» » जितेपछि यस्तो भन्नुहुन्छ, प्रदेशका सांसदहरु

नेपालमा पहिलो पटक संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभव गर्न लागेको हो । सातवटै प्रदेशमा निर्वाचन भइसकेको छ । प्रदेश सांसदहरु निर्वाचित हुनुभएको छ । आआफ्नो प्रदेशलाई कसरी सम्पन्न बनाउने भनि विभिन्न प्रतिवद्धताका साथमा चुनाव जितेर आउनु भएका प्रदेशका केही सांसदसँग सहारा टाइम्सले कुराकानी गरेको छ । प्रस्तुत छ उहाँहरुसँग गरिएको कुराकानी जस्ताको त्यस्तैः


अधिकार, पहिचान र विकासका लागि संघर्ष
जयराम यादव, फोरम नेपाल
मोरङ्ग–५ (ख) प्रदेशसभा सदस्य
प्रदेश एकमा म मात्र मधेशवादी दलको तर्फबाट जितेको छु त्यसमा मलाई गर्व पनि छ र यसका लागि सम्पूर्ण मतदातालाई बधाई दिन चाहन्छु । हाम्रो पार्टी संघीय समाजवादी फोरम नेपालले जुन उद्देश्य र सिद्धान्तका लागि स्थापना भएको हो । जेकालागि संघर्ष गरिरहेका छन् त्यसमा मेरो पनि भूमिका रहनेछ । खासगरि हामी अधिकार र पहिचानकाका लागि लडिरहेका छौं । म प्रदेशसभा सदस्यका हैसियतले त्यहाँ संघर्ष गर्नेछु । मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम, पिछडा वर्गलाई अधिकार दिलाउन सदनदेखि सडकसम्म मेरो संघर्ष जारी रहनेछ । वंशज नागरिता लिनबाट थुप्रै बन्चित छन् । त्यसलाई नागरिकता दिलाउनका लागि पहल गर्नेछु । अर्को कुरा, अबको कार्यदिशा विकासको हुनुपर्छ । देशलाई कसरी समृद्ध बनाउने । प्रदेशलाई विकसित र आर्थिक रुपमा सम्पन्न कसरी बनाउने त्यतातिर पनि सोच्नुपर्ने बेला आएका छ । यसका लागि प्रदेशसभामा मेरो विशेष भूमिका हुनेछ । विराटनगरलाई प्रदेशको राजधानी बनाउनुको साथै आर्थिक नगरी, पर्यटकीय नगरीको रुपमा परिचित गराउने काम गर्नेछु ।


कृषि र वैदेशिक रोजगारमा विशेष जोड
बिक्की यादव, राजपा नेपाल
सप्तरी–३ (ख) प्रदेशसभा सदस्य
सप्तरी ३ का जनताले मेरो मन जितेको छ । अब मन जित्ने पालो मेरो हो । र, जनताको मन काम गरेर जित्छु । मधेशका मतदाताले परिवर्तनका लागि हामीलाई जिताएको हो । आन्दोलनका म्याण्डेटलाई पूरा गर्ने जिम्मेवारी दिएर पठाएको छ । त्यसका लागि जिम्मेवारीपूर्वक काम गर्ने दायित्व आएको छ । मधेशी जनता पहिचान र अधिकारका लागि लामो समयदेखि संघर्ष गरिरहेका छन् । त्यसलाई पुरा गराउनु पनि हाम्रो दायित्व बन्छ । अब किहल्यै पनि आन्दोलन गर्न नपरोस् भनि जनताले चाहेका छन् । जनताले समृद्धि र विकास चाहेका छन् । कृषिमा उन्नति चाहेका छन् ।
छोराछोरीलाई विदेश पठाउन नपरोस् त्यस्तो वतावरण चाहेका छन् । त्यसका लागि मधेश सरकारले काम गर्नेछ । कृषिलाई कसरी आधुनिकीकरण बनाउने, मधेश प्रदेशलाई कृषिमा कसरी आत्मनिर्भर बनाउँदै व्यवसायिक बनाउने त्यतातर्फ मेरो विशेष जोड रहनेछ । मधेश प्रदेशको मेरुदण्ड भनेकै कृषि हो । कृषिमै यदि राम्रो गर्न सक्यो भने अरुको मुख ताक्नै पर्दैन् । कृषिलाई व्यवसायिक बनाएपछि दिन दिनै वैदेशिक रोजगारमा गइरहेका युवालाई रोक्न सकिन्छ । खाडीमुलकमा कृषिमा जति परिश्रम गर्छन त्यस्तै खालको परिश्रम यहाँ पनि गराउने र त्यो अनुसारको सुविधा यहाँ दिएपछि कोही पनि विदेश जाँदैन । र, त्यो सम्भावना यहाँ छ ।



