» » यसकारणले फोरम नेपाल दोस्रो र राजपा नेपाल तेस्रो स्थानमा

–सन्तोष मेहता
संविधान निर्माण प्रक्रिया देखि नै असन्तुष्ट रहि आन्दोलनरत रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले अन्ततः संविधान संशोधन नहुन्जेल कुनै पनि निर्वाचनमा सहभागी नहुने र निर्वाचन समेत गर्न नदिने  घोषणा गरेको थियो ।

तर सरकार संविधान संशोधनप्रति उदास त थियो नै उल्टै कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने गरि मिति तिथि समेत घोषणा गरि चुनाव तयारी गर्न थाल्यो ।

यहि बखत मोर्चामा आबद्ध सातदल मध्ये छदल एकीकृत भइ राष्ट्रिय जनता पार्टी नेपाल निर्माण भइ मोर्चाले गरेको निर्णय अनुरुप नै आन्दोलनको दिशा तय गर्यो तर मोर्चामै रहेको तर एकीकृत नभएका संघीय समाजवादी फोरम नेपाल एकाएक मोर्चा एवम आफ्नै पार्टी निर्णय विरुद्ध निर्वाचनमा सहभागी भयो ।

 आन्दोलनरत राजपाका नेताकार्यकर्ता माथि राज्यले व्यापक धरपकड दमन गरि निर्वाचन बहिष्कारको आन्दोलनलाई दबाउने हरसम्भव कोसिस गर्यो, अपेक्षाकृत आन्दोलन सफल हुन सकेन भने अर्कोतिर चुनावमा गएको समाजवादी फोरमलाई पनि जनताले पत्याएन । तर जब राजपा नेपाल पनि चुनावमा सहभागी हुने वतावरण बन्यो अर्थात तेस्रो चरणको चुनावमा फोरम अपेक्षा भन्दा राम्रो सफलता पायो ।

तर दुई नम्बर प्रदेशमा भएको स्थानीय तहको निर्वाचनको परिणाम राजपा नेपालले सोचेजस्तो आउन सकेन ।
तापनि राजपा नेपाल यो परिणामबाट त्यति दुखित वा निरुत्साहित भएको छैन । परिणामबाट उत्साहित भएका फोरमका नेताकार्यकर्ता केही दिन यता समाचार एवं समाजिक सन्जाल माध्यममा राजपा नेपाललाई होच्याउने गरि खबर स्टाटस प्रसारित गरिरहेका छन ।

वास्तबमा के कारणले कहि नपाएको सफलता फोरमले दुई नम्बर प्रदेशमा पायो र किन राजपा नेपाल अपेक्षा गरे अनुरुप स्थानमा आउन सकेन ? पहिलो हुन्छ भन्ने लागेको थियो, त्यो अनुसारको परिणाम प्राप्त भएन । यि सबै विषयमा ११ वटा बुँदामा विश्लेषण गर्ने प्रयास गरेको छु ।

१) विभिन्न सञ्चार माध्यममा ६–६ वटा अध्यक्ष भएर पनि राजपालाई उपेन्द्र एक्लैले उछिन्यो, यत्रो सफलता पायो आशयका समाचारहरु प्रसारित भए तर वास्तवमा उपेन्द्र यादब एक्लै थिए त ! मधेसी जनाधिकार फोरम नेपाल–उपेन्द्र यादव, संघीय समाजवादी पार्टी–असोक राई, मधेसी फोरम–अमर यादव, खस समावेशी पार्टी–युबराज कार्की , नेपाल सद्भावना पार्टी–सरिता गिरि, मधेस समता पार्टी–बेचन मुखिया, समाबेशि पार्टी–बिर्सु उराँव लगायतको पार्टी एकीकृत भइ संघीय समाजवादी फोरम  निर्माण भएको हो । उपेन्द्र यादवको एक्लैको पार्टीको नाम त मधेसी जनधिकार फोरम थियो । त्यसकारण थुप्रै पार्टी एवं नेताहरू एकता गरि राजपा नेपाल झै संघीय समाजवादी फोरम नेपाल पनि निर्माण भएको हो । उपेन्द्र यादवले एक्लै हुनुहुन्न थियो । राजपा नेपाल पनि फोरम झै ६ पार्टी एकीकृत भइ बनेको पार्टी हो । फरक यति छ राजपा सामुहिक नेतृत्व सिद्धान्तको अधारमा अगाडि बढेको छ फोरम एकल नेतृत्व आधारित छ ।

२.राजपा नेपाल चुनाव बहिष्कारको आन्दोलन गरिरहँदा एवं चुनावमा नजाने भएपछि र सरकारको कुनै पनि हालतमा चुनाव गराउने स्थिति देखेर दोस्रो चरणको निर्वाचन पश्चात राजपा नेपालभित्र चुनावका त्यारी गरिराखेका दर्जनौं नेता विकल्पमा फोरम प्रवेश गरिसकेका थिए ।

