» » दुई वर्षभित्र मासु र तीन वर्षभित्र दुग्धजन्य वस्तुमा आत्मनिर्भर हुने

बाँके, साउन २४ गते । पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले दुई वर्षभित्र मासु र तीन वर्षभित्र दुग्धजन्य वस्तुमा आत्मनिर्भर हुने लक्ष्य पूरा गर्न बढीभन्दा बढी मेहनत गर्नुपर्ने बताउनुभएको छ ।

‘व्यावसायिक पशुपालनमा उत्पादन वृद्धि, पारिवारिक पोषण, रोजगारी र समृद्धि’ नाराका साथ क्षेत्रीय पशु सेवा निर्देशनालय मध्यपश्चिम सुर्खेतको आयोजनामा आजदेखि नेपालगन्जमा सुरु भएको आव २०७३÷७४ को तेस्रो चौमासिक तथा वार्षीक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले पूर्वाञ्चल दूधमा आत्मनिर्भर भइसकेको र मासुमा पनि आत्मनिर्भर हुने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

“मध्यपश्चिम क्षेत्रमा पनि मासुमा प्रगति हुने क्रम अगाडि बढे पनि दूध र अण्डामा अझै बढि प्रगति गर्न आवश्यक छ”–मन्त्री थारुले भन्नुभयो, “त्यसका लागि तपाईँ हामीले अझै बढी मेहनत गर्न जरुरी छ । अनि मात्रै हामीले तोकेको लक्ष्य पूरा हुन्छ ।”

तोकिएको लक्ष्य पूरा गर्न निरन्तर रुपमा नेतृत्वमा बसेका व्यक्तिले अनुगमन गरी त्यसको समस्या र समाधानका उपाय खोज्नुपर्ने उहाँको भनाइ थियो । “देशभर पशुपक्षीका क्षेत्रमा हुन नसकेका प्रगतिका बारेमा बुझ्नका लागि अनुगमनमा हिँडेको छु”– उहाँले भन्नुभयो, “अनुगमनका क्रममा पाइएका समस्या र चुनौतीको समाधानका लागि बसेर समीक्षा गरी निष्कर्ष निकाल्छु ।”

मन्त्री थारुले मध्यपश्चिममा मासु, दुग्धजन्य पर्दाथ र अण्डा उत्पादनका लागि राम्रो सम्भावना रहेकाले यसको वृद्धि विकासका लागि सबैले मेहनत गर्नुपर्ने बताउनुभयो ।

मध्यपश्चिमका हिमाल, पहाड र तराईमा फरकफरक कार्यक्रम लागू गर्नुपर्ने उहाँको भनाइ छ । भौगोलिक बनावट, वातावरणीय अनुकूलता र सम्भावना हेरेर योजना बनाउनुपर्ने र सोहीअनुरुप पालना गर्न सके सरकारले सोचेको लक्ष्य पूरा हुने उहाँले बताउनुभयो । मन्त्री थारुले योजना बनाउँदा र कार्यन्वयन गर्दा निम्नवर्गका मानिसहरूलाई लक्षित गरी उनीहरूलाई आत्मनिर्भर बनाउने र व्यावसायिक हुने गरी बनाउनुपर्ने बताउनुभयो ।

मंगलबारसम्म चल्ने सो गोष्ठीमा मध्यपश्चिम क्षेत्रीय पशु सेवा निर्देशनालय सुर्खेतका क्षेत्रीय निर्देशक किसनलाल भट्टले आव २०७३÷०७४ को तेस्रो चौमासिक तथा वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । गोष्ठीमा मध्यपश्चिमका बाँके, बर्दिया, दाङ, सुर्खेत, प्यूठानलगायत १५ जिल्लामा सञ्चालन भइरहेका कार्यक्रम र तिनका प्रगति, समस्या र चुनौतीका बारेमा छलफल भएको थियो ।

गोष्ठीमा पशुपक्षी विकास मन्त्रालयका सहसचिव श्यामप्रसाद पौडेल ,पशु सेवा विभागका महानिर्देशक डा विमलकुमार निर्मल, पशु उत्पादन निर्देशनालयका कार्यकारी निर्देशक कोषबहादुर अच्छामीलगायत मध्यपश्चिमका १५ जिल्लाका पशुपक्षी कार्यलयका प्रमुख, पशुक्वारेन्टाइनका प्रमुखको सहभागिता रहेको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..