» » म मधेश आन्दोलनको होइन, त्यसको प्रवृतिको विरोध गर्छु (भिडियो सहित)

–उमेश यादव
पालिटब्युरो सदस्य, माओवादीकेन्द्र

पूर्व सिँचाइ मन्त्री उमेश यादव साविकका तीन नम्बर क्षेत्रबाट दोस्रो सविधानसभा चुनाव जित्नु भएको थियो । आफ्नो कार्यकालमा विकासका कार्यहरु सप्तरीमा लगेर चर्चामा आउनु भएका उहाँ अर्को चुनावको तयारीमा जुट्नु भएको छ । पार्टीले टिकट दिए उहाँ फेरि जित्ने दावी गर्नुहुन्छ । मधेश आन्दोलनमा पनि मधेशी दलको साथ र भरोस पाउनु भएका उहाँ सप्तरीमा विकास प्रेमी नेताको रुपमा चिनिनु भएको छ । युवा जोश जागरका साथ विकास कार्यदेखि अन्य कार्यमा पनि लागि रहने उहाँ स्थानीय चुनावमा पार्टीलाई एउटा पनि सीट जिताउन सक्नुभएन । त्यसको दोष उहाँले नेतृत्व पक्षलाई दिनुहुन्छ । उहाँले आफ्नो नेतृत्वको पालामा सप्तरीबाट दोस्रो सविधानसभा चुनावमा तीनवटा सीट जिताउन सफल हुनुभएको थियो । प्रस्तुत छ स्थानीय चुनाव, वाम गठबन्धन र प्रतिनिधिसभा चुनावमा केन्द्रीत रहेर गरिएको कुराकानीको प्रमुख अंशः


पार्टीले टिकट दियो भने तपाईले चुनाव लड्ने सोच बनाउनु भएको छ, तपाई त्यो अुनसारको तयारीमा पनि जुट्नु भएको छ तर मधेश आन्दोलनको केन्द्रविन्दु सप्तरीमा तपाई माओवादीबाट कसरी चुनाव जित्नु हुन्छ, त्यसलाई कसरी म्यानेज गर्नुहुन्छ ?
–पहिलो कुरा त, मधेश आन्दोलनको म विपक्षमा होइन, मधेशी जनताले अधिकार पाउनुपर्छ, मधेश सम्पन्न हुनुपर्छ भन्ने मेरो पनि माग हो र मेरो पार्टीको धारणा पनि त्यही हो सायद त्यसैका लागि १० वर्ष सशस्त्र युद्ध पनि गरेको हो तर मधेश आन्दलोलनको प्रवृतिको मैले विरोध गरेको हुँ र गरिरहन्छु । मधेश आन्दोलन गरेको छु भनेर म नै सर्वेसर्वा हुँ अरु केही होइन भन्ने प्रवृति गलत हो । आफूले सम्मान खोज्ने ठाउँमा अरुलाई पनि सम्मान दिन सिक्नुपर्छ जस्तो लाग्छ । मधेश आन्दोलनमा हाम्रो साथ छैन, हाम्रो सहयोग छैन भने होइन तर आन्दोलनको नाममा अरुलाई बहिष्कार गर्ने, राजनीतिक गर्नबाट नै बन्चित गर्ने प्रवृतिको म विरोधी हुँ । त्यसको म विरोध गर्न चाहन्छु । रह्यो कुरा चुनाव मा लड्ने कुरा । चुनावमा जनताले जिताउने हो, जनताको मत जसलाई जान्छ त्यो नै जित्ने हो । र, म चुनाव लड्न सक्षम छु, मलाई जनताले चुनाव लड्नका लागि इजाजत दिइसकेको छ ।

