» » सविधान संशोधन फेलपछि राजपा नेपालले जारी गर्यो यस्तो विज्ञप्ति

२०७४–५–८ गते
प्रेस–विज्ञप्ति

मिति २०७४ भदौ ६ र ७ गतेका दिन राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक श्री महन्थ ठाकुर ज्यूको अध्यक्षतामा केन्द्रिय कार्यालय बबरमहलमा केन्द्रीय पदाधिकारी समितिको बैठक बसी निम्न अनुसारको निर्णय गरिएको छ ः–

मधेशी, आदिवासी, जनजाति, थारु, मुस्लिम, दलित लगायत देशका अन्य सबै शोषित, उत्पीडि़त, सिमान्त्कृत र विभेदमा पारिएका समुदायहरुको संवैधानिक अधिकारको सुनिश्चितता, सामाजिक समानता, सम्मान र पहिचानको लागि विगत डेढ़ दशकको लामो सड़क संघर्ष पछि देशमा बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको कुरा सर्वविदितै छ । मधेशले उठाएको संघियताको मुद्दा देशको राष्ट्रीय मुद्दा बन्दै संवैधानिक रूपलेनै संस्थागत हुनु एउटा ठूलो उपलब्धि हो ।

 जनताले आफ्नै प्रतिनिधि चुनेर आफ्नो लागि संविधान बनाओस भनेरनै संविधान सभाको दुई–दुई पटक निर्वाचन गरिएको हो ।

तर तीन ठूला दलको अतिवादी सोच, शासक रूपी अहंकार, एकल जातीय मानसिकताले ग्रस्त भएको कारण नेपालको संविधानमा केही गम्भीर र तत्काल सुधार्नु पर्ने त्रुटि भएको कुरा सबैले स्वीकार गरेकै हो ।

संविधान जारी हुनु भन्दा दुई महिना पहिले देखिनै मधेशी, आदिवासी, जनजाति, थारु, मुस्लिम, दलित, शोषित, उत्पीडि़त पिछडा वर्ग र विभेदमा परिएका सिमान्त्कृत समुदायहरुको हकÞ

हित सुनिश्चित गराउन तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा ६ महीने लामो आन्दोलन भएको थियो. आन्दोलनकै बिचमा देशका तीन ठुला दलका शीर्ष नेताहरुले संविधान सभामा रहेको संख्या बलको दम्भ देखाई, आन्दोलनकारीको छाती र टाउकोमा गोली हानि रक्ताम्य अवस्थामा संविधान जारी गरेको अवस्था प्रति कोही पनि अनभिज्ञ छैनन. मधेशी जनताको लाशमा बनेको संविधान जारी भई रहंदा देशको आधा भूभाग शोकमग्न अवस्थामा कालो दिवस मनाउन बाध्य पारिएको थिए ।

६ महिनाको लामो सड़क संघर्ष, पचास भन्दा बढ़ी मधेशी सपूतहरुको शहादत पछि तीन दल र तत्कालीन सरकारले संविधानमा गम्भीर त्रुटि रहेको, मधेशी, आदिवासी जनजाति लगायतले उठाएको मुद्दाहरु छुटेको कुरा स्वीकार गर्दै संविधानमा तत्काल संशोधन गर्न आवश्यक रहेको कुरा दुनियां सामु बताएका थिए. तत्कालीन शुसिल कोइरालाको सरकारले संविधानको पहिलो संशोधन ल्यायो ।

आफ्नो गलती स्वीकार गरेको भए पनि त्यो संविधान संशोधनले मधेशी मोर्चाले उठाएको अधिकांश मुद्दा समाधान नहुने भए पछि त्यसको विरोध भएको थियो । त्यस पछि बनेको पुष्पकमल दाहाल सरकारले दोस्रो संविधान संशोधनको विधेयक दर्ता गरायो. राष्ट्रीय जनता पार्टीले उठाउँदै आएको संशोधनका मुद्दाहरु सम्बोधन नभए पनि त्यसमा सुधार गरेर केही हद सम्म ठीक भएको कारणले राजपाले त्यसलाई समर्थन गरेको हो ।

