» » ओलीले उपेन्द्रलाई भन्नुभयो, मिलेर सरकार बनाऔं

राजनीतिकमा हरेक कुरामा सम्भावनाको खेल हुन्छ । कुरा कुरालाई नकार्न मिल्दैन । वामगठबन्धनले सरकार निर्माण गर्ने सीट ल्याएको छ । सरकार बनाउने चर्चा पनि छ । वाम गठबन्धनले नै सरकार निर्माण गर्छ भनि नेताहरु भन्दै आउनुभएको छ ।

 तर, वाम गठबन्धनका नेताहरुलाई एकअर्का माथि विश्वास नहुँदा अर्को विकल्प पनि खोज्न थाल्नु भएको छ । प्रचण्डले काँग्रेससँग सरकार बनाउने भनि विकल्पमा हुनुहुन्छ भने एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले मधेशवादी दलसँग मिलेर सरकार बनाउने दावमा हुनुहुन्छ । र, यी काम उहाँहरु आन्तरिक रुपमा भित्रभित्रै गरिरहनु भएको छ ।

उहाँहरुले भित्र भित्रै जति गोप्य काम गरेपनि एक अर्काको कुरा दुवैजना बुझिसक्नु भएको छ । र, यो कुराको खुलासा प्रचण्डले चितवनको एक कार्यक्रमा गर्नुभयो । एमालेले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग गरिरहेको छ । त्यस्तै, एमालेका अध्यक्ष ओलीले उपेन्द्र यादवसँगको भेटघाटमा माओवादी केन्द्रले काँग्रेससँग मिलेर सरकार बनाउने प्रयास गरिरहेको आशंका गर्नुभएको थियो । यी दुईजना नेताको कुरा सुन्दा एक अर्कामाथि विभिन्न आशंकाहरुले जाडा गाडेको छ ।

सप्तरीको राजविराजमा पुस ५ गते विहान संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव कार्यकर्ता शुभकामना तथा बधाई सटासाट गरिरहेको बेला एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोन गयो । सरकार गठनको समिकरण र समसामयिक राजनीतिक विषयमा कुराकानी गर्नुछ, काठमाडौ कहिले फर्किनु हुन्छ, काठमाडौ आउनुस् छलफल गर्नुछ भनेर उपेन्द्र यादवलाई राजधानी फर्किन आग्रह गर्नुभएको थियो । सो आग्रहलाई सहस्र स्वीकार गर्दै सप्तरीबाट त्यही दिन हिडनु भएका उपेन्द्र यादव राती अवेला काठमाडौ आइपुग्नुभयो ।

काठमाडौ आइपुगेका उपेन्द्र यादवको बारेमा एमाले अध्यक्ष ओलीलाई खबर भयो । तर, दुईजना आआफ्नो पार्टीमा व्यस्त भएको कारण पुस ६ गते भेट हुन सकेन । ओलीसँग छलफल गर्न आएका उपेन्द्र यादवले पुस ६ गते राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरसँग उहाँकै पुरानो पार्टी कार्यालय विजुली बजारमा भेट्नुभयो ।

यी दुई नेताको बीचमा सामान्य कुराकानी भयो । प्रदेश तथा केन्द्रको सत्ता समिकरण र अगामी गठबन्धनको विषयमा कुराकानी भयो तर कुनै कुराको टुगों लागेन । राजपा नेपालका अधिकाँश नेताहरु राजधानी बाहिर भएका हुनाले उहाँहरुको बीचमा खासै कुराकानी नभएको पार्टीका एकजना महासचिवले जानकारी गराउनु भएको छ । पुस ७ गते सर्वदलीय बैठकमा सहभागि भएर फर्केका उपेन्द्र यादवसँग उहाँकै पार्टी कार्यालयमा भेटेका थियौं ।

ओलीको सन्दर्भ उहाँसँग राख्दा उहाँले दुईजना बीचमा हुने कुराकानीको विषय पत्रकारलाई कसरी थाह हुन्छ, फोन गर्नेलाई थाह हुन्छ कि रिसिभ गर्नेलाई मात्र थाह हुन्छ भनि पत्रकारप्रति टिप्पणी पनि गर्नुभयो । फोन भएको कुरा पनि सुनेकै जस्तो पत्रकारहरुले जथाभावी लेख्ने गरेको उहाँले टिप्पणी गर्नुभयो ।
भेटघाटको बारेमा जिज्ञासा राख्दा उहाँले भेटघाटको कुरा भएका हो तर अहिलेसम्म नभेटेको प्रतिकृया दिए । अरु स्रोतबाट बुझ्दा उपेन्द्र यादव र ओलीको बीचमा भेटघाट भएको थिएन ।