तपाईलाई राजविराजका जनताले किन मत दिन्छ त्यसको कारण के छ ?
–मलाई विश्वास छ सप्तरीका जनतले मलाई मत दिएर जिताउँने छ । पहिलो कुरा त संसदमा जितेपछि धेरै सांसदहरु क्षेत्रमा फर्केर गएका छैनन् । गए भने आकल झुकल मात्र जान्थे । मैले जितेपछि प्रायः समय जनताको साथमा गुजार्न थाले । जनताको दुख सुखमा साथ दिए । सडक, बाटोघाटो, हाटबजार भेटेका जनतासँग भलाकुसारी गर्थे । जनताको पीडा सुन्थे र सकेसम्म समाधान गर्नेतिर लाग्थे । दोस्रो, कुरा विकास निर्माणका कार्यलाई पनि सकेसम्म पुरा गर्ने प्रयास गरे । तेस्रो, पार्टीले मलाई सिँचाई मन्त्रालयको जिम्मेवारी दिइसकेपछि मैले मधेशभरि समृद्ध तराई मधेश सिँचाई विकास विशेष कार्यक्रम ल्याएर बजेटमै युगान्तकारी परिवर्तन ल्याइ दिए । सप्तरीमा मात्र एक अर्ब ४० करोड रुपियाँ हाले । ग्रामिण एरियामा सडक निर्माण, विद्यालय निर्माणका कार्यहरु पनि गरे । सप्तरीमा धेरै मन्त्री भए, धेरै संसद भए तर म भन्दा बढी कसैले बजेट ल्याएनन् । यदि कसैले ल्याएका छ भने भनोस् म चुनौति दिन चाहन्छु । व्यवस्थापिका संसदमा मैले जनताका जल्दाबल्दा उठाए । हवाई माग बनाउने कार्य पनि अन्तिम चरणमा पुर्याएका छौ । खाँडो नदी नियन्त्रण स्थापना गराएको, खडक र मौहली नदीलाई आयोजनामा समावेश गराएको, चतरामा व्यारेज निर्माणको प्रकृयालाई अगाडि बढाएको, मुस्लिम समुदायको कवरिस्तानलाई समृद्ध बनाउने कार्यलाई पनि अगाडि बढाएको, दलितका लागि सार्वजनिक दलान बनाउनुको साथै उनीहरुको विद्यार्थीलाई बढ्ने व्यवस्था पनि मिलाएको, दलितका लागि छुट्टै छात्रावास निर्माण गर्ने कार्यलाई पनि अगाडि बढाउने कार्य गरेका छौ । माओवादी जितेका क्षेत्रमा भएको विकास र अरु पार्टीले जितेको क्षेत्रमा भएको विकासलाई दाँजेर हेर्दा पुग्छ कि कहाँ कसले कति विकास गरेका छन् । हामी जित्नैपर्छ । हामीलाई हार्ने छुट छैन । सप्तरीका क्षेत्र नम्बर दुईका लागि प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने दावी गरेको हुँ ।   

तपाईले माथि मधेश आन्दालनको प्रवृतिको कुरा गर्नुभएको छ त्यो प्रवृति के हो र त्यसको विरोध किन  ?
–तपाईलाई जानकारी गराई हालौं । मधेशवादी दलको मागहरु अहिलेसम्म जेजति प्राप्त भएको छ त्यो माओवादीको कारणले मात्र हो । माओवादी सत्ता हुँदा वा बाहिर हुँदा मधेशवादी दलको माग बारे जति कुरा माओवादी केन्द्रले कुरा उठाएको छ त्यति कुरा अरु दलले उठाएको छैन । सायद माओवादी केन्द्र नभएको भएको मधेशवादी दलले राखेको मागको इतिहास बनिसकेको हुन्थ्यो तर यही माओवादीको कारणले अहिलेसम्म ती मागहरु जिवित छ । काँग्रेस, एमालेले नचाहदा पनि माओवादी केन्द्रले आफ्नो बलबुत्तामा सविधान संशोधनको विधेयक संसदमा पेस हुँदन्थ्यो । माओवादी सरकारमा रहेकै बेला संशोधन विधेयक प्रस्ताव संसदमा गएको हो र त्यसलाई पास गराउन पटक पटक प्रयास गरेकै हो यो कुरा किन विर्सनु हुन्छ । यदि इमान्दारीको कुरा गर्ने भने काँग्रेस सरकारमा हुँदा पनि उसले विधेयक पास गराउने इच्छा देखाएको थिएन । त्यतिबेला विधेयकको विरोधमा नबोल्नु बाध्यता थियो । काँग्रसका एक पक्ष जो रामचन्द्र पौडेलहरुले नेतृत्व गरिरहेका छन् उनीहरुले विधेयकको खुलेर विरोध गरेका थिए । यो कुरा मधेशवादी दलले देखेको छैन सायद । तपाईलाई के लाग्छ, मात्र एमालेले विरोध गरेर यो विधेयक पास नभएको हो ? होइन, काँग्रेस पनि भित्रभित्र सात नदिएकै हो ।

