» » मैले मधेशवादी दलमा सामन्तवादी सोच पाए (भिडियोसहित अन्तरवार्ता)

–सीताराम अग्रहरी, वरिष्ठ पत्रकार
सीतराम अग्रहरी सुनिएको नाम हो । गोरखापत्रको महाप्रबन्धक तथा प्रधानसम्पादक भइसक्नु भएका उहाँ त्यहाँबाट अवकाश प्राप्त गरेपछि निस्कृय देखिनु भएको छ । गोरखापत्रमा कार्यरतरत रहँदा उहाँ समाजिक सेवा तथा लेखन कार्यमा निकै सक्रिय हुनुहुन्थ्यो । कार्यक्रममा आफ्नो खर्रो धारणा राख्दा उहाँको चर्चा हुन्थ्यो । मधेशवादी दलका नेताहरुले उहाँलाई बोलाएर सल्लाह लिनुहुन्थ्यो तर केही महिनादेखि ओझेलमा पर्नु भएका सीताराम आग्रहीसँग एउटा कार्यक्रममा भेट भयो । प्रस्तुत छ देशको समसामयीक राजनीतिक अवस्थाको बारेमा उहाँसँग सहारा टाइम्सका लागि गरिएको कुराकानीको मुख्य अंशः

तपाई गोरखापत्रबाट ‘रिटाय’ भएपछि सार्वजनिक जीवनदेखि पनि ‘रिटायर्ड’ हुनुभएको जस्तो देखिन्छ यस्तो किन ? 
म ‘रिटायर्ड’ भएको छैन । जागिरबाट ‘रिटायर्ट’ भएपछि धेरैलाई यस्तो लागेको होला तर म सार्वजनिक जीवनबाट पनि ‘रिटायर्ड’ भएको छैन । म अहिले समाजिक सञ्जालमा सक्रिय छु तपाई हेर्न सक्नु हुन्छ । मैले चिन्तन गर्ने, लेख पढ गर्ने काम अझै जारी राखेको छु । विभिन्न समाजिक कार्यक्रमहरुमा गएर आफ्नो धारणाहरु राख्दै आएको छु । तपाईले भनेको जस्तो म ‘रिटायर्ट’ भएको छैन ।

‘रिटायर्ड’ हुुनुभएको छैन भने ‘टायर्ड’ त पक्कै हुनुभएको होला कि कसो ? 
–होइन त्यस्तो छैन । अहिले पनि मसँग त्यही जोश जागर छ । बरु मेरा गतिविधिहरु बाहिर नदेखिएको होला, त्यो सही हो । म केही अध्ययन र चिन्तनमा लागेका छु । त्यो केही दिनमा देखिन्छ । यो समाजलाई केही दिनसक्ने क्षमता अहिले पनि मसँग छ जस्तो लाग्छ । म ‘टायर्ड’ भएको म महसुस गरेको छैन । बरु समाजको परस्थिति र अवस्था हेरेर चिन्तित छु । तर चिन्तित मात्र होइन, चिन्तन पनि गरिरहेको छु ।

तपाई जागिरमा हुँदा जसरी मधेशका लागि, यो समाजका लागि बोल्नु हुन्थ्यो, लेख्नु हुन्थ्यो त्यो धेरै कम भएको महसुश भइरहेको छ त्यो सही हो त ?
–तपाईले महसुस गरेको कुरा सही होला । जागिरबाट अवकाश प्राप्त भएपछि अलि केही दिन सबैमा यस्तै हुन्छ । उसको लागि नयाँ जीवन शुरु हुन्छ । जीवनको नयाँ अध्याय शुरु भएको हुन्छ । त्यसैले केही दिन स्थिर भएको हुन्छ । मबाट पनि त्यस्तो भएको होला तर म हराएको छैन, गौण भएको छैन र मौन पनि छैन । म गोरखापत्रमा हुँदा अलि फरक गर्न चाहेको थिए र केही गरेपनि । त्यसबेला मैले आफ्नो कलमबाट अलि पृथक खालका विचारहरु दिए । मैले मात्र दिइनन् अरु अरुबाट पनि दिन लगाए । एउटा माहोला बनाउन सफल भए । तर म जुन हिसाबले सोचिरहेको छु, मेरो जे विचार छ त्यो अनुसार अब म गर्न सक्छु कि सक्दिैन । मेरो विचार र मेरो स्प्रीड गर्न सक्छ कि सक्दैन, त्यो कुरा मेरो मनमा खेलिरहेको हुन्छ । अहिले म मेरो विचारलाई समाजिक सञ्जालबाट प्रेषित गरिरहेको छु । २०१८ लाई अलि पृथक बनाउने मेरो योजना छ । केही पुस्तक प्रकाशन गर्ने योजना पनि बनाएको छु । तर म मधेशी समाजबाट पृथक हुन सक्दिन । म मेरो तर्फबाट मधेशी समाजका लागि केही गर्न चाहन्छु ।

