» » हेर्दा हेर्दै यसरी हरायो मधेशी मोर्चा


एकातिर विभिन्न मधेशवादी दल मिलेर एउटा छुट्टै शक्ति निर्माण गरेको छ भने अर्कोतिर संगठित शक्तिलाई समाप्त गरेको  छ । संयोग पनि कस्तो, जुन शक्तिले यी मधेशवादी दलहरु आफूलाई स्थापित गरे । राज्यमा आफ्नो उपस्थिति देखाए आज आफू शाक्तिशाली भएपछि त्यसलाई किनारा लगाएको  छ । यहाँ कुरा गरिएको छ, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालको ।

विगत १० वर्षदेखि मधेशको अधिकारका लागि संघर्ष गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा अहिले कहाँ हराएको छ, कुन अवस्थामा छ, खोजि गर्दा पनि भेटिदैन । यो जब तब मधेशी मोर्चामा रहेका छ दल एकीकृत भएर राष्ट्रिय जनता पार्टी नेपाल गठन तथा फोरम नेपाल पहिलो चरणको चुनावमा गयो । फोरम नेपाल चुनावमा गएको कारण मधेशी मोर्चाको ओचित्य समाप्त भयो भन्दै राजपाका नेताहरुले हालसम्म त्यसका खोजी गरेको छैन ।

के फोरम नेपाल मोर्चाको निर्णय विपरित चुनाव गएको हो भने त्यसको विना मोर्चा चल्न सक्दैन त ?  राजपा नेपालका नेताहरुको कुरा सुन्दा त फोरम नेपाल बोहेक मोर्चा चल्न सक्दैन जस्तो व्यवहार देखाएको छ ।
मधेशी मोर्चा देशमा मात्र होइन, अन्तराष्ट्रिय रुपमा चर्चा पाइसकेको संगठन हो । मोर्चा देशमा थुप्रै परिवर्तनका लागि संघर्ष गरे । मोर्चाकै नाममा थुपै्र मधेशी नेताहरु मन्त्री पनि हुनुभयो । मोर्चाकै नाममा एकसय भन्दा बढी मधेशीले सहादत पनि दिए तर आज मोर्चाको आडमा आफू आफू बलियो भएपछि उहाँहरुले त्यसलाई अलपत्र छाड्नु भएको  छ ।

दुई पार्टीले पनि मधेशी मोर्चा चलाउन सकिन्छ भन्ने कुरा पहिला पनि भएको हो । अहिलेको मोर्चा २०६४ सालमा गठन हुँदा राजेन्द्र महतो नेतृत्वको तत्कालिन सद्भावना पार्टी र उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम नेपालले मात्र सञ्चालनमा ल्याएको थियो । पछि महन्थ ठाकुरको नेतृत्वमा तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टी गठन भएपछि त्यसलाई पनि मोर्चामा सहभागि गराइएको थियो ।

तीन दलको मधेशी मोर्चाले नै आन्दोलन गर्दै पहिलो सविधानसभा चुनाव सम्पन्न गराएका थिए । पहिलो सविधानसभाको चुनावपछि मोर्चामा आवद्ध तीनटै दल सरकारमा गए । सरकारमा जान थालेपछि विस्तारै विस्तारै तीनटै पार्टी विभाजित हुँदै गयो । फोरम नेपाल तीन चोटी, तमलोपा एक चोटी र सद्भावना पार्टी दुई चोटी विभाजित भएको हो । विभाजित भएका दलहरु पनि विस्तारै विस्तारै त्यही मोर्चामा समाहित हुँदै गयो । तीन पार्टी, चार पार्टी, पाँच पार्टी हुँदै आठ पार्टीसम्मको मोर्चा बन्यो ।

 त्यतिबेला पनि मोर्चामा उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल आउने जाने गथ्र्यो । दोस्रो सविधानसभा चुनावपछि मोर्चामा रहेका मधेशवादी दलका नेताहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन भएको ३० दलीय गठबन्धनमा सहभागि हुनुहुन्थ्यो तर उहाँहरुले मोर्चालाई सक्रिय गर्न चाहनु भएको थिएनन् । 
यसरी भयो पुर्नगठन 
दोस्रो सविधानसभापछि निस्कृय रहेका मधेशी मोर्चालाई पुनः सक्रिय गराउन कसैले पहल लिएका थिएनन् । प्रचण्ड नेतृत्वको ३० दलीय गठबन्धनको साथमा आन्दोलन गरिरहेका थिए तर मधेशको शक्तिशाली संगठनप्रति कसैको ध्यान गएन । यदि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण नभएको भए सायद मोर्चा पुनर्जिवित हुने थिएन ।