३.खासगरी मधेस केन्द्रीत ६ दल मिलेर बनेको राजपा तल्लो तहसम्म राम्रोसँग एकता र एकजुट हुन नसकेकै अवस्थामा निर्वाचनमा जानुपर्ने बाध्यता आइपर्यो । जतिबेला राजपा नेपालले स्थानीय तह निर्वाचनमा सहभागी हुने निर्णय गर्यो, त्यतिबेला समय एकदमै घर्किसकेको थियो । निर्णय गरेको ११ औं दिन चुनावमा सहभागी हुनुपर्यो । निकै छोटो समय थियो, हतारमा उम्मेदवार छानेर चुनावमा जानु परेकाले राजपाले सोचेभन्दा कम स्थानीय तहमा जित हासिल गर्यो । जबकी फोरम बिगत ६ महिना देखि (आन्दोलनको बखत समेत भित्र भित्रै ) चुनावको व्यापक तयारी गर्दै थियो । आन्दोलनकै बखत उम्मेदवारिको आश्वासन दिदै विभिन्न व्याक्तीहरुलाइ पार्टी भित्राउनु र उम्मेदवारको एकप्रकारले टुंगो लगाउनु, मोर्चाको निर्णय विरुद्ध दल दर्ता गर्नु आदिले पनि स्पष्ट हुन्छ ।

४.भर्खरै एकीकृत भएर बनेको राजपा नेपाल आम कार्यकर्तासम्म अन्तर्घुलित हुन सकेन । निर्वाचनमा पार्टी नेतृत्वले गरेको टिकट वितरणमा पनि धेरै ठाउँमा असन्तुष्टि थियो, कतिपयले पार्टी नै छोडेर अर्को पार्टीबाट उम्मेदवार बने । राजपा नेपालले टिकटको उचित ब्यबास्थपन गर्न नस्क्दा कयौं नेता फोरम लगायतको पार्टी एवं स्वतन्त्र उम्मेदवार भइ फोरम वा अन्य पार्टीको एकजना पनि सदस्य नरहेको ठाउँमा जितेका छन् । फोरम लोकतान्त्रिक, माओवादी केन्द्र, नयाँ शक्ति बाट पनि त्यसरी राजपाका बिद्रोहीहरु जितेका छन ।

५.वास्तवमा राजपा नेपाल तेस्रो चरणको चुनावमा गएर फोरमलाई बढी फाइदा भएको हो, पहिलो र दोस्रो चरणको चुनावमा गएर फेस सेभिङ हुन गाह्रो भैरहेको बखत राजपा पनि चुनावमा जाँदा फोरमको मनोबल ग्राफ एकाएक बढेको हो । राजपासँग रहेको आन्दोलनको आम जनताको सहानुभूति चुनावी जोड घटाउमा परिणत भएकोले र गाउँ स्तरमा पहिल्यैदेखि चुनावी त्यारी गरिराखेका काँग्रेस, एमाले माओवादी लगायत विभिन्न पार्टीका उम्मेदवारमध्ये फोरम नै उपयुक्त पार्टी हो भनी मतदाताले लगभग निर्कौल गरिसकेको थियो । जबकी राजपाले उम्मेदवारको र चुनाव चिन्हको समेत निर्कौल गरेको थिएन ।

६.पहिलो र दोस्रो चरणको चुनाव बहिष्कार र तेस्रो चरणको चुनावमा राजपा किन र कुन परिस्थितिमा सहभागी भयो जनतालाई बुझाउन सकेन भने अर्को्तिर राजपा नेपाल हाम्रै पछि आएको, अन्तत संविधान स्वीकार गरि चुनावमा सहभागी भएको, मधेसलाई २ न प्रदेशमा सिमित गरेको जस्ता भ्रमहरु सिके राउतका कार्यकर्ता र फोरमले व्यापक रुपमा छर्यो जसलाइ राजपाले चिर्न सकेन । वास्तवमा राजपा फोरमको पछि गएको होइन, जुन संविधान जलायो त्यो संविधान मानेको पनि होइन । राजपा नेपाल त्यस परिस्थितिमा चुनावमा सहभागी भयो जब संविधानको स्विकारोक्ती नै बहुमतबाट अल्पमतमा झर्यो । ६०५ भन्दा बढीले वैधानिक रुपमा संविधानलाई संशोधन बिना इन्कार गर्यो । मधेस पक्षधर नरहेको संविधान कार्यान्वयनमा नैतिक संकट उतपन्न भएको गराइएको संविधान अन्तर्गत भएको चुनावमा मात्र सहभागी भयो । संविधान यथास्थितिमा रहुन्जेल संविधान कार्यान्वयनमा असहयोग गर्यो, पहिलो र दोस्रो चुनावमा सहभागी भएन यो कम ठूलो त्याग थिएन । यस्ता बिषयमा जनतालाई पार्टीले बुझाउन सकेन ।