तपाईसँगै ‘रिटायर्ड’ भएका तपाईका सहकर्मीहरु कोही पोल्टिक्समा गए कोही कहाँ गए कोही के के गरिरहेका छन् तर तपाई एका एक मौन बस्नुभयो त्यो गुनासोहरु आइरहेका छन् यसमा के भन्नुहुन्छ ?
–मलाई पोल्टिक्समा काम गर्ने अफर नआएको होइन । सायद म पोल्टिक्स ज्वाइन गरेको भए म पनि अहिले कुनै दलको ठूलै नेता हुन्थे वा कही नकेही गरिरहेका हुन्थे । त्यस प्रकारको प्रस्तावहरु पनि आएको थियो । तर मैले मधेशवादी दलमा सामन्तवादी सोच पाए । उनीहरु चाहन्छन् कि मेरो झोला बोकेर हिडोस् । व्यक्तिको महिमा मण्डप गर्ने, राम्रो नराम्रो गरेपनि वाहवाही गर्नुपर्ने वतावरण मैले त्यहाँ पाए । अलोचना सहन नसक्ने मनस्थितिका नेताहरु मैले पाए । त्यही भएर त्यतातिर जाने इच्छा मैले गरिनन् । केही स्वतन्त्र साथीहरुबाट पनि प्रस्ताव आइरहेको छ कि मधेशमा नयाँ विकल्प खडा गरौं । मधेशमा नयाँ शक्तिको शुरुवात गरौं । त्यसको अगुवाई गर्न पनि मलाई भनिरहेको छ । तर म अगुवाई गरे भने केही व्यक्तिलाई फाइदा हुनसक्छ तर समग्र समाजको फाइदा हुनसक्दैन जस्तो लाग्यो । त्यसैले म ब्याक भएको हुँ । अझै पनि म चिन्तन मननमै छु ।

कसैको झोला बोक्ने प्रवृतिसँग डराएर तपाई मौन हुनुभएको हो वा ब्याक हुनुभएको हो त ?
–मैले झोला बोक्ने सन्दर्भ यस अर्थमा भनेको हुँ कि मधेशवादी दलमा कुनै मिशन देखिएको छैन । मधेशी दलबाट जनताले धेरै अपेक्षा गरेको छ तर ती अपेक्षा उहाँहरुले पूरा गरिरहनु भएको छैन । महान उद्देश्यका लागी मधेशी जनताले त्यत्रो त्याग र बलिदान दिएका हुन् तर मधेशी दलबाट त्यो पुरा भइरहेको छैन । दोस्रो सविधानसभामा मधेशवादी दलले जुन प्रवृति देखायो । परिवार, श्रीमती, आफन्तलाई जसरी पार्टीमा ल्याउने काम गर्यो । त्यसले उहाँहरु प्रतिको मेरो सम्मान कम भयो । अहिले पनि उहाँहरुको चिन्तन र विचारमा परिवर्तन भएको छैन । अहिले दुई नम्बर प्रदेशमा राम्रो सीट ल्याए पनि उहाँहरुको चिन्तनमा परिवर्तन आउँला जस्तो लाग्दैन । विगतको घटनाक्रमले गर्दा नेताहरुले पाठ सिकेका होलान् जस्तो मलाई लाग्दैन । म कलमले लडेको थिए र अझै कलमले लड्न तयार छु । कलमले मात्र होइन, अरु खालको संघर्ष गर्नुपर्यो भने पनि म तयार छु । तर मेरो मनमा एउटा डर छ कि मधेशी जनताले दिएको योगदान र बलिदान खेर न गइदियोस् ।

