» » मधेशमा मधेशी नेताको यस्तो छ चुनावी एजण्डा

अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि देश पूर्ण तयार भइसकेको छ । नेताहरु आफ्नो एजेण्डा लिएर जनताको घरदैलोमा पुग्न थालेका छन् । जनतालाई आआफ्नो प्रतिवद्धता सुनाएर मत तान्ने प्रयास गरिरहेका छन् । विभिन्न सपनाहरु देखाएर जनतालाई आफूतिर आकर्षित गर्ने प्रयास गरिरहेका छन् । मधेश गठबन्धन बनाएर चुनावमा होमिएका मधेशी नेताहरु पनि चुनावी मैदानमा छन् । यसपटक सबै नेताहरु प्रत्यक्षमा चुनाव लडेका छन् । शीर्ष नेताहरु सबै प्रत्यक्षमा प्रतिनिधिसभाको चुनाव लडिरहेका छन् । त्यो पनि सबैजना प्रदेश नम्बर दुईमै । एक नम्बर प्रदेशका उपेन्द्र यादव पनि प्रदेश दुईकै सप्तरीबाट चुनाव लड्नु भएको छ । त्यस्तै राजपा नेपालका अन्य नेताहरु पनि दुई नम्बरमा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । विजयकुमार गच्छदार आफ्नै प्रदेशमा हुनुहुन्छ भने मातृका यादव पनि दुई नम्बरमा लड्दै हुनुहुन्छ । मधेशका यी शीर्ष नेताहरु चुनावी मैदानमा छन् के छन् उनीहरुको चुनावी एजेण्डा । प्रस्तुत छ उहाँहरुकै शब्दमा चुनावी एजेण्डाः
 


सविधान संशोधन नभए पुनर्लेखन गर्नुपर्छउपेन्द्र यादव, फोरम नेपाल
सप्तरी–२ प्रतिनिधिसभा उम्मेदवार

मधेशी जनता अधिकार सम्पन्न नभएसम्म यो देशको विकास सम्भव छैन । मधेशलाई पछाडि राखेर यो देशमा विकास गर्छु देशलाई समृद्ध बनाउँछु भनि नसोचे हुन्छ । मेरो आजको होइन, धेरै पहिलादेखिको सपना थियो कि मधेशलाई कसरी समृद्ध र अधिकार सम्पन्न बनाउने र त्यो समय आइसकेको छ । त्यत्रो लडाइ लडेर संघीय र गणतन्त्र ल्याए अब त्यसलाई व्यवस्थित बनाउने काम बाँकी छ । गणतन्त्र नेपालको पहिलो संसद र प्रदेशसभाले त्यो काम गर्नेछ तर त्यसका लागि त्यहाँ आदिवासी जनजाति, मधेशी, दलितहरुको उपस्थिति हुनु आवश्यक छ । त्यसको लागि पहिलो चरणमा सविधान संशोधन हुनु आवश्यक छ । सविधान संशोधन भए मात्र देश अगाडि बढ्छ, सबैको हकमा काम हुन्छ । हामीले हाम्रो घोषणापत्रमा पनि सविधान संशोधनको विषयलाई प्राथमिकताका साथ उठाएका हौं । सविधान संशोधन हुनुपर्छ, यदि सविधान संशोधन भएन भने पुनर्लेखन गर्नुपर्छ र त्यसका लागि आन्दोलन अगाडि बढ्छ । मधेशको समृद्धि सविधान संशोधन भए मात्र सम्भव छ । सविधान संशोधनका लागि तीन ठूलालाई मतदान गरेर हुँदैन, मधेशको पक्षमा वकालत गर्ने, आदिवासी जनजातिको पक्षमा वकालत गर्ने दलहरुलाई मतदान गरे मात्र सम्भव छ ।

 

मधेश सरकार मधेशी दलको नेतृत्वमाराजेन्द्र महतो, राजपा नेपाल
धनुषा–३, प्रतिनिधिसभा उम्मेदवार