त्यसो भए मधेश आन्दोलन जायज हो त ? 
–मैले अघि नै भनिसके कि मधेश आन्दोलनको विरोधी म होइन तर त्यसको प्रवृतिको विरोध गर्छु । इतिहासलाई हामीले तोडमडोर गर्नुहुँदैन । सद्भावना परिषद् जन्मिनु भन्दा पहिले त्यहाँ किसान आन्दोलन भएको थियो । गजेन्द्रनारायण सिह भन्दा पहिलो रामराजा प्रसाद सिंहले आन्दोलनको विगुल फुक्नुभएको हो । त्यहाँ गुजाई कमरेड होस् या कन्छु कमरेड होस् वा त्यो भन्दा अगाडि विष्णु मानन्धर, कृष्णराज वर्मा लगायतका नेताहरुको कम्युनिष्ट आन्दोलनले सिँचित भएको त्यो ठाउँ हो । सप्तरी जिल्लामा डेमोक्रेटिक आन्दोलनलाई अगाडि बढाएको थियो भने कम्युनिष्ट आन्दोलन पनि एकदिन पछाडि परेको छैन । पटक पटक आन्दोलन गरेकै छन् । तर कम्युनिष्टहरु आन्तरिक राष्ट्रिताका कुरा नउठाउँदा कमजोर भएकै हो । अरु कसैले मधेशको मुद्दा उठाउँदा रअ को एजेण्ट भन्नु, भारतीय भनेर आरोप लगाउनु आम कुरा थियो । त्यही भएर कम्युनिष्टहरु कमजोर भएको थियो । काँग्रेस पनि रक्षात्मक अवस्थामा थियो । पछिल्लो समय नेपाल सद्भावना पार्टी, उपेन्द्र यादवको मधेशी जनअधिकार फोरम नेपालको आन्दोलन, जयकृष्ण गोइतको आन्दोलनले धेरै कुरा पूरा हुने संकेत गरेको छ । 

