» » पत्रकारितामा विद्रोहः सीमाले यसकारण रोजिन पत्रकारिता

‘तिमीले काम गर्ने एफएमहरु तिमिलाई पैसा दिन्छ त, तिमिले मागे जति दिन्छ त, तिमीलाई सबै ठाउँमा पैसा दिन्छ, यो कसरी सम्भव हुन्छ, यी र यस्तै प्रश्न गर्छन् सीमा शर्माका साथीहरुले । सीमा शर्मा एउटा रेडियोकर्मी पत्रकार छिन् । सञ्चारमाध्यममा महिलाहरुलाई प्रयोग मात्रै गर्छन्, कम पैसामा काम लगाउँछन्, उधारोमा पनि काम गराउँछ । सञ्चारमाध्यमले महिलाहरुलाई गल्यामर्सको रुपमा प्रयोग गर्छन् यी र यस्तै कुरा उठ्छन् महिला पत्रकरको बारेमा ।

महिला पत्रकार भएको कारणले सीमा शर्माका लागि पनि प्रश्न खडा नहुने कुरै हुँदैन । त्यही भएर उनका साथीहरुले सीमा शर्मासँग यस्ता प्रश्न गर्ने गर्छन् । र, सीमा शर्माको जवाफ हुन्छ, ‘क्षमता र आत्मविश्वास भएपछि कसैले युज गर्न सक्दैन ।’ पैसा नदिने ठाउँमा काम गर्न किन जाने उनले आफ्ना साथीलाई भन्ने कुरा यो पनि हो । पैसा नलिइकन काम गर्न ती महिलाहरु आफै जान्छ, कसैले जवर्जस्ती आइजा भन्दैनन्, थोरै पैसा लिएर काम गर्न आफै तयार हुन्छन्, कसैले जवर्जस्ती दिँदैन, आफ्नै कमजोरीका कारण महिलाहरु युज हुने गरेको सीमाको बुझाई छ ।

उनले भने, म रेडियोमा काम गर्छु, मलाई टीभीमा काम गर्ने अफर पनि आयो तर पैसा कम दिएको कारण म गइनन्, जनकपुरको जनकपुर टुडे एफएम, काठमाडौको मेरो एफएम, क्यापिटल एफएम, रेडियो नेपालसम्मको यात्रामा म आफ्नो पेसासँग कहिल्यै सम्झौता गरेको छैन, जहाँ पनि प्रतिस्पर्धा गरेर नै गएको छु । जहाँ मलाई चित्त बुझेको छैन, त्यहाँ म गएको छैन ।’

यो यस्तै स्वभावका छिन् सीमा शर्मा । महिला पत्रकारमा उनलाई हक्की स्वभावका मान्छन् । उनलाई चित्त नबुझेको कुरा फ्याट भनि हाल्ने, लागेको कुरा लुकाएर राख्ने स्वभाव छैन सीमा शर्माको । उनी यहाँसम्म आउनलाई कम्ती संघर्ष गरेका छैनन् । एकप्रकारले घरबाट विद्रोह गरेर नै यो क्षेत्रमा आएकी हुन् उनी । पत्रकारिता क्षेत्र अँगाल्दा उनका घरपरिवारले रुचाएको थिएनन् । त्यसमा पनि विहेवारी भइसकेपछि महिलालाई यो क्षेत्रमा लाग्न कति कठिन हुन्छ त्यो एकजना मधेशी महिलालाई मात्र थाह हुन्छ ।

पत्रकारिता यात्रा
सीमा शर्मा जनकपुरमा ब्याचलर अध्ययन गरिरहँदा २०५४ सालमा उनको विवाह मुकुन्दकुमार शर्मासँग भएको थियो । विवाहपछि पत्रकारीता क्षेत्रमा आउन १० वर्ष लाग्यो उनलाई । विहेपछि पढाईलाई निरन्तताको साथै घरव्यवहार पनि सम्हाल्ने जिम्मेवारी सीमामाथि आइलाग्यो । रौतहट पिप्रा बजारकी सीमाको विहे माधोपुरमा भएको थियो । त्यहाँ उनी एउटा असल बुहारीको भूमिकामा थिइन् ।