७.कतिपय स्थानमा राजपा नेपाल भित्र उम्मेदवार चयनमा कमजोरी, उम्मेदवारको अर्थिक कमजोरी, तयारी अभाव लगायत विभिन्न कारणले आफ्ना उम्मेदवार जित्ने अवस्था नभएपछि मधेसकै अर्को विकल्पको पार्टी फोरमलाई अन्तिम अवस्थामा आएर मतदानमा सहयोग गर्न मतदातालाई कुनै प्रकारको हिचकिचाहट भएन ।

८.अधिकाँश नगर सहरमा राजपा र गाउँमा फोरम जितेको छ । जितेका वाडाहरु, जितेका पदहरु एवं दोस्रो भएका पदहरुमा फोरमभन्दा निकै अगाडि राजपा नेपाल रहेको छ, अर्थात आन्दोलनको सेन्टिमेन्ट राजपा नेपालसँग र संगठन व्यापक तयारिका कारण गाउँमा फोरम बलियो देखिएको हो । समाजिक सन्जाल व्यापक प्रयोग हुने ठाउँमा राजपा नेपालले राम्रो मत प्राप्त गरेको छ ।

९.चुनाव केन्द्रित प्रशिक्षण, सभा, बैठक, प्रचार गर्ने अबसर र मेहनत फोरमले गर्यो तर राजपा नेपालले त्यो अवसर प्राप्त गर्न सकेन । राजपाले कम समयका कारण २ नम्बर प्रदेश बाहेकका नेता कार्यकर्ताहरुलाइ परिचालित पनि गर्न सकिएन ।

१०.राजपाको चुनाव चिन्ह के हुने केबल ६ दिन अगाडि नोमिनेसनको बखत थाह पाउनु र फोरमको चुनाव चिन्ह आमजनतालाई पहिलादेखि नै थाह हुनु । राजपाले कमसमयमा सम्पुर्ण मतदाता माझ आफ्नो चुनाव चिन्ह समेत चिनाउन सकेन ।

११.राजपा नेपालमा एकीकृत भएका सबै छवटै पार्टीको चुनाव चिन्ह ब्यालेटपेपरमा हुनु र ती चिन्हहरुमा पनि व्यापक भोट आउनु, एकीकृत भएका साबिकको पार्टीको चिन्ह र साइकल चिन्ह दुबै चिन्हमा छाप लागाएकोले व्यापक मत बदर भएको छ र त्यस्ता करिब १७ स्थानीय तहहरुमा राजपा सिमित भोट्ले मात्र पछाडी परेको छ ।
 यद्यपि धेरै स्थानीय तहमा राजपाले फोरमसँग र फोरमले राजपासँग प्रतिस्पर्धा गरेर दुईवटै पार्टी पराजित भएका छन्। यस्ता तहहरुमा राजपा र फोरमको मतलाई जोड्ने हो भने विजेताको भन्दा मधेसी दलको मत बढि छ । अर्थात, मधेसी जनताले प्रष्ट रुपमा आन्दोलनकारी शक्ति रोजेका छन साथै बराबर हैसियत दिएका दुबै पार्टीलाइ एकीकृत वा गठबन्धन गरि अगामी दिनहरुमा अगाडि बढन दिशानिर्देश पनि दिएका छन ।

आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा चुस्त तयारीका साथ राजपा जानै प्रदछ, सबै गल्तीहरु सच्याएर अघि बढ्नै पर्छ। मधेस केन्द्रीत दलहरु सकेसम्म एक भएर अथवा तालमेल गरेर निर्वाचन लड्नु पर्ने आवश्यकता छ।

तालमेलका लागि फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमलाई पनि एकता वा तालमेलका लागि राजपाले आग्रह गर्नुपर्दछ। आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा झापादेखि कञ्चनपुरसम्म मधेसको भू–भागको सबैभन्दा ठूलो पार्टी राजपा नेपाल हुने नै छ ।

 राजपा नेपालले अब यो संसदबाट संविधान संशोधनको अपेक्षा नै गरेको छैन । तसर्थ आगामी प्रतिनिधि सभामा दुई तिहाइ मत पुर्याएर योभन्दा राम्रो किसिमले संविधान संशोधन गर्नेगरी चुनावी रणनीति तय गर्नै पर्दछ ।
(महेता राजपा नेपालका प्रवक्ता हुनुहुन्छ)

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

1 comments:

..