» » चुनावको मुख्य एजेण्डा नै सविधान संशोधन हो (अन्तरवार्ता)


–योगेन्द्रराय यादव
केन्द्रीय सदस्य, संघीय समाजवादी फोरम नेपाल


रौतहट क्षेत्र नम्बर १ को (ख) का लागि प्रदेशसभा चुनावमा होमिनु भएका योगेन्द्र राय यादव एक होनहार र सम्भावना भएका युवा नेतामा गिनिनु भएको छ । मधेश राजनीतिकको लामो अनुभव बटुल्नुभएका योगेन्द्र राय यादवले पहिलो मधेश आन्दोलनकै समय आफ्नो जागिरबाट राजिनामा दिनुभएको थियो । जागिर छाडेर मधेश आन्दोलनमा लाग्नुभएका योगेन्द्र यादव हालसम्म लगातार अनवरत ढंगबाट आन्दोलनमा सक्रिय रहनुभएको छ । संघीय समाजवादी फोरम नेपालमा लामो समयसम्म कार्य गर्नुभएका उहाँ उपेन्द्र यादव मन्त्री भएको बेला स्वकीय सचिवमा पनि काम गर्नुभएको हो । देशी तथा विदेशी राजनीतिक तथा कुटनीतिकको जानकार युवा नेता मंसिर २१ गते हुने चुनावलाई कसरी लिनुभएको छ । चुनावका लागि के के भइरहेको छ, कस्तो आँकलन लगायतका विषयमा सहारा टाइम्सले गरेको कुराकानीको मुख्य अंशः

प्रदेशसभाका लागि तपाईले उम्मेदवारी दिनुभएको छ, कस्तो भइरहेको छ चुनावी चहल पहल ?–अहिले त भर्खर सुरुवात भएको हो । भन्नुपर्दा शुरुवात राम्रै भएको छ । विस्तारै चुनावी रौनक लिँदैछ । विस्तारै विस्तारै नेताहरु गाउँ पस्न शुरु गरेका छन् । झण्डा, ब्यानर झुण्ड्याउने कामहरु भइरहेका छन् । प्रचार समाग्रीको जोहो गर्ने काम पनि भइरहेको छ । मंसिर १० गते हुने पहिलो चरण चुनावको समय १०–११ दिन मात्र बाँकी छ । उतातिर अब अन्तिम अन्तिम अवस्था होला । दोस्रो चरणमा हुने हाम्रोतिरको चुनाव भर्खर शुरुवात भएको छ ।

यस खालको चुनावमा भाग लिने तपाईको यो दोस्रो अनुभव हो, दोस्रो सविधानसभा चुनावमा पनि तपाई भाग लिनुभएको थियो तर जित्नसक्नु भएन अहिले फेरि प्रदेशसभाका लागि उम्मेदवारी दिनुभएको छ, के महसुस गरिरहनु भएको छ ?–दुईटै चुनावको अलग अलग अवधारणा थियो । अलग अलग उद्देश्य थियो । सविधानसभा चुनावको मुख्य एजेण्डा नै सविधान निर्माण गर्नुथियो । सविधान निर्माण गर्नुबाहेक अरु कुनै एजेण्डा नै थिएन । सविधानलाई कसरी अग्रगामी र समावेशी बनाउने सबैको लक्ष्य त्यही थियो तर अहिले त्यो भन्दा विल्कुल फरक छ । त्यही सविधानसभाबाट निर्माण भएको सविधानलाई कसरी कार्यान्वयन गराउने, जनतालाई संघीय लोकतान्त्रिक, गणतान्त्रिक समाजको कसरी अनुभूति गराउने त्यसका लागि चुनाव भइरहेका छ । यसमा विभिन्न एजेण्डा हुन्छ । सबै दलले आआफ्नो घोषणपत्र तथा प्रतिवद्धतापत्र सहित जनताको घरदैलोमा गइरहेका छन् । विभिन्न विकासका एजण्डाहरु, सविधान संशोधनका एजेण्डाहरु,  नयाँ तथा समृद्ध नेपाल कसरी बनाउने एजेण्डाहरुको साथमा नेताहरु जनताको माझमा गएका छन् । नयाँ नेपाल कसरी बनाउने त्यसको खाका नै कतिपयले प्रस्तुत गरिरहेका छन् । कतिवर्षमा देशलाई विकसित देश बनाई छाड्ने लगायतका कुराहरुका साथ नेताहरु चुनावी मैदानमा होमिएका छन् । त्यसैले म सविधानसभा चुनावमा भाग लिएको र अहिलेको चुनावमा भाग लिएको विषयमा विल्कुल फरक पाएको छु । त्यसबेला एउटै नारा लगाउँदै जनताको लागि समानुपातिक समावेशी सिद्धान्तको सबैको हकहितका लागि सविधान बनाउने तर अब त्यस्तो छैन जनतालाई हरेक कोणबाट सम्झाईरहेको छु । बुझाई रहेको छु ।

