» » गच्छदारले किन लिनुहुन्छ पटक पटक यस्तो अप्रिय निर्णय ?

चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरिन् भनाईको चरितार्थ विजयकुमार गच्छदारको हक्कमा ठ्याककै मिलेको छ । १० वर्षअघि मधेश मुक्तिका लागि काँग्रेस छाडेर मधेश पस्नुभएको थियो । १० वर्षको अवधिमा उहाँले मधेशको मुक्ति गर्न तसक्नु भएन तर उहाँ आफै धेरैपटक परिवर्तन हुनुभयो । काँग्रेस छाडेर उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गर्नुभएका विजयकुमार गच्छदार दुई वर्ष पनि त्यहाँ टिक्न सक्नुभएन । पार्टी विभाजन गरेर उहाँ पटकपटक सत्ताको राजनीतिमा रुमिलुनुभयो । मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीलाई राष्ट्रिय पार्टी बनाउनका लागि अनेक प्रयास गर्नुभयो । राष्ट्रिय पार्टी बनाउनका लागि उहाँले आफ्नो पार्टीको नाम पनि परिवर्तन गर्नुभयो ।
उहाँले आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाउन त सक्नुभएन तर एउटा राष्ट्रिय पार्टीमा विलिन गराउनुभयो । मधेश तथा थारुको मुक्तिका लागि राष्ट्रिय पार्टी बनाउने भनि लाग्नुभएका गच्छदार काँग्रेसमा गएपछि उहाँको सबै सपना चकनाचुर भएको छ । उहाँले यसरी एकाएक पार्टीलाई काँग्रेसमा मिलाउनका कारण संगठन कोल्याप्स हुनु नै हो । उहाँले ठिक समयमा ठिक निर्णय लिएर समयमा बुद्धि पुर्याउनु भएको पनि विश्लेषण भइरहेको छ ।
भनिन्छ, विजयकुमार गच्छदार संगठनप्रति जति वाफादार हुनुहुन्छ, त्यति संगठन निर्माणमा हुनुहुन्न । पाएका जिम्मेवारी इमान्दारी पूर्वक गर्ने, कुनै काममा लागेपछि त्यसलाई जसरी पनि सम्पन्न गर्ने नेतामा पर्नुहुन्छ तर संगठन बनाउने इलम उहाँसँग छैनन् भन्छन्, उहाँ निकटका नेताहरु । त्यही भएर उहाँले आफ्नो छुट्टै पार्टी बनाए पनि नौ वर्षभन्दा बढी टिकाउन सक्नुभएन र अन्ततः काँग्रेसमा मिसाउन पुग्नुभयो । हुन त उहाँ काँग्रेसका पुराना नेता नै हुनुहुन्छ । २०२७ सालदेखि लगातार काँग्रेस पार्टीमा लाग्नुभएका विजयकुमार गच्छदार सो पार्टीमा क्रान्तकारी नेताको रुपमा चिनिनु हुन्छ । उहाँ पार्टीमा जति क्रान्तकारी हुनुहुन्थ्यो, त्यति नै खर्रो पनि । उहाँ अहिले जति खर्रो बोल्नु गर्नुभएको छ, पहिला काँग्रेस पार्टीमा हुँदा त्यति नै खर्रो हुनुहुन्थ्यो ।
गिरीजा प्रसाद कोइरालादेखि कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवासम्मको सामु खर्रो बोलेर भए होला उहाँ कसैको विश्वास पात्र बन्न सक्नुभएन । यद्यपी त्यति हुँदा हुँदै पनि जहिले पनि उहाँ पार्टीमा शक्तिशाली नै हुनुहुन्थ्यो । २०२७ सालमा उहाँ मोरङ्ग कलेजका विद्यार्थी नेता हुनुहुन्थ्यो । नेवि संघको प्रमुख व्यक्तिका रुपमा परिचित त्यतिबेला गच्छदारले तत्कालिन काँग्रेस नेता हरि न्यौपानेका साथमा राजनीतिक गर्नुभएको थियो । २०३१ सालमा विमान अपहरण हुँदा त्यसमा मुछिनु भएका विजयकुमार गच्छदारलाई भारतमा भूमिगत हुनुपरेको थियो । उहाँका साथमा काम गर्नुभएका नेता जेपी गुप्ताका अनुसार विमान अपरहणसँगै उहाँमाथि विभिन्न आरोप लगाएर नेपाल प्रहरीले खोजीको सूचीमा राखेको थियो । उहाँलाई समात्नका लागि तीब्र खोजी भइरहेको थियो तर त्यतिबेला कसैका हात लागेका थिएन ।