भन्सामा खाना पकाउँदा होस् वा सासु सासुरलाई सेवा गर्दाको अवस्था होस अथवा पढाईका लागि ट्युशन, कलेज जाँदा होस् । उनी आफ्नो लक्ष्यको खोजीमा थिइन् । तर के गर्ने भनि सोच बनेको थिएन उनमा । उनका आमाबुवा दुवै शिक्षक हुनुहुन्छ । छोरीलाई पढाई लेखाई वा सुविधामा कुनै कसर बाँकी राख्नु भएको थिएन उहाँहरुले । यसौ भनौ उनको जीवनमा अभाव के हो भनि थाह थिएन तर उनलाई आफ्नो खुट्टामा उभिने रहर सानैदेखि जागेको थियो ।

सायद उनका आमा शान्ति सिंह पनि शिक्षिका हुनुभएका हुनाले त्यस्तो इच्छा जागेको होला । जीवनको लक्ष्य कहाँ गएर टुगिंन्छ भनि सोच परिपक्क नभइसकेको अवस्थामा सीमाको इच्छित मनको एक कुनामा पत्रकार बन्ने, रेडियोमा बोल्ने टुसा पलाई सकेको थियो ।

त्यो पलाउनुको कारण छ, उनी घरमा हुँदा जहिले पनि रेडियो सुन्ने गर्थिन, गीत संगितदेखि लिएर अन्य सामाजिक तथा  मनोरञ्जनात्मक कार्यक्रमहरु सुन्ने गर्थिन् । र, मनमा लाग्थ्यो, ‘म पनि यसैगरि रेडियामा बोल्न पाए कस्तो हुन्थ्यो’ र, एक्लैमा रोमान्चित हुन्थिन उनी । कोही नभएको बेला घरमा ऐनाको अगाडि रेडियोमा बोले जस्तो अभियन गर्थिन र पछाडि फर्केर हेर्थिन् कि कसैले हेर्यो कि र आफैमा लजाउथिन् उनी ।

त्यति बेलासम्म मनको यो रोमाञ्चित टुसा जो फक्रिन लागेको थियो, त्यसको बारेमा उनले कसैसँग जिकिर गरेका थिइनन् । एकदिन त्यो समय आयो । जनकपुरमा जनकपुर टुडे एफएममा जागिर खुल्यो । विभिन्न पदमा कर्मचारी माग गर्यो । उनी आफ्ना श्रीमानलाई लिएर जनकपुर पुगिन् । सीमाले आफैले त्यहाँ फर्म भरिन् नै उनले आफ्ना श्रीमानलाई पनि भर्न लगाइन् ।

सीमाले पत्रकार तथा कार्यक्रम उत्पादनका लागि फर्म भरिन् भने उनका श्रीमान मुकुन्दले समाचार वाचकका लागि फर्म भरे । त्यसको परीक्षामा सीमा पास भइन् भने श्रीमान मुकुन्द फेल । पास भएपछि उनी जनकपुर टुडे एफएममा काम गर्ने सोच बनाइ हालिन् । तर, श्रीमतीले यसरी काम गरुन् भने इच्छा मुकुन्दको थिएनन् । सीमाका बुवा उमेश्वरप्रसाद सिंहले पनि छोरीले यसरी यस्तो काम गरुन् भनि चाहनु भएको थिएन । तर, उनका आमा शान्ति सिंहले छोरीले रेडियोमा काम गरुन् भनि साथ दिनुभएको थियो ।