संविधान संशोधन लगायत सरकारद्वारा गरिने कामहरु सम्पन्न गर्नको लागिनै राजपाले कांग्रेस–माओवादी केन्द्रको गठबन्धनमा पहिले बनेको प्रचण्ड सरकार र अहिले बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बाहिर बाट समर्थन गरेको थियो । सरकार द्वारा पूरा हुने केही कामहरु प्रचण्ड सरकारको पालामा गरियो भने केही मुद्दाहरुको सम्बोधन देउवा नेतृत्वमा बनेको सरकारले गर्यो ।

हाम्रो मांगहरुलाई पूरा गरियोस र मधेशी जनजाति लगायतका समुदायले पनि सम्मान पहिचानको साथै संवैधानिक अधिकार पाओस भन्ने सोचका साथ राजपा स्थानीय तहको प्रथम र दोस्रो चरणको निर्वाचनमा सहभागी भएन ।

लोकतान्त्रिक मूल्य मान्यतामा पूर्ण आस्था रहेको, निर्वाचन पद्धति प्रति पूर्ण सम्मान रहेको, पार्टीका कार्यकर्ता देखि नेता सम्मको तीव्र इच्छा रहेको र राष्ट्रीय तथा अन्तराष्ट्रीय मित्र शक्तिहरुको शुभेच्छा हुंदा हुँदै पनि संसदमा प्रस्तावित संविधान संशोधनको विषयलाई नटुंग्याई निर्वाचनमा सहभागी नहुने कठोर निर्णय गर्न बाध्य बनाइयो ।

राजपाले दुई चरणको स्थानीय निर्वाचनमा सहभागी नभई आफ्ना माँगहरु प्रतिको अडान कायमै राखी आन्दोलन जारी राखेकै कारणः–

१. मधेश आन्दोलनको क्रममा ज्यान गुमाएका सम्पूर्णलाई शहीद घोषणा गर्न सरकार बाध्य भयो ।
२. आन्दोलनको क्रममा गम्भीर घाईते तथा अंगभंग भएकाहरु लाई आजीवन आर्थिक सहयोग दिने निर्णय गर्न सरकार बाध्य भयो ।
३. आन्दोलनको क्रममा मधेशी मोर्चा, संघीय गठबन्धन र राजपाका नेता कार्यकर्ताहरू माथि राज्य प्रशासनले लगाएको अधिकांश राजनीतिक मुद्दाहरु फिर्ता लिने निर्णय गरियो ।
४. टिकापुर घटना पछि भएको तोड़फोड़, आगजनी, लूटपाट आदिबाट भएको भौतिक नुक्सान भरपाई गर्न आर्थिक क्षतिपूर्ति निकासाको निर्णय गराउन सरकारलाई बाध्य पारियो ।
५. स्थानीय तहको संख्या बढाउने निर्णय गराइयो ।
६. महिनौ देखि लम्बित संविधान संशोधन बिधेयकलाई संसदमा निर्णयार्थ पेश गरियो ।


संविधान संशोधन विधेयक पारित गराउन राष्ट्रीय जनता पार्टीले गरेको लामो सड़क संघर्ष, मधेशी जनताले दिएको उच्च बलिदान, आन्दोलनकारीले देखाएको त्याग, सरकार माथि उच्चतम दबाब दिनको लागि दुई चरणको निर्वाचनमा सहभागी नभई पार्टी नेता कार्यकर्ताको अपार धैर्यताको बावजूद व्यवस्थापिका संसदमा संख्याबलको अगाडि संशोधन विधेयकलाई षड्यन्त्रपूर्वक असफल गराइएको हाम्रो ठहर छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन बिधेयकको विपक्षमा रही आफ्नो नस्लीय चरित्र, अंहकारवादी सोच, परिवर्तन र राष्ट्रिय एकता विरोधी तथा मधेश विरोधी चरित्रलाई अझ पुष्टि गरेको छ ।

राष्ट्रिय एकता, सम्प्रदायिक सदभाव, राष्ट्रिय अखण्डता, समावेशी नेपाल विरोधी शक्तिको षडयन्त्रले मुलुकको शान्ति, स्थिरता र पूर्णतामाथी गम्भिर चोट पुगेको छ । यस घटनाले पर्ने दुरगामी प्रभावप्रति हामी चिन्तित छौं ।

