» » चुनावमा सुरक्षा चुनौति (सम्पादकीय)

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सुरक्षा चुनौति बढेको छ । माओवादी केन्द्रका नेता जनार्दशन शर्मा गृहमन्त्रीबाट विना विभागीय मन्त्री बनेपछि सुरक्षा अवस्था खलबलिएको हो । पहिलो प्रहार उहाँबाट नै शुरु भएको छ । कात्तिक २४ गते रुकुममा आफ्नो चुनावी कार्यक्रममा रहेको बेला अज्ञात समूहले बम प्रहार गरेको थियो ।

ठिक त्यसको भोलीपल्ट रोल्पामा माओवादी केन्द्रकै नेता वर्षमान पुन अनन्तले चढेको गाडीमाथि बम प्रहार भएको थियो । त्यो दिनदेखि लगातार बम पड्काउने काम भइरह्यो यहाँसम्म कि कात्तिक ३० गते माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको गाडीमाथि आक्रमण भएको थियो ।

यसरी शृङ्खलाबद्ध तरिकाले बम प्रहार गर्नु, गाडी तोडफोड गर्नु, उम्मेदवारको हत्या नै गर्नु खोज्नु जस्ता अराजक कार्यले देशको सुरक्षा व्यवस्था नियन्त्रण भन्दा बाहिर रहेको प्रष्ट हुन्छ । यस्तो घटनाले अगामी निर्वाचन कसर भयरहित वतावरणमा हुने कुरा सोच्न बाध्य बनाएको छ । यस अवस्थामा प्रधानमन्त्री स्वयंले गृहमन्त्रालय सम्हाल्नु हुँदैन्थ्यो । एउटा समान्य अवस्थामा जतिवटा मन्त्रालय सम्हाले केही फरक पर्दैनन् तर यो चुनावको समयमा प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले गृहमन्त्रालयको पनि जिम्मेवारी लिनु गलत हो ।

आफ्नै पार्टी वा कुनै अरु पार्टीका नेता जोमाथि प्रधानमन्त्रीलाई विश्वास छ त्यस्ता नेतालाई गृहमन्त्रालयको जिम्मेवारी दिनुपथ्र्यो तर पार्टीभित्र विवाद होला अथवा अरुलाई दियो भने के हुन्छ भनि सोचेर बसि राख्यो भने देश बर्बाद हुन्छ ।

यस्तो यो संवेदनशिल अवस्थामा गृहमन्त्रालय २४ घण्टा एलर्ट रहनुपर्ने, चाहिएको बेलामा गृहमन्त्रीले कुनै निर्देशन दिनुपर्ने, तत्कालै कुनै निर्णय लिनुपर्ने जस्तो केही कागजपत्र बनाउनुपर्ने जस्ता काम आइलाग्यो भने प्रधानमन्त्रीले चाहेको बेला गर्न सक्दैन । किनभने प्रधानमन्त्री एक आफैमा व्यस्त रहने पद हो त्यसमा पनि गृहमन्त्रालय आफूसँग राख्नुले झन व्यस्त बनाइ दिएको छ ।

निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले सुरक्षा योजना तयार पारी निर्वाचन आयोगलाई बुझाइसकेको छ । गृह मन्त्रालयले तयार पारेको सुरक्षा योजनामा निर्वाचन आयोग पनि सन्तुष्ट देखिएको छ । केही सुरक्षा योजना परिवर्तन गर्नुपर्ने देखिए पनि समष्टिमा गृहको सुरक्षा योजना प्रभावकारी नै लागेको आयुक्त सुधिरकुमार शाहले बताउनु भएको छ । यस पटकको निर्वाचनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका नाममा प्रमुख दलहरु ध्रुवीकृत भएर चुनाव लड्दै छन् ।

स्थानीय तहको निर्वाचन दलहरु एक्लै एक्लै लडेका थिए । १० गते हुने निर्वाचनभन्दा २१ गतेको दोस्रो चरणको निर्वाचनमा केही बढी चुनौति हुने आकलन छ । २१ गते धेरै जिल्लामा निर्वाचन हुने र भारतीय खुल्ला सिमाना र तराईमा भएका भूमिगत समूहको कारण बढी चुनौति देखिएको हो । चुनावको मुखमा बम विष्फोटका घटना निरन्तर दोहोरिएपनि सरकार तथा त्यसका सुरक्षा अंगले ध्यान नदिएको गुनासोहरु आइरहेका छन् ।

पछिल्लो अनुसन्धानबाट काठमाडौंमा विप्लव समूह पनि चुनावी सुरक्षाको चुनौतीका रुपमा रहेको खुलेको छ । त्यस्तै साना हातहतियार तथा विष्फोटक पदार्थको समेत चुनौती काठमाडौंमा रहेको सुरक्षा अधिकारीहरुको भनाइ छ । यस्तै सिन्धुपाल्चोक, काभ्रे र दोलखामा बाह्य र आन्तरिक गुण्डाका कारण सुरक्षा चुनौती रहेको छ । रसुवामा जँड्याहरुबाट सुरक्षा चुनौति रहेको सुरक्षा निकायको निष्कर्ष छ । धादिङका केही मतदानस्थल खुला ठाउँमा भएकाले मतदानस्थल र मतपेटिकाको संकलनमा चुनौती रहेको गोष्ठीमा सहभागी सुरक्षा अधिकारीहरुले रिपोटिङ गरेका छन् ।

सिन्धुपाल्चोक, दोलखा, धादिङ र रसुवामा मंसिर १० गते मतदान हुँदैछ । दोस्रो चरणअन्तर्गत मंसिर २१ गते चुनाव हुने सिन्धुली, चितवन, मकवानपुर, ललितपुर र भक्तपुरमा विप्लव समूह नै प्रमुख चुनौतीका रुपमा सुरक्षा अधिकारीहरुको आँकलन रहेको छ ।

गृहले सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै सामान्य, संवेदनशील र अति संवेदनशील छुट्याइएको छ । सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै निर्वाचनको लागि खटिने म्यादी प्रहरीको संख्या पनि थप गरिएको छ । स्थानीय तहमा ७५ हजार म्यादी प्रहरी भर्ना गरिएकोमा यो पटक ९८ हजार र्पुयाइएको छ भने ४० हजार सशस्त्र प्रहरी र ७२ हजार नेपाल प्रहरी रहने जनाइएको छ । मतदान क्षेत्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी खटाउने तयारी भइरहेको छ । त्यस्तै दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिममा नेपाली सेना रहने छन् । चुनावको दिनका लागि यतिको सुरक्षाको व्यवस्था गरेपनि त्यस अगावै सुरक्षामा चुनौति खाडा भएको छ । अहिले नै मतदाता तथा उम्मेदवारलाई प्रभावमा पार्न सकियो भने चुनाव प्रभावित गर्न सकिने योजना ती उत्शृखिलत समूहको रहेको छ । यो कुरा समयमा बुझेर राज्यले कडा कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..