सीमाले श्रीमान मुकुन्द र बुवालाई मनाएर काम गर्न थालिन् । तर, घरका सदस्यलाई सम्झाए पनि समाजलाई सम्झाउन उनका लागि निकै गाह्रो थियो । काम शुरु भएसँगै उनको कुरा काट्ने काम शुरु भएको थियो । माइतीदेखि ससुरालसम्म सीमाको बारेमा कुरा काटिन्थ्यो तर त्यसको प्रवाह उनले कहिल्यै गरिनन् । किनभने उनलाई आमा, बावा, श्रीमान, सासु, ससुराका साथ थियो । त्यसपछि उनले सामाजको प्रवाह नगरि आफ्नो लक्ष्य पुरा गर्नेतिर लागिन् ।

हुने खाने परिवारका छोरी र बुहारीले यो दुई चारहजारको जागिर किन गर्नुपर्यो । रेडियोमा यसरी किन बोल्नु पर्यो भनि जनकपुरको रमानन्द चौकदेखि रौतहटको माधोपुर र पिप्रा बजारको चौकसम्ममा चर्चा हुन्थ्यो तर धेरै असत्यलाई थोरै सत्यले त्यसलाई छोप्दो रहेछ भने उदाहरण सीमाको जीवनबाट लिन सकिन्छ । रेडियोमा चलाउन कार्यक्रमले वाहवाही कमाउन थालेपछि उनका बारेका टिकाटिप्पणी हराउँदै गयो । जनकपुर टुडे एफएममा ‘मनक बात’ निकै चर्चित प्रोग्राम थियो । धेरैले मन पराएको थियो । राती नौ बजे चल्ने प्रोग्राम भएपनि मान्छेले सुन्ने गथ्र्यो । मनोरञ्जनात्मक प्रोग्राम थियो । एउटा अर्को म्युजिकल प्रोग्राम झङ्कार पनि थियो । यी दुईटा उनको हट प्रोग्राम थियो । न छुटाइकन स्रोताहरुले सुन्ने गथ्र्यो ।

जनकपुरसँगको सम्बन्ध
रौतहटको सीमालाई जनकपुरसँग किन सम्बन्ध भयो । यो प्रश्न धेरैको मनमा आउनसक्छ । रौतहटवासीका लागि वीरगञ्ज नजिक छ तर उनी वीरगञ्ज नगएर जनकपुर किन गइन् । कारण यस्तो छ, उनका बुवा शिक्षक हुनुहुन्थ्यो आफ्नो गाउँमा । तर उहाँलाई अझै पढ्ने इच्छा जाग्यो । शिक्षक भएको कारणले दिनमा पढ्ने कुरा भएन । त्यसैले उनले रात्रीकालिन कलेजको खोजीमा हुनुहुन्थ्यो । राती कलेज पढ्ने र विहान स्कुल पढाउने सोचले जनकपुरको सन्ध्याकालिन कलेजमा भर्ना हुनुभयो । र, बुवासँगै सीमा पनि त्यही सन्ध्याकालिन कलेजमा पढ्न थालिन् ।

सीमा भन्छिन्, मेरा लागि त वीरगञ्ज नै नजिक थियो, त्यहाँ पढे, हुर्केका कारण जनकपुरभन्दा सजिलो पनि थियो तर बुवा त्यही पढ्ने भएको कारणले उहाँको साथी भएर म पनि त्यही पढ्न थाले ।’ सीमा डेरा लिएर बस्न थालिन् भने उनका बुवा आउ जाउ गर्नुहुन्थ्यो । जनकपुर बस्न थालेपछि सीमा विस्तारै त्यहाँको वतावरण र रहनसहनमा मिसिन् । त्यहाँको सँस्कृति, परम्परा रहन सहन, मैथिली परम्परा, भाषाहरुमा उनी रमाउन थालिन् । रौतहटको भोजपुरी र बज्जिका भाषाको समिश्रणलाई छाड्दै जनकपुरको ठेठ मैथिलीमा रमाउन थालिन र एक दिन यस्तो भयो कि उनको कर्मक्षेत्र नै त्यही भयो । र, मैथिली भाषामा कार्यक्रम नै चलाइन् ।