वर्षौदेखि उत्पीडन तथा विभेदमा रहेका मधेशी, आदिवासी जनजाति, दलित, महिला, पिछडिएकालाई मुक्ति दिलाउनुका लागि आफ्नो उम्मेदवारी परेको हो । मधेशीमाथि विभेद गरेको विरुद्धमा लड्नका लागि आफ्नो उम्मेदवारी परेको हो । सवैधानिक रुपमा जबसम्म मधेश अधिकार सम्पन्न हुँदैन तबसम्म देशको उन्नति सम्भव छैन । त्यसका लागि मधेशवादी दललाई बहुमत दिएर प्रतिनिधिसभामा पठाउन आवश्यक छ । सडकका लडाई त हामीले जितिसकेका छौ तर अब नीतिगत र कानुन लडाई लड्न बाँकी छ । मधेशी जनताले आफ्नो योगदान दिएर सडक कब्जामा त लियो तर काठमाडौको सिंहदरवारमा बसेर शासन गर्ने शासकहरुले मधेशी जनताको अधिकार दिन चाहेनन् । जबसम्म मधेशीहरु बहुमत पुर्याएर सिहदरवार पुग्दैन तबसम्म नमधेशको अधिकार प्राप्त हुन्छ न देश समृद्ध हुन्छ । सविधान संशोधन नै मुख्य एजेण्डा रहेको छ । सविधान सशोधनका लागि मधेशी जनता आतुर छन् । मधेशी जनता पनि सविधान संशोधनका लागि मधेशवादी दललाई पठाउनेछ भनि आफूहरुलाई पूर्ण विश्वास छ । मधेश सरकार मधेशी दलकै नेतृत्वमा बने मात्र मधेशको विकास हुन्छ । मधेश सरकार निर्माणका लागि पनि मधेशी दल जित्नु आवश्यक छ ।

 

समृद्ध र विकसित मधेश बनाउन सविधान संशोधनशरतसिंह भण्डारी, राजपा नेपाल
महोत्तरी–२, प्रतिनिधिसभा उम्मेदवार

समृद्ध र विकसित मधेश निर्माणका लागि आफ्नो उम्मेदवारी परेको हो । यो चुनाव मधेशी जनताको भविष्यसँग जोडिएको हो । यो चुनावमा मधेशी जनता पनि निकै गम्भिर देखिएको छ । १० वर्षदेखि लगातार आन्दोलन गर्दै आएका मधेशी जनता अब यो चुनावबाट आफ्नो अधिकार लिन खोजेको देखिन्छ । तीन दलले षड्यन्त्र गरेर सविधान संशोधन हुन नदिएको कुरा पनि मधेशी जनताले बुझिसकेका छन् र सविधान संशोधनको विषयलाई मुख्य एजण्डा बनाएर चुनावमा हामी गएका हौं । जबसम्म सविधान संशोधन हुँदैन तबसम्म मधेशलाई समृद्ध बनाउन सकिदैन । सबैको खालको विभेद अन्त्यका लागि सविधान संशोधन आवश्यक छ । मधेशमा वेरोजगारी, शिक्षा, स्वास्थ्य, आधारभूत विकास, सडक, कृषि, सिँचाईलगायतका क्षेत्रमा समस्या देखिएको छ । यी कुराहरुमा विकास नभएसम्म मधेश समृद्ध बन्न सक्दैन । सरकारले विद्यालय खोलि दिएको छ तर त्यहाँ सञ्चालनका लागि ध्यान दिएको देखिदैन । स्वास्थ्य चौकी खोलि दिएका छन् तर साधनस्रोत र दरबन्दी पठाएको देखिदैन, यस्ता धेरै वेथितीहरु छन् जसलाई हटाउनका लागि मधेश सरकार नै चाहिन्छ । मधेश सरकार निर्माणका लागि मधेशवादी दलहरु प्रदेशसभामा जित्नुपर्छ । मधेश प्रदेशमा पनि काँग्रेस, एमाले र माओवादी केन्द्रले नै सरकार बनायो भने फेरि मधेशको अवस्था जस्ताको त्यस्तै रहन्छ । 