साथै संशोधनको पक्षमा बन्दै गरेको माहौललाई आफ्नो पक्षमा पार्न नसक्नु सरकारको कमजोरी भएको पनि हाम्रो ठहर रहेको छ । तर, ९० प्रतिशतको दम्भ देखाएर जारी गरिएको संविधानमा अब ६४ प्रतिशत जनप्रतिनिधिले संविधानमा त्रुटि भएको र यसलाई सच्च्याउन लागि संविधान संशोधन आवश्यक रहेको कुरा स्वीकार गरेको छ ।

 संविधान संशोधन विफल भए पनि राजपा नेपालले उठाउँदै आएको अधिकार र पहिचानको मुद्दाहरु संसदमा समेत स्थापित भएको छ ।

तसर्थ राजपा नेपालको दुई दिन बसेको अध्यक्ष मण्डल सहितको पदाधिकारी बैठकले तेस्रो चरणको स्थानीय तह देखि केन्द्रीय संसद सम्ममा आफ्नो जोडदार उपस्थिति दर्ज गराउन आम जनताको बीच जाने निर्णय गरेको छ ।

साथै राजपा नेपालले आफ्नो सम्मान, स्वाभिमान र पहिचानको पक्षमा रहेको सम्पूर्ण जनतालाई एकजुट भई समान अवसर, समान अधिकार र संवैधानिक हकÞलाई सुनिश्चित गर्न राजपा नेपालको अभियानलाई समर्थन गर्न हार्दिक अपील गर्दछ । साथै अध्यक्ष मण्डलको बैठकले गरेको अन्य निर्णयहरु यस प्रकार रहेको छ ।

क) संविधान संशोधनलाई षड्यंत्रपूर्वक विफल गराइएको र न्यायपूर्ण ढंगले राहत वितरण नगरेको विरोधमा तथा वाढी प्रभावित क्षेत्र पुननिर्माण प्राधिकरण गठन गर्न दवाव दिन २०७४ भाद्र ९ गते देखी ०७४ भाद्र २१ गते सम्म हाथमा कालो पट्टी लगाई निरन्तर विरोध प्रदर्शन जारी राख्ने निर्णय गरेको छ ।

ख) तेस्रो चरणको स्थानिय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार चयन गर्न निर्वाचन हुने आठ वटै जिल्लामा निम्न नेताहरु लाई केन्द्रीय पर्यवेक्षकको रूपमा पठाउने निर्णय गरेको छ ।

सप्तरी –श्री नरसिंह चौधरी
सिरहा –श्री गजाधर यादव
धनुषा –श्री अरुण सिंह
महोत्तरी –श्री गोविन्द चौधरी
सर्लाही –श्री शेखर सिंह
रौतहट –श्री सत्यनारायण मण्डल
बारा –श्रीमति मालामती राना थारु
पर्सा –श्री विजय गुप्ता

ग) ०७४ भाद्र ९ गतेका दिन निर्वाचन हुने सबै जिल्ला सदरमुकाममा जिला अध्यक्ष मण्डल, केन्द्रीय पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, वर्गीय मंचका केन्द्रीय पदाधिकारीहरुको संयुक्त बैठक आयोजन गरी सबै गाउ पालिका तथा नगरपालिकामा प्रयवेक्षक पढाउने ।

घ) भाद्र १० गते तेस्रो चरणको स्थानिय निर्वाचनमा स्थानिय तहमा भेला गरी इच्छुक उम्मेदवारहरुको नाम संकलन गर्ने ।

ङ) भाद्र ११ गते स्थानीय तहमा कुनै पदका लागी एक भन्दा बढ़ी उम्मेदवारको नाम आए स्थानीय स्तरमै सहमतिको प्रयास गर्ने

च) भाद्र १२ गते जिल्ला स्तरमा उम्मेदवारहरुको नाम टुंगो लगाउन सहमतिको प्रयास गर्ने ।

छ) भाद्र १३ गते सम्बन्धित सबै जिल्लाको उम्मेदवारको नाम संकलन सहितको प्रतिवेदन केन्द्रीय अध्यक्ष मण्डललाई पठाउने ।

ज) पदाधिकारी बैठकले स्थानीय तहको निर्वाचन प्रयोजनको लागि घोषणा पत्र मस्यौदा समिति बनाउने निर्णय गरेको छ. ।



    ............................
        महन्थ ठाकुर
  संयोजक

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..