स्रोतहरु भन्छन्, पुस ८ गते साँझ अध्यक्ष ओली र अध्यक्ष यादवबीच भेटघाट भयो । यो भेटघाटलाई दुवै तर्फले गोप्य राखेको थियो । यो भेटघाटको बारेमा ओलीका प्रेस संयोजक चेतन अधिकारीसँग जिज्ञासा राख्दा उहाँले आफूलाई त्यसको बारेमा जानकारी नरहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, म अलि ढिलो पुगेको थिए, भेटघाट भयो कि भएन मलाई थाह भएन ।’

तर, उहाँ दुईजनाको बीचमा सरकार निर्माणकै विषयमा कुराकानी भएको हो । अध्यक्ष ओलीले अध्यक्ष यादवलाई एमाले र मधेशवादी दलसहित सरकार निर्माणमा सहयोग गर्न आग्रह गरेको स्रोतको दावी छ ।
माओवादी केन्द्रको लक्षण राम्रो छैन, यस अवस्थामा त्यो दलसँग सरकार निर्माण गर्न गाह्रो छ, त्यसले फोरम नेपाल र एमाले मिलेर सरकार निर्माण गरौं भनि ओलीको आग्रह गर्नुभएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस मिलेर सरकार बनाउने प्रयास पनि गरिरहेको खुलासा ओलीले उपेन्द्र यादव समक्ष गर्नुभएको स्रोतले जनाएको छ । सो भेटमा ओलीले अधिकाँश समय प्रचण्डमाथि शंका गरेको विषयमा कुरा राख्नुएको थियो ।

उपेन्द्र यादवले मधेशी दलको साथमा सरकार निर्माण गर्नका लागि सो दललाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने सुझाव दिनुभयो । एमालेमाथि मधेशका जनता निकै शसकिंत छ, त्यसको बारे धारणा स्पष्ट नगरेसम्म सरकार निर्माण गर्न गाह्रो हुने धारणा उहाँले राख्नुभएको थियो ।

सविधान संशोधन लगायतका विषयमा एमाले पार्टीले खेलेको भूमिकप्रति मधेशी जनता सकारात्मक छैन, त्यस अवस्थामा सरकार निर्माण गर्यो भने के प्रभाव पर्छ आफै बुझ्नुस् भन्दै उपेन्द्र यादवले सरकार गठन गर्नुअघि मधेशको मुद्दाको विषयमा आफ्नो धारणा स्पष्ट पार्न ओलीलाई आग्रह गरेको स्रोतले जनाएको छ । उपेन्द्रका कुरा सुनेर ओलीले मधेशप्रति आफू र आफ्नो पार्टी नकारात्मक नरहेको र कसैले भ्रम फैलाएको दावी गर्नुभएको थियो ।

मधेशको बारेमा के गर्नुपर्छ त्यो गर्न आफू तयार रहेको र यस विषयमा चाँडै पार्टीमा छलफल चलाउने आश्वासन दिनुभएको थियो । र, त्यस लगतै एमालेले स्थायी समितिको बैठक बोलाउनु भएको थियो ।
त्यो बैठकमा उपेन्द्र यादवसँग भएको कुराकानीको बारेमा पनि छलफल भयो तर बैठकमा अधिकाँश नेताले अहिलेको अवस्थामा वाम गठनबन्धनलाई छाडेर अर्को दलसँग मिलेर सरकार बनाउन नहुने तर्क दिनुभएको थियो ।

यता ओलीले माओवादी केन्द्रप्रति आशंका गर्दै उपेन्द्र यादवसँग कुरा गरिरहँदा उता प्रचण्डले पनि एमालेले फोरम नेपालसँग मिलेर सरकार गठन गर्न लागेको आशंका व्यक्त गर्नुभएको थियो । नवलपरासीको कावासोतीमा पुस ८ गते पार्टीका नेता तथा कार्यकतासँगको भेटघाटमा उहाँले एमालेका अध्यक्षले ओलीले उपेन्द्र यादवलाई सरकार निर्माणमा सहयोग गर्न आग्रह गरेको दावी गर्नुभएको थियो । तर उपेन्द्र यादवले स्वीकार नगरेपछि माओवादी केन्द्रसँग एमाले सरकार निर्माण गर्न लागेको दावी उहाँले गरेको स्रोतले जनाएको छ ।

