» » बाढी पिडितको घरमा अझै पुगेनन् मधेशी दलका नेताहरु

काठमाडौं असार २४ गते । सप्तरीका जनता १० दिनदेखि बाढीको प्रकोपबाट पिडित बनेका छन् तर अहिलेसम्म मधेशमा आफ्नो राजनीतिक पकड भएको दावी गर्दै आइरहेका कुनै पनि राजनीतिक दलका नेताहरु त्यहाँ पुगेका छैन ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल होस् या महन्थ ठाकुर संयोजक रहेको तराई मधेश सद्भावना पार्टी होस् यी दलका कुनै पनि नेतृत्वकर्ता नेताहरु त्यहाँ पुगेका छैन । बरु प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मालगायतका नेताहरु हिजो पुगेका थिए तर मधेशवादी दलका केन्द्रीय नेताहरु कोही पनि पुगेका छैन ।

सप्तरीका मधेशी दलका स्थानीय नेताहरु त्यहाँ दिनरात खटिएपनि उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, राजकिशोर यादव, अनिल कुमार झा, शरतसिह भण्डारीमध्ये कोही पनि त्यहाँ पुगेका छैन ।

राजपा नेपाल गठन भए यता त्यो जिल्लामा त्यो दलले दुई पटक विरोधसभा गरिसकेका छन् तर अहिले त्यहाँ यस्तो विपद आइपर्दा जनताको आँसु पुछ्न पनि नगएको आलोचनाहरु भइरहेका छन् । कतिपय स्थानीय नेता आफै पिडित छन्, उहाँहरु त्यहाँ जानु आउनुको कुनै अर्थ राख्दैन, केन्द्रबाट नेताहरु गए त्यसको ठूलै अर्थ राख्ने भएकाले केन्द्रीयस्तरका नेताहरु त्यहाँ जानुपर्ने टिकाटिप्पणी भइरहेको छ ।

बाढीअघि उपेन्द्र यादव पनि पटक पटक सप्तरीमा जानुभएको थियो तर बाढी आए यता उहाँ पनि पुग्नु भएको छैन । उहाँको पार्टी चुनावमा भाग लिएको कारण त्यसमा व्यस्त रहेको र यता केन्द्रमा पार्टीको बैठक बसाउने तयारीमा रहेको कारण त्यहाँ पुग्न नसकेको उहाँका पार्टीका नेताहरु बताउनुहुन्छ ।

राजपा नेपालका केन्द्रीय सचिव गजेन्द्र मण्डल जो सप्तरीकै हुनुहुन्छ । उहाँले भन्नुभयो, राजपा नेपालका नेताहरु अहिले पार्टी दर्ता गराउनमा व्यस्त भएको कारणले यता आउन सक्नुभएको छैन, स्थानीय स्तरबाट सहयोगहरु भइरहेका छन् ।’

राजपाकै तर्फबाट दुईपटक राहत वितरण भएको पनि जानकारी उहाँले गराउनुभयो ।

तिलाठी, बेलही, खारो रायपुर, पौवा, पिपराही, मलेठ, नगरपालिका वडा नं. १०, लोहजारा, सकरपुरा, नौनिया, मोहली, तिरकौललगायतका ठाउँमा बाढीले धेरै क्षति पुर्याएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..