» » दशैंपछि सबभन्दा महना पर्व छठ

–सुरेशकुमार यादव
सिनामंगलका प्रविण यादवको तीन वर्ष भयो छठमा घर नगएको । काठमाडौमा पनि धुमधामका साथ छठ मनाउन थालेपछि उहाँले तीन वर्षदेखि यतै छठ मनाउन थाल्नु भएको छ ।

बल्खु बस्ने अशोक जयसवाल यसपाली पनि छठमा घर नजाने योजना बनाएर बस्नुभएको छ । किर्तिपुरमा एमएमा अध्ययनरत जयसवाल गतसालको छठमा गाउँ जानु भएका थिएन । बल्खुको वागमती किनारमा मनाइएको छठ पर्वमा रमाउनु भएका जयसवाललाई यसपटक पनि गाउँ जान मन लागेन र काठमाडौमै छठ मनाउने भएको छ ।

प्रविण र अशोक जस्ता थुप्रै मधेशी समुदायका व्यक्तिहरु छठ मनाउनकै लागि गाउँ जान छाडेका छन् । जो आफ्नो परिवारसाथ यहाँ बसिरहेका छन्, वा घरै बनाएर बसिरहेका छन् ती प्रायःले यही छठ मनाउन थालेका छन् । नभए १० वर्षपहिले घरमा ताला लगाएर बालबच्चासहित छठ मनाउनैका लागि गाउँ जानु पथ्र्यो, त्यो समस्या अब छैन । अब गाउँकै रौनक यहाँ पनि देख्न पाइन्छ, बताउनुहुन्छ मनिष यादव ।

उहाँको छठ हुँदैन तर हेर्नका लागि काठमाडौको विभिन्न छठको घाटमा पुग्नुहुन्छ । उहाँ भन्नुभयो, अब त गाउँभन्दा यहाँ रमाइलो लाग्न थाल्यो किनभने यहाँ पहाडी समुदायले पनि मनाउन थालेका छन् फरक सँस्कृतिका व्यक्तिहरुले छठ मनाएको देख्दा झन रमाइलो लागिरहेका हुन्छन् ।’

काठमाडौ उपत्यकमा विगत १० वर्षदेखि धुमधामका साथ छठ मनाउन थालेको हो । त्यसअघि पनि काठमाडौमा बस्ने मधेशी समुदायले छठ मनाउनने गर्थे । खासगरि कालिमाटी, कंलकी क्षेत्रमा धेरै पहिलादेखि छठ मनाउँदै गरेको थियो । शुरुमा नदी किनारमा दुईचार घरका मधेशीहरुले छठ पर्व मनाउँथे । विस्तारै विस्तारै अन्य मधेशीको सँख्या बढ्दै गयो । त्यसपछि त पहाडी समुदायका व्यक्तिहरु पनि थपिदै गए । अहिले त छठको दिन उपत्यका प्रायः जसो जलाशयहरु ब्रतालु तथा धर्मालम्बीहरुबाट भरिभराउ हुन्छन् ।

काठमडौमा छठ पर्व मनाउन संयाजनकारी भूमिकामा रहँदै आउनु भएका आनन्द गुप्ता भन्नुहुन्छ, २०६५–६६ सालदेखि पहाडि समुदायहरुले पनि छठ मनाउन शुरु गरेका थिए । शुरुमा तराई मधेशमा घर भएका पहाडी समुदाय जो मधेशमा छठ मनाएको देखेको थियो, उनीहरु काठमाडौ बस्न थालेपछि यहाँ मनाउन शुरु गरेका थिए । त्यसपछि यहाँ रैथाने नेवार समुदायहरुले पनि मनाउन शुरु गरेका छन् ।’

काठमाडौ उपत्यकामा छठ मनाउनेहरुको सँख्या थप्दै गएपछि २०६३ सालदेखि व्यवस्थित ढंगबाट एउटा समिति बनाएर नै छठ पर्व मनाउन शुरु गरेको हो । मधेशी समुदायबाट तथा सरकारबाट समेत सहयोग लिएर यहाँका विभिन्न तराई मधेशका संघ संस्थाहरुले पर्व मनाउन शुरु गरेपछि यसप्रति धेरैको आकर्षण बढेको हो ।

