» » यस्तो छ राजेन्द्र महतो र विमलेन्द्र निधिबीचको हिसाब किताब

धनुषा–३ मा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिसँग चुनावी प्रतिस्पर्धा गरिरहेका राजेन्द्र महतोले आफू जित्ने सुनिश्चितताका लागि सर्लाही छाडेपनि उनका लागि अहिले धनुषा–३ फलामको च्युरा चबाउनु सरह भएको छ । जातीय मत र मधेश आन्दोलनको प्रभावबाट सहजै चुनाव जित्न सकिने आँकलन गरि धनुषा पुगेका राजेन्द्र महतोको लागि त्यो क्षेत्र निकै चुनौति बनेको छ । उनका निकटहरुले भन्न थालेका छन् कि महतोले भावनामा बगेर हतारमा निर्णय लिएका छन् ।


सर्लाहीका मतदाताले पनि राजेन्द्र महतोले सर्लाही छाड्न नहुने प्रतिकृया दिन थालेका छन् । राजेन्द्र महतोको घर रहेको बबरगञ्ज सर्लाही–१ मा पर्छ । त्यहाँका स्थानीय मतदाता भन्छन्–‘महेन्द्रलाई हराउन नसक्ने व्यक्ति विमलेन्द्र निधिकै जिल्लामा गएर कसरी हराउन सक्छ, त्यो सम्भव नै छैन, बरु यहाँ मेहनत गरेको भए जित्ने सम्भावना हुनसक्थ्यो ।


२०६४ सालको सविधानसभा चुनावमा सर्लाही–४ बाट उनी चुनाव जितेका थिए भने दोस्रो सविधानसभा चुनावमा उनी त्यहीबाट हारेका थिए । त्यतिबेला पनि उनी त्यहाँ जातीय मतबाट जितेको चर्चा अहिले पनि त्यहाँ सुन्न पाइन्छ । तत्कालिन तराई मधेश लोकतान्त्रिकबाट रामचन्द्र राय र मधेशी जनअधिकार फोरम नेपालबाट रामेश्वर राय यादव र सद्भावना पार्टीबाट राजेन्द्र महतो चुनाव लडेका थिए ।


भनिन्छ, दुईजना यादव चुनावमा नउठेको भए पहिलो सविधानसभा चुनावमा पनि महतो जित्न सक्दैन्थ्यो । यादव जातीको भोट दुईजनामा बाँडिएपछि राजेन्द्र महतो साहुहरुको मतबाट जितेको बताइन्छ । त्यतिबेला उनले खसेको ५२ हजार ३६५ मतमध्ये १७ हजार ७३ मत पाएका थिए । उनका प्रतिद्धन्दी रामचन्द्रराय यादवले आठहजार ७५२ मत र रामेश्वर राय यादवले छहजार ९३९ मत प्राप्त गरेका थिए ।


तर, दोस्रो सविधासभा चुनावमा उनी त्यहीबाट हारे । तत्कालिन तराई मधेश सद्भावना पार्टीबाट महेन्द्र राय यादव र एमालेबाट राजनारायण साह र सद्भावना पार्टीबाट राजेन्द्र महतोले उम्मेदवारी दिएका थिए । साहुबाट दुईजना उम्मेदवार भएको कारण राजेन्द्र महतो पराजित भए भने यादवका एक्ला उम्मेदवार महेन्द्र राय यादव विजय भए ।


पहिलो सविधानसभा चुनावमा दुईजना यादव जातीका भएका कारण साहु जातीबाट जितेका थिए भने दोस्रो सविधानसभा चुनावमा दुईजना साहु भएका कारण एकजना यादव जातीबाट जितेको देखिन्छ ।
दोस्रो सविधानसभा चुनावमा खसेको ४४ हजार ५९५ मतमध्ये राजेन्द्र महतोले आठहजार ३४८ मत मात्र पाएका थिए भने राजनारायण साहले आठहजार ३४८ मत पाएका थिए । अर्थात राजेन्द्र महतोले पहिलो सविधानसभा चुनावमा पाएका १७ हजार मत नै यी दुईजनामा बाँडिएको प्रष्ट देखिन्छ ।



यसरी पहिलादेखि जातीय हिसाब किताब गरेर बसेका राजेन्द्र महतो त्यही आँकलनको आधारमा धनुषा हानिए । धनुषामा जुन क्षेत्रमा उनी गएका छन् त्यहाँ साहु महाजनको बर्चस्व रहेको छ । २०५२ सालको चुनावमा मात्र होइन, २०६४ र २०७० मा भएको सविधानसभा चुनावमा साहु समुदायबाट चुनाव जितेको इतिहास छ । दुईटै सविधानसभा चुनावमा संजय साह (जो अहिले जेलमा छन्) ले चुनाव जितेका थिए ।


