» » उपेन्द्र यादव यस कारण फर्किनु भयो जन्मस्थान

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव फरक जिल्लाबाट होइन, फरक प्रदेशबाट आएर दुई नम्बर प्रदेशको सप्तरी–२ बाट चुनाव लड्नु भएको हो । प्रदेश एक सुनसरीका स्थायी निवासी उपेन्द्र यादव सप्तरीबाट चुनाव लड्नु भएको कारण विपक्षिलाई मसला बनेको छ । संविधानसभाका दुइटै निर्वाचन उपेन्द्र यादव मोरगं र सुनसरीबाट चुनाव लड्नु भएको थियो । पहिलो सविधानसभा चुनावमा मोरगं र सुनसरी गरि दुई ठाउँबाट चुनाव जित्नु भएको थियो । पछि उहाँले मोरगं छाडनु भएको थियो । दोस्रो सविधानसभा चुनावमा पनि उहाँ मोरगं र सुनसरीबाट चुनाव लड्नु भएको थियो तर सुनसरीबाट मात्र जित्नुभयो ।


सप्तरी आउनुको एउटै कारण हो, संगठन । नेताका लागि चुनाव जसरी पनि जित्नुपर्छ भन्ने हुन्छ त्यसका लागि उसले क्षेत्र र आफ्नो पराया हेर्दैनन् । जहाँबाट जित्ने कुरा हुन्छ, त्यहाँबाट चुनाव लड्छन् । फोरम नेपालको सुनसरी र मोरगंभन्दा सप्तरीमा संगठन राम्रो रहेको छ । त्यही भएर उहाँ सप्तरीबाट चुनाव लड्नु भएको हो । उहाँ जतिको हेवीवेटको नेता त्यो क्षेत्रमा नभएपनि अरु जिल्लाबाट आएको कारण अन्य नेताहरुलाई मसाला बनेको छ । उहाँको प्रतिस्पर्धामा राजपा नेपालकै जेपी ठाकुर र माओवादी केन्द्रका उमेश यादव रहेका छन् ।


यद्यपी राष्ट्रिय व्यक्तित्व धनी उपेन्द्र यादवले चुनाव जित्ने पक्का पक्की जस्तै बनेको छ । तर यी तृपक्षिय भिडन्तले चुनावी माहोल थप रोमाञ्चक बनेको छ । जिल्लाका अन्य क्षेत्रमा भन्दा यसमा बढ्ता ‘चुनाव लागेको’ झल्को मिल्छ । यादवको राजनीति एकप्रकारको यात्रा हो । अध्यापनको ‘पार्टटाइम’ उपयोग गर्दै ‘मधेसी जनअधिकार फोरम’ नामक गैरसरकारी संस्था खोल्नु भएका उहाँले अन्ततः त्यसैलाई निर्वाचन आयोगमा दर्ता गरेर दलको स्वरूप दिनुभयो ।


 उहाँको राजनीतिक रेखा सेयरबजारजत्तिकै वक्र छ– कहिले उकालो, कहिले ओरालो । चुचुरामा टेकेर राजनीतिक पथमा लागेका उहाँ बीचमा एकपल्ट झन्डै ‘आधार शिविरमै’ आइपुग्नुभयो । स्थानीय तह चुनावको परिणामले क्रमशः तंग्रिएका छन् । राजनीतिको प्रस्थानबिन्दु एमालेलाई र ‘ट्रान्जिट’ माओवादीलाई बनाएका यादव बौद्धिक नेतामा गनिनु भएको छ । उहाँ विज्ञानमा स्नातकोत्तर, कानुनमा स्नातक हुनुहुन्छ ।



