» » टुँडिखेलमा माघी महोत्सव शुरु

काठमााडौँ, पुस ३० गते । थारु समुदायको नयाँ वर्ष माघीको अवसरमा आजदेखि टुँडिखेलमा ‘माघी महोत्सव’ शुरु भएको छ ।

दुई दिनसम्म चल्ने महोत्सवको भोलि सोमबार अपराह्न १२ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिका सदस्य सीताराम चौधरीले बताउनुभयो ।

महोत्सवको पहिलो दिन थारु सांस्कृतिक कार्यक्रम र रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदानमा ६० जनाले रक्तदान गरेको उहाँले बताउनुभयो । महोत्सवमा ११० वटा स्टल राखिएका छन् ।

स्टलमा थारु हस्तकला, थारुका विभिन्न खानाका परिकार, थारु पत्रपत्रिका तथा पुस्तक, थारु समुदायको महिला र पुरुषले लगाउने विभिन्न पहिरनका सामग्री राखिएका छन् । यसैगरी, थारु परिकारमा ढिक्री, अनदीको भात, लाया, घोँघी, सुँगुरको मासु, माछा, सिपी, गँगटा, सिध्रा तथा जाँड राखिएको समितिका सदस्य चौधरीले बताउनुभयो ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सवमा करिब ५० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । यसैगरी महोत्सवमा आइतबार टँुडीखेलमा सुँगुर काटेर प्रसादको रुपमा वितरण गरिएको माघी मुल आयोजक समितिका सदस्य कानुनलाल चौधरीले बताउनुभयो ।

माघी पर्वमा थारु समुदायले पाप काम नगर्ने भन्दै पुसको अन्तिम दिन आज भने मासु खाने गर्दछन् । माघीको दिन भोलि थारु समुदायले बिहानै कुखुरा बासेपछि सामूहिक रुपमा जलाशयमा गएर स्नान गरी पुर्खाको आशीर्वाद थाप्ने गर्दछन् ।

कैलाली, दाङ, कञ्चनपुर, बाँके, बर्दियालगायत थारु बाहुल्य जिल्लामा माघी पर्व धुमधामसँग मनाउने गरिन्छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..