अर्थात ठग्ने काम गरिरहनु भएको छ ?–ठग्ने होइन, हामीले यथार्थ कुरा भनिरहेका छौ । ठग्ने, झुक्याउने दिन अब गइसक्यो । जनता सबै जान्ने बुझ्ने भएका छन् । नेपाली जनतामा अब यति चेतना आइसकेको छ कि कसले ठग्दैछ, कसले झुक्याउँदैछ त्यो पनि राम्रोसँग बुझ्न थालेका छन् । पहिलाको चुनावहरुमा भाग नलिएपनि नेताहरुको साथमा चुनावमा खटेको थिए । त्यतिबेलाका जनता यति सचेत थिएन । २० वर्ष पहिलेको जनता र अहिलेको जनतामा आकाश जमिनको फरक छ । पहिला पहिला जनतालाई जे भनिन्थ्यो त्यो मान्य हुन्थ्यो । अर्थात नेताप्रति बढी आस्रित हुन्थ्यो तर अहिलेका जनता नेताभन्दा धेरै बुझ्ने भएको छ । हामीले कुनै कुरा सम्झाउँदा जनता मुस्कुराई रहेका हुन्छन् र हामीलाई उल्टै क्रश क्वेश्चन गरिरहेका हुन्छन् । जनताले सिधै भन्दिन्छन् ‘इ बोलला स किछ नई होइ, कुछ क के देखाव तब मानी’ अर्थात बोलेर केही हुँदैन केही गरेर देखाउनुस् अनि मान्छु । त्यसैले अब जनतालाई ठग्ने दिन गए ।

तपाईले खास के के एजेण्डा र मुद्दा लिएर जनतामा जानु भएको छ ?–हम्रो भन्नुहुन्छ भने अहिलेको खास मुद्दा भनेको सविधान संशोधन नै हो । जेका लागि हामीले यत्रो आन्दोलन गर्यौं त्यो अझै प्राप्त भएको छैन । ७० जना भन्दा बढीको ज्यान गइसकेको छ तर यो शासकले अझै मधेशको आवाज सुनेको छैन । हाम्रो मुख्य एजेण्डा भनेको सविधान संशोधनका लागि संसदमा बहुमत ल्याउने र आफ्नो अनुकुल सविधान संशोधने गराउने हो । र, जनताको माग पनि यही हो । हामी जनताको घेरदैलोमा हुँदा उनीहरुले नै प्रश्न गर्छन् कि सविधान संशोधन खोइ, यही सविधानले मधेशको मुक्ति हुँदैन । मधेश मुक्तिका लागि सविधान संशोधन गराउनैपर्छ, तपाईहरु अगाडि बढ्नुस् त्यसमा होम्रो साथ छ । सविधान संशोधनको एजण्डापछि मात्र विकास, आर्थिक समृद्धि, आर्थिक विकास, शैक्षिक विकासलगायतका एजेण्डा हुन्छ तर अच्चम कुरा के छ भने सविधान संशोधनको विषयामा जनताले जति ध्यान पूर्वक सुन्न चाहन्छ त्यति अरु विषयमा सुन्न चाहँदैनन । अर्थात जनताका लागि चासोको विषय सविधान संशोधन नै हो ।

