसम्म मेरो दवाव नपुगेको होला तर नेतृत्व पंक्तिले यो कुराको ख्याल गर्नुपथ्र्यो । मैले अस्ति मात्र पार्टीका संयोजक महन्थ ठाकुरलाई भने कि पाँच नम्बरमा गठबन्धन नबनेको कारण त्यसले निकै घाटा भएको छ ।

त्यसले निकै नोक्सान भएको छ । त्यहाँका जनतालाई प्रोत्साहित हुने खालको कुनै कार्यक्रम पनि गर्नुभएन ।’ पार्टीका अध्यक्षहरु आआफ्नै क्षेत्रमा चुनावीसभा गर्नुभयो । आफ्नो क्षेत्रबाट कतै बाहिर जानुभएन । पार्टीका अध्यक्ष मण्डलका सदस्यहरु पाँच नम्बर प्रदेशमा गएर चुनावी सभा गरि त्यहाँ भाषण गरेको भए जनतामा केही उत्साह आउँथ्यो र केही नकेही मतमा फरक पथ्र्यो तर उहाँहरु आफ्नैमा अल्झिनुभयो ।


गजेन्द्रनारायण सिंह सप्तरीको हुनुहुन्थ्यो, तर उहाँ पुरै मधेशलाई समान नजरले हेर्नुभएको थियो, त्यो बेला पनि पश्चिमबाट निकै राम्रो मत आउथ्यो, पछि सद्भावना पार्टी र तमलोपा बन्दा पनि राम्र्रै परिणाम आएको थियो तर पार्टी एकीकरण भएपछि झन राम्रो हुनुपर्ने ठाउँमा झन बिग्रेको छ किन त्यस्तो ?
–तपाईले ठिक भन्नुभयो । २०४७ सालमा गजेन्द्रबाबुले नेपाल सद्भावना पार्टी स्थापना गर्नुभयो । जनकपुर महाधिवेशनबाट मलाई उपाध्यक्ष बनाउनुभयो । अर्थात उहाँले पश्चिमलाई जोड्ने काम गर्नुभयो । गजेन्द्रबाबुसँग २०४७ सालअघि कुनै सम्बन्ध थिएन मेरो । म पेसाले वकिल भएपनि मलाई उहाँले मधेशको राजनीतिकमा जोड्ने काम गर्नुभयो ।

उहाँ हुँदासम्म मलाई निरन्तर मधेशको राजनीतिकसँग जोड्ने काम गर्नुभयो । मलाई मात्र होइन, पश्चिम मधेशका थुप्रै नेतालाई उहाँले मधेशको राजनितिमा ल्याउने काम गर्नुभयो । २०४७ मा रुपन्देहीबाट दुई सीट, नवलपरासीबाट दुई सीट र कपिलवस्तुबाट पाँच सीट पहिलो चुनावमा गजेन्द्रबाबुले ल्याउनु भएको थियो । पूर्वबाट उहाँ मात्र जित्नुभएको थियो । यसबाट प्रष्ट हुन्छ कि उहाँले आफ्नो ठाउँभन्दा अरु ठाउँलाई विशेष महत्वका साथ हेर्नुभएको थियो । अहिलेका नेतृत्व पंक्तिका लागि के आफ्नै घर ठिक हो, आफ्नै ठाउँ ठिक हो त ?

यदि यस्तो सोच बनाएको छ भने त्यो गलत हो । गजेन्द्र नारायण सिंहको सोच अनुसार अहिलेका नेताहरु चल्नुभएको छैन । मधेशको राजनीतिमा यति उतार चढाव भयो तर मैले कहिले पार्टी छाडिनन् । थुप्र्रैले पार्टी छाडेर हिडेका छन् । ती कुराहरुको मुल्यांकन गर्ने बेला आएको छ । पार्टी अध्यक्षको दायित्वको निर्वाह भएको छैन । पार्टीको केन्द्रीय समितिको बैठकमा मैले यी सबै कुरा उठाउँछु ।

स्थानीय तहको चुनावमा पार्टीले जुन स्टेप लियो त्यसले पश्चिमका थुप्रै नेताहरु असन्तुष्ट भएर पार्टी छाडेर हिड्नु भएको छ, यो चुनावमा पनि त्यस्तै व्यवहार भयो अबको अगामी कदम के हुन्छ तपाईहरुको ?
–यो कुरा सही हो कि स्थानीय चुनावमा राजपा नेपाल दुई नम्बरमा मात्र चुनाव लड्यो । पाँच नम्बरमा चुनाव लडेन । यदि लड्नु थियो भने सबै ठाउँमा लड्नु पथ्र्यो । यदि लड्नु थिएन भने कही लड्नु हुँदैन्थ्यो । दुई नम्बरमा मात्र चुनाव लड्यो र पाँच नम्बरमा चुनाव लडेन त्यसले हाम्रा थुप्रै कार्यकर्ता बाहिर भएका छन् । तर जुन जुन नेता बाहिर निस्केका छन् त्यसको बारेमा मैले तपाईलाई जानकारी गराउन चाहन्छु । ०४८ सालको चुनावमा उहाँ (ह्रदयश त्रिपाठी) सद्भावना पार्टी प्रवेश गर्नुभएको थियो । नवपरासीका नेता त्रियुग नारायण चौधरीको क्षेत्रबाट उहाँलाई टिकट दिएको थियो ।