२०३६ सालमा भएको जनमत संग्रहमा भाग लिनका लागि उहाँ नेपाल आउनु भएको थियो । नेपाल आएपछि उहाँ संगठनको नाममा सक्रिय हुनुभयो । त्यतिबेला मोरगं र सुनसरीमा युवा नेताको रुेपमा चर्चित हुनुहुन्थ्यो । उहाँले २०३८ सालमा पुनः मोरगं कलेज भर्ना हुनुभयो । भर्ना भएको केही दिन नबित्दै २०३९ सालमा त्यहाँ गोली काण्ड भएको थियो । सो गोली काण्डमा फणिन्द्र तिमिसिनाको मृत्यु भएको थियो सोही आरोपमा गच्छदारलाई प्रहरीले पक्राउ गर्यो र उहाँमाथि ज्यान मुद्दा चलायो । 
गच्छदार २०४२ सालमा जेलबाट रिहाय हुनुभएको थियो । गच्छदारलाई नजिकबाट बुझ्नु भएका गुप्ता भन्नुहुन्छ, उहाँ जेलबाट रिहाय भएपछि पार्टीको काममा पुनः सक्रिय हुनुभएको थियो । जेलबाट निस्केपछि उहाँ झन सक्रिय भएर राजनीतिमा लाग्नुभएको थियो ।’ जिल्ला पंचायतको चुनाव हुँदा काँग्रेस पार्टीले प्रत्यक्ष रुपमा त्यसमा सहभागि नभएपनि अप्रत्यक्ष रुपमा भाग लिएको थियो । सुनसरीमा गच्छदारले होमबहादुर श्रेष्ठका छोरा रमेश श्रेष्ठको विरुद्धमा चुनाव लड्नु भएको थियो तर उहाँ चुनाव जित्नुभएन ।
२०४६ सालको परिवर्तनपछि २०४८ सालमा भएको संसदीय चुनावमा उहाँ संसदमा हुनुहुन्थ्यो । त्यसपछि उहाँ लगातार संसद हुँदै रहनुभयो । जिल्लाको राजनीतिभन्दा उहाँ केन्द्रीय राजनीतिमा हावी हुँदै जानुभयो । संसद भएपछि त्यो स्वभाविक पनि भयो । २०५९ सालमा काँग्रेस विभाजित हुँदा उहाँ देउवाले गठन गरेको काँग्रेस (प्रजातान्त्रिक) तिर लाग्नु भएको थियो । सो पार्टीमा गच्छदारलाई महामन्त्रीको जिम्मेवारी दिएको थियो ।
त्यतिबेला नै हो, काँग्रेसका जेपी गुप्ता, गच्छदारलगायत अन्य नेतामाथि दरवारले अख्तियार लगाएको थियो । तर राजनीतिका चतुर खेलाडी गच्छदारले दरवारसँग मिलेर अख्तियारको फन्दाबाट आफूलाई बचाउनुभयो । त्यसवापत उहाँले त्यतिबेला राजाको निकै गुनगान गाउनु भएको थियो । टेलिभिजन तथा पत्रपत्रिकामा दरवारको गुनगान नै गाउँनु हुन्थ्यो, उहाँ निकट नेताहरु बताउँनुहुन्छ । दरवारको गुनगान गाउन थालेपछि देउवाले गच्छदारलाई शंकको दृष्टिले हेरिरहनु भएको थियो । त्यति बेलादेखि नै गच्छदार र देउवाबीच सम्बन्ध विग्रेको हो ।
दुई काँग्रेस एक भएपछि पनि उहाँ काँग्रेसमा फिट हुनुभएन । उहाँलाई न गिरिजा प्रसाद कोइरालाको आशिर्वाद प्राप्त भयो न देउवाकै । दुवै नेताले गच्छदारलाई शंकाको दृष्टिले हेर्न थाल्नु भएको थियो । त्यति बेलादेखि नै काँग्रेसदेखि गच्छदारको दुरी बढ्न थालेको थियो । गुप्ताका अनुसार गच्छदार काँग्रेस पार्टीमा पनि मधेशको विषयमा कुरा उठाउने गर्नुहुन्थ्यो । नागरकितालगायतको विषयमा उहाँ काँग्रेसभित्र चर्को कुरा उठाउँनु हुन्थ्यो । मधेशको मुद्दामा काँग्रेस पार्टीमा गच्छदार विमलेन्द्र निधिभन्दा पनि स्पष्ट हुनुहुन्थ्यो । 
मधेश राजनीतिकमा आगमन