सविधान संशोधन नभएसम्म चुनावमा नजाँदा पनि हुन्थ्यो नि एउटा दवाव राज्यमाथि परिरहन्थ्यो, अब चुनाव भइसकेपछिको अवस्था तपाईहरुको अनुकुल हुन्छ भने के ग्यारेण्टी छ ?–सविधान संशोधन गरेर नै चुनावमा जाने योजना थियो । त्यसका लागि प्रयास भएकै हो तर लोकतान्त्रिक पार्टी, संसदमाथि विश्वास गर्ने पार्टी भएका हुनाले चुनावलाई वहिष्कार गर्ने अवस्था छैन । यदि हाम्रो पार्टीलाई चुनावको वहिष्कार गरेको भए अहिले देशको अवस्था यस्तो हुने थिएन । विभिन्न शक्तिकेन्द्रहरु चलखेल गर्न शुरु गरिसकेका थिए त्यसैले लोकतन्त्र र संघीयतालाई रक्षा गर्न, बचाउन हामी चुनावमा गएका हौं । तर, हामी चुनावमा जाँदैमा सविधान संशोधनको मुद्दा समाप्त भयो वा छाड्यौ भन्ने होइन । चुनावको मुख्य मुद्दा नै हाम्रो सविधान संशोधन रहेको छ । जनता हामीले भनिरहेका छौं संसदमा हाम्रो गणित नपुगेर संशोधन गराउन गाह्रो भयो अब बहुमत दिएर पठाउनुस् अनि सविधान संशोधन हुन्छ र जनता त्यसमा निकै गम्भिर छ । सविधान संशोधनका लागि भएपनि जनताले मधेशवादी दललाई मतदान गर्ने अवस्था सृजना भएको छ । रह्यो कुरा अनुकलताको हामीलाई विश्वास छ कि जनताले सविधान संशोधनका लागि हामीलाई बहुमत लिएर पठाउँछन् । यदि अनुकुल भएन भने त्यसपछिको कुरा हो ।

तपाईहरु गठबन्धन बनाएर चुनावमा जानु भएको छ, सोचे जस्तो परिणाम आउँला यो गठबन्धनले ?–तपाईले जुन गठबन्धनको कुरा गर्नुभयो । त्यो मधेशको आवश्यकताको आधारमा गरिएको हो । मधेशको आवाज नै थियो कि एकभएर चुनावमा आउनुस्, हामीले तपाईहरुलाई बहुमत दिएर पठाउँछौ र जनताको माग अनुसार हामीले त्यस्तो गरेका हौं । जनताले भनेको अनुसार हामीले तालमेल गरेका छौ भने जनतामाथि विश्वास गर्नुपर्ने हुन्छ । अन्तिम विकल्प भनेको जनता हो जनतामाथि विश्वास गर्नुपर्छ ।

जनताले जबर्जस्ती गठबन्धन गर्न लगाएको हो, मनैदेखि तपाईहरु तालमेल गर्नुभएको होइन त्यसो भए ?–होइन, त्यस्तो होइन । तन, मन, धनका साथ यो गठबन्धन भनौं वा चुनावी तालमेल भनौ भएको हो । यसमा कुनै शंका गर्ने ठाउँ छैन । हस्ताक्षर भएर सार्वजनिक भएकै हो । चुनावी क्षेत्रमा तपाईले गएर हेर्नुहुन्छ भने दुवै दलका नेताहरु हातमा हात जोडेर चुनाव प्रचारमा निस्केका छन् । साथ साथै मञ्चमा भाषण गरेका हुन्छन् । कसैको मनमा कतै केही कुनै छलकपट वा बेइमानी छैन । यदि कसैले त्यस्तो गर्यो भने उसलाई पाप नै लाग्छ ।