 त्रियुगनारायणले अर्को क्षेत्र लिनुभएको थियो । नेपाल सद्भावना पार्टीले उहाँलाई नेता बनाएको थियो । त्रियुगनारायण चौधरी राजनीतिकबाट अलग हुनुभयो । गजेन्द्रबाबुको पालामा पनि उहाँले समाजवादी पार्टी बनाउनु भएको थियो । पछि गजेन्द्रबाबुकै पार्टीमा विलय पनि भयो । गजेन्द्रनारायण सिंहको निधनपछि आनन्दी देवीलाई लिएर उहाँले के के गर्नुभयो कसैबाट लुकेको छैन ।

आनन्दी देवीको निधनपछि तमलोपा गठन गर्नुभयो । उहाँले आफ्नो स्वार्थका कारण मधेशीमाथि पटक पटक प्रहार गर्नुभएको हो । अर्का नेता (बृजेश गुप्ता) हाम्रै जिल्लाका हुनुहुन्छ । उहाँका बुवा (भगवान दास गुप्ता) पनि राजनीतिमा हुनुहुन्थ्यो तर २०४६ पछि कहिल्यै चुनाव जित्नुभएन । भगवाना दासको मृत्युपछि सहानुभुतिका कारण उहाँले जित्नुभयो । २०६३ मा मधेश आन्दोलनको कारण जित्नुभयो । अहिले पहाड र मधेशको क्षेत्र विभाजनका कारण उहाँले जित्नुभएको हो ।

तपाईले जुन आरोप नेतृत्व पंक्तिमाथि अहिले लगाउनु भयो, त्यस्तै आरोप उहाँहरुको पनि थियो । नेतृत्व पंक्तिले आफैलाई सुधार गरेन अनि उहाँहरु पार्टी छाडेर जानुभयो यो सत्य हो नि ?
–उहाँहरुको र हाम्रो आरोपमा फरक छ । मलाई दुई दुई पटक सांसद बनाएन तैपनि म पार्टीमा छु । तर उहाँहरु यस्तो हुनुहुन्छ कि व्यक्तिगत स्वार्थ नमिलेपछि सामूहिक स्वार्थलाई छाडेर हिड्नु भएको छ । कसैलाई अध्यक्ष मण्डलमा लिएन त्यसकारणले नराज हुनुभयो ।

कसैले त्यहाँ सम्मान पाउनु भएन त्यही भएर नराज भएर जानुभयो । म भन्छु, अहिले पार्टीमा बहस गरे मात्र पछि अध्यक्ष मण्डलको सदस्य बन्न सकिन्छ । र, त्यसका लागि पार्टीमा बसेर छलफल गर्नुपर्छ । न कि आफ्नो स्वार्थ नमिलेपछि भागेर हिड्ने ? यो काम हामीबाट हुँदैन ।

एक मधेश एकप्रदेशका लागि मधेशमा लामो संघर्ष भयो, थुप्रैले बलिदानी पनि दिए तर अहिले मधेश आठवटा जिल्लामा मात्र समेटिएको छ, मधेशमा अरु भाग मिलाउनका लागि अगामी रणनीति के हुनसक्छ, कि यसैमा चित्त बुझाउनु हुन्छ ?
–गजेन्द्रबाबुको पालादेखि नै नारायणदेखि पूर्व र नारायणीदेखि पश्चिम गरि मधेशमा दुई प्रदेशको परिकल्पना गरिएको थियो । आज पनि म त्यसैको पक्षमा छु । एक मधेश एकप्रदेशले कल्याण हुँदैन । अब दुई नम्बर प्रदेशको शक्तिले मधेश प्रदेशको लागि लडाई लड्न सक्छ । दुई नम्बरको शक्तिले मधेश प्रदेश प्राप्त गर्नसक्यो भने ठिकै छ नभए विद्रोह हुने सम्भावना बढेर गएको छ । अब सदनले मधेशको अधिकार प्राप्त हुन्छ जस्तो लाग्दैन । कडा सडक आन्दोलनमै जानुपर्छ जस्तो लाग्छ ।