 


राजनीतिक स्थायित्वले मात्र देशमा विकास सम्भवमहन्थ ठाकुर, राजपा नेपाल
महोत्तरी–३, प्रतिनिधिसभा उम्मदवार

वर्षौदेखि मधेशमाथि राज्यले शोषण गर्दै आएको छ । मधेशीमाथि गोली चलाएर शासकहरुले सविधान जारी गरे, जुन अस्वीकार्य बनेको छ । सबसम्म सविधानले पूर्णता पाउँदैन तबसम्म हामीले सविधानलाई स्वीकार गर्दैनौ । सविधान स्वीकार्यताका लागि सविधान संशोधन हुनु जरुरी छ । सविधान जारी गर्नेहरुले नै सविधान त्रुटीपूर्ण भनेका छन्, यदि त्रुटी छ भने त्यसलाई किन संशोधन गर्दैनन् ? यो चुनावलाई सविधान संशोधनको मुख्य एजण्डा बनाएका छौ । मधेशमा रहेको विभेद कसरी अन्त्य गर्ने, विभेद अन्त्य गरेर सबल र सक्षम मधेश प्रदेश कसरी स्थापना गर्ने त्यसको बारेमा छलफल हुन आवश्यक छ । मधेशी जनताले मधेश सरकार नै चाहेका छन् । कुनै मधेशवादी दलले नै प्रदेशको नेतृत्व गरोस् भनि चाहेका छन् । जबसम्म देशले राजनीतिक रुपमा स्थायित्व पाउँदैन तबसम्म देशले विकास गर्दैन । ठूला दलका नेताहरुले आजसम्म जनतालाई ठगेको मात्र हो तर गर्ने केही पनि होइन । कहिले हुलाकी सडक बनाई दिने भनि सपना देखाउँछन् भने कहिले फास्टट्रयाक बनाइ दिने भन्छन् तर हालसम्म केही गर्न सकेको छैन । तीस वर्षदेखि सत्तामा छन् काँग्रेस र एमाले तर उनीहरुले आश्वासन बाँडेर भोट मात्र लिए तर त्यसको बदलामा मधेशलाई केही दिएको छैन ।



सबै खाले विभेदकारी कानुनको अन्त्य गर्दै कानुनी राज्य स्थापना गर्नेमहेन्द्रराय यादव, राजपा नेपाल
सर्लाही–२ प्रतिनिधिसभा उम्मेदवार

मधेश थरुहट तथा पहिचान र अधिकारका लागि भएका हरेक विद्रोह र आन्दोलनको क्रममा शहादत दिएका र घाइते भएका हरेक जीवित र मृत शहिदहरुको सपनालाई साकार पार्नका लागि मधेशी जनताले राजपा नेपाललाई मतदान गर्ने विश्वास लिएको छु । नेपालबाट सबै खाले विभेदको कानुनी अन्त्य गर्दै सबै नेपालीको परिचयलाई सम्मान गर्ने, सबैको अधिकार सुरक्षित गर्ने, प्रदेशको सिमांकन सच्याउने र राष्ट्र र निर्माणको गहन अभिभारामा सबैलाई समावेश गराउने गरी सविधानलाई पूर्णता प्रदान गर्नका लागि राजपा नेपाललाई रोज्नुको विकल्प छैन । देशमा जारी दशकौं लामो राजनीतिक अस्थिरता र अनिश्चितलाई सधैका लागि अन्त्य गर्दै मुलुकलार्य शान्ति, समृद्धि र सफलताको पथमा डोर्याउने समावेशी र सक्षम राज्य व्यवस्थाको जग बसाल्न राजपा नेपाल बहुमत ल्याएर संसदमा जानका लागि तयार भइरहेका छन् । सविधानमा केही संशोधन र कानुनमा कोही सुधार पश्चात नेपाली काँग्रेस र माओवादी केन्द्रले सविधानको पूर्णताका लागि निर्वाचनपछि बन्ने प्रतिनिधिसभामा दुई तिहाई मत पुर्र्याइ आवश्यक सबै संशोधनका लागि सघाउने प्रतिवद्धता व्यक्त गरेपछि राजपा नेपालले  प्रदेश २ मा गरिएको तेस्रो चरणको स्थानीय चुनावमा भाग लिएको थियो ।