गरिबी, बेरोजगार, अशिक्षा हटाउन पहल
सुरेश मण्डल, राजपा नेपाल
सिरहा–४ (ख) प्रदेशसभा सदस्य
थुप्रै संघर्ष र बलिदानीका कथा बोकेका प्रदेश हो दुई नम्बर प्रदेश । जहाँबाट म प्रदेशसभाको सदस्यमा निर्वाचित भएको छु । आन्दोलित अवस्थामा रहेकै मतदाताले मलाई मत दिएर जिताएका छन् । यसैबाट प्रष्ट हुन्छ कि उनीहरु के चाहेका छन् । मधेशी जनता अझै पनि पहिचान र अधिकारको खोजीमा छ । सविधानमा अधिकारको खोजेको छ । राज्यमा अधिकारको खोजेको छ । देशमा आफ्नो अनुहार खोजेको छ । पक्कै पनि त्यसका लागि मेरो पहल र संघर्ष रहनेछ । मधेशी जनताले मधेशवादी दलसँग थुप्रै अपेक्षा, आशा र भरोसा गरेका छन् । जसलाई पूरा गर्ने हाम्रो दायित्व बन्छ । मधेश गरिबी, वेरोजगारी, अशिक्षा, स्वास्थ्यको चपेटामा परेको छ । यहाँ साधन स्रोतको अभाव छ । र, यी सबै यतिकै भएको होइन । राज्यले सुनियोजित ढंगबाट मधेशलाई पछाडि परेको हो । मधेश सरकार निर्माण भएपछि समृद्ध मधेश, विकसित प्रदेश बनाउने कामका लागि मेरो पहल हुनेछ । मधेशका सबभन्दा ठूलो समस्या बेरोजगारी हो । यहाँका युवाहरु विदेश पलायन भइरहेका छन् त्यसलाई कसरी रोक्न सकिन्छ त्यसका लागि पनि मेरो पहल हुनेछ ।


चुरे विनाश रोक्नमा विशेष पहल
रामचन्द्र मण्डल, माओवादी केन्द्र
धनुषा–१ (ख) प्रदेशसभा सदस्य
दुई नम्बर प्रदेशमा विकासको निकै अभाव देखिएको छ । जनतामा विकासको आकाँक्षा छ । विकासको बाटो पर्खेर मधेशी जनता बसेका छन् । जनताको घरदैलोमा जाँदा उनीहरुको एउटै गुनासो हुन्छ नेताले केही गर्दिएन । जुन जोगी आएपनि कानै चिरेको भनि गुनासो हुन्छ जनताको । विकासप्रति जनतामा निकै निराशा मैले पाएको छ । त्यो निराशालाई कसरी आशामा परिवर्तन गर्ने त्यतातिर मेरो ध्यान जान्छ । प्रदेशमा सैद्धान्तिक समस्या पनि छ । प्रदेशलाई कति अधिकार दिएको छ । प्रदेशले के के विकास गर्न सक्छ, के के गर्ने अधिकार दिएको छ । त्यो कुरा पनि बुझ्नु आवश्यक छ ।
प्रदेशलाई केन्द्रसँग कसरी जोड्ने त्यो पनि एउटा मुख्य काम हो । कोशीदेखि नारायणसम्म ड्याम बनाएर चुरे छेउमा पानी लगेर चुरैलाई हराभरा बनाउनुपर्छ । पानीको अभावमा चुरे उराठ भएको छ । त्यसलाई कसरी रिचार्ज गर्ने त्यसका लागि पनि काम गर्नुपर्छ । विजुली उत्पादन गरेर जनताको घरघरमा बत्ति पुर्याउनुपर्छ । जनकपुरलाई दुई नम्बर प्रदेशको राजधानी बनाउने चर्चा पनि छ । जनकपुर एउटा ऐतिहासिक नगरी भएको कारणलाई यसलाई समृद्ध कसरी बनाउने । धेरैभन्दा धेरै पर्यटक कसरी भित्र्याउने । बन्द रहेका चुरोट कारखानालाई कसरी सञ्चालन गर्ने लगायतका विषयमा काम गर्नुपर्छ ।


