» » जनताको धारणामा अझै परिवर्तन आएको छैन (अन्तरवार्ता)

–बीपी यादव
केन्द्रीय सदस्य, राष्ट्रिय जनता पार्टी नेपाल

राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य बीपी यादव सुनिएको नाम हो । मधेशी राजनीतिकमा चर्चित अनुहार र नाम भएका बीपी यादव रातोपासपोर्ट कण्डमा मुछिएपछि उहाँको पछिल्लो राजनीतिक सिथिल भएको छ । पहिला जस्तो जस्तो सक्रिय हुनुहुन्न अहिले । उहाँको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ, मुद्दा फैसलाको प्रतिक्षामा हुनुहुन्छ उहाँ । फैसला भएपछि एउटा स्पष्ट लाइनबाट राजनीतिमा सक्रिय हुने उहाँको सोच छ । हुन त उहाँ पार्टी छाड्नु भएको छैन । पार्टीमा हुने डे टु डेको काम गरि नै रहनु भएको छ । पाएका जिम्मेवारी उहाँले निर्वाह गरि नै रहनु भएको छ । तर अदालतमा मुद्दा विचाराधिन भएको कारण मनमा कतै नकतै एउटा संकोच, एउटा भय रहिरहने भएका हुनाले राजनीतिक वृतमा उहाँ त्यति देखिनु हुन्न । यद्यपी उहाँ अहिले सप्तरीमा हुनुहुन्छ । सप्तरी क्षेत्र नम्बर दुईबाट उम्मेदवारी दिनका लागि उहाँ त्यहाँ तयारीमा हुनुहुन्छ । दुई नम्बर क्षेत्रका लागि टिकट पाउने भनि सिफारिश भएर आएको छ केन्द्रमा । कात्तिक १६ गते उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्ता र वर्तमान राजनीतिक गठबन्धनलगायतको विषयमा सहारा टाइम्सले बीपी यादवसँग गरेको कुराकानीको अंशः

अचेल राजनीतिकमा कम देखिनु हुन्छ किन त्यस्तो ?
–कम देखिएको होइन, अलि सक्रियता कम भएको पक्कै हो । राजनीतिको दिनदिनै हुने काम तथा पार्टीले दिएको जिम्मेवारीहरु पूरा गर्दै आइरहेको छु । फेरि म पार्टीको त्यस्तो कार्यकारिणी कुनै जिम्मेवार पदमा नभएको कारणले पनि त्यति नदेखिएको हुनसक्छ । अर्को कुरा पहिलाको पोल्टिक्स र अहिलेको पोल्टिक्स फेरिएको छ । १० वर्ष अगाडि जुन प्रकारको राजनीतिक थियो त्यसमा अहिले आकाश जमिनको फरक भइसकेको छ । त्यतिबेला राजनीतिमा लागेर देश र समाजका लागि केही गरिरहेको छु, केही गर्नुपर्छ जस्तो लागिरहेको थियो । र, समाजमा त्यस्तै मान्यता पनि थियो । सम्मान पनि थियो तर अहिले त्यो सब छैन । पार्टी व्यक्तिगत स्वार्थमा चल्न थालेको छ । गुट उपगुटमा चल्न थालेको छ । कुनै व्यक्तिको एकल निर्णयबाट पार्टी चल्न थालेको छ । कसैले कसैलाई मान्न तयार छैन । सबै नेता छन् । त्यसैले अहिलेको पोल्टिक्स सचेत ढंगबाट गर्नुपर्छ । हडबडाउनु हुँदैन । सावधानी ढंगबाट अगाडि बढ्नुपर्छ । त्यहि भएर म अलि गति कम गरेको छु । राजनीतिक हिडाईमा सचेतता अपनाएको छु ।