ब्यालेटबाट सविधान संशोधनअनिलकुमार झा, राजपा नेपाल
रौतहट–१, प्रतिनिधिसभा सदस्य

सविधानको पूर्णता, समावेशीताको व्यवहारिकता सुनिश्चितता, नागरिकता र भाषिक अधिकारको प्राप्ति एवं समग्र मधेश र थारुहटको द्रुत विकासको चाहनासँग हामीले कुनै सम्झौता गरेका थिएनौ र छैनौ पनि । हाम्रो संघर्ष जारी छ । दोस्रो सविधानसभाको निर्वाचनपछि अनेकौ अवसर, प्रलोभन  र दवावका बाबजुद राजपा नेपाल स्वयम् वा यसको गठन हुनुभन्दा पहिले यसको कुनै पनि घटक दल सरकारमा गएको छैन । हाम्रो लागि सत्ताभन्दा मुद्दा ठूलो रहेका प्रमाण हो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि हाम्रो जारी संघर्षको एउटा महत्वपूर्ण कडी हो । पहिचान, सम्मान, स्थान र स्वाभिमान प्राप्तिको निर्वाचनरुपी लडाईमा राजपा नेपाललाई मतदान गर्ने जनताहरु आतुर देखिएको छ । सम्मान र पहिचानका लागि सदियौंदेखि लड्दै आएको मधेशी जनता यसपटकको चुनावबाट त्यो संघर्षलाई जित्ने विश्वास हामीलाई लागेको छ । संघीयता, समावेशिता र पहिचानसहितको सविधान निर्माणका लागि मधेशी जनताले सडकमा सघर्ष गर्दा गर्दै गोली खाए । तैपनि तीन ठूला दलले षड्यन्त्र गरि त्रुटीपूर्ण सविधान बनाए । त्यही त्रुटीपूर्ण सविधानलाई संशोधन गराउनका लागि ६० जनाभन्दा बढी मधेशीले सहादत दिए । तैपनि संशोधन भएन अब त्यही संशोधन ब्यालेटबाट गराउन लागेको हो ।  


मधेश सरकार निर्माण गर्नका लागि मधेशी गठबन्धनलाई मत
राजकिशोर यादव, राजपा नेपाल
सिरहा–४, प्रतिनिधिसभा उम्मेदवार