तर तपाईहरुलाई मधेश आन्दोलन भापेको छैन नि २०६४ सालमा भएको मधेश आन्दोलनको बेला सविधानसभा चुनावमा सप्तरीमा हार्यो, अहिले तेस्रो मधेश आन्दोलनको बेला स्थानीय चुनावमा हार्यो यो त संयोग मात्र होइन नि ? 
–तपाईले भनेको कुरा केही हदसम्म सही हो तर शतप्रतिशत होइन । म मधेश आन्दोलनको कारणलाई पूर्ण भन्दिन तर २०६४ को अवस्थाका लागि त्यसअघि भएको मधेश आन्दोलन कुनै निश्चित पार्टी र कुनै व्यक्तिको चाहनामा भएको थिएन । आम मधेशी जनताको मनमा धेरै पहिलादेखि उकुस मुकुस भइरहेको विद्रोह र आक्रोश मधेशमा पोखिएको थियो र त्यो ऐतिहासिक थियो । सारा देशका शक्तिलाई बुझ्न र चिर्न बाध्य पार्यो । त्यसमा हाम्रो मिस्टेक कहाँ भयो भने त्यतिबेला लहान घटनामा हामीले ठिकसँग ट्याकल गर्न सकेनौ । जुन माओवादी आन्दोलनले मधेशी मुक्ति मोर्चा बनाई दिएर मधेशी जनतालाई बन्दुकसहित लड्न सिकायो । आत्मनिर्णयको अधिकार, स्वशासन, समावेशी र समानुपातिकका लागि जसरी लड्यो, सघर्ष गर्यो त्यो माओवादीको नै देन हो । मधेश आन्दोलन माओवादीको विरुद्ध भएको हो भन्नु गलत हो । यो कसैको विरुद्ध भएको होइन, मधेशी जनता आफ्नो अधिकारका लागि स्वतः आन्दोलनमा गएको थियो । यदि माओवादी आन्दोलन नभएको भए मधेश आन्दोलन हुँदैन्थ्यो होला । माओवादी आन्दोलन हुनुभन्दा पहिले कुनै पनि मधेश आन्दोलन भएको उदाहरण छैन । राजनीतिक जागरण, चेतनाका कारण मधेश आन्दोलन भएको तर लहान घटनामा हाम्रो प्राविधिक त्रुटीहरुले गर्दा केही समस्या भएकै हो । तत्कालिन नेतृत्वले लहान घटनामा ठोस अवस्थाको ठोस निर्णय नगरिकन मधेश आन्दोलन गर्नका लागि उक्साएको हो । त्यसको क्षति हामीले भोगेका हौं । मधेशी जनअधिकार फोरम नेपाल जन्माउने माओवादीले नै हो । गर्वसे कहुँ हम मधेशी छि विदेशी भगौडा नई अ‍ेहे धर्तिके पुत्रछि भनि माओवादीले काठमाडौमा गलिगलिमा लेखेको थियो ।

त्यसो भए स्थानीय तहको चुनावमा सप्तरीमा माओवादीको किन पत्तासाफ भयो त ?
–स्थानीय चुनावमा म मधेश आन्दोलनलाई कारण मान्दिन । हाम्रै पार्टीले राम्रोसँग व्यवस्थापन गर्न नसकेको कारण यस्तो भएको हो । यो चुनावमा यस्तो हालत आफ्नै कारणले भएको हो भन्ने मेरा ठहर हो । तपाईलाई आश्चर्य लाग्न सक्छ, दोस्रो सविधानसभा चुनाव सम्पन्न भए यता पार्टीको बैठक नै बसेको छैन त्यहाँ । स्थानीय तहको चुनावमा उम्मेदवार चयन गर्नका लागि बैठक बस्नुबाहेक अरु कुनै बैठक बसेको छैन । २०७० मा भएको दोस्रो सविधानसभा चुनावको समय मेरो नेतृत्वमा सप्तरी जिल्ला थियो । म चुनाव जित्ने वित्तिकै अशोक मण्डलले नेतृत्व लिनुभयो । त्यस बेलादेखि न कुनै बैठक बस्यो न कुनै सरसल्लाह नै भयो । हामीबीचमा कुनै प्रकारको मतभिन्नता थिएन । सप्तरीमा तपाई खोज्नुभयो भने माओवादी पार्टीको कार्यालय पनि छैन । बीचमा भएका पार्टी एकीकरणका कुरा वडास्तरसम्म पुर्याउन सकेनौ । टिकट वितरणमा गुटका कुराहरु बढी हावी भयो । यसरी स्वस्थ्य मानव पनि लगातार तीन दिनसम्म सुति रह्यो भने त्यो रोगी हुन्छ ।