यो राम्रो हुन थालेपछि तथा पर्यटकको आकर्षण पनि बढ्न थालेपछि २०७२ सालदेखि काठमाडौ महानगरपालिकाले नै छठ मनाउने व्यवस्थापनमा जुटेको हो । रानीपोखरीमा छठ पर्व मनाउने व्यवस्था महानगरपालिकाले नै गर्न थालेका छन् । जब कि त्यसअघि मधेशका विभिन्न संघ संस्थाहरु मिलेर छठ पर्व मनाउँथे । उनीहरुले छठ पर्व मनाउँदा कतियौं पटक विवाद भएको कारणले पनि महानगरपालिका आफै त्यसको जिम्मेवारी लिएको हो ।

लोकतान्त्रिक पर्व
जति पनि पर्वहरु छन् सबै पर्व भन्दा यसलाई लोकतान्त्रिक पर्व भन्न थालेका छन् । गणतन्त्र आएपछि त झन यसको परिभाषा फेरिदै गइरहेको छ । अब गणतान्त्रिक पर्व पनि भन्न थालेको  छ । यो पर्वमा सबै समुदाय संलग्नता तथा हरेक प्रकारको समाग्री प्रयोग हुने भएकाले यसलाई लोकतान्त्रिक पर्व भन्न थालेको हो ।

पहिला पहिला हिन्दु धर्म मान्नेहरु नै यो पर्व मनाउँथे । अहिले हिन्दु धर्म मान्ने, नमान्ने, दलित, गैर दिलित, कतै कतै मुस्लिम सुमदयले पनि यो पर्व मनाउन थालेका छन् । युग परिवर्तन भएसँगै चाडपर्व मनाउने पनि परिवर्तन आएको कुरा यो छठ पर्वमा देख्न पाइन्छ । यो पर्वमा डोम समुदयाले बनाउने नाङ्लो, बाँसको टोकरी (ढकिया), कुम्हारले माटोले बनाएको घैटो (घैला), ढकना, हात्ती जस्ता समाग्री प्रयोग हुन्छ । यतिमात्र होइन, किसानको खेतमा उब्जाउ हुने हरेक प्रकारको अन्न, फलफूल पनि यो पर्वमा प्रयोग हुन्छ ।

यसको सबभन्दा महत्वपूर्ण पक्ष भनेको यो पर्व नै एउटा यस्तो पर्व हो जहाँ अस्ताउँदो सूर्यको पनि पूजा हुन्छ । भनिन्छ, उदाउँदो सूर्यलाई नै सबैले पूजा गर्छन्, अस्ताउँदो सूर्यलाई कसैले पूजा गर्दैनन्, अर्थात बलेको आगो नै सबैले ताप्छन् । तर छठ पर्व नै यस्तो पर्व हो जहाँ अस्ताउँदो सूर्यको पूजा हुन्छ । त्यसैले यो पर्वलाई लोकतान्त्रिक र समावेशी पर्वको रुपमा पनि व्याख्या गरेको पाइन्छ ।

सूर्यको पूजा

यो पर्वमा मुख्य पूजा भनेको सूर्यको नै हो । सूर्य देवता पूजा गर्नका लागि यत्रो विधि सामाग्रीको जोरजाम गर्नुपरेको हुन्छ । विहान उठ्ने वित्तिकै उदाउने सूर्य, झ्यालका कुनाकाप्चावाट छिर्ने तिनका प्रकाश, बोटविरुवालाई हुर्काउने सूर्य, बादल श्रृजना गर्ने सूर्य, न्यानो दिने सूर्य यस पृथ्वीमा त्यसको भुमिका र मानव अनि सूर्यबीचको सम्बन्धलाई जति व्यख्या गरे कम हुन्छ ।

तराई ‘मधेशतिर जिताया दशें दशैं, दशैं बीसे सुकराती (तिहार), सुकराती छवे छठ, छठ नवे पूर्णिमा’ भनि सबै कण्ठस्त नै गरेका हुन्छन् । तराई मधेशमा मनाईने जितिया पर्वको ठिक दश दिनपछि दशैं शुरु हुन्छ । दशैं सकेको ठिक बीस दिनपछि तिहार हुन्छ र त्यसको ठिक छ दिनपछि छठ हुन्छ । छठ सकेको ठिक नौ दिनपछि पूर्णिमा हुन्छ । पूर्णिमा समापनसँगै त्यस वर्षको सम्पूर्ण महत्वपूर्ण पर्वहरु सकिएको मान्यता छ । 