काठमाडौको यात्रा
तर, संयोग धेरै दिन त्यहाँ प्रोग्राम चलाउन सकेन सीमाले । आफ्नो घरसायसी कामका कारण उनलाई काठमाडौ आउनु पर्यो । सीमासँग एउटा बच्चा पनि थियो । उनलाई पनि पढाउने जिम्मेवारीका साथ उनी जनकपुर छाडेर काठमाडौ आइन् । तर, लगनशिलता र कर्मले कही पछाडी छाड्दैन भनि सीमामा लागुभयो । काठमाडौ आउने वित्तिकै मेरो एफएममा भ्याकेन्सी खुलेको रहेको छ । र उनले त्यहाँ फर्म भरेर त्यो जागिर हात पारिन् । अर्थात उनले काठमाडौ आउने वित्तिकै पत्रकारिताको निरन्तरता दिइन् ।

उनी काठमाडौ आएपनि जनकपुर टुडे एफएमका बृजकुमार यादवले कार्यक्रम चलाउन आग्रह गर्नुभएको रहेछ । सीमाले त्यत्रो चर्चित प्रोग्राम छाडेर हिडेपछि स्रोताले खोज्न थालेको थियो । काठमाडौबाट नै कार्यक्रम रेकर्ड गरेर जनकपुर पठाउन वृजकुमार यादवले आग्रह पनि गर्नुभएका थियो तर सीमाले यहाँबाट कार्यक्रम उत्पादन गर्न गाह्रो हुन्छ भन्दै सरी भनिन् ।

मेरो एफएममा ‘देशिया प्रदेशिया’ मैथिली प्रोग्राम चलाउन थालिन् । करेन्ट अफेयर सोसल इशुमा चलाएकी सो कार्यक्रम निकै चर्चित भयो । एफएमले उनलाई निकै हौसला दिन थाल्यो । उनको कार्यक्रमले एफएमका टिआरपी राम्रो हुनथाल्यो । मधेशका कला सँस्कृति, भेषभुषा, रहन सहन, भाषा शैलीको बारेमा उनले कार्यक्रम चलाउँथिन् । तराई मधेशका स्रोतका लागि फेवरेट प्रोग्राम हुन गयो ।

सीमाको कार्यक्रम राम्रो हुँदै गएपछि एफएमले उनलाई नेपालीमा भाषामा पनि प्रोग्राम चलाउन आग्रह गर्यो । एफएमका बलराम श्रेष्ठ र दीपक समिरले बोलाएर नौलो किरण कार्यक्रम चलाउन अफर गरेपछि सीमाको लागि खुशीको सीमा थिएन । उनको जीवनमा पहिलो चोटी यस्तो भएको थियो । कि कसैले बोलाएर नेपाली भाषामा कार्यक्रम चलाउन आग्रह गरेको होस् । जनकपुर टुडेमा काम गर्दा नेपाली भाषा राम्रो छैन भन्दै कहिले नेपाली भाषाको कार्यक्रम चलाउन नदिएको कुरा सीमाले सुनाउछिन् ।

उनी भनिन्, जनकपुर टुडे एफएममा नेपाली भाषामा कार्यक्रम चलाउन मन थियो तर त्यहाँ भाषा राम्रो छैन भनेर गर्न दिएन तर काठमाडौमा आउँदा मेरो नेपाली भाषाको टोन सुनेर एफएमले आफै कार्यक्रम चलाउन अफर गर्यो त्यो पनि स्पोन्सर प्रोग्राम । त्यो दिन मेरो लागि जीवनको सबभन्दा खुशीको दिन थियो ।
उनी अगाडि थप्छिन्, चुनौती हरेक क्षेत्रमा छन् । असहयोग र अप्ठ्यारा पनि उत्तिकै छन् । अवसर पनि छन् । खुट्टा तान्ने र असफल बनाउन खोज्ने पनि नभएका होइनन् । तर, संघर्षलाई निरन्तर जारी राख्यो भने कुनै पनि चुनौती वा समस्याले उचाइँमा पुग्न वा सफल हुनबाट रोक्न सक्दैन ।