पार्टी चारवर्षसम्म सुतिरह्यो र रोगी भयो । यसरी रोगी भएको साइड इफेक्ट स्थानीय तहको चुनावमा गरायो । 
बैठक नबस्नुको कारण के हुनसक्छ ?
–बैठक बस्न नसक्नुको कारण के हो त्यसको बारेमा नेतृत्वलाई सोध्नुपर्छ जस्तो लाग्छ मलाई । नेतृत्वमा बस्ने तर एउटा बैठकसम्म बसाउन नसक्नुले चुनावमा कसरी व्यवस्थापन गर्न सक्छ तपाई नै भन्नुस् । टिकट बाँड्ने बेलामा एक दिन बैठक बस्दैमा जनताले मत दिइहाल्छ त्यो यदि कसैले बुझेको छ भने त्यो गलत हो । पार्टीबाट जनताले धेरै कुराको आशा गरको हुन्छ । एउटा कुनै नेताले काम गर्नुले र सांगठिन रुपमा एउटा पार्टीले गर्नु धेरै कुराको फरक पार्छ । कुनै व्यक्तिले काम गर्छ भने त्यो व्यक्तिका लागि मात्र हुन्छ, त्यहाँ व्यक्ति मात्र जित्छ तर संगठनले काम गर्यो भने पुरै संगठन जित्ने कुरा हुन्छ । यहाँ संगठनले काम गरेनन् त्यही भएर पुरै संगठन हारेको छ । व्यक्तिको बारेमा अहिले चर्चा नगरौं ।

तपाई पनि त एउटा जिम्मेवार नेता हुनुहुन्छ नि तपाईको बैठक बोलाउँदा हुन्थ्यो नि ?
–हो, मेरो पनि जिम्मेवारी हुन्छ र म आफ्नो जिम्मेवारी पनि बुझेको छ । मैले जिल्लामा आफ्नो जिम्मेवारी अनुसार काम पनि गरेको हुँ, यो कुरा जसलाई पनि सोध्दा हुन्छ । पार्टीमा आफूले पाएको जिम्मेवारी र लिएको दायित्वभन्दा बढी जानु हुँदैन पनि मैले बुझेको छु र मैले त्यस्तै गरे । म जिल्ला जनसरकार प्रमुख हुँदा म फेल थिए कि पास, सप्तरीको जनतालाई सोध्नुस् । सप्तरीदेखि सर्लाहीसम्म मिथिलामा जनमुक्ति सेनाको पाँचवटा कम्पनी बनाएका थिए । मेरो मात्र कम्पनी बटालियनमा विकास भयो । म वाइसीएलको राज्य संयोजक हुँदा वाइसीएल कसरी चलेको थियो त्यो पनि त्यहाँ जनतासँग बुझ्न सक्नुहुन्छ । जुनबेला पार्टी विभाजन भएको थियो त्यो बेला सप्तरीमा पार्टीको जिम्मेवारी मैले लिएको थिए त्यो बेला पार्टीेको अवस्था कस्तो थियो, पार्टी कार्यालयहरु कसरी सञ्चालन भएको थियो त्यो कुराहरु पनि बुझ्दा हुन्छ । पार्टीको बैठक, जनवर्गीय समितिहरुको बैठक कसरी बसेको थियो त्यो लिखित रुपमा अझै पाउन सकिन्छ र मैले जिम्मेवारी छाडेपछि कसरी बैठक बस्यो, के के भयो त्यो पनि बुझ्दा हुन्छ ।

तपाई पोलिटब्युरो सदस्य हुनुहुन्छ, बैठक बोलाउने र निर्देशन दिने हैसियतमा हुनुहुन्छ अनि किन बैठक बोलाउन निर्देशन दिनुभएन ? 
–मैले बैठकको बारेमा पटक कुरा उठाएको हुँ । सप्तरीका पार्टी कार्यकर्ता तथा नेतालाई थाह छ । मैले भन्ने मात्र हो, कसलाई कुटेर, घोक्रेठ्याक लगाएर भन्न सकिदैन । तपाईलाई लाग्छ म बैठक बोलाउन नभनेको हुँला र । यो कुरा त मधेशका इन्चार्ज विश्वनाथ साह र मातृका यादवलाई पनि थाह छ । सप्तरीमा पार्टीको के भइरहेको छ त्यसको बारेमा उहाँहरु अन्नभिज्ञ हुनुहुन्न । सप्तरीमा बैठक बोलाउन उहाँहरु पटक पटक प्रयास गर्नुभएकै हो तर बसेन किन ? रोग कहाँ लागेको छ, त्यसको उपचार अन्यत्रै खोज्नु हुँदैन ।