महिला सशक्तिकरणका लागि विशेष पहल
सुरिता साह, राजपा नेपाल
महोत्तरी–२ (ख) प्रदेशसभा सदस्य
मधेशमा सबभन्दा बढी पिछडिएको वर्ग महिला हो । र, म महिला प्रतिनिधि भएको हुनाले मधेशमा महिला सशक्तिकरणका लागि आवाज उठाउनेछु । मधेशमा महिला हिंसाको घटना बढ्दो छ । दाईजोको लागि तथा विभिन्न बहानामा महिला मार्ने, घर निकाला गर्ने, महिलासँग विभिन्न हिंसात्मक व्यवहार गर्ने कार्य मैले गनाईराख्नु पर्ने जस्तो लाग्दैन । मधेशमा दैनिक जस्तो भइरहने घटना हुन् । यसलाई कसरी न्युनिकरण गर्ने त्यसका लागि मेरो विशेष पहल हुनेछ ।
एउटा पुरुष शिक्षित भयो भने उ आफ्नोसम्म मात्र सिमित राख्छ तर एकजना महिला शिक्षित भयो भने सम्पूर्ण परिवारलाई नै शिक्षित बनाउँछ । यसलाई मनन गर्दै मधेशमा महिला शिक्षाका लागि विशेष पहल गर्नेछु । म निरन्तर राजनितिमा लागेको र  महिला शसक्तिकरणको लागि काम गरेको कारणले यसका क्षेत्रलाई बलियो बनाउनेछु । मधेश आन्दोलनमा महिलाको विशेष भूमिका रह्यो यसका लागि मधेशी महिलालाई धन्यावाद दिनैपर्छ । राज्यमा समानुपातिक सहभागिता कसरी गराउन सकिन्छ त्यतातिर पनि प्रदेशसभा सदस्यको नाताले काम गर्नेछु । अधिकार र पहिचानको लडाई जारी नै छ । यसका लागि मैले सदनमा के भूमिका खेल्नुपर्छ त्यो सबै गर्न म तयार छु ।


समृद्ध मधेश र विकसित प्रदेशका लागि अन्तराष्ट्रिय सहयोग
संजय कुमार यादव, फोरम नेपाल
सर्लाही–३ (ख) प्रदेशसभा सदस्य
सबभन्दा पहिले त मधेशी जनतालाई सवैधानिक रुपमा अधिकार सम्पन्न बनाउनु हम्रो कर्तव्य हो । सविधान संशोधनमार्फत मधेशको अधिकार र पहिचानलाई सुनिश्चित गराउनुपर्छ । जबसम्म मधेशी जनता सवैधानिक रुपमा अधिकार सम्पन्न हुँदैन तबसम्म विकासको कल्पना गर्न सकिदैन ।  सविधानिक अधिकारबाट बन्चित हुने जनता अरु सुविधाबाट त्यतिकै बन्चित रहने नै भयो । त्यसैले म प्रदेशसभाको सदस्य भएको नाताले सदनबाट होस् वा सडकबाट होस् मधेशी जनतालाई सवैधानिक रुपमा सम्पन्न बनाउने दायित्व हुन आउँछ । त्यसपछि विकासका काम हुन्छ ।
सर्लाही जिल्ला विकासका मामलामा पिछडिएको जिल्ला हो । यसलाई कसरी विकसित बनाउने, त्यसका लागि एउटा रोडम्याप तयार गरि योजनावद्ध तरिकाले काम गर्नपर्छ । साधनस्रोत सम्पन्न मधेश प्रदेश बनाउनका लागि दातृ निकायहरुसँग पनि सम्बन्ध बनाउनुपर्छ । विदेश लगानी, विदेशी पुँजी यो प्रदेशमा कसरी भित्र्याउने, उद्योगधन्दा कसरी सञ्चालन गर्ने, कृषिलाई आधुनिकीकरण कसरी गर्ने लगायतका विषयमा वृहत र दीर्घकालिन योजना बनाएर काम गर्नु आवश्यक छ । मधेशमा शिक्षा र वेरोजगारीले यसरी डेरा जमाएर बसेको छ कि यसका लागि ठूलै योजना र संघर्ष गर्नुपर्ने आवश्यकता देखिएको छ ।