कांग्रेसका सकलदेव सुतिहारले उहाँलाई समर्थन गरिसक्नु भएको छ तर सो दलका स्थानीय कार्यकर्ताले अझै उपेन्द्र यादवलाई स्वीकार गरेको छैन । केन्द्रले निर्देशन दिएको छ, मैले उम्मेदवारी फिर्ता लिए तर यहाँका स्थानीय नेता कार्यकर्ता मान्न तयार छेन, सुतियारले भन्नुभयो, केन्द्रको निर्देशन हामी मान्छौ तर तल्लो तहका कार्यकर्तालाइ मनाउन गाह्रो छ ।’ वाम गठबन्धनबाट माओवादी उम्मेदवार बनेका पूर्वमन्त्री उमेशकुमार यादवले आफू यस क्षेत्रका जनताको वास्तविक सेवक भएको दावी गर्नुहुन्छ । उहाँ मन्त्री भएको बेला सप्तरीमा सबभन्दा बढी बजेट हालेको चर्चा सप्तरीमा सुन्न सकिन्छ । उहाँ मन्त्री नहुँदा पनि सप्तरीमा केही नकेही गरेर चर्चामा रहि रहने नेतामा पर्नुहुन्छ ।



निवर्तमान सांसद एवं पूर्वमन्त्री उमेश यादव भन्नुहुन्छ, ‘सप्तरीका जनताले जिल्लाका आप्रवासी र ज्वाइँहरूलाई होइन, आफ्नो माटोपानीमा रहेर सहज पहुँचमा भएको मलाई जिताउनेछन् ।’ आफू चुनाव जित्नेमा विश्वस्त रहेको दाबी गर्दै उहाँले हार्ने डर भएकाहरू आफ्नो क्षेत्र छाडेर यता आएका छन्, जनताले यो कुरा राम्रोसँग बुझेको उहाँले बताउनुभयो । 



संघीय फोरम र राजपाले चुनावी गठबन्धन गरे पनि अध्यक्ष यादवकै विरुद्ध राजपाका पूर्वसहमहामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवारी दिनुभएको छ । उहाँले आफ्नो उम्मेदवारी नेताहरूको व्यक्तिवादी चरित्रविरुद्ध र कार्यकर्ताको सम्मानका लागि भएको बताउनुभयो । ‘वर्षभरि आन्दोलन गरेर संगठन गरी बाली लगाउने हामी, सप्रेको बाली भित्र्याउन अर्कै आउने, यहाँको जनताले यो कदापी स्वीकार गर्दैनन् ।’ ठाकुरले सप्तरी २ को बाढीको समस्यादेखि शिक्षा, स्वास्थ्य, बाटोघाटो, आर्थिक विपन्नता र बेरोजगारीको अवस्थालाई आफूले नजिकबाट हेरेकाले समाधान पनि दिन सक्ने दाबी गर्नुभयो । ‘सप्तरीमा मधेस आन्दोलनका क्रममा जनता गोली खाएर मारिइरहँदा, बाढीले गाउँबस्ती डुबेर जनताको बेहाल हुदा कहाँ थिए उपेन्द्र ?’ उहाँले प्रश्न गर्नुभयो ।


उपेन्द्र यादव सप्तरी आएर चुनाव लड्नुको कारणमा भेदभाव विरुद्धको लडाइँ भएको बताउनुभयो । आफू जन्मेको ठाउँमा राज्यले निकै विभेद गरेको छ त्यसलाई हटाउनका लागि आफू यहाँबाट चुनाव लडेको बताउँदै उहाँले सुगम र उर्वर भूमि हुँदाहुँदै यसलाई राज्यले पछि पारेको आरोप लगाउनुभयो ।  उहाँले भन्नुभयो, ‘सप्तरीको मानव विकास सूचकांक कर्णालीकै हाराहारी छ । त्यसलाई प्रस्ट दृष्टिकोणसहित अघि लैजान मेरो पहल हुनेछ ।’ उहाँले हुलाकी राजमार्गको उदाहरण दिँदै भन्नुभयो, ‘जंगलबाट महेन्द्र राजमार्ग बनाइयो, मानव बस्तीको हुलाकी राजमार्गलाई पन्छाइयो । मधेसप्रति राज्यको भेदभाव हट्नुपर्छ ।’ 


