» » रामनरेश राय यादवले भन्नुभयो, ‘जुनसुकै शक्तिलाई सहयोग गर्न तयार छौ’

काठमाडौं, माघ २ गते । राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ नेता रामनरेश राय यादवले संविधान संशोधनमा जसले लचकता अपनाउँछ त्यो पार्टी वा गठबन्धनलाई केन्द्रिय सरकार बनाउन आफूहरुको समर्थन हुने बताउनु भएको छ ।

उहाँले यसपटक पटक उधारोमा सम्झौता नहुने भन्दै नगद सम्झौता गरिनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘संविधान संशोधनमा ईमानदारी भएर लाग्छौं भन्ने प्रतिबद्धता आएपछि त्यो पनि उधारो होईन, नगदमा हुनुपर्छ, त्यो भयो भने हामी जुनसुकै शक्तिलाई पनि सहयोग गर्छौं।’

नेता यादवयले दुई नम्बर प्रदेशमा राजपा नेपाल र फोरम नेपालको बहुमत आएकाले गठबन्धनका नेताहरु बीचको आपसी समझदारीमा कसको नेतृत्वमा प्रदेश सरकार बनाउने भन्ने कुरा टुँगो लगाउने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘समझदारी हुँदैछ, २ नम्बर प्रदेशको मुख्यमन्त्री को बन्छ भन्ने कुरा फेसबुकले निर्धारण गर्ने कुरा होईन, उपेन्द्र यादवजी र महन्थ ठाकुरबीच कुरा मिल्छ ।’

आफूहरुलाई मिलेर नै सरकार बनाउनेगरि जनताले म्याण्डेट दिएकोले यसबाट कोही पनि भाग्न नमिल्ने उहाँको धारणा थियो । ‘अब यो जिम्मेवारीबाट भाग्ने छुट कसैलाई पनि छैन’ उहाँले भन्नुभयो, ‘कुनै झगडा छैन ।’
उहाँले आफूहरु धेरै ठक्कर र हण्डर खाएर आएकोले अब कोही पनि जनताको म्याण्डेटबाट दायाँबायाँ नहुने बताउनुभयो । उहाँले ओली, प्रचण्ड र देउवा सबैले आफूहरुसँग सम्झौता गरेपनि संविधान संशोधन नगरेकोमा गुनासो पोख्दै भन्नुभयो, ‘हामीलाई सबैसँग आशा छ, तर विश्वास छैन् ।’

त्यस्तै उहाँले आफूहरुले केन्द्रिय सरकारमा जाँदैनौं भनेर कहिल्यै पनि किरिया कसम नखाएको उल्लेख गर्दै भन्नुभयो, ‘हामीले किरिया खाएका छैनौं नि, तर अहिले हाम्रो मुख्य ध्यान भनेको हाम्रो माग पूरा हुनुपर्छ ।’ उहाँले तराई मधेशमा जनता शितलहरका कारण दयनीय अवस्थामा रहेको र कतिले ज्यान गुमाईसकेको अवस्था भएपनि यो सरकारले कुनै वास्ता नगरेकोमा आक्रोश पोख्नुभयो ।

 ‘मधेश नेपालमा पर्छ कि पर्दैन ? यदि पर्छ भने खोई सरकारका प्रतिनिधिहरु ? उहाँले भन्नुभयो, ‘अहिले हामी आफ्नो क्षमता अनुसार राहत लिएर गएका छौं ।’

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..