मधेशी दलहरु आफ्नो मिसनमा काम गरिरहेको छैन भनि तपाईको आरोप हो ?
–मेरो आरोप होइन । मेरो चिन्ता हो । दोस्रो सविधानसभाको रिजल्ट हेर्नु हुन्छ भने मधेशी जनताले ठूलो पाठ सिकाएको हो । ठूलो दण्ड दिएका थिए । तर ती नेताहरु गम्भीर रुपमा सुध्रिनु पथ्र्यो । त्यो देखिएन । अहिले पनि त्यही दम्भ र सोच देखिएको छ । आन्दोनल थारु र आदिवासी जनजातिले पनि गर्यो । २० वटै जिल्लामा आन्दोलन भएको थियो तर अहिले आएर आठवटा जिल्लामा मधेश सिमित भयो । यो मधेशवादी दलका नेताहरुको अदुरदर्शिताका कारणले भएको हो । मधेशका कुनै ठूलै नेताले भन्नुहुन्छ कि जानकी मन्दीरको भेटीले मात्र दुई नम्बर प्रदेश चल्न सक्दैन । हेर्नुस् त ती नेताको सोच । एउटा नेताले यसरी बोल्ने होइन, उसले त राज्य कसरी सञ्चालन गर्ने ? त्यसको आर्थिक रोडम्याप पो दिनुपर्ने हो । आर्थिक क्रान्ति, समाजिक क्रान्तिको रोडम्याप दिएर अगाडि बढ्नुपर्ने हो तर निराशाजनक अभिव्यक्ति दिइरहेका छन् । आर्थिक तथा समाजिक क्रान्तिका लागि नेताहरु त्याग र इमान्दारका साथ अगाडि बढ्नुपर्छ । सिगांपुरको इतिहास र इजराइलको विकासकाबाट हामी केही सिक्नुपर्छ । अब आन्दोलन होइन, आर्थिक क्रान्तिको आवश्यकता छ ।

तपाई पनि यो समाजको जिम्मेवार व्यक्ति हुनुहुन्छ, यदि राजनीतिक दल ट्रयाक भन्दा बाहिर गएको छ भने त्यसलाई ट्रयाकमा ल्याउने जिम्मेवारी र दायित्व तपाईको पनि हो नि ?
–त्यसैले त म भन्दै छु नि कि अब भिजन क्लियर गर्नुस् । मधेशमा दुईटा कुरा सबभन्दा पहिले समाप्त गर्नुपर्छ । एउटा आन्तरिक कलह जो जातीय कलहको रुपमा देखिएको छ । अहिलेको चुनावमा पनि जातीय स्वरुप देखिएको छ  । अर्को, भाषिक अन्तरविरोध छ । मधेशका जिल्लाहरुमा भाषा भाषीहरुले कुरा उठाई रहेका छन् । कसैले मिथिला प्रदेश भन्छ भने कसैले भोजपुरा प्रदेश भन्छन् । कसैले हिन्दीको कुरा उठाएका छन् । यसरी अब आठ जिल्लालाई मात्र मधेश मान्ने अवस्था छैन । यसको जवाफ इतिहासले दिनेछ । म बीपीको कुरा सम्झन चाहन्छु ।  २०३६ सालको जनमत संग्रहलाई उहाँले स्वीकार गर्नुभयो । जबकि उहाँका सहकर्मीहरुले चुनावमा धाँधली भएको हो यसलाई स्वीकार नगर्नुस् भन्नुभएको थियो तर उहाँले जेजस्तो परिणाम आएपनि यसलाई म स्वीकार गर्छु भन्नुभएको थियो । मधेशवादी दलका नेताहरुमा त्यस्तो सचेत र अडान देखिएको छैन । उहाँहरुकै कारणले शासकको हात माथि गएको छ । मैले त्यो बेला समाजिक सञ्जालमार्फत भनेको थिए कि स्थानीय चुनावमा यदि भाग लिनुपर्यो राजपा नेपाल र फोरम नेपाल दुवैले लिनुपर्छ  । यदि लिइदैन भने दुईटै दलले लिनु हुँदैन भनेको थिए तर उहाँहरु विभाजित हुनुभयो । उहाँहरु सिहदरवारको दवाव र मोहमा फँस्नुभयो । अब सविधानसभा धेरै टाढाको कुरा भइसक्यो । सिहदरवारको शासकले नचाहेसम्म सविधानसभा संशोधन हुँदैन । मधेश दलले आफ्नो अडानमा अडिग रहन सकेन । कुनै बेला एउटा कुरा बोल्ने फेरि कुनै बेला अर्को कुरा बोल्ने । आन्दोलनको बेला पनि उहाँहरुको बीचमा एक रुपता देखिएको थिएन । सरकारसँग कुरा गर्दा पनि उहाँहरुको धारणा आइरहेको थियो । अर्थात सिमित दायरामा रहेर उहाँहरुले काम गरिरहनु भएको छ ।