२०६२÷०६३ को परिवर्तनपछि पनि काँग्रेसले उहाँलाई हेर्ने नजरियामा परिवर्तन गरेन । २०६४ सालको सविधानसभा चुनावमा उहाँलाई काँग्रेसले किनारा लगाउने काम गर्न लागेको थियो । गच्छदारले सिफारिश गरेका नेतामध्ये कसैलाई टिकट नदिनु, गच्छदारले रोजेको क्षेत्रभन्दा फरक क्षेत्रबाट टिकट दिनु जस्ता विषयका कारण काँग्रेससँग गच्छदारको दुरी बढ्यो र त्यति नै बेला उहाँ जेपी गुप्ताको सम्पर्कमा गएर मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गर्नुभयो ।
गुप्तामार्फत उहाँ उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गर्नुभएको थियो । मनोनयन हुनुभन्दा १२–१३ दिन पहिले उहाँ फोरम नेपालमा प्रवेश गर्नुभएको थियो । र, फोरम नेपालबाट टिकट लिएर सुनसरीबाट सविधानसभा चुनाव जित्नुभयो । फोरम नेपालमा उहाँ उपेन्द्र यादवलाई अध्यक्ष मानेर उपनेतामा चित्त बुझाउनु भएको थियो । पहिलो सविधानसभा गठन भएलगतै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बनेका सरकारमा मन्त्री बन्नुभयो ।
कटुवाल काण्डपछि प्रचण्ड नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि एमालेका नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार निर्माण हुन लागेको थियो । त्यो सरकारमा सहभागि हुने नहुने विषयमा उपेन्द्र यादव र गच्छदारको बीचमा लफडा शुरु भएको थियो । उपेन्द्र यादवले पुनः प्रचण्डकै नेतृत्वमा सरकारमा सहभागि हुनुपर्छ, प्रचण्डलाई नै सहयोग गर्नुपर्छ भने पक्षमा हुनुहुन्थ्यो भने गच्छदार माधवकुमार नेपालको नेतृत्वमा सरकार बन्नुपर्छ भने पक्षमा हुनुहुन्थ्यो । अन्ततः कुरा मिलेन र उहाँ पार्टी अलग गरेर माधवकुमार नेपाल नेतृत्वको सरकारमा सहभागि हुनुभयो ।
उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबाट अलग भएर मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गर्नुभएका अध्यक्ष गच्छदारले निर्वाचन आयोगबाट २०६६ साउन १६ गते आधिकारिता प्राप्त गर्नुभएको थियो । २०६६ जेठ मा ५२ जना सभासद्मध्ये ३२ जनालाई लिएर पार्टी फुटाएका गच्छदारले दोस्रो चरणको सविधानसभा चुनावमा पनि उपेन्द्र यादव नेतृतवको फोरम नेपालभन्दा ठूलो पार्टी बनाउनुभयो । फोरम नेपालले दुईजना प्रत्यक्ष र आठजना समानुपातिकसहित १० सभासदमा सिमित भयो भने लोकतान्त्रिक फोरम चारजना प्रत्यक्ष र १० जना समानुपातिक गरि १४ जना सभासदको पार्टी भयो ।
मधेशमा पहिलो र देशकै पाँचौ ठूलो दल बनाउन सफल भएका गच्छदारले यता आएर साना ठूला गरि ११ वटा दलसँग एकीकरण गरि ३२५ केन्द्रीय सदस्य बनाउनु भएको थियो भने संसद सँख्या पनि १८ पुर्याउनु भएको थियो । त्यति मात्र होइन, उहाँले आफ्नो पार्टीको नाम परिवर्तन गरि लोकतान्त्रिक फोरम नेपाल पनि बनाउनु भएको थियो । नेपाली काँग्रेसबाट विद्रोह गरि २०६४ सालमा फोरम नेपालमा प्रवेश गरेका गच्छदारले दुई वर्षसम्म अध्यक्ष उपेन्द्र यादवसँग मुस्किलले बस्नु भएको थियो । २०६५ सालमा प्रचण्डको नेतृत्वमा गठन भएको सरकारमा उपेन्द्र यादव र गच्छदार सँगै सहभागि हुनुभएको थियो तर प्रचण्डको सरकार ढलेपछि माधव नेपालको नेतृत्वमा सरकार निर्माण हुँदा कसको नेतृत्वमा सरकारमा जाने विवाद नमिलेपछि अध्यक्ष गच्छदारले पार्टी विभाजन गरेर सरकारमा सहभागि हुनुभएको थियो ।