यो गठबन्धनको आवश्यकता किन पर्यो ?
–अघि नै भने कि यो जनताको माग हो । मधेशको चाहना र आवश्यकताको आधारमा यो गठबन्धन बनेको हो । अर्को कुरा, यी प्रमुख तीन दलले मधेशसँग जसरी सदियौंदेखि बेइमानी गर्दै आइरहेका छन् नि त्यो कुरा मधेशवादी दल राम्रोसँग बुझिसकेको छ । तीन ठूला दलले फुट डालो और राज करो को नीति तहत मधेशमा खेल्दै आइरहेका थिए । कहिले फोरमलाई उचाल दिने त कहिले सद्भावनालाई त कहिले लोकतान्त्रिक फोरमलाई त कहिले तमलोपालाई । विभिन्न समयमा यी दललाई तीन ठूलाले प्रयोग गरेकै हो । तर, मधेशलाई कहिले केही दिएनन् । हामीले यो कुरा यो दशवर्षको अवधिमा बुझिसक्यौं र हामी एक भयौं । छवटा दलले एकीकरण नै गरेको छ । अब हाम्रो पार्टी बाँकी छ । त्यसलाई पनि एकीकरणमा सहभागि गराउने प्रयास भइरहेको छ । सकभर मधेशमा एउटै दल बनाउने योजना छ । एउटा नभए दुईटा दल अवश्य रहनेछ र दुई दलको बीचमा मोर्चाबन्दी हुनेछ । र, मधेशको अधिकारका लागि संयुक्त रुपमा लडाई गर्नेछ ।

यसअघि पनि मधेशी मोर्चा थियो नि, त्यसले त केही गर्न सकेन ?–हो मधेशी मोर्चा थियो । मधेशी मोर्चा साथ साथ आन्दोलन गरेकै हो । आन्दोलनले देशमा आँधीवेहरी ल्याएकै थियो । भन्दाखेरी आन्दोलनका लागि सक्सेस मोर्चा थियो तर संसदमा कमजोर हुन्थ्यो । एउटै मोर्चामा भएपनि यी दलहरुले अलग अलग चुनाव लडेर आफैमा कमजोर भएको हो । संसदीय राजनीतिकमा कहिल्यै पनि अंक गणित बलियो बनाउन सकेन । अहिलेको अवस्था फरक छ । मोर्चामा रहेका छवटा दल एक भएको भएर राजपा नेपाल बनाएको छ र फोरम नेपाल र राजपा नेपाल साथ साथ चुनावमा गएको छ । यसले संसदीय अंक गणितमा पक्कै पनि फरक पार्छ । यसरी पहिला कहिल्यै भएको थिएन । एउटै मोर्चामा भएपनि साथ साथ चुनाव लडेको थिएन ।

गठबन्धन भन्नुहुन्छ तर गठबन्धनबाटै वागी उम्मेदवारहरु पनि देखिएका छन् यस्तो किन ?–हेर्नुस् जहाँ पनि जेमा पनि बागी हुन्छ । एउटै घरमा चार भाइ हुन्छ भने कोही नकोही वागी हुन्छ नै । त्यसैले वागीबाट डराउने कुरा हुँदैन । जनताले त्यसको हिसाब किताब गर्ने नै छ । जो वागी छ, त्यसलाई पार्टीले कारवाही गरिसकेको छ । कतिपयले आफै पार्टी पनि छाडिसकेका छन् । त्यसैले वागी उम्मेदवारले खासै फरक पार्दैन जस्तो लाग्छ । आजसम्म त्यस्तो विरलै देखिएको छ कि पार्टीबाट वागी उम्मेदवार बनेर जितेको होस् ।

अन्त्यमा तपाईले जनतासँग आफ्नो लागि मत माग्नु पर्यो भने कसरी माग्नुहुन्छ ?–मधेशको मुक्ति, अधिकार सम्पन्न मधेश र मधेश सरकार निर्माण गर्नका लागि मैले मत मागि रहेको छु । अबको यो प्रतिस्पर्धि युगमा देशलाई युवाको साथ चाहिन्छ र एकपटक मलाई जनताले विश्वास गरेर पठाउनेछ भनि मलाई पूर्ण विश्वास छ । मधेश प्रदेशलाई सवल र आत्मनिर्भर बनाउने आफूसँग खास खास योजनाहरु छन् जो म जितेर आएपछि त्यहाँका लागि प्रयोग गर्छु ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..