१० वर्ष अगाडिको बीपी यादव र अहिलेको बीपी यादवमा मान्छेले फरक पाएको छ । त्यतिबेला तपाई पोल्टिक्सको लिड रोलमा हुनुहुन्थ्यो, उपेन्द्र यादवदेखि मातृका यादवसम्मले तपाईसँग सल्लाह लिनुहुन्थ्यो, मधेश आन्दोलनमा बीपी यादवको नाम सुन्नै वित्तिकै मान्छे हेर्नका लागि आउथ्यो ती सब एकाएक हरायो किन त्यस्तो ?
–मैले अघि नै भने नि कि त्यो समय अब रहेन । त्यो बेला एकअर्कालाई सम्मान गर्ने अवस्था थियो । काम गर्दा त्यसको मूल्याकंन हुन्थ्यो । यदि उपेन्द्र यादवमा त्यही इमान्दारिता छ भने त्यो दिन पक्कै सम्झिदै हुनुभएको होला । दश वर्षको अवधिमा उपेन्द्र यादवले के के गर्नुभयो त्यतातिर म जान्न चाहन्न तर यति त स्पष्ट भइसक्यो कि अब त्यही उपेन्द्र रहनु भएन । मातृका यादवको बारेमा पनि त्यही कुरा हो । मातृका यादव जेलमा हुँदाको अवस्था र जेलबाट निस्केपछिको अवस्था र अहिलेको अवस्थामा जमिन आसमानको फरक छ । यो चुनावको समयमा म कसैको टिप्पणी गर्न चाहन्न मेरालागि दुईटै व्यक्ति आदरणीय हुनुहुन्छ । रह्यो आन्दोलनको कुरा । पहिलो मधेश आन्दोलन जति व्यवस्थित भएको थियो, त्यो बेलाको आन्दोलनमा जुन इनर्जि थियो । त्यो अहिलेको आन्दोलनमा छैन । त्यो बेलाको आन्दोलनमा संयमितता थियो तर यसपटकको आन्दोलनमा त्यो कमी देखियो । जसलाई जे मन लाग्थ्यो त्यही गर्थे । अर्थात आन्दोलन कसैको नियन्त्रमा थिएन । तर, पहिलो मधेश आन्दोलन संगठनको नियन्त्रणमा थियो । चाहेको बेलामा रोक्न सक्यो, चाहेको बेलामा फेरि शुरु गर्न सक्यो तर यसपटकको आन्दोलन त्यस्तो थिएन । त्यही भएर यो आन्दोलन असफल भएको हो । त्यत्रो आन्दोलन हुँदा पनि विना सहमति टुग्यो तर पहिलो मधेश आन्दोलनमा दुईपटक सम्झौता भएको थियो । तर, यसपटक एउटा पनि सहमति हुनसकेन । आन्दोलनमा मृत्युवरण गरेकालाई सहिद घोषणा गर्न लगायो त्यसैलाई नै उपलब्धी मानेर आन्दोलन छाडेर निर्वाचनमा भाग लिएको छ ।

तपाईको विचारमा चुनावमा भाग लिनु हुँदैन्थ्यो त ?
–मेरो त्यो धारणा होइन । चुनाव लोकतन्त्रको गहना यसको विरोध गर्न सकिदैन । तर मधेशवादी दलसँग कहि नकही भूल भएकै हो । आन्दोलनलाई राम्रोसँग  व्यवस्थापन गर्न सकेन । रणनीतिक ढंगले अगाडि बढ्न सकेन । अव्यवस्थित आन्दोलन भयो र असफल भयो । रणनीतिक ढंगबाट आन्दोलन गरेको भए आन्दोलन सफल हुन्थ्यो । र, आज मधेशको अर्कै अवस्था हुन्थ्यो । चुनावको पनि अर्कै रौनक हुन्थ्यो । मधेशमा जानु भयो भने मधेशी जनताको गुनासो मधेशी नेताको बारेमा सुन्न सक्नुहुन्छ । तपाईलाई याद होला । २०६४ सालमा भएको आन्दोलनपछि फागुन १६ गते भएका आठ बुँदे सम्झौतापछि मधेशमा जुन उत्साह थियो त्यो हेर्न लायक थियो । मधेशी जनता पनि खुशी खुशी चुनावमा भाग लिएका थिए र मधेशवादी दलले त्यति सीट ल्याएका थिए । तर अहिलेको अवस्था हेर्नुस्, त्यो अहिले कतै पाउनु हुन्न । यसपटक पनि आन्दोलन भएको हो नि । पहिलाको भन्दा कडा आन्दोलन र लामो समयसम्म आन्दोलन भयो तर जनताको धारणामा परिवर्तन आएको छैन । शुरुको आन्दोलनको समयमा तीनटा मधेशवादी दल थियो । यसपाली दुईटा मात्र छन् । त्यसमा पनि तालमेल गरेका छन् । अब परिणाम हेर्न बाँकी छ । स्थानीय तहमा त सोचेको जस्तो परिणाम ल्याउन सकेन प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भाग लिदैछन् । परिणाम हेर्नका बाँकी छ ।

राजपा नेपाल र फोरम नेपालबीच तालमेल भएको छ, यस अवस्थामा कति सीट ल्याउँछन् जस्तो लाग्छ तपाईलाई ?
–अहिले त्यो भन्न हतार हुन्छ । अहिले उम्मेदवारी पनि परेको छैन । कुन कुन दलबाट ककसले उम्मेदवारी दिन्छन् त्यसमा भर पर्छ । उम्मेदवारी परेपछि चुनावले पिक अप लिएपछि मात्र केही अनुमान लगाउन सकिन्छ । तर अहिलेलाई यति भनौ राजपा कति सीट ल्याउँछन् थाह छैन तर मधेशमा पहिलो पार्टी हुने निश्चित छ ।