२०७१ साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुन लाग्दा मधेशवादी दलहरु मोर्चालाई पुनः जिवित गरेका थिए । त्यसबेला मोर्चालाई जिवित बनाउनमा नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदारले निकै भूमिका खेलेका थिए । भारतीय दूतावासले भ्रमणमा आउने भारतीय प्रधानमन्त्री मोदीसँग मधेशवादी दललाई एक्ला एक्लै भेटाउन नसकिने भनेका थिए, त्यसपछि हतार हतारमा त्यसलाई पुर्नगठन गरिएको थियो । पुर्नगठन भएको भोलीपल्ट नै मधेशी मोर्चाको हैसियतमा मधेशी दलका नेताहरु प्रधानमन्त्री मोदीलाई भेटेका थिए ।

त्यसपछि सक्रिय भएका मधेशी मोर्चाका नेताहरु एमालेका अध्यक्ष केपी शर्मा ओली निवास दौडधुप गरेका थिए । सविधान निर्माणमा सहमति बनाउनका लागि ओलीले मधेशी मोर्चाका नेताहरुलाई पटक पटक आफ्नो निवास बोलाएका थिए । ओलीले त्यसबेला मधेशी मोर्चाका नेताहरुलाई खसी ढालेर खुवाएको देखि लिएर विभिन्न परिकारहरु खुवाएर खुश पार्ने प्रयास गरिरहेको चर्चा बाहिर आएको थियो ।

 त्यसरी मानदान गर्नुको भित्रि स्वार्थ मधेशी मोर्चाको सहयोगमा सरकारको बागडोर आफ्नो हातमा लिनु थियो । दुई चारवटा बैठकपछि अध्यक्ष ओलीले प्रधानमन्त्री बन्नमा सहयोग गर्न आग्रह गरेपछि मोर्चामा आवद्ध उपेन्द्र यादव बिच्किनु भएको थियो । त्यसपछि अन्य नेताहरु ओली निवास जान नै छाड्नु भएको थियो । ओली निवास अन्तिम समयसम्म गइराख्ने मोर्चाका तर्फबाट विजयकुमार गच्छदार मात्र बाँकी हुनुहुन्थ्यो ।

ओलीलाई मधेशी मोर्चाका नेताहरु छाडिसकेपछि उहाँ निकै आक्रोशित बन्नुभएको थियो । त्यतिबेला ओलीलाई प्रधानमन्त्री बन्न निकै हतार थियो । मधेशी मोर्चाको साथ लिएर प्रधानमन्त्री बन्ने चाहना ओलीको थियो । यद्यपी ओलीको पार्टीपनि त्यतिबेला सरकारमै थियो ।


उहाँले तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालालाई हटाएर आफू प्रधानमन्त्री दाउमा हुनुहुन्थ्यो । ओलीसँग मधेशी मोर्चाको बन्दै गरेको सम्बन्ध एकाएक विग्रिएपछि ओली सत्ताको आडमा निकै कठोर हुनुभयो । अलि अलि लचिलो देखिनु भएका ओली मधेशी मोर्चाप्रति निकै काडा भयो । मधेशी मोर्चाले जति आन्दोलन गरेपनि उनीहरुको कुनै सुनुवाई भएन र माओवादी केन्द्र र काँग्रेससँग मिलेर जवर्जस्ती सविधान घोषणा गर्नुभयो । सविधान निर्माणपछि ओलीको नेतृत्वमा सरकार निर्माण हुनलाग्दा मधेशी मोर्चाले सुशिल कोइरालालाई पुनः प्रधानमन्त्री बनाउनका लागि कोइरालालाई मतदान गरेको थियो । अन्ततः अ‍ोली नै प्रधानमन्त्री भए तर मधेशी मोर्चासँग झन सम्बन्ध विग्रियो ।

मोर्चाका नेताहरुलाई त्यसबेला झटका लागेको थियो, जुनबेला मोर्चामा रहेका ठूलो दल फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि छाडेर तीन दलको गठबन्धनमा सहभागि भएर सोह्र बुँदे सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । मोर्चाले गच्छदारलाई कारवाही गरी निष्काशन गरेको थियो । त्यसपछि केही दिन चार दलको मोर्चा मात्र रह्यो त्यसबाट नै आन्दोलनलाई निरन्तरता दिए । आन्दोलन चलिरहेकै अवस्थामा १६ बुँद सम्झौतामा हस्ताक्षर गर्नेहरुले सविधान निर्माण गरे । सविधान निर्माणको खुशीमा राजधानीमा दीपावली भएको थियो भने मधेशमा ब्ल्याक आउट गरेको थियो ।