वेरोजगारी समस्या समाधानका लागि पहल
योगेन्द्र राय यादव, फोरम नेपाल
रौतहट–१ (ख) प्रदेशसभा सदस्य
मधेशलाई समृद्ध गराउने जिम्मा मधेशवादी दलको काँधमा आएको छ । मधेशमा मधेशवादी दलले जुन मत पाएको छ । त्यसले प्रष्ट हुन्छ कि मधेशको समृद्धि र विकास मधेशी दलबाट नै सम्भव हुन्छ । दुई नम्बर प्रदेशमा मधेशवादी दललाई स्पष्ट बहुमत दिएको त्यसले मज्जाले सरकार बनाउनसक्छ । मधेश सरकार निर्माण गर्न सक्छ । मधेश बनाउने जिम्मेवारी मधेशवादी दलको काँधमा आइसकेको छ । अब केही गरेर देखाउनुपर्छ । दुई छन नम्बर प्रदेशलाई देशकै उत्कृष्ट प्रदेश बनाउनुपर्छ । मधेशमा वेरोजगारी, गरिबी, चेतनाको कमी, कुसँस्कार, कुरुतीहरु छन् ।
त्यसलाई हटाउनु आवश्यक छ । वेरोजगारी समस्या हटाउनका लागि कृषिमा लगानी बढाउनुको साथै कृषि औद्योगिककरणका लागि विदेशी लगानी बढाउनुपर्छ । अन्य उद्योग धन्दाका लागि लगानीको व्यवस्था गर्नुपर्छ । मधेशको वेरोजगारी समस्या समाधानका लागि उद्योगधन्दा ल्याउनुपर्छ र त्यसका लागि मेरो प्रयास हुनेछ । अर्कोकुरा, मधेशी जनताले राखेको माग अझै पूरा भएको छैन । मधेशको अधिकार र पहिचानका लागि सडकदेखि सदनसम्म संघर्ष गर्छु र सवैधानिक रुपमा मधेशलाई सम्पन्न बनाउनका लागि सदनमा पहल गर्छु ।

अधिकार सम्पन्न, समृद्ध र विकसित प्रदेश निर्माण
जितेन्द्र सोनल, राजपा नेपाल
बारा–४ (ख) प्रदेशसभा सदस्य
मधेशी दललाई प्राप्त जनादेश दिनुको भनेको अधिकार, समृद्धि र पहिचानका लागि हो । मधेशी जनता अधिकारबाट बन्चित छ । राज्यले सदियौंदेखि शोषण दमन गर्दै आएको छ । त्यसबाट मुक्ति पाउनका लागि मधेशका जनताले आफ्नो मतजाहेर गरेको छ । मधेशमा शोषण, दमन र असमानतामा परेका उत्पिडित जनताको मुक्तिका लागि मेरो संघर्ष जारी रहनेछ । म जबदेखि राजनीतिकमा आए मधेशको अधिकारका लागि नै लडे, मधेशको मुक्तिका लागि नै संघर्ष गरे ।
आज प्रदेश दुईको प्रदेशसभा सदस्यमा जनताले आफ्नो अमूल्य मत दिएर जिताएको छ । म ती सम्पूर्ण मतदातालाई धन्यवाद दिन चाहन्छु । ती मतदाताप्रति सदा अभारी रहनेछु र उनको सेवासमा सदैव समर्पित रहनेछु । दुई नम्बर प्रदेशका जनतामाथि सदियौंदेखि विभेद हुँदै आएको थियो । यहाँको गरिबी, वेरोजगारी, अशिक्षा सबै राज्यकै देन हो । विद्यालय छ तर पढाई हुँदैन । अस्पताल छ तर त्यहाँ उपचार हुँदैन, सडक छ, गाडि गुड्दैन । यो राज्यको विभेदका कारणले भएको हो । अब यी सबलाई सुधार गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । मधेश सरकार निर्माण हुँदैछ । जनतालाई मधेश सरकारको अनुभूति हुने गरी काम गर्नुपर्छ । लामो प्रतिक्षापछि मधेशी जनताले आफ्नो सरकार पाउने भएको छ । सबैले मिलेर यो प्रदेशलाई समृद्ध र अधिकार सम्पन्न प्रदेश बनाउनुपर्छ र मेरो योगदान त्यसकै लागि हुनेछ ।   