तपाईले पनि उम्मेदवारी दिँदै हुनुहुन्छ भनि सुनिएको छ के सही हो ?
–हो, सप्तरीको दुई नम्बर क्षेत्रमा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने तयारी गरिरहेको छु । । जिल्लाबाट मेरो केन्द्रमा सिफारिश भएको छ । केन्द्रबाट हालसम्म टुगों लागेको छैन । काँग्रेससँग तालमेलका लागि छलफल भइरहेको छ । काँग्रेससँग टुगों लाग्ने वित्तिकै उम्मेदवारको टुगों लगाउँछौ । राजपा नेपाल र फोरम नेपालबीच तालमेलको टुगों लागिसकेको छ । अब दुईटै दल उम्मेदवारको पनि टुगों लगाउँने छन् ।

काँग्रेससँग तालमेल हुन्छ जस्तो लाग्छ तपाईलाई ?
–हामीलाई भन्दा काँग्रेसलाई तालमेल गर्ने बाध्यता छ । किनभने दुई ठूला दल एमाले र माअ‍ोवादी केन्द्रले वाम गठबन्धन बनाई सकेका छन्, यस अवस्थामा काँग्रेसलाई गठबन्धन बनाउन हतार हुनुपर्ने हो । वामगठबन्धन बनेपछि कसैलाई क्षति गर्छ भने त्यो नेपाली काँग्रेस । यदि यस अवस्थामा काँग्रेस हामीसँग मिलेन भने समाप्त नै हुन्छ । त्यसैले हामीसँग तालमेल गर्न बाध्यता छ त्यो दललाई । मधेशमा काँग्रेससँग तालमेल नभएपनि हामीलाई काम चल्छ हाम्रो पार्टी राजपा नेपाल र फोरम नेपालबीच तालमेल भए हुन्छ तर काँग्रेससहितको एउटा गठबन्धन बनायो भने त्यसले लोकतान्त्रिक धारलाई अवश्यक नै फाइदा पुग्छ । लोकतान्त्रिक गठबन्धन बनाउने कुराले मात्र हामी काँग्रेससँग तालमेल गर्न चाहेका हौ तर काँग्रेसका नेताहरुको बोली व्यवहार र कुरा सुन्दा होला जस्तो लाग्दैन । साझा अवधारणामा उनीहरुले सविधान संशोधन र मधेशको मुद्दालाई स्पष्ट रुपमा राख्न चाहेका छैन । हामीले मागे अनुसारको सीट दिन चाहेका छैनन् यद्यपी कुरा मिलाउनका लागि वार्ता र छलफल अझै जारी छ ।

सुने अनुसार देशैभरि प्रत्येक सीटमा तालमेल नभएपनि शीर्ष नेताहरुको बीचमा तालमेल गर्ने कुराकानी भइरहेको छ, कतिको सत्यता छ ?
–हाम्रो मान्यता भनेको यदि तालमेल हुने हो भने सबै सीटमा गरौं नभए एउटा कुनै नेता विशेषलाई मात्र जिताउनका लागि तालमेल गर्नुहुँदैन । ठूला नेताहरु त त्यतिकै जितिहाल्नु हुन्छ, तालमेल त तल गर्नुपर्छ जहाँ चुनावमा ठूलै प्रतिस्पर्धा गरिहनु परेको हुन्छ त्यस्तो ठाउँमा पनि तालमेल गर्नुपर्छ । शीर्ष तहमा मात्र तालमेल गर्नुहुँदैन र हुँदैन पनि सायद । कसैले व्यक्तिगत रुपमा कसैले कसैलाई सहयोग गर्छन् भने त्यो बेग्लै कुरा हो तर शीर्ष तहमै मात्र तालमेल यो वैज्ञानिक हुँदैन । एमाले र माओवादी केन्द्र जस्तो देशैभरि हरेक सीटमा तालमेल गरेर गए मात्र गठबन्धनप्रति विश्वास बढ्छ नत्र आफ्नो छोरालाई, आफ्नो बुहारीलाई, आफूलाई जिताउनका लागि मात्र तालमेल गरे जस्तो देखिन्छ ।

वामगठबन्धनलाई तपाईले कसरी लिनुभएको छ ?
–कुनै पनि गठबन्धन बन्नु, पार्टी एकीकरण हुनु सकारात्मक कुरा हो । यदि वामगठबन्धन पनि राम्रो नियतले बनेको हो भने त्यसलाई स्वागत गर्नुपर्छ । अहिले त गठबन्धन नै बनेको छ । अब यसले कसरी अगाडि बढ्छ के के गर्छ त्यो हेर्दै जानुपर्छ राम्रो गर्यो भने स्वागत गर्नुपर्छ नभए आलोचना गर्नुपर्छ । 


सहारा टाइम्स पत्रिकाको कात्तिक १६ गतेको अंकबाट 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..