ओली प्रधानमन्त्री भएपनि मधेशी मोर्चाले आन्दोलन रोकेनन् । बरु आन्दोलन झन कडा भयो, नाकाबन्दीसम्मको अवस्था सृजना भयो । जब ओली प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा जान लागे अनि बडो शंकास्पद ढंगबाट आन्दोलन फिर्ता भएको थियो । नाकाबन्दी र आम हड्तालहरु फिर्ता लिएपनि कोणसभा, विरोधसभा, नारा जुलुस कायमै नै राखेका थिए । त्यतिबेलासम्ममा चार पार्टीको मधेशी मोर्चा सात पार्टीको भइसकेको थियो । मोर्चा भन्दा बाहिर रहेका राजकिशोर यादव, अनिल झा र शरतसिह भण्डारी पनि मोर्चामा सहभागि हुनुभएको थियो ।

सविधान संशोधनका लागि ओली सरकारसँग पनि निरन्तर वार्ता चलिरह्यो । तर मधेशी मोर्चाका भनाई अनुसार ३६ पटक भन्दा बढी पटक वार्ता भएपनि कुनै सहमति हुन सकेन । त्यसैबेला मधेशी मोर्चाले ३३ दलीय संघीय गठबन्धन बनाएर काठमाडौ केन्द्रीत आन्दोलन पनि गरे । तर, यी आन्दोलनहरुले केही सुनुवाई भएन बरु सरकार परिवर्तन हुने नौवत आयो । प्रचण्डले ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार बनाउन अगाडि बढ्नु भएको थियो र त्यसमा खुलेर नै मधेशी मोर्चाले साथ दिएका थिए । मधेशी मोर्चाकै समर्थनमा प्रचण्ड देशको प्रधानमन्त्री बन्नुभयो ।

प्रचण्ड प्रधानमन्त्री बन्न लाग्दा मधेशी मोर्चासँग तीन बुँदे सम्झौता भएको थियो । सोही सम्झौता अनुसार सविधान संशोधनका लागि पटक पटक प्रयास भयो । सरकारले सविधान संशोधनका लागि मंसिर १४ गते ४ बुँदे सविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा दर्ता गरायो । सो विधेयक विपक्षमा एमाले दरोगरि उभिए । कुनै पनि हालतमा पास हुन नदिने राष्ट्रियताको विषयसँग विधेयकलाई जोडेर आन्दोलन नै घोषणा गरे । अभियान सप्तरी पुगेका थिए ।

मधेशी मोर्चाले त्यसको विरोध गरे । प्रहरीले गोली चलाउँदा पाँचजनाको ज्यान गयो । एमाले र मधेशी मोर्चाको सम्बन्ध झन टाढियो । एमालेले कुनै पनि हालतमा विधेयक पारित हुन नदिने अडान लिएपछि सरकारले चैत २९ गते सो विधेयक फिर्ता लिएर सिमांकन विनाको ११ बुँदे सविधान संशोधन विधेयक संसदमा दर्ता गराए । त्यसलाई पनि पास हुन नदिने अडान लिए ।

यसरी घटनाक्रम अगाडि बढी रहँदा यो बीचमा मधेशी मोर्चासँग सुखद घटना भयो । मधेशी मोर्चामा रहेका सात दलमध्ये छ दलले एकीकरण गरि राष्ट्रिय जनता पार्टी नेपाल बनाए । पार्टी एकीकरण गर्नेहरुमा महन्थ ठाकुर (तमलोपा), राजेन्द्र महतो (सद्भावना पार्टी), महेन्द्र राय यादव (तमसपा), शरतसिह भण्डारी (रामसपा), अनिल झा (नेसपा) र राजकिशोर यादव (फोरम गणतान्त्रिक) हुन् ।

पार्टी गठन भए यता मधेशी मोर्चाको कुनै बैठक बसेन बरु वैशाख १९ गते बसेको राजपाको केन्द्रीय समितिको बैठकले उपेन्द्र यादवव चुनावमा गएको कारण मोर्चाको औचित्य समाप्त भएको घोषणा गरको छ । हुन त पहिलादेखि नै मधेशी मोर्चादेखि अलग थलग देखिनुभएको थियो, उपेन्द्र यादव । यादवले मोर्चाभन्दा पनि संघीय गठबन्धनलाई सक्रिय बनाउन चाहनुहुन्थ्यो । मोर्चामाथि त्यति ध्यान दिनुहुन्थेन उहाँले । अहिले राजपाले उपेन्द्र यादवलाई गठबन्धको संयोजबाट पनि हटाएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..