पटक–पटकको फुटबाट चोइटो रहेको उहाँको दलले एकताका नाममा फोरम मात्र पाएको छ । मधेश आन्दोलनबाट स्थापित फोरम नेपालबाट मधेश शब्दालाई पनि उहाँले हटाउनु भएको छ । सप्तरी महदेवाको मझौरामा जन्मिएर मधुवन सर्नुभएका यादवको प्रारम्भिक शिक्षा त्यहीं भए पनि मावि पढ्न पुनः सप्तरी आउनु भएको थियो । २०४८ मा एमालेबाट सुनसरी ४ बाट प्रतिनिधिसभामा उठ्नु भएका उहाँ २०५३ सम्म एमालेमै रहनु भयो । २०५४ मा मधेसी जनअधिकार फोरम नामक गैसस स्थापना गर्नुभयो । उक्त संस्थालाई सबैले माओवादीको भ्रातृ संगठनका रूपमा हेर्थे ।


किनकि, अध्यक्ष यादव त्यति बेला माओवादीको वैकल्पिक केन्द्रीय सदस्य भइसक्नुभएको थियो । स्थापनाकालमा तत्कालीन जनमोर्चाका नेता रामरिझन यादव, रामकुमार शर्मालगायत फोरममा हुनुहुन्थ्यो । अर्धभूमिगत अवस्थामा पटनामा बस्दै आएका बेला उपेन्द्र माओवादी नेताहरू मातृका यादव र सुरेश आलेमगरसँगै पक्राउ पर्नुभएको थियो । उहाँलाई गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले जोगाएको जानकारहरु बताउँछन् ।


२०६३ माघ २ मा मधेसमा सुरु भएको आन्दोलनका क्रममा लहानमा माओवादी कार्यकर्ताले चलाएको गोली लागी रमेश महतोको मृत्यु भएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासित २०६४ फागुन १६ गते फोरम नेतृत्वका आन्दोलनकारीसँग ८ बुँदे सम्झौता भयो । त्यही सम्झौताका कारण अन्तरिम संविधानमा ‘संघीयता’ शब्दले प्रवेश पायो । लगत्तै २०६४ को संविधानसभा निर्वाचनभन्दा केहीअघि ‘मधेसी जनअधिकार फोरम नेपाल’ निर्वाचन आयोगमा दलका रूपमा दर्ता भयो ।

मधेस आन्दोलनको बलमा उचाइमा पुगेका उपेन्द्रलाई साथ दिँदै जेपी गुप्ता, विजयकुमार गच्छदार, शरदसिंह भण्डारीसम्म फोरममा आउनुभयो । फलस्वरूप पहिलो संविधानसभा निर्वाचनमा उक्त पार्टीले प्रत्यक्षतर्फ ३० र समानुपातिकमा २२ गरी ५२ सभासद ल्याएको थियो । यादव सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री हुनुभएको थियो । उहाँको दल भने बिस्तारै टुक्रा–टुक्रा भयो । गुप्ता, गच्छदारलगायतले पार्टी छाडदै गए । संविधानसभाको दोस्रो चुनावमा उनको दलले प्रत्यक्षतर्फ २ र समानुपातिकमा ८ गरी १० सभासदमा खुम्चिनु पर्यो र अहिले उहाँ सप्तरी आउनुभयो ।
सप्तरी २ मा ७९ हजार २ सय ६३ मतदाता छन् ।

तीमध्ये करिब १३ हजार यादव समुदायका छन् । वाम गठबन्धनका उमेश यादव पनि यहींबाटै उम्मेदवार छन् । त्यही कारण यादव समुदायको मत बाँडिन सक्छ । तत्कालीन क्षेत्र ३ र २ का केही भाग समेटेर हालको क्षेत्र २ बनाइएको छ । दोस्रो संविधानसभा निर्वाचनमा २ बाट माओवादीका अशोककुमार मण्डल र ३ बाट माओवादीकै उमेशकुमार यादव विजय हुनुभएको थियो । यो क्षेत्रमा राजविराज नगरपालिका, छिन्नमस्ता, तिलाठी कोइलाडी र महादेवा गाउँपालिका छन् ।

स्थानीय तहको निर्वाचनमा राजविराजमा राजपा, महदेवामा फोरम, तिलाठी कोइलाडीमा राजपा र छिन्नमस्तामा नयाँशक्तिले जितेका थिए । राजपा र फोरम तालमेल भएकाले स्थानीय तहका आधारमा हेर्दा यादवको पल्लाभारी देखिन्छ । तर, उमेश यादव र जेपी ठाकुर चुनौतिको रुपमा अगाडि आएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..