दुई नम्बर प्रदेश जानकी मन्दीरको भेटीले चल्दैन भने तपाईको विचारमा त्यहाँको रिसोर्स के के हुनसक्छ ? 
–यसरी विचार गर्ने हो भने सबै प्रदेशभन्दा सम्पन्न दुई नम्बर प्रदेश नै हो । दुई नम्बर प्रदेशको जुन सरचना छ । त्यहाँ मधेशीले आफ्नो सरकार बनाउन सफल भयो । आफ्नो बहुमत ल्याए तर त्यसले मात्र हुँदैन । अब त्यहाँ आन्दोलन होइन, सृजनात्मक कार्य गर्नुपर्छ । मधेशमा रिसोर्स छैन भने होइन । यदि गर्न सक्यो भने लहानको सगरमाथा आँखा अस्पतालले नै धेरै कुरा गर्न सक्छ । त्यो अस्पतालमा भारतका युपी र विहारसम्मका विरामी आउँछन् । उनीहरु नेपाल छिर्ने बित्तिकै सबै यतैको साधन स्रोत प्रयोग गर्छन् । गाडी चढ्नु देखि लिएर खानपान बसाईसम्म यतैको प्रयोग गर्छन् । त्यसले मात्र कति आय आर्जन गर्न सकिन्छ हिसाब गर्नुस् तर त्यसलाई पनि व्यवस्थित ढंगले चलाउन नसकेको कारण अवस्था खराब हुँदै गइरहेको छ । विराटनगरमा पनि यसको शाखा खुलेको छ त्यहाँ बंगालसम्मको विरामी आएको मैले पाए । त्यस्तै सलहेस फुलवारीलाई हेर्नुस् । पर्यटकीय रुपमा विकास गर्यो भने त्यसले पनि आम्दानी दिन्छन् । मधेशमा यस्ता धेरै ठाउँ छन् जसले मधेशलाई समृद्ध बनाउन सक्छ । मधेशका जतिपनि लिंक रोडहरु छन्, सबैलाई भारतको बोर्डरसँग जोडि दियोस् । सडक राम्रो बनाई दियोस् । अनि हेर्नुस् कसरी विकास हुन्छ । पहिलो कुरा यी सबका लागि भिजन चाहिन्छ । साना साना कुरा गरे पनि मात्र विकास सम्भव छ । अहिले जाडोमा मान्छे मरिरहेका छन् । कस्ता मान्छे मरिरहेका छन् त्यो हेर्नुस् त । मर्नेहरु सबै गरिब हुन् । सप्तरीदेखि पर्सासम्मको अवस्था कर्णालीभन्दा पनि खतम भइसकेको छ । त्यसैले विकासका लागि भिजनको आवश्यकता छ ।

तपाईले अहिले जुन कुराहरु भन्नुभयो, मधेशी नेतासँगको भेटघाटमा यस्ता भिजनका कुराहरु सुनाउनु हुन्न ?
–मैले एकवर्ष अगाडि एकजना मधेशी दलका अध्यक्षसँग भेटेका थिए र उहाँलाई भने कि नेताजी संघर्ष र बलिदानी सकेपछि ‘इकोनोमी रोडम्याप’ बनाउनुपर्छ । अनि उहाँले भन्नुभयो, होइन होइन, अहिले विकासभन्दा पनि अधिकारको कुरा मुख्य हो ।’ यो कुरा सबै नेतालाई भनेको छु । नाम त उहाँहरुको नलिउँ तर ती नेताहरुको भिजन सुन्दा मलाई आश्चर्य लाग्छ । उहाँहरुलाई यी विकासका भिजनहरु सुन्ने फुर्सद पनि छैन । भारतका एकजना व्यक्तित्व जो सहिद हुनुभएको छ । उहाँ फाँसी चढ्ने बेला भन्नुभएको थियो कि हामी १६ आनाका लागि लडाई लड्दैछौ र त्यसमा एक आना पायौं भने त्यो एक आना पोकेटमा राखेर १५ आनाका लागि संघर्ष गर्नुपर्छ । तर, मधेशवादी दलमा मैले त्यस्तो पाइनन् ।
उहाँहरुले अर्को टिप्न खोज्दा पकेटमा भएको पनि झार्नुभयो । केका लागि संघर्ष गरिहेका छौ त्यही कुरामा पनि उहाँहरु स्पष्ट हुनुहुन्न । अहिले जाडोमा उहाँहरुले सरकारसँग कम्बल माग्नुभएको छ । कम्बल बाँड्नु अहिलेको लागि ठिक हो तर कम्बल बाँडेर गरिबी निवारण हुँदैन । कम्बल बाँड्नु भन्दा पहिले उनीहरुको गरिबी कसरी हटाउने त्यो सोच्नुपर्ने बेला हो । भारतमा इन्दिरा अवास योजना जस्तो यहाँ किन नसोच्ने । त्यो योजनाबाट त्यहाँ दुई रुपियँमा गेहुँ पाइरहेको छ, तीन रुपियाँमा अहिले पनि चामल पाइरहेको छ । त्यहाँ विकासका लागि लडाई भइरहेको छ यहाँ अर्कै अर्कै कुराका लागि लडाई भइरहेको छ ।