अब प्रतिनिधिसभा र केन्द्रको चुनाव हुँदैछ, केही सुधार हुने अवस्था त हो नि ?
–अब पनि त्यहाँका माओवादी केन्द्र उठेन भने कहिल्यै उठ्दैन । जनताले हामीलाई ठूलो झट्का दिएको हो । जनताले सबैलाई झकझकाएकै हो । तिमीहरु जाग, तिमीहरु अहिलेसम्म किन सुतेको भनि भन्न थालेका छन् । जनताले हामीलाई कडा निर्देशन दिएको छ । जनताले हामीलाई निर्देशन दिए अनुसार हामी जाग्यौं भने मात्र जनताले हामीलाई साथ दिनेछ । यदि हामी जागेनौ भने हाम्रो रक्षा कसैले गर्न सक्दैन । स्थानीय तहको चुनावपछि सप्तरीमा माओवादीहरु जागि सकेको छ ।

यसै अवस्थामा माओवादी केन्द्र र एमालेसँग एकीकरणको प्रकृया अगाडि बढेको छ यसलाई तपाईले कसरी लिनुभएको छ ? 
–यो धेरै पहिला हुनुपथ्र्यो, ढिलै भएपनि राम्रै भयो । र, अब चाँडै हुनुपर्छ भने पक्षमा म छु । नेपालमा वामपन्थीहरुसँग दुई तिहाई बहुमत छ तर त्यसको फाइदा अर्र्कै अर्कैले लिइरहेका छन् । नेपालका सबै वाम एकठाम आएपछि देशमा परिवर्तन हुन समय लाग्दैन । जनयुद्धको चरणबाट नेपालमा रहेका अर्धऔपनिवेशिक परस्थितिलाई बदलेर देश पुँजीपति परिवेशमा प्रवेश गरिसकेको छ । आन्तरिक र बाह्य राष्ट्रियतालाई बलियो पार्न, नेपालमा जनसरकार स्थापना गर्न र सविधानले निर्दिष्ट गरेको समाजवादलाई उन्मुख समाजमा स्थापनाका लागि हामी निर्वाचनको प्रतिस्पर्धामा रहेका सम्पूर्ण कम्युनिष्टहरु बीच एकता हुनुपर्ने उद्देश्यले यो कार्य शुरु गरेका हौं । नेपाल कम्युनिष्ट पार्टी भनेर एउटै कम्युनिष्ट केन्द्र बनाउने लक्ष्यले दलहरु अगाडि बढिरहेका छन् । हेटौडा महाधिवेशनले अब नेपाल पुँजिवादमा प्रवेश गरिसकेको छ । सो महाधिवेशनले पार्टीको स्पष्ट दिशा तय गरेको छ । एमालेको नवौ महाधिवेशनले पनि यो देश पुँजीवादमा आइसक्यो भनेको कुराले पनि पुष्टि हुन्छ । माओवादी र एमाले धेरै पहिलादेखि यसको प्रयासमा थिए । यद्यपी शान्ति प्रकृयामा आइसकेपछि २०६४ सालको सविधानसभा चुनावमा माओवादी के हो, त्यसले दुईचारवटा सीट ल्याउँछ होला जस्तो कुरा एमालेले गरेर माओवादीलाई वेवास्ता गर्यो तर एक नम्बरको पार्टी बन्यो । एक नम्बरको पार्टी बनेपछि माओवादीमा दम्भ पलायो । र, त्यसको नतिजा २०७० को सविधानसभा चुनावमा देखाई दियो । शुरुमा हामीलाई एमालेले निल्न खोज्यो, पछि हामीले एमालेलाई निल्न खोज्यौं तर कसैले कसैलाई निल्न सकेन । निल्न नसकेपछि वैचारिक समानता देखिन थाल्यो र एकता प्रकृया शुरु भयो ।