रेडियो नेपालको यात्रा
मेरो एफएममा काम गरिहँदा २०६८–६९ सालतिर उनले रेडियो नेपालमा घटना विचारमा काम गर्न थालिन् । मेरो एफएममा दुईटा प्रोग्राम र रेडियो नेपालको घटना विचारका कारण समयको अभाव हुन थाल्यो । त्यसपछि उनले मेरो एफएम छाडिन् । रेडियो नेपालमा काम गर्दै गर्दा उनलाई क्यापिटल एफएमले बोलायो । रातीका लागि एउटा कार्यक्रम चलाई दिन आग्रह गर्यो । उनी सो एफएममा मिथिलाञ्चल कार्यक्रम चलाउन थालिन त्यो पनि नेपाली भाषामा । राती नौ बजे चल्ने सो प्रोग्राम उनले दिनमै रेकर्ड गर्छिन् । मधेशको विषयमा कार्यक्रम चलाउँछिन् उनी ।

मधेशको कलासँस्कृति, भाषा, रहनसहन, राजनीतिक लगायतका विषयमा उनी प्रोग्राम चलाउछिन् । महिनाको अन्तिम दिन एकजनासँग अन्तरवार्ता पनि लिन्छिन् उनी । अहिले उनी क्यापिटल एफएम तथा रेडिया नेपालमा नियमित कार्यरत छिन् । रेडियो नेपालमा उनी मगही भाषामा समाचार वाचन गर्छिन् । १ः३० वजेदेखि रेडियो नेपालमा उनको ड्युटी शुरु हुन्छ । ४ः३० बजेसम्म रेडियो नेपालमा काम गर्ने सीमा त्यसअघि क्यापिटल एफएमको रेकर्डिङ सिध्याउछिन् ।

सुरुमा चुनौती आफ्नो घरबाटै सुरु हुन्छ र भयो । तराई मधेशको जस्तो परिवेशमा उनी भन्छन्, म पत्रकारितलाई नै पेसाको रुपमा अपनाएको छु, यसैमा समर्पण छु किनभने यसले मलाई मान, सम्मान र पहिचान दिएको छ, यसमा गुमाउन केही परेको छैन । जे छ, पाएकै छु । राम्रै छ । हिजोसम्म म को हुँ, समाजलाई थाहा थिएन । अहिले एउटा पहिचान स्थापित भएको छ । मेरो काम र संघर्षले मेरो छुट्टै पहिचान बनेको छ । यो मेरो आफ्नै संघर्ष र सफलताको यात्रा हो । यद्यपि, घर परिवार र छोरालाई त्यति समय दिन नसकेकोमा कहिलेकाही दुःख लाग्छ ।’

आफू एउटा संचारकर्मीको नाताले पत्रकारिता पेशामा आबद्ध भएका वा हुन चाहनेलाई उनले एउटा सुझाव दिन चाहिन्छिन् उनी । उनी भन्छिन्, मेरो एउटै सुझाव छ, चुनौती र संघर्ष हरेक क्षेत्र र पेशामा छन् । रुची, चाहना, तत्परता, केही गर्छु भन्ने भावना र विचलित नहुने दृढ इच्छा शक्ति छ भने मात्रै यो पेशामा आउनुस् । क्षणिक रुपमा समस्याहरुले सताउलान् । तर कामलाई निरन्तरता दिनुस् । संघर्ष जारी राख्नुस् । क्षमता, दक्षता र लगनले काम गर्दै जाँदा एक दिन अवश्य सफल होइन्छ ।’

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..