» » बाढी पहिरोबाट मर्नेको सँख्या ३३ पुग्यो, घटनास्थलमा १६६०० सुरक्षाकर्मी परिचालित

काठमाडौ साउन २८ गते । विगत केहि दिनदेखि परिरहेको अविरल वर्षाका कारण मुलुकका विभिन्न १५ भन्दा बढी जिल्लाहरु प्रभावित भएका छन् र त्यसबाट ३३ जनाको ज्यान गएका छ ।

यस कठिन घडीमा खोज, उद्दार र राहत कार्यमा सहयोग पुर्याउन र समस्यामा परेका परिवारहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्रीहरु उपलब्ध गराउने कार्यमा आ–आफ्नो तर्फबाट सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थाहरु, समाजसेवी र सञ्चारमाध्यमलाई गृहमन्त्रालयले आग्रह गरेको छ ।

साँझ एक विज्ञप्ति जारी मन्त्रालयले खोज तथा उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका तालिम प्राप्त सुरक्षाकर्मीहरु र अन्य उपलब्ध जनशक्तिहरुको परिचालन उच्च प्राथमिकताका साथ भइरहेको जनाएको छ ।

गृह प्रशासनले नेपाल सरकारका सबै निकायहरुबीच आवश्यक समन्वय गरिरहेको जानकारी गराउँदै हालसम्म मुलुकका ११ जिल्लाहरु .पाँचथर–४, सिन्धुली–४, झापा–४, मोरङ्ग–३, सुनसरी–७, सर्लाही–२, बारा–२, दाङ्ग–१, बाँके –४, मकवानपुर–१, पाल्पा–१० गरी जम्मा ३३ जनाको मृत्यु, ४ जना वेपत्ता, र केही मानिसहरु घाइते भएको जानकारी गराएको छ ।

डुवानका कारणले कतिपय स्थानहरुमा मानिसहरु अलपत्र परेको तथा जोखिममा रहेका नागरिकहरुको खोज तथा उद्दार कार्य तिव्रताका साथ भइरहेको जानकारी गराउँदै मन्त्रालयले मृतकहरुको शव व्यवस्थापन सम्बन्धी कार्यहरु समेत भइरहेको जनाएको छ ।

नेपाल प्रहरीबाट ५,६००, सशस्त्र प्रहरी बलबाट करिब १,७०० र नेपाली सेनाका १,००० जना गरी जम्मा ८,३०० जना तालिम प्राप्त सुरक्षाकर्मीहरु प्रत्यक्ष रुपमा उद्दारकालागि फिल्डमा खटिएका छन् ।

 खोज तथा उद्दारका लागि हेलीकप्टर, मोटर बोट, र्याफ्टिींग बोट, डोरी, ट्युव लगायतका साधनहरु प्रयोग गरिएको छ । सुर्खेतमा रहेको नेपाली सेनाको हेली मार्फत बाँकेका डुवानग्रस्त क्षेत्रहरु नरैनापुर, होलिया, फत्तेहपुर, सोनारीको टिकुलीपुर, बैरिया सिक्टा लगायतका स्थानहरुबाट करिव २०० भन्दा बढी मानिसहरुलाई  सुरक्षित स्थानमा लगिएको छ ।

झापाकोे मदरगाछी, कपन कवास, साल्पारा, सौरघुटु, सुनसरीको बुढीखोला क्षेत्र, सप्तरीको हनुमान नगर, तिलाठी,  सर्लाहीको बाग्मती क्षेत्र, रौतहटको बाग्मती र लालबकैया क्षेत्र लगायत अन्य प्रभावित स्थानहरुबाट र्याफ््टिङ्ग बोट लगायतका साधनहरु प्रयोग गरी उद्दार कार्य भैरहेको मन्त्रालयले जनाएको छ ।

तत्काल राहतका लागि अधिकाशं जिल्लाका जिल्ला दैवी प्रकोप उद्दार समितिहरुबाट आवश्यक खाद्यान्नहरु चिउरा, दालमोठ, भुजिया, चाउचाउ, चामल, दाल,नुन, तेल स्थानीय स्तरबाट खरिद गरी वितरण गरिएको समेत मन्त्रालयले जनाएको छ ।

नेपाल खाद्य संस्थानका विभिन्न डिपोहरुबाट प्रभावित परिवारहरुलाई खाद्य सामाग्री वितरण गर्न प्याकेजिंग कार्य भइरहेको छ भने नेपाली सेनाको सबै हेलीहरु तयारी अवस्थामा राखिएको भएपनि मौसमको प्रतिकुलताले प्रभावित क्षेत्रमा हेली उडान हुन नसकिरहेको बताएको छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अवरुद्ध भएका राजमार्ग लगायत सडक पुलहरु सूचारु गराउन र संरक्षण गर्ने कार्य गरिरहेको छ । औषधी सहितको स्वस्थ्यकर्मीहरुको टोलीहरु प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको छ ।

यसैगरी निजी क्षेत्रका हेलीकप्टरहरु प्राथमिकताका साथ परिचालन गर्र्ने व्यवस्था मिलाउन नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयलाई अनुरोध गरिएको छ ।

देशका विभिन्न नदीहरुको जल सतह बढी रहेको र केही नदीहरुको जल सतह खतराको तह भन्दा माथि गएको हुँदा सम्बन्धित सबैले आआफ्नो तर्फबाट उच्च सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

साथै प्रभावित जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुबाट विभिन्न स्थानीय भाषाहरुमा एफ.एम.हरु मार्फत् सर्वधारणहरुलाई सुरक्षित रहन र उच्च सतर्कता अपनाउन अपिल गरिएको मन्त्रालयले जनाएको छ ।


 भारतीय समकक्षीहरुसँग समन्वय गरी लक्ष्मणपुर बाँध र कोसी व्यारेजका थप ढोकाहरु खुलाउन अनुरोध गरिएको छ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..