» » मधेशी दलको घोषणापत्र खोइ

काठमाडौ कात्तिक २५ गते । दुई चरणमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मधेशवादी दलका नेताहरु तीब्रगतिमा चुनाव प्रचार प्रसार लागेपनि उहाँहरुका हातमा चुनावी घोषणापत्र देखिएको छैन ।

ठूला दलका नेताहरु मतदाताको घरदैलोमा जाँदा घोषणापत्र साथमा लिएर गइरहनु भएको छ तर मधेशवादी दलका नेताहरु खाली हात आश्वासन बाँड्दै जानुहुन्छ । नेपाली काँग्रेस, बाम गठबन्धन, दुवै राप्रपा यहाँसम्म कि हालै मात्र गठन भएको विवेकशिल पार्टीले पनि आफ्नो चुनावी घोषणापत्र तथा प्रतिवद्धतापत्रसहित मतदाताको घरदैलोमा पुगिरहेका छन् तर लामो समयदेखि राजनीतिक गर्दै आएका मधेशवादी दलहरुको घोषणापत्र अन्योलनमा रहेको छ ।

प्रदेश दुईका लागि चुनावी तालमेल गरेका संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु हालसम्म जनताको घरदैलोमा विना घोषणापत्र गइरहनु भएको छ । सिरहा–४ मा चुनावी प्रचार प्रसारमा रहनु भएका राष्ट्रिय जनता पार्टीका नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भन्नुभयो, घोषणापत्रको के भयो मैले पनि बुझ्न सकेको छैन । घोषणापत्र तयारी गर्ने कुरा थियो, त्यसको बारेमा छलफल पनि भएको हो तर अझै टुगों लागेको छैन अब चाँडै ल्याउने प्रयास हुनेछ ।’

चुनावी घोषणापत्र छैन, के भनेर जनतासँग मत मागिरहनु भएको छ भनि जिज्ञासामा उहाँले घोषणपत्र भनेको लिखित दस्तावेज हो, त्यही कुरालाई मौखिक रुपमा भनिरहेको प्रतिकृया दिनुभयो । सविधान संशोधनलगायत मधेशका समाजिक विषयवस्तु, आर्थिक एजेण्डा र विकासका मुद्दाहरु मतदाता समक्ष राख्ने गरेको उहाँले बताउनुभयो । उहाँले चाँडै नै मतदाता समक्ष लिखित घोषणापत्र लिएर पनि जाने प्रतिवद्धता जनाउनुभयो ।

उता, सर्लाही–२ मा चुनावी प्रचारमा लाग्नुभएका अध्यक्ष मण्डलका अर्का सदस्य महेन्द्र राय यादवले घोषणापत्र तयार भइरहेको बताउनुभयो तर त्यो घोषणापत्र कहिल्यै आउँछ बताउन सक्नुभएन । उहाँले भन्नुभयो, विना चुनावी घोषणापत्र बाहेक चुनावमा कसरी जाने, लिखित दस्तावेजको रुपमा जनतालाई देखाउने पर्यो, लिखित भयो भने एउटा विश्वासको वतावरण तयार हुन्छ, त्यसैले चाँडो ल्याउने प्रयास भइरहेको छ ।’ काठमाडौमा रहनु भएका पार्टीका महासचिव एवं प्रवक्ता केशव झाले घोषणापत्रमाथि अन्योलता जनाउनुभयो ।

उहाँले भन्नुभयो, घोषणापत्र लिएर चुनावमा जानुपर्ने हो तर हालसम्म त्यो तयार भएको छैन, कहाँ कसले तयार गरिरहेका छन् मलाई केही पनि जानकारी छैन ।’ अरु दलहरु लिखित प्रतिवद्धता साथ मतदाताको घरदैलोमा गइरहेको र त्यस अवस्थामा आफूहरु त्यसरी गएनौ भने खल्लो महसुस हुने गरेको बताउँदै पार्टी नेतृत्वलाई यसबारे ध्यानाकर्षण गराएर चाँडै सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।

राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेको छ । यी दुईटै दलको संयुक्त घोषणापत्र आउने कुराकानी भएको थियो तर हालसम्म त्यसको टुगों नलागेको झाले बताउनुभयो ।

तर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा घोषणापत्र तयार गर्ने त्यस्तो कुनै कुराकानी नभएको र आफ्नो दलले घोषणापत्र तयारी गरिसकेको छ यही एकदुई दिनमा जारी हुने बताउनुभयो । घोषणापत्र तयार गरि छपाईका लागि पठाई सकेको छ । छापिएर आएपछि घोषणा गर्ने जनाएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..