असोज २ गते सम्पन्न स्थानीय तहको चुनावमा पनि साहु समुदायबाट लालकिशोर साह चुनाव जितेका छन् । राजपा नेपालकै लालकिशोर साह जनकपुर उपमहानगरपालिकामा चुनाव जितेपछि राजेन्द्र महतो झन उत्साहित भए । र, जातीय मतबाट जित्ने भनि नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई टक्कर दिने भए । तर, राजेन्द्र महतोले सोचेको जस्तो जातीय समिकरण छैन धनुषा–३ मा । सो क्षेत्रमा विदेह नगरपालिका (नौ नम्बर वडा मात्र), धनौजी गाउँपालिका, नगराइन नगरपालिका, मुखियापट्टी मुसहरनियाँ गाँउपालिका, जनकपुर उपमहानगरपालिका (२५ वडामध्ये १७ वटा वडा मात्र) गरी पाँचवटा स्थानीय तह रहेका छन् ।


त्यसमध्ये जनकपुर उपमहनागरपालिकामा मात्र राजपा जितेका छन् भने दुईटा काँग्रेस र एउटा एमाले तथा अर्को माओवादीले जितेको छ । काँग्रेसका धनौजी गाउँपालिकामा बद्री नारायण सिंह र नगरनाइन नगरपालिकामा प्रमेश्वर यादवले जितेका छन् । धनौज गाउँपालिकाको पाँचवटा वडामा ११ हजार ३३६ मतदाता रहेका छन् । यहाँ पाँचवटा वडामध्ये काँग्रेसले दुईटा वडा जितेका छन् भने राजपा, एमाले, र फोरमले एक–एकवटा वडा जितेका छन् ।

त्यहाँ राजपा नेपालका एकजना वडा अध्यक्ष जितेका छन् त्यो पनि साह जातीका हुन् । काँग्रेसले एकजना साह र अर्को साफी समुदायबाट जिताएका छन् भने फोरमले केवट र एमालेले मण्डललाई जिताएको छ । नगराइन नगरपालिकाको नौवटा वडामा १८ हजार ६७७ मतदाता रहेका छन् । यो नगरपालिकामा राजपा नेपालले एउटा पनि वडा जितेको छैन । यहाँ नौ वडामध्ये काँग्रेसले ५ र एमालेले चार वडा जितेका छन् ।  

राजपाले मेयरमा जितेको जनकपुर उपमहानगरपालिकाको १७ वटा वडा (जो तीन नम्बरमा पर्छ) मा ५९ हजार ८४१ मतदाता रहेका छन् । राजपा नेपालले १०, काँग्रेसले ६ र स्वतन्त्रले एउटा वडा जितेको छ । यहाँ जातीय हिसाब गर्ने हो भने राजपा नेपालले १० जना वडा अध्यक्षमध्ये सातजना साह समुदायबाट नै जिताएको छ । बाँकी तीनजनामा एकजना राजपूत, एकजना ब्राहमण र अर्को कायस्थ रहेका छन् ।


तर काँग्रेसका छजनामध्ये एकजना मात्र साह समुदायबाट जितेका छन् भने दुईजना यादव र एक–एकजना कायस्थ, चौधरी र पाण्डे रहेका छन् । एकजना स्वतन्त्र वडा अध्यक्ष साह थरकै हुन् । जनकपुर उपमहानगरपालिकाको १७ वटा वडामा कडा प्रतिस्पर्धा रहेका छन् । यद्यपी यहाँ संजय साह (टकला) ले साथ दिएको कारण साहु महाजनको मत आउने विश्वास काँग्रेसले लिएको छ । दुई दिनअघि राजपा नेपाल र संजय साह पार्टीका केही नेताहरु काँग्रेसमा प्रवेश गरेका छन् ।  


एमालेका मनोज यादवले जितेका मुखिया गाउँपालिकामा छवटा वडा रहेका छन् । जहाँ १३ हजार ६१६ मतदाता रहेका छन् । यो गाउँपालिकामा एमालेले नै कब्जा जमाएको छ । छवटा वडामध्ये एमालेले पाँचवटा जितेका छन् भने एउटा स्वतन्त्र जितेको छ । माओवादी केन्द्रका वेचन दासले जितेका विदह नगरपालिकामा नौवटा वडा रहेका छन् जहाँ १७ हजार ६०३ मतदाता रहेका छन् ।  यो नगरपालिकाको नौ नम्बर वडा मात्र तीन नम्बर क्षेत्रमा परेको छ । जुन वडा माआवादी केन्द्रका राजकिशोर मण्डलले जितेका छन् ।

धनुषा–३ मा ३८ वटा वडा रहेका छन् । जसमा राजपा नेपालले ११ वटा वडा जितेका छन् भने काँग्रेसले १३, एमाले १० र माओवादी केन्द्र १, फोरम नेपाल १, स्वतन्त्र २ वटा वडा जितेका छन् । अर्थात मतकै हिसाब गर्ने हो भने त्यो क्षेत्रमा मधेश गठबन्धन र वाम गठबन्धन बराबर अवस्थामा छ । तर क्षेत्रमा काँग्रेस र राजपा–फोरमको प्रतिस्पर्धा देखिएको हुनाले काँग्रेस मतमा अगाडि देखिन्छ । यदि वाम गठबन्धन आफ्नो मत आफ्नैमा हाल्ने हो भने राजपा–फोरम र काँग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..