» » स्थानीय चुनावलाई सदुपयोग गरौं

–सुरेशकुमार यादव
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले पहिलो चरणको चुनावमा भाग लिएपछि त्यसको विभिन्न आलोचनाहरु भइरहेका छन् ।

त्यसको एउटै कारण हो, नव गठित पार्टी राष्ट्रिय जनता पार्टी नेपाल चुनावमा भाग नलिनु । यदि राजपा नेपाल चुनावमा भाग लिएको भए आज यसरी यो प्रकारको आलोचना एकअर्कामाथि हुने थिएन ।

उपेन्द्र यादवको सो कदमलाई सबभन्दा बढी विरोध गर्ने राजपाका नेता तथा त्यस निकटका पत्रकाहरु हुनुहुन्छ । उहाँहरुको विरोध पनि जायज हो । र, उपेन्द्र यादवको निर्णय पनि स्वभाविक हो । तर, निर्णय लिने विधि र प्रकृया उहाँको मिलेन । त्यही कुरा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा वा संघीय गठबन्धनमा कुरा राखेर चुनावमा गएको भए सायद यसप्रकारको आलोचनाहरु हुने थिएन ।

मधेशमा गएर मधेशी जनतासँग साक्षात्कार गरेर त्यहाँको मुड बुझेर चुनावमा भाग लिएको भएपनि हुन्थ्यो तर यी कुनै प्रकृया पूरा नगरि मधेशी जनतलाई धोका दिएको जस्तो गरि जस्तो चुनावमा भाग लिएको हुनाले यतिको आलोचना भइरहेको छ । उहाँले अगुवाई गरेको मधेश आन्दोलनमा थुपै्रले सहादत दिएका छन् ।

धेरै घरबार विहिन भएका छन्, ती सबैको आशा भरोसा उपेन्द्र यादवलगायत अन्य मधेशी दलमाथि रहेका छन् । जसले भरोसा गरेका छन्, त्यसको भरोसा तोड्नु हुँदैन त्यसले ठूलो घात हुन्छ । यो कुरा पनि सही हो कि जसले भरोस गरेका हुन्छन् उसैले आलोचना पनि गर्छन् ।

किनभने, संघर्षमा सहकार्य गर्ने प्रतिवद्धता गरेका मधेशी मोर्चा र गठबन्धनसँग सल्लाह गरेर चुनावमा गएको भए पनि हुन्थ्यो । यदि मोर्चा र गठबन्धनमा सल्लाह गरेको भए अझै केही दलहरु पनि चुनावमा जान तयार हुन्थे कि, उपेन्द्र यादवलाई साथ दिने अरु दलहरु पनि निस्किन्थे कि ।

यस्ता संभावनाका कुराहरु पनि छन् तर उपेन्द्र यादवले के कारणले हो कुनी मधेशी मोर्चा अथवा संघीय गठबन्धनसँग सल्लाह गरेर चुनावमा जाने निर्णय लिन सक्नु भएन त्यो सबभन्दा ठूलो त्रुटी हुन गयो । किनभने उपेन्द्र यादवले नै शुरुदेखि सविधान संशोधन नभए चुनावमा जान सकिदैन, यो सविधान रद्दीको टोकरीमा फ्याक्ने लायकको पनि छैन, सविधानमा कुनै दम नै छैन, यसलाई पुनःलेखन गर्नुपर्छ, यहाँसम्म कि खारेजीको माग पनि गर्नुभएको थियो । यी कुराहरु गरेका व्यक्ति कसरी एकाएक चुनावमा भाग लिन पुग्नुभयो भने कुरामा सबैको चित्त दुखाइ रहेको छ ।

तर उपेन्द्र यादवले चुनावमा भाग लिएर एककदम अगाडि बढ्ने काम गर्नुभएको छ । उहाँले पत्रकार सम्मेलन गरेर भन्नुभयो, युद्धमा दुई कदम अगाडि बढे भने कहिले काही एककदम पछाडी हट्नुपर्छ ।’ संसदीय राजनीतिकमा प्राप्त उपलब्धीलाई रक्षा गर्दै बाँकीका लागि संघर्ष गर्ने नीति अपनाउनु पर्छ एकैतालले हिडि रह्यो भने गन्तव्यमा पुग्न समय लाग्छ । गन्तव्यमा पुग्नका लागि कहिले काही वैकल्पिक बाटो पनि रोज्नुपर्छ र उपेन्द्र यादवले त्यही गर्नुभएको छ । मधेशी मोर्चाले पनि त्यही गर्नुपथ्र्यो ।

विगतका घटनाक्रम हामीलाई झलझल्ती याद छ । मधेशी मोर्चाले के मागेको थियो के प्राप्त भयो । मधेशतिर एउटा भनाई छ ‘बाइरते बाइरते मैजनमे बरागेल’ अर्थात सधै एकैनासको माग राखेर आन्दोलनलाई निरन्तरता दिइरह्यो भने प्राप्त उपलब्धी गुम्ने खतरा हुन्छ । एकमधेश एक प्रदेश माग गरेर आन्दोलन गर्दा यो राज्यले झापादेखि कन्चनपुरसम्म दुई प्रदेश दिन तयार भएकै हो तर एकमधेश एक प्रदेशको अडान लिएर बसेपनि एक मधेश एक प्रदेश कहाँ हो कहाँ दुई प्रदेश पनि पाउन सकि रहेका छैन ।