तपाई हामी जस्ताहरुले यसरी भन्दा मधेशवादी दलका नेताहरुले आलोचनाको रुपमा लिनुहुन्छ र भन्नुहुन्छ कि खाली हाम्रै विरोध गर्नुहुन्छ तपाईहरु आफै केही गर्नुहुन्न के भन्नुहुन्छ यसको बारेमा ?
–छसय वर्ष पहिला सन्त कवीले एउटा धेरै राम्रो कुरा भन्नु भएको छ, जसले तिम्रो निन्दा गर्छ, आलोचना गर्छ त्यसलाई आफ्नो नजिक राख ।’ यो सँस्कृतिको कमी छ हाम्रो नेतामा । आलोचनालाई उहाँहरुले निगेटिभ रुपमा मात्र लिनुहुन्छ । यदि सही बाटोमा हुनुहुन्छ भने आलोचना सुन्नुपर्छ । आलोचना किन गरेका छन् भने त्यो सुन्नुपर्छ र त्यसमा चिन्तन गरेर सुधार गर्नुपर्छ । न कि आलोचना गरेको छ भने त्यसमाथि प्रहार गराउने, गाली गर्न लगाउने, ब्ल्याक लिस्टमा राख्ने ? यी प्रवृति उहाँहरुले छाड्नुपर्छ ।

तपाई अघि भन्नुभएको थियो कि विभिन्न नेताहरुले आआफ्नो पार्टीमा आउन प्रस्ताव गर्नुभएको छ, यो कसले त्यसरी प्रस्ताव गर्नुभयो ?
–मधेशवादी दलका दुईटै धारका नेताहरुले मलाई पार्टीमा आउन आग्रह गर्नुभयो । राजेन्द्र महतोले त पार्टी एकीकरण गर्नुअघि पनि मलाई अब तपाई जागिरबाट अवकाश लिनुभयो, पार्टीमा आउनुस् भन्नुभयो । उपेन्द्र यादवले पनि मलाई पटक पटक भन्नु नै भन्नुभएको हो ।

अनि कहिले जानु हुन्छ पार्टीमा ?
–उहाँहरुलाई म शुभकामना दिन्छु । उहाँहरुले राम्रो काम गरुन्, मेरो शुभेच्छा रहन्छ तर अहिले कुनै पार्टीमा जाने सोच मैले बनाएको छैन । पार्टीको यस्तै भिजन रह्यो भने म सायद कहिल्यै यी पार्टीहरुमा जाँदिन होला । कम्बल बाँडेर गरिबी निवारण हुँदैन । अहिले पनि उहाँहरुले शितलहरका पिडितका लागि राहतका लागि सरकारको ढोका ढकढकाइ रहनुभएको छ । मधेशी जनतालाई राहत दिलाएर कति दिनसम्म जिन्दा राख्ने हो, यो कुरा उहाँहरुले सोच्ने बेला आएको छ । अब चैत बैशाखमा हुरी बतास आउँछ, आगलागी हुन्छ अनि फेरि राहत नै माग्ने हो त यी सोच बदलेर मधेशको समृद्धिको खाका लिएर अगाडि बढ्नुपर्छ ।

अन्ततः तपाई अन्तिम लक्ष्य भनेको राजनीतिक नै हो ?
–राजनीतिकले कुनै न कुनै रुपमा समातेकै हुन्छ । राजनीतिकले छाड्दैन तर म राजनीतिक दलमै सहभागि हुने कुनै सोच बनाएको छैन । अर्कै ढंगबाट पनि समाजलाई सेवा गर्न सकिन्छ । त्यसखालको चिन्तनमा लागेको छु । हरौं के हुन्छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..