षष्ठी तिथिका दिन मनाईने भएकोले यस पर्वको नाम अपभ्रंसित हुँदै छठ भएको विश्वास छ  । तराईक्षेत्र केन्द्रित मनाईने छठपर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलीत हुँदैआएको छ । सद्भाव अनि भातृत्वको प्रतिक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदी, तालतलैया या पोखरीको किनारामा श्रृङ्गारिएर तयार पारिएका घाटहरु, केराका थम्बा, झिलीमिली बत्तिबीच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई अर्घ दिएर यो चाड मनाईन्छ ।

चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन अरबा अरबनाइन भन्छ अर्थात नहाई खाय, पहिलो दिन नुहाई धुवाई चोखो भएर चोखो (शुद्ध) खाना (अरबा खाना) खान्छन् । छठको शुरुवात मानिने यस दिनलाई ब्रतालुहरू बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । भनिन्छ यस दिनमा ब्रतालुहरूले प्रण गर्दछन्, ‘म अब जथाभावी खाँदिन र तन मनले प्रभुको शरणमा बस्नेछु ।’

दोश्रो दिनलाई ‘खर्ना’ भनिन्छ । त्यो दिन छठको व्रतालुहरु नुहाई चोखो भइ एक छाकमात्रै खाने चलन छ । शुद्धताका लागि नीपपोत गरि चोखो बनाएको स्थानमा अरबा चामल र सख्खरको खीर पकाइन्छ । त्यसपछि आँगन अथवा घरको एक कुनामा नीपपोत गरी शुद्ध पारिन्छ । र त्यहाँ केराको पातमा खीरतथा फलफुल राखेर पूजा गरिन्छ । पूजा सकिएपछि त्यही पूजा गरिएका सामाग्रीलाई घरको सदस्यमा प्रसादको रुपमा बाँडिन्छ । र ब्रतालुले पनि त्यही खानुपर्छ ।

तेश्रो दिनलाई ‘सँझिया घाट भनिन्छ । यो दिन विहानैदेखि घीउ, सख्खर, चिनी, नरिवल, ल्वाङ, सुकमेल, छोहडा, सोंप लगायत मसलाजन्य वस्तुहरु मिसाएर तयार पारिएको छठ विशेष परिकार ठेकुवा, चामलको पिठोको भुसुवा र फलफूल लगायतका सामग्रीहरु तयार पारिन्छ । त्यसका साथै उँखु, केरा, बेसार, अदुवा, नरिवल, जौ, सामाग्रीहरु हरु पनि तयार पार्नुपर्छ ।

यी समाग्रीयहरु एक वा दुई दिनमा तयार हुँदैन । तिहार सकिएसँगै त्यसको तयारीमा जुटेका हुन्छन् अनि मात्र सम्भव हुन्छ । तयार पारिएका परिकार तथा फलफूल र अन्य समाग्रीहरु लिएर साँझपख बाँसको चोयाले बुनेको ढकियामा सजाएर श्रद्धापूर्वक जो कोहीले पनि आफ्नो टाउकोमा बोकेर जलाशय घाटसम्म लैजाने चलन रहेको छ । कसै कसैले पूजा सामाग्री बोकर घाटसम्म लैजाने भाकल नै गरेका हुन्छन् त्यसले अनिवार्यरुपमा बोकेर नै लैजान्छन् । त्यहाँ अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् । अस्ताउँदो सूर्यलाई अर्घ दिएसकेपछि कतिपय ठाउँमा घाट (जलाशय) मा ब्रतालुहरुको बस्ने चलन पनि छ भने कतिपय ठाउँमा घर प्रसाद सामाग्री लिएर फर्किने चलन पनि छ ।

चौथो दिन विहान उदाउँदो सूर्यलाई अर्घ दिन्छ । र छठ पर्व समापन हुन्छ । कार्तिक शुक्ल चतुर्थीबाट शुरुभएको यो पर्वको तेश्रो दिनलाई षष्ठी अर्थात छठ भनिन्छ र अन्तिम दिन अर्थात चौथो दिनलाई पारण अर्थात ‘विहनी अर्घ’ भनिन्छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..