माधवकुमार नेपाल नेतृत्वमा बनेको सरकारमा उहाँ भौतिक योजना तथा निर्माण मन्त्री बन्नुभएको थियो । माधव नेपाल नेतृत्वको सरकार ढलेपछि झलनाथ खनालको नेतृत्वमा सरकार निर्माण भएको थियो । त्यसमा उपेन्द्र यादव सहभागि भए तर गच्छदार सहभागि हुनुभएको थिएन । सरकारमा सहभागि नभएका उहाँ राजेन्द्र महतो, महन्थ ठाकुर रहेको मधेशी मोर्चामा सहभागि हुनुभयो, जुन मोर्चाबाट उपेन्द्र यादव निस्कनु भएको थियो । झलनाथ खनाल नेतृत्वको सरकार ढलेपछि डा.बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन भएको थियो त्यसमा विजयकुमार गच्छदार उपप्रधान तथा गृहमन्त्री हुनुभएको थियो । बाबुराम भट्टराई नेतृत्वको सरकार गठन गर्नका लागि जेपी गुप्ता र विजयकुमार गच्छदार महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । भट्टराईको नेतृत्वमा सरकार गठन हुने बेलासम्म उपेन्द्र यादवको पार्टी पुनः विभाजित भइसकेको थियो । जेपी गुप्ता उपेन्द्र यादवबाट अलग भएका थिए । स्रोतहरु भन्छन्, त्यतिबेला गच्छदारले पार्टीबाट अलग हुनका लागि जेपी गुप्तालाई सघाउनु भएको थियो । भट्टराई नेतृत्वको सरकारले पहिलो सविधानसभा विघटन गरेको थियो र अर्को चुनाव गराउनका लागि खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन भएको थियो । 
२०७० मा दोस्रो चरणको सविधानसभा चुनाव सम्पन्न भयो । चुनावपछि गच्छदार मधेशमा पहिलो पार्टीको नेताको रुपमा उदाउनु भयो र संसदमा पाँचौ ठूलो पार्टीको रुपमा आयो । त्यसपछि गच्छदारको चुरीफुरी झन बढ्यो । गच्छदारको पार्टीभन्दा उपेन्द्र यादव नेतृत्वको पार्टी कमजोर भयो । छोटो समयमा मधेशमा शक्तिशाली पार्टीको रुपमा उदाएपनि दोस्रो सविधानसभापछि बनेको सुशिल कोइराला नेतृतवको सरकारमा उहाँलाई लिनु भएन । त्यसले गर्दा उहाँ निकै रुष्ट हुनुहुन्थ्यो । रुष्ट मात्र होइन, उहाँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन भएको ३३ दलीय गठबन्धनमा सहभागि भएर सरकारको विरुद्धमा आन्दोलन नै चर्काउनुभयो ।
त्यो सरकारमा सहभागि हुनका लागि उहाँले निकै प्रयास गर्नुभएको थियो तर तत्कालिन प्रतिपक्षि दल माओवादी केन्द्रसँग आन्दोलनमा रहेका कारणले कोइरालाले गच्छदारलाई सरकारमा सहभागि गराएनन् । त्यसपछि उहाँ मधेशवादी दल निकट हुन थाल्नुभयो । मधेशी नेताहरुसँग मिलेर उहाँले मधेशी मोर्चालाई पुनर्गठन गर्नुभयो । मोर्चा गठन गरे लगतै उहाँ सुशिल कोइराला नेतृत्वको सरकार ढाल्न एमालेका अध्यक्ष केपी शर्मा ओली दैलो चहार्न थाल्नुभयो । मोर्चाका अन्य नेताहरुलाई बोकी बोकी बालकोट धाउन थालेका गच्छदारको नियत मधेशी नेताले थाह पाएपछि सबभन्दा पहिलो उपेन्द्र यादवले ओलीको निवास जान छाड्नु भएको थियो । त्यसपछि अन्य नेताहरुले विस्तारै विस्तारै जान छाडेका थिए । यद्यपी मधेशी मोर्चा र गठबन्धन मिलाएर संयुक्त आन्दोलन गरेका थिए । यता  सविधान निर्माणको प्रकृया पनि शुरु भइसकेको थियो । एमाले र काँग्रेसले मिलेर सविधान निर्माणको प्रकृया शुरु गरेको थियो ।