यस्तो अवस्थामा जुनसुकै दलले पनि रणनीति परिवर्तन गर्नुपर्छ । सोचबुझका साथ अगाडि बढ्नुपर्छ । मधेशवादी दलहरु यसपाली कुनै लोभलालचमा फँसेको छैन । नसरकार चाहिएको छ नकुनै पद । दिनरात आन्दोलनका लागि लडिरहेका छन् । इमान्दारीपूर्वक संघर्षमा लागेका कारण त्यही अनुुसार आफ्नो आन्दोलनको मोडालिटी परिवर्तन गरेर प्राप्त भएका उपलब्धीको स्वामित्व लिएर अरु बाँकीका लागि संघर्ष जारी राखेको भए हुन्थ्यो तर हालसम्म केही हात लागेको छैन ।

वैशाख २३ गते यो लेख लेखिरहँदा देशको राजनीतिक अवस्था निकै तरल अवस्थामा पुगिसकेको छ । कतिखेर के हुन्छ भन्न सकिदैन ।

यस अवस्थामा मधेशले अहिलेसम्म प्राप्त गरेको उपलब्धी गुम्ने खतरा पनि देखिएको छ । यदि मधेशी नेताले पहिला नै बुद्धि पुर्याएर पाएका कुराहरु लिँदै बाँकीका लागि थप संघर्ष गर्ने निर्णय गरेको भए आज उपलब्धीहरु गुम्ने अवस्था हुने थिएन । विगतमा त मधेशवादी दलहरु सरकारमा गएर विभिन्न लोभलालचमा फँसेका कारणले मागहरु पूरा हुन सकिरहेको थिएन, अहिले त्यो अवस्था छैन ।

 उपेन्द्र यादवले किन केका लागि आन्दोलनमा भाग लिए त्यो त अहिले बुझ्न गाह्रो छ, विस्तारै कुराहरु बाहिर आउँदै गर्ला तर उहाँले संघर्षलाई कायम राखेर चुनावमा भाग लिने जुन निर्णय गर्नुभएको छ त्यो एकदम जायज हो ।

आन्दोलनको केन्द्रविन्दु तराई मधेश अर्थात दुई नम्बर प्रदेश हो, त्यहाँ अहिले चुनाव हुन गईरहेको छैन, त्यहाँका लागि नै सविधान संशोधन चाहिएको छ, स्थानीय तहमा सँख्या थप चाहिएको छ, स्थानीय तहलाई प्रदेश अन्तरगर्त राख्ने कुरा पनि छ । त्यहाँ चुनाव हुन गइरहेको छैन, त्यहाँको चुनाव सविधान संशोधन पछि नै हुने कुरा पनि छ, त्यही भएर उपेन्द्र यादव आफू सविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने कुरा भनिरहनु भएको छ ।

यद्यपी चुनावमा भाग लिएपनि मधेश र मधेशी जनताको अधिकारसँग धोका हुनुहुँदैन । प्राप्त हुन नसकेको उपब्धी चुनावबाट हुनसक्छ कि त्यो पनि सोच्ने कुरा हो ।

चुनावलाई पनि एउटा संघर्षको मोर्चा बनाएर सहभागि भयो भने एउट जनमत पनि तयार हुन्छ र अर्को संगठन निर्माणको साथै स्थानीय तहमा आफ्नो प्रतिनिधि पनि सहभागि गराउन सकिन्छ । सविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने राजपा नेपालका नेताहरुले भन्दै आउनु भएको छ ।

ल सविधान संशोधन पनि भएन, राजपा नेपालले चुनावमा पनि भाग लिएनन् अनि त्यसपछिको अवस्था के हुन्छ कसैले अन्दाज गरेको छ । स्थानीय तहमा मधेशी दलको सहभागिता शुन्य हुन्छ । स्थानीय तह मधेशवादी दलविहिन भयो भने अन्य ठूला दलको रजाईहुन्छ मधेशीमा विकास हुँदैन, मधेशी जनताले भनेको जस्तो काम हुँदैन ।

त्यसैले बुद्धिमानी यही हुन्छ कि संघर्षका सम्पूर्ण कार्यलाई यथावत राखेर चुनावमा भाग लिँदा नै बेस । चुनावको दौरान मतदाताको घर घर गएर ठूला दलहरुको बारेमा भण्डाफोर गर्नुपर्छ, अहिले लगाउने नारा चुनावकै समयमा लगाउँदा हुुन्छ । मधेशी जनताको सेन्टीमेन्ट आफूतिर तानेर चुनावमा अत्याधिक सिट जितेर राज्यमाथि दवाव बढाउँदा राम्रो । स्थानीय तहको चुनाव सके लगतै पुनः आन्दोलन शुरु गर्ने यसो गर्दा आफ्नो माग र मुद्दाका आधारमा जनताको मत पनि लिन सकियो र यता थप अधिकारका लागि आन्दोलनलाई पनि अगाडी बढाउन सकिन्छ ।
(लेखक गोरखापत्रका सहसम्पादक हुनुहुन्छ)

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..