तपाईलाई के लाग्छ, दुई नम्बरको शक्तिले पाँच नम्बर र एक नम्बर प्रदेशबालालाई अधिकार दिलाउन सक्छ ?
–पहिलो कुरा त दुई नम्बर प्रदेशले जुन शक्ति प्राप्त गरेको छ, त्यसलाई जोगाउन सक्छ सक्दैन । त्यो मुख्य कुरा हो । राजपा नेपाल र फोरम नेपाल संयुक्त रुपमा चुनाव लडेर जुन शक्ति प्राप्त गरेको छ त्यसलाई जोगाउनु मुख्य चुनौति बनेको छ । यदि यी दुई शक्ति आपसमा मिलेर अधिकारका लागि लड्यो भने केही हुने सम्भावना हुन्छ नभए सम्भव छैन । यी दुई शक्तिलाई सदबुद्धि दियोस् कि मुख्यमन्त्री र मन्त्रीका लागि लडाई नलडोस् । जसलाई जे प्राप्त हुन्छ त्यो लिएर मधेश मुक्तिका लागि एक भएर लडोस् ।

एमाले र माओवादी केन्द्रले बनाएको वामगठबन्धनले देशलाई कुन दिशामा लग्छ जस्तो लाग्छ तपाईलाई ? 
–यो वामगठबन्धन प्रचण्डले आफ्नो राजनीतिक सुरक्षाका लागि बनाउनु भएको हो । वामगठबन्धनले प्रचण्डलाई जीवन प्राप्त भएको छ । मधेश र अन्य समुदायप्रति एमालेका अध्यक्ष केपी शर्मा ओलीको जुन धारणा छ, हेर्ने जुन दृष्टिकोण छ यदि त्यसकै आधारमा वामगठबन्धन अगाडि बढ्यो भने यो देशमा विद्रोह धेरै छिट्टो शुरु हुन्छ । जुन अहंकारका कारण ज्ञानेन्द्रको सत्ता गयो, त्यो हाल हुनसक्छ वामगठबन्धनको ।

एउटा लोकतान्त्रिक गठबन्धन र अर्को वामगठबन्धनमध्ये कुन गठबन्धनको नजिक मधेशी गठबन्धन रहेको छ ?
–वामहरुको गठबन्धन हाम्रो मुद्दालाई मारेर, हाम्रै विचारलाई मारेर गठन भएको हो । लाग्छ कि मधेशकै विरुद्धमा त्यो गठबन्धन बनेको हो । तपाईलाई याद होला, जब स्थानीय तहको चुनावमा एमाले र माओवादी केन्द्र मधेशमा कमजोर भयो अनि वामगठबन्धन निर्माण भयो । यसैबाट प्रष्ट हुन्छ कि वामगठबन्धन र मधेशको सम्बन्ध कस्तो रहेको छ । मधेशी, दलित, आदिवासी जनजातिलाई अधिकार विहिन बनाउनका लागि वामगठबन्धनको गठन भएको हो ।

 त्यसैले वामगठबन्धनको नजिक हुनुको कुनै प्रश्न नै खाडा हुँदैन । अर्को लोकतान्त्रिक गठबन्धन जसलाई काँग्रेसले नेतृत्व गरिरहेको छ । त्यो गठबन्धनले यो चुनावमा वामगठबन्धनको काउन्टर दिन सकेन । त्यो अनुसारको कुनै तयारी पनि देखाएन । अर्कोतिर, यो चुनावमा लोकतान्त्रिक गठबन्धनले मधेशको मुद्दालाई पनि खुलेर समर्थन गरेको कतै पाइएन । यहि कारणले लोकतान्त्रिक गठबन्धन पराजित भएको छ । लोकतान्त्रिक गठबन्धन आफैमा कन्फ्युज रहेको जस्तो देखिन्छ ।

वामगठबन्धनको सरकार निर्माण हुन गइरहेको छ, यसमा मधेशी गठबन्धन सहभागि हुन्छ कि हुँदैन ?
–स्वभाविक रुपमा लोकतान्त्रिक शक्तिको साथमा हामी रहनुपर्छ तर यहाँ प्रश्न आउँछ कि लोकतान्त्रिक शक्ति हामीसँग सडक आन्दोलनमा जान्छ ? के नेपाली काँग्रेसले मधेशी, थारुको मुद्दालाई आफ्नो मुद्दा बनाएर काँधमा काँध मिलाएर आन्दोलनमा जान्छ ? यस्तो गर्न सक्दैन । यदि काँग्रेसले हाम्रो काँधकाँध मिलाएर आन्दोलनमा जान सक्दैन भने त्यसको साथमा पनि जानु हुँदैन । हामी आफ्नै तरिकाले आगडि बढ्नुपर्छ । सडक र सदनको आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढ्नुपर्छ । यस अवस्थामा सरकारमा जानु हुँदैन । सरकारमा जाने विषय उठाउनु पनि हुँदैन । हामीले पाँच वर्ष सरकारमा गएनौ, त्यसले गर्दा मधेशी जनताले हामीमाथि विश्वास गरेको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..