मधेशमुक्तिका लागि संघर्ष
लालबाबु राउत, फोरम नेपाल
पर्सा–१ (ख) प्रदेशसभा सदस्य
मधेशी जनतालाई सवैधानिक रुपमा अधिकार सम्पन्न बनाउनु हाम्रो कर्तव्य बनेको छ । प्रतिनिधिसभादेखि प्रदेशसभासम्म मधेशका जनताले आफ्नो मत दिएर मधेशी दललाई पठाएको छ । पक्कै पनि मधेशका जनताले राज्यमा समान अधिकार चाहेको छ, समान उपस्थिति चाहेको छ । सविधानमा अपनत्व खोजेको छ । त्यसको प्राप्तिका लागि मेरो संघर्ष जारी रहनेछ । मधेशी जनता विकास नचाहेको होइन, तर त्यसभन्दा पहिले सवैधानिक रुपमा सम्पन्न हुन चाहन्छ । कानुनी रुपमा यो देशका नागरिक हुँ भनि अनुभूति गर्न मधेशी जनताले गर्न चाहन्छ । सविधान संशोधनका लागि यत्रो लामो लडाई लड्दा पनि संशोधन भएन । त्यसका लागि मधेशी जनता विक्षिप्त छन् । सडक संघर्षबाट प्राप्त नभएको उपलब्धी सदनबाट लिनका लागि आफ्नो मत जाहेर गरेको छ । त्यसको सम्मानका लागि पनि हामीले केही गर्नुपर्छ । विभेद र असमानताका कारण विकास नभएको हो । यदि विभेदको अन्त्य भयो भने विकास आफै नजर आउँछ । सबभन्दा पहिले राज्यको नियत ठिक गर्नुपर्छ । मधेशप्रति हेराईको दृष्टिकोणमा परिवर्तन भयो भने मधेश आफै समृद्ध बन्छ । किनभने देशभरिमै मधेशमा मात्र विकासको सम्भावना छ ।
हिमाल, पहाडतिर विकासका लागि जवर्जस्ती केही गर्नुपर्छ । ठूलो लगानी लगाउनुपर्छ तर मधेशमा त्यो समस्या छैन । सानो लगानीले ठूलो काम हुन्छ । कतिपय अवस्थामा त लगानी नै लगाउनुपर्दैन त्यसका लागि राम्रो सोच बनाई दिए हुन्छ । जस्तै, तराई मधेशका कतिपय यस्ता उद्योगहरु बन्दको अवस्थामा छ । त्यसलाई सञ्चालन गर्न खासै पूँजी लाग्दैन तर त्यसका लागि राज्यको नियत ठिक हुनुपर्यो, राज्य इमान्दार हुनुपर्छ । त्यसका लागि राज्यसँग हाम्रो संघर्ष जारी नै रहन्छ । हामीले चुनावलाई पनि आन्दोलनकै रुपमा प्रयोग गरेका थियौं । जबसम्म मधेशले मुक्ति पाउँदैन तबसम्म हाम्रो संघर्ष सडकदेखि सदनसम्म जारी रहन्छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..