सविधान अधिकार सम्पन्न हुनुपर्छ भन्दै प्रचण्ड पनि आन्दोलन गरिरहेका थिए तर बीचैमा आन्दोलन छाडेर प्रचण्ड र गच्छदारले १६ बुँदे सम्झौता गरि सविधान निर्माणका लागि तयार भए । त्यो १६ बुँदे सम्झौता गराउनमा गच्छदारको मुख्य भूमिका थियो । १६ बुँदे सम्झौतामा सहभागि भएपछि मधेशी मोर्चाले गच्छदारलाई कारवाही गरि मोर्चाबाट निष्काशन गर्यो । उहाँ निष्काशित भएपछि कहिले शरतसिह भण्डरीसँग त कहिले राजकिशोर यादव त कहिले अनिल झासँग मधेशी मोर्चा बनाउँदै हिड्नु भएको थियो उहाँ । किनभने उहाँ त्यसबेला नसरकारमा थिए नमधेशी मोर्चामा । शक्ति विहिन बन्नु भएका गच्छदार छटपटीमा थिए । राजनीतिक जीवनमा यस्तो हालत खराब कहिल्यै नभएको उहाँ निकट नेताहरु बताउँनु हुन्छ ।  त्यतिबेला मधेश आन्दोलन शुरु भइसकेको थियो । सविधान निर्माणपछि गठन भएको एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उहाँ सहभागि हुनुभयो । सविधान निर्माणको बेला नै एमालेसँग सहमति गरेर सरकारमा सहभागि हुने दावमा हुनुहुन्थ्यो ।
तर, उहाँका पार्टीमा विरोध भएपछि उहाँले समेत सविधानमा हस्ताक्षर गर्न सक्नु भएन । यदि सरकारमा जाने सहमति भएको भए, उहाँले सविधानमा हस्ताक्षर गर्नुहुन्थ्यो । सविधानभा हस्ताक्षर गर्न आउँछन् भने सविधानसभा भवनमा उहाँको प्रतिक्षा पनि भएको थियो तर उहाँका पार्टीका नेताहरुले विरोध गरेपछि जाँदा जाँदै बाटोबाट फर्किनु भएको थियो ।
अन्ततः सविधान घोषणा भएपछि ओली नेतृत्वमा गठन भएको सरकारमा सहभागि हुनुभएको थियो । ओलीको नेतृत्वमा सरकार गठन हुँदा मधेशी मोर्चाका नेताहरु सुशिल कोइरालाको पक्षमा मतदान गर्नुभएको थियो भने गच्छदार ओलीलाई मतदान गरेर सरकारमा जानु भएको थियो । सरकारमा सहभागि भएपछि उहाँको पार्टीमा तीब्र असन्तुष्टि भयो र थुप्रै नेताहरु पार्टी छाडेर हिड्नु भएको थियो । मधेशमा भिषण आन्दोलन भइरहँदा गच्छदार ओली नेतृत्वको सरकारमा उपप्रधान तथा भौतिक योजना मन्त्री हुनुहुन्थ्यो ।
ओली नेतृत्वको सरकार ढलेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन भएको थियो । त्यो सरकारमा सहभागि हुन पनि गच्छदारले तछाड मछाड गर्नुभएको थियो तर मधेशी मोर्चाले प्रचण्डलाई दवाव दिएको कारण उहाँलाई सरकारमा सहभागि गराउनु भएको थियो । त्यसबेला पनि उहाँको अवस्था हेर्न लायक थियो । उहाँ सरकारमा जानका लागि छटपटि रहनु भएको थियो । जब सविधान संशोधनको विवाद शुरु भयो । दुई तिहाई पुर्याउने आवश्यता महसुस भयो अनि मधेशी मोर्चाकै सल्लाहमा विजयकुमार गच्छदार प्रचण्ड नेतृत्वको सरकारमा अन्तिम समयमा सहभागि हुनुभयो । यो शर्तमा सहभागि हुनुभयो कि प्रचण्डपछि शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा पनि सहभागि हुन पाउनुपर्छ ।’ र, त्यस्तै भयो, शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि उहाँ उपप्रधान तथा स्थानीय विकास मन्त्री बन्न पाउनु भएको छ । हाल उहाँ त्यही पार्टीमा हुनुहुन्छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..