पहिचान, स्थान, अधिकार र स्वाभिमानको संघर्षलाई जारी राख्दै अब देशको चौतर्फि विकास द्रुत गतिमा हुनुपर्छ भन्ने कुरा गहिरो मनन राजपा नेपालले गरेको छ । सबै गाउँ, शहर र क्षेत्रको विकास हुनुपर्छ तर विशेष रुपमा राज्यले होच्याएको, अलपत्र पारेको र पूर्ण वेवास्ता गरेको मधेश र थरुहट क्षेत्रको विकास अबको सर्वाधिक प्राथपिमकतामा राख्दै मतदाता समक्ष प्रतिवद्धता व्यक्त गरेका छौ । मधेशी तथा उत्पीडित समुदायलाई राज्यले जसरी होच्याएका छन् । वैधानिकै रुपमा जसरी मधेशलाई अपमान गरेको छ त्यसको बदला निर्वाचनबाट लिनेछ । मधेशी जनताले आफ्नो मत सविधान संशोधनका लागि नै प्रदान गरिनेछ । सविधान संशोधन नभएसम्म मधेशीको अधिकार सुनिश्चित नहुने कुरा मधेशी जनताले राम्रोसँग बुझेका छन् । त्यसैले यसपटक हाम्रो मुख्य एजेण्डा नै सविधान संशोधन हो । बहुमतबाट सविधान संशोधन हुन्छ भन्ने कुरा मधेशका मतदाताले जाहेर गरिसकेका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र र एमालेले कसरी मधेशी आदिवासी, जनजाति, पिछडा वर्ग, मुसलमान, दलितलगायतका धोका दिएको छ त्यो कुरा मतदाताबाट लुकेको छैन । ठूला दलहरुले चुनावको समयमा कसरी भ्रमित पारेर मत लिन्थ्यो तर पछि विकास गर्दैन्थ्यो, अधिकार दिँदैन्थ्यो त्यो मधेशका जनता राम्रोसँग बुझिसकेको छ । मान्छेले एकपटक धोका खान्छन्, दोस्रोपटक धोका खान्छन्, तेस्रो पटक धोका खानसक्छ तर पटक पटक धोका खान सक्दैन । मधेश सरकार बनाउनका लागि, सविधान संशोधन गर्नका लागि मधेशी गठबन्धनलाई मत आउने विश्वास छ मलाई ।


वामगठबन्धनको पहिलो प्राथमिकता सविधान संशोधन
मातृका यादव, माओवादी केन्द्र
धनुषा–१, प्रतिनिधिसभा उम्मेदवार
समग्र मधेशको विकासका लागि यसपटक वामगठबन्धनलाई मत आउने विश्वास लिएको छु । जबसम्म देशमा स्थायित्व हुँदैन तबसम्म विकास हुँदैन । र, स्थायित्वका लागि स्थिर सरकार चाहिन्छ र स्थिर सरकार वामगठबन्धनले मात्र बनाउँन सक्छ । आजसम्म कुनै पनि सरकारले आफ्नो कार्यकाल पुरा गरेको छैन । सरकार फेरबदलमै देश वर्वाद भएको छ । नेताहरुलाई मन्त्री बन्नु र त्यसलाई जोगाउनुसम्म मात्र मतलब हुन्छ । मन्त्री बनिसकेपछि काम गर्ने मौका नै पाउँदैनन् । मन्त्री बनेपछि कतिदिन बस्ने हो ग्यारेण्टी नभएको कारण जति दिन बस्छु, त्यति दिनमा केही नकेही कमाई हाल्छु भनि सोचेर नै मन्त्रालयमा बसेका हुन्छ । यदि सरकार यति वर्षसम्म रहने निश्चित भएपछि, स्थायीत्व पाएपछि काम गर्न सजिलो हुन्छ । योजनाहरु समयमा पुरा हुन्छ । जनतासँग गरेका वाचाहरु पनि पुरा हुन्छ र यी सबै काम वामगठबन्धनले नै गर्न सक्छ । मधेश मुक्तिको सवाल सबभन्दा पहिले माओवादीले नै उठाएको हो । माओवादी केन्द्रले मधेश मुक्तिको कुरा गर्दा अहिलेका यी मधेशवादी दल भनाउँदाहरुको अतोपत्तो थिएन । जब मधेशी जनता आफ्नो अधिकार आफै लिनका लागि तयार भए अनि त्यसमा अरु मधेशी नामधारीका दलहरु हामफाले । सविधान संशोधनका लागि मधेशवादी दलले यत्रो आन्दोलन गर्यो तर केही भएन अन्त्यमा त माओवादी केन्द्रले ने संशोधन प्रस्ताव संसदमा लग्यो तर काँग्रेस नेतृत्वको सरकारले त्यसलाई पास गराउन सकेन । अब बन्ने वामगठबन्धन सरकारले सविधान संशोधनलाई पहिलो प्राथमिकतामा राख्नेछ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..