यो कसरी सम्भव भयो ?
–यो असम्भव पनि होइन, सम्भव हुने कुरा नै हो । यो एकाएक भएकै होइन । हाम्रो पार्टी शान्ति प्रकृयामा आइसकेपछि पार्टीका अध्यक्ष प्रचण्डले देशमा एउटै कम्युनिष्ट केन्द्र बनाउने घोषणा गर्नुभएको थियो । नयाँ समाजवादी क्रान्ति पूरा गर्नका लागि सबै कम्युनिष्टहरु मिल्नुपर्छ भनि प्रयास त्यही बेलादेखि शुरु भएको थियो । त्यसपछि विभिन्न चरणमा कुरा हुने, मिल्ने र भत्किने कामहरु भइरहेको थियो । कुनै नकुनै रुपमा कम्युनिष्टहरुको बीचमा कुराकानीहरु भइ नै रहेको थियो । यो एक्कासि र एकाएक भएकै होइन, बरु ढिलो भयो भन्नुस् ।

अस्तीसम्म एमालेको विरोध गर्ने प्रचण्ड अचानक एमालेसँग एकीकरण गर्न लाग्दा तपाईलाई अनौठो लागेन ?
–अहँ मलाई कुनै अनौठो लागेन । राजनीतिकमा यो सब भइरहन्छ । राजनीतिमा कोही स्थायी शत्रु वा मित्र हुँदैन । हिजो माओवादीले एमालेलाई के भन्यो, एमालेले माओवादीलाई के भन्यो, त्यो तीता कुराहरुलाई लिएर अगाडि बढ्यौं भने यो सहकार्य र गठबन्धन एवं एकता कहिल्यै हुन सक्दैन । विगतमा एकले अर्काको विरुद्धमा राखेका अभिव्यक्तिहरुको बारेमा इतिहास साक्षि छ । पुरानो कुरा कोट्याएर भइरहेको गठबन्धनलाई भत्काउन सक्छ । विगतका कुराहरु विर्सेर वर्तमान अवस्थामा एक भएर अगाडि बढ्दा नै राम्रो । विगतका कुराहरुलाई लिएर अगाडि बढ्यौं भने समस्या कहिल्यै पनि समाधान हुँदैन र गठबन्धन पनि बन्न सक्दैन ।

यस्तै रह्यो भने एमालेलाई छाडेर काँग्रेससँग पनि तालमेल हुनसक्छ नि ?
–काँग्रेसबाट निस्केर एमालेमा जाने, एमालेबाट निस्केर काँग्रेसमा जान कुरा हुँदै होइन । सरकार बनाउने कुरा र पार्टी एकीकरण गर्ने कुरा फरक फरक कुरा हो । यसलाई एउटै बुझ्नु गलत हुन्छ । हामीले शुरुमा एमालेसँग नै सहकार्य गर्ने कुरा गरेका थियौं तर उसले पटक पटक सम्झौताका कुराहरु भत्कायो र बाध्य भएर हामी काँग्रेससँग जोडियौं । हामी खुशीले काँग्रेससँग मिलेका थिएनौ । काँग्रेस डेमोक्र्याट हो, हामी लेफ्ट हौं । डेमोक्रयाट र लेफ्ट कही मिलेको छ त ? छैन नि । यद्यपी हामीले एमालेसँग गठबन्धन बनाउने कुरा र सरकारमा जाने कुरालाई फरक ढंगबाट लिएका छौ र फरक कुरा हो पनि । हामीले काँग्रेससँग सहकार्य गरेर सरकार निर्माण गर्यौं ।  यही सरकारले स्थानीय तथा प्रदेश र केन्द्रको चुनाव गराउँछ भनि सहमति गरि अगाडि बढी रहेका थियौं । र, अझै त्यसलाई कायम राख्ने हाम्रो प्रयास रही रहन्छ । सरकार बनाउने कुरा र एकीकरण गर्ने कुरा नितान्त फरक कुरा हो । देशमा कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ । जुन एजेण्डा एमालेको पनि मिल्छ र हाम्रो पनि मिल्छ तर काँग्रेसको मिल्दैन । हामीले बनाउने जनताको सरकार र काँग्रेसले बनाउने जनताको सरकार फरक कुरा हुनुपर्छ । काँग्रेसमा नोकरशाही, पुँजीपति, दलाल प्रवृतिका व्यक्तिहरुको अधिनायक र बर्चस्व रहेका छन् भने कम्युनिष्टमा सर्वहारावर्ग र उत्पीडित जनताको उपस्थिति रहेको छ ।