किन झस्क्यिो राजपा नेपाल ?
राष्ट्रिय जनता पार्टी नेपाललाई दुई नम्बर प्रदेशले मात्र देशको ठूलो चौथो शक्ति बनाएको छ । दुवैचरणको चुनावमा भाग लिएका संघीय समाजवादी फोरम नेपाललाई उछिनिएर राजपा नेपाल चौथो शक्ति भएपछि राज्यको शक्ति बाँडफाँडमा उसले आफ्नो स्पेश खोज्न थालेका छन् । पाँचौ शक्तिको रुपमा रहेको फोरम नेपाललाई तीन ठूला दलले विशेष महत्व दिन थालेपछि राजपा नेपालका नेताहरु गम्भीर बनेका छन् । पुस १३ गते राजपा नेपालको अध्यक्ष मण्डलको बैठक बसेको थियो । बैठकमा यो पनि एउटा बहसको विषय बन्यो ।

प्रतिनिधिसभामा फोरम नेपालभन्दा राजपा नेपाल एक सीटले अगाडि छ । फोरम नेपालको १० र राजपा नेपालको ११ सीट रहेको छ । राजपा नेपाललाई लाग्न थाल्यो कि पाँचौ शक्ति अर्थात आफूभन्दा एक सीटले पछाडी रहेका फोरम नेपाल सत्ता समिकरणको ‘किङ्ग मेकर’ कसरी हुन्छ । सीटको हिसाबले आफू ठूलो रहेको कारणले राज्यमा त्यही अनुसारको हिस्सेदारी खोज्नुपर्ने निष्कर्ष राजपा नेपालका नेताहरुले निकालेको स्रोतले जनाएको छ ।

राजपा नेपालको अध्यक्ष मण्डलको बैठक बसेको थियो । सो बैठकले प्रदेशसभाको समानुपातिक सीटको नामावली टुगों लगाउनुपर्ने थियो । तर, नेताहरुको बीचमा कुरा नमिलेपछि हिजोको बैठकमा टुगों लागेको थिएन । र, पुस १४ गते बसेर मात्र त्यसको टुगों लगाउन सक्यो । राजपा नेपालका एक वरिष्ठ नेताले भन्नुभयो, ठूलो दल भएर केही फाइदा भएन, फोरम नेपालले दुई नम्बर प्रदेशमा सरकार पनि पायो, यता केन्द्रमा मधेशका प्रमुख शक्तिको रुपमा आउन चाहेको छ । यस अवस्थामा अब राजपा नेपालले पनि आफ्नो गतिविधि बढाउँछ ।’
समानुपातिकको टुगों लगाई सकेको छ अबको बैठक औपचारिक रुपमा सरकार गठन लगायतको विषयमा छलफल गर्ने राजपा नेपाल स्रोतले जनाएको छ । फोरम नेपालसँग सरकार बनाउने कुराको टुगों पुस १२ गते बसेको राजनीतिक समितिको बैठकले नै गरेको छ । तर, कसको नेतृत्वमा बन्ने हो, मुख्यमन्त्री कसलाई बनाउने, उपमुख्य मन्त्री कसलाई बनाउने हो, कतिवटा मन्त्रालय बाँडफाँड गर्नेलगायतको विषयमा फोरम नेपालसँग औपचारिक छलफल गर्ने तयारीमा राजपा नेपाल रहेको छ ।

उनीहरुको बीचमा भएको अनौपचारिक छलफल अनुसार प्रतिनिधिसभाका लागि सभामुखको दावी राजपा नेपालले गर्ने भएको छ । दुई नम्बर प्रदेशमा फोरम नेपालले मुख्यमन्त्री बनाउने हो भने उपमुख्य मन्त्रीको साथै ११ वटा मन्त्रालयको दावी समेत गरेको छ । त्यस्तै, कम्तीमा पाँचवटा प्रदेशसभा समितिको अध्यक्षमा राजपा नेपालले आफ्नो दावी राख्ने तयारी गरेका छन् । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..