यी दुई दल अलग अलग हुँदा पनि विभिन्न गुट उपगुटमा छन्, भोली एकीकरण भएपछि गुट त झन बढ्ने भयो होइन ?
–गुट बन्छ, उपगुट बन्छ भनेर एकीकरण वा गठबन्धनमा जानु हुँदैन भने होइन । देखिएका समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्नु नै सफल राजनीतिको कार्य हो । समस्या छ भनेर त्यही अल्झेर बस्यो भने कहिल्यै अगाडि बढ्न सक्दैन, समस्यालाई पहिचान गर्दै समाधानको उपायहरु खोज्दै अगाडि बढ्नुपर्छ । जनयुद्धमा होमिदा गुट, उपगुटहरु गौण थिए तर शान्ति प्रकृयामा आउँने वित्तिकै ती कुराहरु पार्टीमा देखिन थाल्यो । हामीभित्र पनि थोरबहुत फोहर जम्मा भएकै छन् । अब हामीले आफ्ना व्यक्तिगत स्वार्थ र महत्वकाँक्षालाई त्यागेर जनताको हितमा, राष्ट्रको हितमा अगाडि बढेका छौ । पार्टीगत स्वार्थ, व्यक्तिगत स्वार्थहरु त्यागेर सबैले नयाँ पार्टी बनाउनका लागि आआफ्नो पार्टी विघटन गरि नयाँ पार्टी बनाउन लागेका हौं । अब नयाँ पार्टी गठनको प्रकृयाबाट, नयाँ सिद्धान्त र विचार स्थापना भएबाट यी सबै कुराहरु आफै हट्दै जानेछ ।

तराई मधेशको पक्षमा यो गठबन्धनले कस्तो कार्य गर्ला जस्तो लाग्छ तपाईलाई ?
–तपाईले छबुँदे सम्झौता हेर्नुभयो भने त्यसमा मधेशी तथा थारुको जायज मागलाई सविधान संशोधनमार्फत समााधान गर्ने उल्लेख गरेको छ । हाम्रो पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको सरकारले दुई दुई पटक सविधान संशोधानको विधेयक प्रस्तुत गरेकै हो । हाम्रो सहयोगमा गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यसलाई पास गराउने प्रयास गरेकै हो तर एमाले र राप्रपाका कारण त्यो पास हुन सकेन यो कुरा कसैबाट लुकेको होइन तर अहिले त्यही एमालेलाई माओवादी केन्द्रले सविधान संशोधनबाट समस्या समाधान गर्ने सहमतिमा ल्याएको छ ।

तपाईहरुको यो गठबन्धनले सविधान संशोधन गर्छ भने विश्वास लाग्छ तपाईलाई ?
–उत्पीडित राष्ट्रियाताका लागि लड्ने कम्युनिष्टहरु नै हुन् । मुलतको त्यसको नेतृत्व माओवादीले गर्यो । त्यसैले कम्युनिष्टहरु मिल्दा मधेशी, थारु, मुस्लिम, आदिवासी जनजातिहरु खुशी हुनुपर्ने देखिन्छ । हामीले नयाँ खालको कम्युनिष्ट बनाउँदैछौ । हामीले वैज्ञानिक समाजवाद निर्माणका लागि एक भएका हौं । यदि कदमकदाचित बनाउन सकेनौ बन्ने पार्टी पनि विघटन हुन्छ र अर्को पार्टी बन्छ । तर यो अभियान र प्रकृया रोकिदैन । हामीले जतिपटक पार्टी विघटन गरेका छौ त्यतिपटक केही नकेही नयाँ गरेका छौ । एक कदम अगाडि बढेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..